काठमाडौं । नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८१’ घोषणा गरेको छ । समाजले विज्ञप्तिमार्फत विभिन्न विधामा पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरेको हो ।
समाजका अनुसार मुलुकको राजनीतिक अवस्था, आमनिर्वाचन तथा शोकका कारण अघिल्लो वर्ष स्थगित कार्यक्रम यसपटक भव्य रूपमा सम्पन्न गरिनेछ । कालजयी संगीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित समाजले हरेक वर्ष संगीत क्षेत्रका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
यस वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’बाट नौ जना स्रष्टा सम्मानित हुनुहुने भएकाे छ । सम्मानित हुनेमा गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार भीमार्जुन आचार्य, संगीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल तथा गीतकार एवं संगीतकार अष्ट लामा रहनुभएकाे छ ।
त्यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’बाट मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारी पुरस्कृत हुनुहुनेछ ।
‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङलाई प्रदान गरिनेछ भने शास्त्रीय सङ्गीततर्फ प्रमोद उपाध्याय पुरस्कृत हुने जनाइएको छ ।
यसैगरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिने समाजले जनाएको छ ।

