पोखरा । न्याशन इन्भेन्टिभ स्कूल, बैदाम पोखरामा विद्यार्थीहरूको भाषागत क्षमता र बौद्धिक विकासलाई लक्षित गर्दै अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ । नवगठित क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री र सचिवमा हर्षना श्रेष्ठ चयन हुनुभएकाे छ । क्लबमा हाल ३२ जना विद्यार्थी सदस्य रहनुभएकाे छ ।
क्लब गठन कार्यक्रम विद्यालयकी संस्थापक तथा प्राचार्य श्रीमती उमा लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको हो । उक्त अवसरमा प्राचार्य लामिछानेले नवचयनित पदाधिकारीहरूलाई शुभकामना दिँदै स्क्र्याबल खेलले विद्यार्थीहरूको अंग्रेजी भाषागत दक्षता, शब्दज्ञान र तार्किक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सिर्जनात्मक गतिविधिमार्फत सिकाइलाई रमाइलो र प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो ।
विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका पदाधिकारीहरूलाई स्वागत गर्दै अंग्रेजी भाषा सिकाइसँगै दिमागी विकासमा सहयोग पुर्याउने स्क्र्याबलजस्ता खेलमार्फत क्लब गठन हुनु सकारात्मक पहल भएको बताउनुभयाे । उहाँले आगामी दिनमा विद्यालयस्तरीय तथा आन्तरिक स्क्र्याबल प्रतियोगिताहरू पनि आयोजना गरिने जानकारी दिनुभयाे ।
त्यसैगरी विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेलले स्क्र्याबल खेलको शैक्षिक महत्वमाथि प्रकाश पार्दै यस खेलले विद्यार्थीहरूलाई नयाँ–नयाँ अंग्रेजी शब्द सिक्ने अवसर दिने बताउनुभयाे । “स्क्र्याबलले शब्दभण्डार विस्तार मात्र होइन, हिज्जे, उच्चारण र शब्द प्रयोगमा समेत क्रमिक सुधार ल्याउँछ,” उहाँले भन्नुभयाे, “यसले विद्यार्थीलाई भाषा सिकाइतर्फ थप उत्प्रेरित गर्छ ।”
विद्यालयमा गठन गरिएको अंग्रेजी स्क्र्याबल क्लबले आगामी दिनमा विद्यार्थीहरूको भाषा–सीप विकासका साथै सहकार्य, प्रतिस्पर्धा र सिर्जनात्मक सोचलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

