काठमाडौं । नेपालयद्वारा आयोजना हुँदै आएको लोकप्रिय साङ्गीतिक शृङ्खला ‘पलेँटी’मा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुनुहुने भएकाे छ । अङ्ग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने कार्यक्रममा श्रेष्ठले नौ वर्षपछि पुनः प्रस्तुति दिन लाग्नुभएकाे हाे ।
कार्यक्रमको तयारीस्वरूप गायक श्रेष्ठ यतिबेला पलेँटीका वाद्यवादकहरूसँग अभ्यासमा व्यस्त हुनुहुन्छ । लोक तथा देशभक्तिपूर्ण गीतका लागि परिचित श्रेष्ठ साङ्गीतिक परिवारमा हुर्किनुभएकाे कलाकार हुनुहुन्छ । उहाँले सुनसरीका चर्चित सङ्गीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा साङ्गीतिक यात्रा अघि बढाउनुभएकाे हाे ।
विधानका स्वरमा ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु’, ‘आज नाच्छे मेरी गौरी’ र ‘कान्छीको अल्लारे जोवन’ लगायतका लोकप्रिय गीत रहेका छन् ।
पलेँटीमा पुनः प्रस्तुति दिन पाउँदा खुशी लागेको बताउँदै श्रेष्ठले आफूले सम्मान गर्ने धेरै अग्रज कलाकारहरूले यस मञ्चलाई गौरवपूर्ण बनाइसकेको उल्लेख गर्नुभयाे । “पलेँटी मेरो निम्ति साङ्गीतिक मन्दिरजस्तै हो,” उहाँले भन्नुभयाे, “झण्डै तीन दशक लामो साङ्गीतिक यात्रामा यो कार्यक्रमले थप उचाइ दिने विश्वास लिएको छु ।”
पलेँटीका संयोजक सङ्गीतकर्मी आभासले नौ वर्षपछि पलेँटीमा फर्किएका विधान अझ परिपक्व र परिमार्जित रूपमा प्रस्तुत हुने बताउनुभयाे । उहाँका अनुसार विधानका गीतमा मौलिकताको छुट्टै पहिचान रहेको छ ।
पलेँटी नेपालयद्वारा सञ्चालन हुँदै आएको लघु तथा विशिष्ट साङ्गीतिक शृङ्खला हो, जहाँ गायक, सङ्गीतकार र रचनाकारहरू श्रोतासँग निकट रहेर प्रस्तुत हुने गर्छन् । नेपाली आधुनिक सङ्गीतको प्रवर्द्धन तथा कलाकार र श्रोताबीचको दूरी कम गर्ने उद्देश्यले यो शृङ्खला विगत २१ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ ।
यसपटकको पलेँटी जुन २६ र २७ तारिख (शुक्रबार र शनिबार) साँझ नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुन चाहनेले पलेँटीको वेबसाइटमार्फत अनलाइन टिकट प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सहुलियत दरमा टिकटको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमस्थलमा उपस्थित हुन नसक्ने सङ्गीतप्रेमीका लागि प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) को व्यवस्था गरिएको छ । अनलाइनमार्फत संसारभरिबाट कार्यक्रम हेर्न सकिने नेपालयले जनाएको छ ।

