कोलोराडो । अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा मे २३ देखि २५, २०२६ सम्म सम्पन्न सम्मेलनमा विश्वभरिबाट सहभागी भएका स्रष्टा, विज्ञ र प्रतिनिधिबीच व्यापक छलफलपछि उक्त घोषणापत्र अनुमोदन गरिएको हो ।
सम्मेलनमा पारित घोषणापत्र यस प्रकार छः
१. यसअघिका अनेसासका सम्मेलनहरूमा अनुमोदित घोषणापत्रहरूको पुनर्अध्ययन गरी कार्ययान्वन हुन बाँकी तथा कार्यान्वरन गर्न योग्य बुँदाहरूलाई कार्यान्वयनमा लाने प्रयत्न गरिने छ ।
२. अनेसासको वैश्विक प्राज्ञिक स्वीकृति र विश्वसनीयतालाई अझ सुदृढ तुल्याउने तथा आगामि दिनमा हुने शोध–अनुसन्धानमा नेपाली भाषा, साहित्य र संस्कृतिका विषयहरूले पनि प्रवृष्टि पाउन् भन्ने हेतुले नेपाली र अङ्ग्रेजी भाषामा, नेपाली कलासाहित्य र संस्कृतिमा आधारित गहन प्राज्ञिक अनुसन्धानबाट निर्मित लेखहरूसहितको एउटा वाषिक जर्नल प्रकाशित गर्ने प्रयन्त गरिने छ ।
३. आगामी दिनमा अनेसास केन्द्र तथा च्याप्टरहरूलाई विशेष विषय (थिम) मा आधारित गोष्ठी वा सम्मेलनहरू आयोजना गर्न प्रोत्साहित गरिने छ ।
४. नेपाल डायस्पोराका लेखककलाई प्रत्साहित गर्ने हेतुले नेपालबाहिर रहनुभएका नेपाली भाषी लेखहरूबाट अवधारणा आमिन्त्रत गरी सम्भावनायुक्त एक जना ३० वर्ष मुनिका लेखकलाई लेखन प्रोत्साहनका लागि असेसासन लेखनवृत्ति प्रदान गरिने छ । यस वृत्तिका लागि चयनित लेखकलाई पाण्डुलिपि परिष्कारका लागि विज्ञको सहयोग अनेसासले उपलब्ध गराउने छ । यसरी निर्माण भएको पाण्डुलिपिलाई अनेसास केन्द्रले प्रकाशित गर्न पहल गर्ने छ ।
५. प्रतिभाशाली बालबालिकालाई पुरस्कृत गर्ने निश्चित कुनै कार्यक्रम हाल मौजुद नरहेको अवस्थामा विश्वभरि, १८ वर्षमुनिका तथा सिर्जनात्मक अभिव्यक्तिको कुनै पनि विधामा पोख्त एक जना प्रतिभालाई अनेसास बाल प्रतिभा घोषणा गरी पुरस्कृत गर्ने व्यवस्था गर्नु वाञ्छनीय देखिन्छ ।
६. अनेसास केन्द्र तथा च्याप्टनरहरूले समान प्रकृतिका अन्य संघसंस्थासँग औपचारिक सहकार्य गर्ने दिशामा थप प्रयत्नहरू गरिने छ ।
७. विश्वभरि छरिएका नेपाली नवप्रतिभा तथा जिज्ञासु लेखकहरूलाई विविध विधामा विधाविज्ञहरूको मध्यस्थतामा लेखन प्रशिक्षण प्रदान गर्नका लागि विशेष पहल गरिने छ ।
८. विश्वभरि छरिएका नेपालीहरूको नवपुस्ता जुन जुन भाषामा आफूलाई अभिव्यक्त गर्न सहज ठान्छ, ती भाषाहरूमा आउने लेखनलगायतका, तर नेपाली मर्ममा आधारित अभिव्यक्तिलाई पनि आगामि दिनमा प्राथमिकताका साथ प्रोत्साहित गरिने छ ।
९. अनेसास केन्द्र वा कुनै पनि च्याप्टर प्रकाशक भएर छापिने कुनै पनि सिर्जनामा उच्चस्तरीय गुणवत्ता हुनु वाञ्छनीय छ । त्यसका लागि अनेसासलाई प्रकाशक बनाउन इच्छुक लेखकहरूले दर्ता गराएका पाण्डुलिपिलाई विविधत् रूपमा अनेसासले विज्ञहरूबाट मूल्याङ्कन गराई सुधान गर्नुपरे सुधार गर्ने, छाप्न योग्य भए अगाडि बढाउने र छाप्न योग्य नदेखिए त्यसलाई अस्वीकार गर्ने पद्धति निर्माण गर्ने छ । यसका लागि अनेसासको प्राज्ञिक समितिको सहयोग पनि लिन सकिने छ ।
उक्त घोषणापत्रले नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अनुसन्धान, प्रकाशन र नयाँ पुस्ताको सशक्त सहभागितालाई संस्थागत रूपमा अघि बढाउने दिशामा महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।

