साहित्यपोस्ट डट कम

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार सम्मानित

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार सम्मानित

काठमाडौं । नातिकाजी स्मृति समाजले विभिन्न विधाका २१ जना कलाकारलाई सम्मान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको छ । सोही सम्मान शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा. भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई पनि प्रदान गरिएको जनाइएको छ ।

त्यसैगरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं र महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ । नातिकाजी नव प्रतिभा पुरस्कार विपना तामाङ, सहिमा श्रेष्ठ र सुरेश लामा ले प्राप्त गर्नुभएकाे छ ।

नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार प्रमोद उपाध्यायलाई प्रदान गरिएको छ भने नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिएको छ ।

समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नातिकाजीले सङ्गीतलाई मनोरञ्जन मात्र नभई सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रूपमा प्रयोग गर्नुभएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नातिकाजीका गीतहरूमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको गहिरो संयोजन पाइन्छ ।

नेपाली सङ्गीत, कला र पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई गरिएको यो सम्मानले सिर्जनशीलता थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.