कोलोराडो । नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको छ । सम्मेलन आगामी मे २२ देखि २५ सम्म सञ्चालन हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले सम्मेलनमा सहभागी हुन विश्वभरका स्रष्टालाई आह्वान गर्दै नेपाली भाषा, साहित्यको संरक्षण, संवर्द्धन र विश्वव्यापीकरणमा अनेसासले निरन्तर काम गर्दै आएको बताउनुभयाे । उहाँले सम्मेलनमार्फत विभिन्न पुस्ता र भूगोलका स्रष्टालाई एउटै मञ्चमा ल्याई साहित्यिक विमर्शलाई थप सशक्त बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभयाे ।
अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माका अनुसार सम्मेलनका लागि करिब ५० हजार डलर खर्च अनुमान गरिएको छ । कोलोराडोको वेस्टमिन्स्टरस्थित ‘होटल डुरी इन प्लाजा’मा चार दिनसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
सम्मेलनमा नेपाली र अङ्ग्रेजी दुवै भाषाका स्रष्टाहरूबीच विविध साहित्यिक विषयमा छलफल हुने जनाइएको छ । साथै, नेपालका विभिन्न भेग तथा भाषिक समुदायका प्रतिनिधि स्रष्टाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
अनेसासका महासचिव राजु सिटौलाले विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने अनुमान गरिएको जानकारी दिनुभयाे । उहाँका अनुसार सम्मेलनले विशेष गरी डायस्पोराका युवा पुस्तालाई नेपाली भाषा–साहित्यसँग जोड्ने अपेक्षा गरिएको छ ।
सन् २००९ देखि सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको यो नवौँ शृङ्खला हो । यसअघि आठौँ सम्मेलन पोर्चुगलमा सम्पन्न भएको थियो ।
अनेसास केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ । सम्मेलन सफल बनाउन विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको भ्रमणसमेत गराइने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

