दृश्य : १
मञ्चले एउटा जङ्गलको दृश्य झल्काउँछ । मञ्च खाली छ । सूनसान छ वातावरण । अचानक कोही भागेको र कसैले खेदेको पदचापहरू मञ्च नजिक आउँछन् । सङ्गीत भयावह सुनिन्छ। प्रकाशपुञ्ज पनि सोही अनुरूप देखिन्छ ।
प्रवेश – (एक) : यत्तिमा मृगको मखुण्डो लगाएको चरित्र स्या-स्या हुँदै भाग्दै मञ्चमा भित्रन्छ अनि मञ्चको एक कुनामा (एउटा रूखमनि लुकेझैँ गरी) गएर रोकिन्छ । भयमिश्रित उसको हाउभाउ प्रष्ट देखिन्छ ।
प्रवेश (दुई) : एउटा सिंहको मखुण्डो लगाएको चरित्र चाल मारेर मृगको पछिबाट आउँछ र मृगमाथि जाइलाग्छ, मृगलाई मार्छ । त्यसपछि मृगलाई घिसारेर लान्छ । वातावरण पुनः सुनसान हुन्छ । केही बेरपछि सिंह पुनः बिस्तारै आएर भुइँमा सुत्छ ।
प्रवेश (तीन): अचानक बिजुली चम्किन्छ। सङ्गीत तीव्र हुन्छ । मिश्रित रङ्गहरू पोतिएको अनौठो मखुण्डो लगाएको चरित्र भित्रन्छ, आफूलाई वर्तमानवाणी भन्छ ।
वर्तमानवाणी : म आकाशवाणी होइन । म देववाणी बोल्न सक्दिनँ । न त म भविष्यवाणी नै हुँ । पछि हुन्छ भनेर पहिला नै ठोकुवा गर्न सक्दिनँ । अनिश्चित कुरामाथि विश्वास पनि गर्दिनँ । म वर्तमानवाणी हुँ । वर्तमानको बोली हुँ । समसामयिक कुरा गर्छु । (केही अघि बढ़ेर चारैतिर हेर्छ । सिंहलाई राम्ररी हेरेपछि) यो जङ्गल हो । जहाँ पशु-पंछीहरू बस्छन् । यस जङ्गलको राजा हो (सिंहलाई देखाएर) ऊ । अर्थात् सिंह । उसको आसन हो सिंहासन । सिंहलाई जङ्गलको राजा भनिँदै आएको छ उहिलेदेखि । तर प्रश्न उठ्छ सिंह, राजाको परिभाषामा कसरी अटेको छ ? वास्तवमा राजाको अर्थ के हो ? शब्दकोशअनुसार राजाको अर्थ हुन्छ राजतन्त्रात्मक मुलुकमा वंशपरम्पराअनुसार उत्तराधिकार प्राप्त हुने तथा त्यहाँको शासन सञ्चालन गर्ने प्रमुख शासक । यस अर्थमा हेर्ने हो भने सिंहको मुलुक न राजतन्त्रात्मक छ न त उसलाई वंश परम्पराअनुसार उत्तराधिकार नै प्राप्त छ । उसले शासन सञ्चालन गर्दैन । भोक मेटाउन दुर्बललाई मार्छ खालि र खान्छ । तब ऊ कसरी जङ्गलको राजा ? यति ठूलो भ्रामक विशेषण दिएको छ सिंहलाई किन ? त्यसो भए त कुनै पनि प्रकारले, कुनै पनि रूपले शक्ति देखाएर हेप्न सक्नेहरूलाई हेपेर हिंस्रक बन्नेहरू सबै राजा हुनुपर्ने ? सिंह मांसहारी हो । शाकाहारी जङ्गलको राजा हुँदैन कि क्या हो ! प्रकृतिले सिंहलाई आफू बाँच्नका निम्ति अरूलाई मार्न पठाएको छ । यस सत्यलाई स्वीकार्नै पर्छ ।
(प्रस्थान)
(सिंह सुतिरहेकै छ । यत्तिमा खरायोको मखुण्डो लगाएका दुई चरित्र भित्रन्छन् कुरा गर्दै)
खरायो १ : तिमीले देख्यौ ? राजाले आज मृगलाई आफ्नो खाजा बनायो ।
खरायो २ : हो नि ! विचरा मृग ! उसले बिहे गरेको कति भयो र ? उसकी स्वास्नीको विजोग हुने भयो ।
खरायो १ : धन्य आज हामी चैं बाँच्यौँ । ब्वाँसा, जङ्गली कुकुर, स्याल, चीलहरूदेखि जोगिँदा- जोगिँदा थाकिसक्यौँ । आज त झण्डै राजाको हातमा परेको ।
खरायो २ : तर राजाको खास अर्थ चाहिँ के होला हगि ?
खरायो १ : राजा शक्तिशाली छ । हामीलाई जित्छ, मार्छ र खान्छ । र ऊ राजा हो ।
खरायो २ : त्यसो भए हामीलाई जित्न सक्ने, मार्न सक्ने र खान सक्ने सबै राजा हुन् ?
(यत्तिमा मृगको मखुण्डो लगाएको अर्को चरित्र भित्रन्छ रूँदै, ऊ रोइरहेछ एक कुनामा)
खरायो १ : (मृगलाई देखेर) अरे ! हेर त मृत मृगकी स्वास्नी रुँदै छे । (दुवै छेउमा जान्छन्)
खरायो २ : (मृगसित) – दिदी नरुनुहोस् यसरी । (मृग झन् रून्छे)
खरायो १ : हाम्रो भाग्य नै त्यस्तै छ ।
मृग ( रुँदै): तर हाम्रो भाग्य किन त्यस्तो छ ? सिंहले मेरो पतिको हत्या गर्यो । हामी दुई, चउरमा बसेर माया-प्रीतिका कुरा गर्दै थियौँ । अचानक सिंहले हमला गर्दा हामी छुट्टियौँ । मेरो पति एकतिर, म अर्कोतिर, भाग्यौँ हामी । सिंहले उहाँलाई खेद्यो र पक्रेर हत्या गरेर खायो । अब म के गरूँ ? मेरो सहारा, मेरो सर्वस्व मेरो पति नै हुनुहुन्थ्यो । हामी भविष्यमा आउने हाम्रो सन्तानबारेमा सोच्दै थियौँ । तर त्यसले मार्यो मेरो पतिलाई । बहिनी म गर्भवती छु । अब म के गरूँ ? (रुन्छे)
खरायो १ : नरुनुहोस् । जङ्गलको व्यवस्था नै यस्तो छ । हामी मारिनुपर्छ अरू बाँच्नुलाई ।
खरायो २ : Survival of the fittest.
मृग: यस्तो व्यवस्थालाई परिवर्तन गर्न सकिन्न ?
खरायो २ : यो व्यवस्था प्राकृतिक छ । हामी चर्छौँ । घाँस खान्छौँ । हामीलाई सिंह, बाघ, चितुवा हिस्रंक पशुहरूले मार्छन् । उनीहरूलाई चैँ मान्छेले ।
मृग: मान्छेलाई चाहिँ कसले मार्छ ?
खरायो १ : मान्छेले । मान्छेलाई मान्छेले मार्छ। कहिलेकाहीँ भने प्राकृतिक प्रकोपले पनि मार्छ । जन्मिएपछि मर्नु नै पर्छ ।
मृग: तर बाँचुञ्जेल त सञ्चोले बाँच्नु पाउनुपर्छ । डर र आतङ्कहीन भएर बाँच्न पाउनुपर्छ । हामी किन हाम्रो उमेर पूरा जिउन पाउँदैनौँ ? असामयिक मृत्युले गाँजिनुपर्छ किन हामी ?
(यत्तिमा सिंह उठ्छ । त्यो देखेर खरायो (१), (२) र मृग भाग्छन् । सिंह मध्य मञ्चमा आएर आङ तन्काउँछ र गर्जन्छ । अचल हुन्छ । यत्तिमा वर्तमानवाणी पुनः भित्रन्छ)
वर्तमानवाणी: यो गर्जनसित सबै डराउँछन् यहाँ । किनभने यो जङ्गलको राजाको गर्जन हो । तर यो गर्जन सिंहासन जोगाउनुलाई डर देखाउनु होइन । पशुहरूको जङ्गलमा सिंहासनको महत्त्व छैन । तर मान्छेको जङ्गलमा ? (अचल हुन्छ बिस्तारै मञ्च अँध्यारिन्छ )
…
दृश्य २
मञ्चको पृष्ठभूमि ढाक्न सेतो पर्दा टाँगिएको देखिन्छ । कुनामा एउटा चौकी राखिएको छ । यत्तिकैमा एकजना शासकको प्रवेश । चौकीको छेउमा गएर चौकीलाई राम्ररी हेर्छ । सुम्सुम्याउँछ । चौकी वरिपरि घुम्छ अनि –
शासक (स्वगत) : यो विशिष्ट आसन हो । सिंहासन । अहिले मेरो अधिकारमा छ । यस आसनमा ठूलो शक्ति निहित छ । कति वर्ष राजनीति गरेर लाखौँ मतदाताका मतदानद्वारा प्राप्त भएको यो आसनबाट मलाई हटाउने षड्यन्त्र रचिँदैछ । मलाई यस आसनबाट हटाउने अरे । अगणतान्त्रिक ढङ्गमा अविश्वास प्रस्ताव ल्याएर मलाई सत्ताच्यूत गर्ने चक्रान्त रचिँदै छ । असमयमा म यस आसनबाट हट्न चाहदिनँ । मलाई त्यसै यो आसन सुम्पिएको होइन । शपथ लिएर बसेको छु म यसमा, अनि काम पनि गरेको छु । तर मलाई विरोधीहरू भ्रष्टाचारको आरोप लगाउँदैछन् । तानाशाही छु रे । तर आरोपले मेरो अवरोह हुँदैन । प्रमाण छैन । (ओहोर दोहोर गर्छ) तर म पनि छाड्नेछैनँ ।
(यत्तिमा सल्लाहकारको प्रवेश)
सल्लाहकार : सर, तपाईं आज निकै चिन्तित देखिनु हुन्छ ?
शासक : विरोधीहरूको अल्टिमेटमबारे सोच्दै छु । अब कस्तो रणनीति बनाउनुपर्ने हो ? तपाईं मेरो सल्लाहकार हुनुहुन्छ । बताउनुहोस् उपाय ।
सल्लाहकार : विरोधीको ओठ दुईवटा चीजले बन्द हुनसक्छ, सर ।
शासक : केले ?
सल्लाहकार : रुपियाँ कि त बन्दुकले ।
शासक : त्यो त हो । तर अरू पनि त उपाय होला ?
सल्लाहकार : विरोधीहरूको एकता भत्किनुपर्छ ।
शासक : कसरी ?
सल्लाहकार : आपस्तमा वैरभाव सृजना हुनुपर्यो ।
शासक : कसरी ?
सल्लाहकार : विरोधी केहीको कमजोरी छामेर किन्नु पर्यो ।
शासक : बिक्री भएन भने ?
सल्लाहकार : गोली ठोकिदिनु पर्यो ।
शासक : समस्या जटिल हुन सक्छ । विरोधी त यहाँ आफ्नै दलबाट निस्किएको छ ।
सल्लाहकार : विरोधी भनेको शत्रु हो, बाधक हो । घरभित्रको विरोधी झन डरलाग्दो शत्रु हो । उसलाई फकाउनुपर्छ । कि त फसाउनुपर्छ । फकिएन र फसिएन भने हटाउनुपर्छ ।
शासक : सोच्दैछु दलबाट सबैलाई निलम्बित गरिदिऊँ ।
सल्लाहकार : निलम्बनले समस्या बढ्नसक्छ । पहिला फकाउनुपर्छ ।
शासक : ठीकै छ । म उनीहरूसित गुप्ती बैठक गर्छु । त्यसको व्यवस्था गर्नुहोस् । त्यो बैठकमा तपाईं, म र उनीहरूबाहेक अरू उपस्थित नहुन् ।
सल्लाहकार : हवस् सर।
(दुवै अचल हुन्छन् । मञ्च अँध्यारिन्छ। मञ्च पुनः उज्यालिँदा छ जना विरोधी, शासक र सल्लाहकार देखिन्छन् । उनीहरूको बैठक चल्दै छ)
शासक : तपाईंहरूले मलाई जुन आरोप लगाउनुभएको छ, त्यो आधारहीन र पुष्टिहीन छ ।
विरोधी १ : हामी पुष्टि गर्न सक्छौँ।
शासक : यस्तो कुरोबाट हाम्रो दल भत्किन सक्छ । तपाईं हामी त एउटै दलभित्रकाहरू हौँ । एकसाथ काम गर्दै आइरहेछौँ वर्षौँदेखि । आज अचानक सानो भूल-भ्रान्तिले हाम्रो एकता भत्किनु हुँदैन । तपाईंहरू फर्किनुहोस् । तपाईंहरूका निम्ति दलको ढोका सदा खुल्ला छ ।
विरोधी २ : जबसम्म तपाईंले आफ्नो गल्ती स्वीकार्नु हुँदैन तबसम्म हामी फर्कने छैनौँ ।
विरोधी ३ : फर्किने कुरा छैन । अविश्वास प्रस्ताव लिएरै छाड्छौँ ।
शासक : हेर्नुहोस्, म मेरो व्यवस्थामा केही फेरबदल गर्दैछु । तपाईंहरूलाई मनपरेको विभाग दिनसक्छु ।
विरोधी ६ : लोभ र लालच नदेखाउनुहोस् । हामी जन प्रतिनिधि हौँ । जनतालाई धोका दिन चाहदैनौँ ।
विरोधी ४ : हामीलाई कस्तो विभाग दिनुहुन्छ ?
विरोधी ६ : (साथीसित) अरे, तपाईं कस्तो कुरा गर्नुहुन्छ ? यो हाम्रो उद्देश्य होइन ।
विरोधी ५ : पहिला विभागको नाम त सुनौँ ।
विरोधी ३ : हामी यहाँ विभाग माग्नु आएको होइन । हाम्रो अडान अडिग छ । तिमी विभागको नाम नसोध ।
विरोधी ४ : नाम सोध्दा केही हानि छैन । मान्नु नमान्नु पछिबाट सोचिनेछ ।
विरोधी ३ : अरे ! कस्तो कुरा गरेको यस्तो ?
विरोधी २ : एकपल्ट नाम सुन्दा हानि छैन ।
शासक : हेर्नुहोस्, पर्यटन, स्वास्थ्य, गृह, वन, खेलकूद जे पनि हुनसक्छ ।
विरोधी १ : तर यी विभागमा अघिबाटै अरू बसिसकेका छन्, होइन ?
शासक : त्यो मिलाउने काम मेरो ।
विरोधी ६ : (साथीहरूसित) हेर्नुहोस्, तपाईंहरू हाम्रो अडानको विरूद्धमा र सम्झौताको पक्षमा कुरा गर्नुहुँदैछ । म यसमा सहमत छुइनँ । यस्तै कुरा गर्नुहुन्छ भने म चाहिँ गएँ ।
(उठेर जान्छ)
विरोधी ३ : पर्ख, म पनि जान्छु । यस बैठकको कुनै महत्त्व छैन । (उठेर जान्छ)
(अन्य विरोधीहरू एक-अर्कालाई हेराहेर गर्छन् । विरोधी (१) ले हातले बस्ने इशारा गर्छ)
शासक : यसको मतलब तपाईंहरू चाहिँ मेरो प्रस्तावसित सहमत हुनुहुन्छ होइन ?
विरोधी १ : हामी एकपल्ट सोच्ने छौँ।
शासक : सोच्नुहोस् । यदि यसबाहेक कुनै प्रकारको सहुलियत चाहनुहुन्छ भने त्यसमाथि पनि विचार गर्न सक्छु । तर तपाईंहरू दलमा पुनः फर्किनुपर्छ । अविश्वास प्रस्तावलाई त्याग्नुपर्छ ।
विरोधी २ : ठीक छ । हामी सोचेर बताउने छौँ ।
(मञ्च अँध्यारिन्छ)
…
दृश्य ३ :
जङ्गल छ पूर्ववत् । साँपको मखुण्डो लगाएको चरित्र भाग्दै आउँछ । उसको पछि पछि गरूडको मखुण्डो लगाएको चरित्र आउँछ र साँपलाई समात्छ ।
साँप : ऐया ! मलाई छोडिदेऊ । मलाई छोडिदेऊ ।
गरूड : तैँले मुसा र भ्यागुतालाई छोडेको थिइस् ?
साँप : ती त मेरा आहारा हुन् ?
गरूड : तँ पनि मेरो आहारा होस् । तर तैँले खटिखाने कृषकलाई डसेर किन मारिस् ?
साँप : उसले मेरो शिकार भगाइदियो र मलाई लट्ठीले हिर्काएर मार्न खोज्यो र आत्मरक्षाका लागि मैले उसलाई डसेँ र ऊ मर्यो ।
गरूड : तँलाई थाहा छैन उसकी स्वास्नीले तेरो पूजा गर्छे भनेर ? उसले चढाएकी दूध पिएको बिर्सिस् ?
साँप : हेर्नुहोस्, आत्मरक्षामा डस्नु कुनै पाप होइन।
गरूड : तँलाई निल्नु पनि कुनै अपराध होइन । मुसाले धान खान्छ । भ्यागुताले कीरा-फटेँग्रा खान्छ । मुसा र भ्यागुता तँ खान्छस् । तँलाई म खान्छु ।
साँप : होइन, होइन । मलाई छोडिदेऊ । म बाँच्न चाहन्छु ।
गरूड : अरूलाई मार्नेले, मारिनुपर्छ ऊ पनि अरूबाट एकदिन ।
(गरूडले साँपलाई ठुग्न थाल्छ । साँप छट्पटिन्छ । त्यही द्वन्द्वमा दुवै स्तम्भित हुन्छन् । यत्तिमा वर्तमानवाणीको प्रवेश)
वर्तमानवाणी : यो पशु-पक्षीहरूको जङ्गलमा मार्ने मर्ने प्रक्रिया चलिबस्छ । यहाँ यस्तो चक्र घुमिबस्छ । तर मान्छेको जङ्गलमा पनि यस्तो चक्र घुम्दै छ । अचम्म ! तर यहाँ र त्यहाँ उद्देश्यमा फरक छ होइन र ?
(अचल हुन्छ । मञ्च अँध्यारिन्छ । अन्धकारसित दृश्य परिवर्तन भइसक्छ ।)
…
दृश्य ४ :
मञ्चको एक कुनामा शासक मोबाइल फोनद्वारा कुरा गर्दैछ कसैसित । अरू कोही छैन ।
शासक : ठीक छ, ठीक छ । उनीहरूलाई सम्झाइसकेको छु । कुनै Problem हुने छैन । विभागको समस्या समाधान भइहाल्छ । अलिक Donation चाहिएको छ । हुन्छ ?
(यत्तिमा सल्लाहकार भित्रन्छ । शासकलाई फोन गरेको देखेर चुप रहन्छ । शासकले उसलाई हेर्छ ।)
शासक :(फोनमा बात गर्दैछ) ज्यू, ज्यू, हुन्छ, हुन्छ । ओ. के. थ्याङ्क्स । ओ. के. (फोन बन्द गर्छ)
सल्लाहकार : सर, खुशीको कुरो छ । चारजना फर्किआएका छन् । अब अविश्वास प्रस्तावको कुनै महत्त्व छैन । कारण बहुसङ्ख्या तपाईंको पक्षमा छ । तर……?
शासक : तर के ? (सल्लाहकार शासक छेउमा जान्छ र शासकको कानमा केही भनेपछि)
सल्लाहकार : तर तपाईं निर्धक्क बस्नुहोस् ।
शासक : निर्धक्क बस्न सक्तिनँ । दुईजनाले विरोध गरिरहेका छन् अझै । उनीहरू साँप भएका छन् । कुनै समयमा डस्न सक्छन् हामीलाई ।
सल्लाहकार : अब गरूड-गरूड भन्नुपर्छ सर ।
शासक : भन्नुपर्छ होइन, उनीहरूको पछि गरूड छोड्नुपर्छ ।
सल्लाहकार : हुन्छ ।
(दुवै अचल हुन्छन् एक कुनामा । मञ्च अँध्यारिन्छ । मञ्च उज्यालिन्छ पुनः । मञ्च खाली छ । सूनसान छ । विरोधी (६) र (३) भित्रन्छन् कुरा गर्दै । मध्य मञ्चमा आएर मूक अभिनयमा केही कुरा गर्दा अचानक फाइरिङ हुन्छ । दुवै गोली लागेर दुईतिर ढल्छन् अनि मर्छन् । प्रकाश रातिन्छ । यत्तिमा शासक, सल्लाहकार एकतिरबाट अनि अर्कोतिरबाट चार विरोधी भित्रन्छन् । शासकको हातमा एउटा ब्रीफकेस छ । सबै नजिक आएपछि)
शासक : (ब्रीफकेस विरोधी (१) लाई दिँदै) यो तपाईंहरूको हिस्सा !
विरोधी १ : थैङ्क यु । (ब्रीफकेस थाप्छ)
(सबै अचल हुन्छन् । मञ्च अँध्यारिन्छ)
…
दृश्य ५
जङ्गल छ पूर्ववत् । जरायोको मखुण्डो लगाएको चरित्र भाग्दै आउँछन् । पछि पछि सिंहको मखुण्डो लगाएको चरित्र आउँछ । त्यसपछि-
जरायो : (भयले काम्दै) हे ईश्वर ! मलाई बचाउनुहोस् ।
सिंह : कालले कसैलाई बचाउँदैन। यसर्थ तँ आज मर्नुपर्छ मेरो हातबाट। तँ मरिनस् भने मेरो भोक अतृप्त नै रहनेछ ।
जरायो : तिम्रो भोक तृप्त पार्न म किन मर्नुपर्ने ?
सिंह : यो त प्रकृतिको नियम हो । (दुवै अचल हुन्छन् एक कुनामा)
(यत्तिमा दुईनाले बन्दुक ताकेर शिकारीको प्रवेश)
शिकारी : अहो ! सिंह र जरायो एक साथ ? पहिला कसलाई गोली ठोकूँ ? सिंहलाई मार्नुपर्छ । नत्र यसले मलाई मार्छ। तर सिंह मारेर के गर्नु ? यसको मासु खाँदैन कसैले । तर छाला बिक्री हुन्छ । तर कहाँ बिक्री गर्ने ? झमेला ! जरायोलाई मार्छु । यसको मासु मीठो हुन्छ । यसलाई गोली ठोक्छु । सिंहलाई पनि गोली ठोक्छु । मार्नुपर्छ दुवैलाई। (बन्दुक ताकेर अचल हुन्छ । शिकारी, सिंह र जरायोले त्रिकोण बनाएका छन् )
जरायो 🙁अचल अभिनय भत्काएर) हे ईश्वर ! म अघि सिंह छ । मपछि शिकारी छ । आज मेरो मरण निश्चित छ । म के गरूँ ?
सिंह 🙁अचल अभिनय भत्काएर) तँ मर्नुपर्छ आज । अरू उपाय छैन । (शिकारीलाई देखेर झस्कँदै) अरे ! शिकारी ! उफ ! कहाँबाट आयो यो शिकारी ? हेर् जरायो, आज हामी दुवै मर्नुपर्ने रहेछ। मेरो हातबाट तँ मर्ने छैनस् अब । तँ भाग् एकतिर । म पनि भाग्छु । ज्यान जोगाउनुपर्छ आज ।
जरायो : तिमीलाई पनि डर लाग्छ मृत्युसित ?
सिंह : मृत्युसित सबै डराउँछन् । तँ मलाई आफ्नो मृत्यु मान्छस् । म शिकारीलाई आफ्नो मृत्यु ठान्छु ।
शिकारी : खबरदार ! तिमीहरू त्यहीँ बस।
जरायो : मलाई बाँच्न देऊ मेरो जीवन । जिउन देऊ मेरो उमेर ।
शिकारी : तिमी मर्नुपर्छ मेरो स्वादका निम्ति । मेरो सोखको निम्ति ।
सिंह : होइन । खबरदार ! उसलाई नमार । ऊ मेरो शिकार हो । ऊ मर्नुपर्छ म अघाउन । म बाँच्न ।
जरायो : तर तिमीहरू दुवैका निम्ति म कमजोर किन मर्नुपर्ने ? जीवन हो यो मेरो । तर यसमाथि अधिकार किन तिमीहरूको ?
सिंह : भोको छु म । म अघाउनु पर्छ मेरो अस्तित्वका निम्ति ।
जरायो : भोको म पनि छु। तर खादिनँ म तिमीहरूलाई । न जिस्काउँछु नै तिमीहरूलाई । म सोझो छु । हेप्छौ तिमीहरू त्यसैले मलाई । तर मलाई छोडिदेऊ शिकारी । मार्नेलाई मार । सिंहलाई मार ।
सिंह : के भन्दैछस् तँ ?
जरायो : किन, डर लाग्यो ?
सिंह : शिकारी, तिमी मलाई छोडिदेऊ । लैजाऊ बरू जरायोलाई ।
शिकारी : म जरायोलाई पनि मार्छु जिब्रोको निम्ति । तिमीलाई पनि मार्छु आत्मरक्षाको निम्ति ।
सिंह : त्यसो भए त म मर्ने नै रहेछु । तर मर्नु छ भने म पनि मारेरै मर्छु । (गर्जन्छ)
(शिकारीले जरायोलाई गोली ठोक्छ । जरायो ढल्छ । सिंह शिकारीमाथि जाइलाग्छ । दुवै लड्छन् । सिंहले शिकारीको घाँटी समात्छ । शिकारीले त्यतिकैमा दुईनाले बन्दुकबाट अर्को गोली छोड्छ । सिंह गोली लागेर एकतिर ढल्छ । शिकारी छट्पटिएर अर्कोतिर ढल्छ । मञ्च बिस्तारै अँध्यारिएर उज्यालिँदा मञ्चमा जरायो, सिंह र शिकारी हुँदैनन् तर मञ्चमा एउटा चौकी, शासक, सल्लाहकार, विरोधी (१) २ (२) छन् । आपस्तमा मूक अभिनयद्वारा कुराकानी गर्दैछन् । सल्लाहकार केही भन्दै छन् । विरोधी (१) र (२) पनि शासकलाई केही भन्दैछन् । नकरात्मक छ शासक । ऊ रिसाउँदै छ । उनीहरू माझ मूक अभिनय मात्र हुँदैछ । जसद्वारा उनीहरूमाझ केही मतभेद भएको स्पष्ट प्रतीत हुन्छ । अचानक विरोधी (१)ले रिवाल्वर निकालेर शासकलाई ताक्छ । शासक भयभीत हुन्छ । रिवाल्वर पड्किन्छ । शासक ढल्छ र मर्छ । त्यसपछि -)
विरोधी १ : हाम्रो बाधा हट्यो।
विरोधी २ : (सल्लाहकारसित) अब तपाईं हाम्रो दलको नेता ।
(सल्लाहकार हाँस्छ । शासकको लाशलाई हेर्छ । त्यसपछि चौकी छेउ गएर त्यहाँ बस्छ । विरोधी (१) र (२) पनि नजिक जान्छन् ।)
विरोधी १ : अब यो आसनको उत्तराधिकारी तपाईं ।
विरोधी २ : Congratulations !
(दुवै विरोधीले सल्लाहकारसित हात मिलाउन एक-एक वटा हात अघि बढाउँछन् । सल्लाहकार दुवैलाई राम्ररी हेरेपछि उनीहरूसित हात मिलाउँछन् । त्यही अभिनयमा सबै स्तम्भित हुन्छन्। मञ्चभरि जण्डिस लागेझैँ पहेंलो प्रकाश छाउँछ र मञ्च बिस्तारै अँध्यारिन्छ । पुनः मञ्च बिस्तारै उज्यालिन्छ । तर अहिले पहेंलो प्रकाश छैन । सम्पूर्ण मञ्च रातो प्रकाशमा डुबेको छ । मञ्च खाली छ । कोही छैन । सूनसान छ । त्यहाँ जङ्गल छैन । बिस्तारै भयावह सङ्गीत तीव्र बन्छ अनि त्यसपछि बिस्तारै न्यून हुँदै जान्छ अनि -)
(एक भयावह मखुण्डो लगाएको चरित्र हाँस्दै भित्रन्छ । ऊ मृत्यु हो )
मृत्यु : हा…… हा…….हा…… शक्तिशाली कोही छैनन् यहाँ । न अमर नै छन् कोही । घमण्ड नगरे हुन्छ । राजा मर्छन् । प्रजा मर्छन् । मृग मर्छ । सिंह पनि मर्छ । शिकारी मर्छ । शासक मर्छ । सबै मर्छन् जिउँदाहरू । सिंहासनका निम्ति मार्नेहरू पनि मर्छन् । शक्तिका लागि मार्नेहरू पनि मर्छन् । मृत्युको पञ्जाबाट कोही बाँच्न सक्दैन । कारण मृत्यु जति अर्थात् मजस्तो शक्तिशाली कोही छैन यहाँ ….. हा……..हा……….
वर्तमानवाणी : (भित्रन्दै) अरे ! मृत्यु ! तिमी हाँस्छौ किन त्यसरी ?
मृत्यु : को हो ? को हौ तिमी ?
वर्तमानवाणी : म वर्तमानवाणी हुँ । घमण्ड नगर त्यसरी आफ्नो शक्तिमाथि । अचेल ओइरिन्छौ तिमी असामयिक भएर ।
मृत्यु : तिम्रो मतलब ?
वर्तमानवाणी : पृथ्वीमा जीवन आएपछि जिउन पाउनुपर्छ त्यसले पूरा उमेर । असामयिक मर्नु र मारिनु हुँदैन त्यो । गरीब र कमजोरहरूले पूरा उमेर जिउन पाइरहेका छैनन् । मर्दैछन् असामयिक मृत्यु । शक्तिशालीहरूले दबाइरहेछन् दुर्बलहरूलाई । विरोधीहरू, सचेतहरू मारिँदैछन् । तिमी अकाल हुँदैछौ अचेल ।
मृत्यु : म्यादभरि जिउन सक्छ जीवनले । म्याद पूरा भएपछि मर्नु नै पर्छ । वास्तवमा जङ्गलमा असामयिक केही छैन, कोही हुँदैन । सबै सामयिक छन् ।
वर्तमानवाणी : मृगले पूरा उमेर जिउन पाउँदैन । सिंहले मार्छ । उसले आफ्नो नानीको अनुहार देख्न पाएन । स्वास्नीसित गफिन पाएन । बूढ़ो भएर, उमेर पुगेर मर्न पाएन । उसको अकालमा मृत्यु भयो । तब उसको मरण कसरी सामयिक भयो ? शासकले विरोधीहरूको हत्या गरायो । विरोधीहरूले जीवनलाई पूर्णतया जिउन पाएनन् । उमेर नपुगी मारिए । शिकारीले जरायो मार्यो । सिंहले शिकारी मार्यो । शिकारीले सिंह मार्यो । तर जरायोले कसैलाई मारेन र पनि ऊ किन मारियो ?
मृत्यु : पशुहरूको जङ्गलमा जसको शक्ति उसको भक्ति लागू हुन्छ । र जो बलियो उही त्यहाँ उभियो । यसैले त्यहाँ जीवनले आफैँ सुरक्षा खोज्नुपर्छ । जङ्गलको राजमा मृत्यु जहिले पनि आउन सक्छ । उमेरको सीमा छैन त्यहाँ । बाँच्नुलाई मारिनुपर्छ त्यहाँ । मांसाहारीलाई आहारामा मासु चाहिन्छ बाँच्न । यसैले सिंहले मृगलाई मार्छ र खान्छ ।
वर्तमानवाणी : सिंहले सिंहलाई मारेर किन खाँदैन ? सिंहले गैँडालाई मारेर किन खाँदैन ? शक्तिशालीले शक्तिशालीलाई मारेर किन खाँदैन ? कमजोरलाई मात्र किन मार्छ ?
मृत्यु : यो प्राकृतिक कुरो हो । हात्ती, अर्नाले घाँस खान्छन् । हत्या गर्दैनन् मासु खान । सिंहले, मांसाहारीहरूले पनि घाँस खाए भने मृगहरू, कमजोरहरू मारिने थिएनन् । तर यस्तो परिवर्तन कसरी गर्ने ?
वर्तमानवाणी : यो त जङ्गलको कुरो भयो । तर बिल्डिङको जङ्गलमा बस्ने मान्छेबारे के भन्ने ?
मृत्यु : मान्छेको जङ्गलमा मान्छे जति हिंस्रक प्राणी अरू छैन । पशुहरूको जङ्गलमा सिंहले सिंहलाई मार्दैन सिंहासनका लागि । हात्तीले हात्तीलाई मार्दैन गद्दीका लागि । मृगले मृगलाई मार्दैन चौकीका लागि । तर मान्छेको जङ्गलमा मान्छेले मान्छे मार्छ, सत्ताका लागि, सिंहासनका लागि, चौकीका लागि, शक्तिका लागि । कारण सिंहासन भनेको राजगद्दी र सत्ता मात्र होइन । पैसा, रुपियाँ, सुन चाँदी हीराले भरिएको गाडधन हो मान्छेका निम्ति । पशुले प्रतिशोध लिँदैन । मान्छेले लिन्छ। सिंहभन्दा हिंस्रक मान्छे छ ।
वर्तमानवाणी : तर यस्तो किन हुन्छ ?
मृत्यु : मान्छेको जगत रुपियाँले चल्छ । रुपियाँले लोभ, लालच र हिंसा जन्माउँछ । मान्छे सुविधाभोगी हुन्छ । वैज्ञानिक सहुलियत उपभोग गर्छ । ऊ अघाएर पनि अघाउँदैन । पशु-पक्षीले अघाउनका निम्ति मात्र हत्या गर्छ शिकारको र खान्छन् । तर मान्छे टम्म र डम्म भएर पनि अघाउँदैन । सिंहासनका निम्ति ऊ प्रलोभित भएकै हुन्छ जनहितको बहानामा । सिंहलाई जङ्गलको राजा भने तापनि ऊ शासक होइन । हिंसक पशु हो । तर उसले पेट भर्नुलाई मात्र शिकार गर्छ । अघाएपछि चुपचाप सुत्छ । तर मान्छेको जङ्गलमा त्यस्तो हुँदैन । मान्छे अघाएर पनि अघाउँदैन र सिंहभन्दा हिंसक हुन्छ । यसैले म व्यस्त हुनुपर्छ असमयमा मान्छेको जङ्गलमा ।
वर्तमानवाणी : यसको अर्थ पशुको जङ्गलमा सबै सामयिक छन् अनि मान्छेको जङ्गलमा सबै असामयिक ?
मृत्यु : हो । मान्छेको जङ्गल ध्वंसात्मक मार्गतर्फ अग्रसर छ । मान्छेले पशुको जङ्गल मास्यो। पशु-पक्षीलाई मास्यो अनि अहिले मान्छेले मान्छेलाई मास्दैछ । इतिहास साक्षी छ, मान्छेले मान्छे मासेको छ । सिंहासनका लागि राजकुमार पुत्रले राजा पिताको हत्या गरेको छ । दाज्यूलाई मारेको छ भाइले, सिंहासनका लागि ।
वर्तमानवाणी : हो, Survival of the fittest जङ्गलमा छ । Might is right भनेर इतिहासले बताउँछ । तर अहिले दुवै वर्तमानले बताउँदैछ । तर यो प्राप्ति कसलाई ?
मृत्यु : प्राप्ति ? (हाँस्छ)हा..हा… हा… हा…….. मान्छेले बुझेको छैन । उसको प्राप्ति केही होइन । उसको सम्पत्ति केही होइन । उसको प्रसिद्धि केही होइन । शून्य हो शून्य ! जीवित अवस्थामा राजनीति, कुटनीति, भ्रष्टाचार, युक्ति-बुद्धिद्वारा धेरै सङ्घर्षपछि प्राप्त उसका उपलब्धिहरू उसले छाडेर जानुपर्छ शून्य पथतर्फ । जीवन त एउटा बिन्दुबाट शुरु भएर अर्को बिन्दुमा अन्त हुनुपर्छ अनि त्यो अर्को बिन्दु म हुँ अर्थात् मृत्यु । मान्छेले सिंहासन त्यागेर चितामा जल्नुपर्छ । कि त माटोमनि पुरिनुपर्छ । यही शाश्वत सत्य हो । यस सत्यलाई बुझ्नेहरू महात्मा हुन्छन् र सुकर्म गरेर बित्छन् । यसर्थ, मान्छेले सुपथमा हिँडेर सुकर्म गर्नुपर्छ । तब म पनि सामयिक हुन्छु । नत्र भने म असामयिक भएरै आउनु बाध्य हुनुपर्छ मान्छेको जङ्गलमा ।
वर्तमानवाणी : तर मान्छेले सधैँ राज गर्न नै रुचाउँछ । कमजोरलाई दबाउनै मन पराउँछ । व्यभिचार रुचाउँछ । आफ्नोलाई काखी चेप्न नै मन पराउँछ । मन नपराउनेहरूलाई दुश्मन सम्झेर सताउँछ । यसैलाई ऊ आफ्नो शक्ति ठान्दछ ।
मृत्यु : तर यो मान्छेत्व होइन । यहाँ कोही आफ्नो हुँदैन । कोही पराई पनि हुँदैन । सबै आफ्ना हुन् भन्ने लालसा बोकेर जिउनु भ्रम पाल्नु बराबर हो । एक्लै जन्मिएर आएपछि जानुपर्छ एक्लै । माया-मोहको जालमा अल्झिएर आफ्नो बिरानोको कसी लगाउनुमा सत्यता छैन । बाँचुञ्जेल चिन्तामा मरेपछि चितामा हुने जिन्दगीले जिउने बहानामा पिउने गरेको हुन्छ । त्यो क्षणिक र हानिकारक उपाय हो । मन नपराउनेहरू सबै दुश्मन र पराई हुन् भन्ने धारणा भ्रमात्मक छ ।
(दुवै अचल हुन्छन् मञ्चको एक कुनामा)
(यत्तिमा राजा र राजकुमारको वेशभूषामा दुई व्यक्ति आउँछन्)
राजा : हेर छोरा, तिमी मेरो प्रिय छौ । तर राजतन्त्रमा मपछि तिम्रो दाज्यू नै राजगद्दीमा बस्नुपर्छ । यो मुकुट उसको हुन्छ ।
राजकुमार : दाज्यूपछि ?
राजा : उसको छोरा ।
राजकुमार : म र मेरा छोराहरू चाहिँ ?
राजा : यसको अर्थ छोरा, तिमी सिंहासनमा बसेर राजा हुने लालसामा छौ ?
राजकुमार : म त मेरो अनिश्चित भविष्य देखेर चिन्तित हुँदैछु, बाबा ।
राजा : चिन्ता नगर । चिन्तन गर ।
राजकुमार : चिन्तन ? तपाईंले ठीक भन्नुभयो । म चिन्तन गर्छु । साँच्चै गर्छु ।
(यति भनी तरबार निकालेर राजामाथि प्रहार गर्छ । राजा मर्छ । यत्तिमा उसको दाज्यू आइपुग्छ)
दाज्यू : भाइ, मेरो भाइ, यो तिमीले के गर्यौ ? आफ्नै पिताको हत्या गर्यौ ? तर किन भाइ ? किन ?
राजकुमार : किन ? (दाज्यूलाई पनि तरवारले प्रहार गर्छ। दाज्यू पनि मर्छ)
राजकुमार : (तरवारमा लागेको रगत हेरेर) रगत……. यस रगतले मेरो भविष्य अनिश्चित बनाएको थियो । तर अब (एक्कासि हाँस्छ) हा…… हा…… हा….. अब मेरो कोही बाधक छैन । अब म राजा हुँ राजा । त्यो सिंहासन मेरो हो मेरो । हा…… हा. ..
(राजकुमार हाँस्दै जान्छ अनि मञ्च पनि बिस्तारै अँध्यारिन्छ । पुनः मञ्च उज्यालिँदा मञ्चमा मृत्यु र वर्तमानवाणीको दृश्य पूर्ववत रहन्छ)
मृत्यु : यो हो इतिहास । सिंहासनका लागि चलेको द्वन्द्व । एउटा घिनलाग्दो द्वन्द्व ।
वर्तमानवाणी : विगतमा घट्यो त्यो । तर वर्तमान र भविष्य आतङ्कित भए । अब अझै के के हुने हो ?
मृत्यु : वर्तमान त भोग्दैछन् मान्छेहरूले । पशुहरूले । भविष्य अदृष्टिगत छ । तिमी साँच्चै चिन्तित छौ भने सोध मान्छेहरूलाई (दर्शकतर्फ औँल्याउँछ)
वर्तमानवाणी : म वर्तमानको बोली हुँ । मैले भन्नैपर्छ । बोल्नैपर्छ । यी मान्छेहरू (दर्शकसित), कान भएका बहिराहरू तपाईंहरू सबै । सुनेर पनि नसुन्ने । आँखा भएका अन्धाहरू सबै । देखेर पनि नदेख्ने । जिब्रो भएका लाटाहरू । बोल्नै नसक्ने । चिन्तामा डुब्ने, चितामा जल्ने, अत्याचारमा गल्ने, उमेर नपुगी ढल्ने, पढेका ज्ञानीहरू सबै ! तर क्षणिक मनोरञ्जन र आंशिक विकासमा मक्ख परेर ट्वा पर्नेहरू पनि तपाईं सबै । वर्तमान कति रक्ताम्मे छ हत्याहरूले सजिएर ! वर्तमान कति भीषण छ षड्यन्त्रले कजिएर ! एउटा अथाह फोबियाले ग्रसित मनस्थिति बोकेर रूग्ण भइसकेको जीवनमा लालसा र सपना पाल्ने तपाईंहरू सबै चुप र मूक मूर्ति शायद । हिँड्नेको खुट्टा तान्ने, बोल्नेको मुख थुन्ने, देख्नेको आँखा छोप्ने प्रवृत्ति लिएर आफूलाई मान्छेको जङ्गलमा शक्तिशाली र शिक्षित ठान्ने भ्रम पाल्ने जङ्गलीहरू तपाईंहरू सबै ।
मृत्यु : अरेरे ! वर्तमानवाणी, तिमी त रिसाएर मान्छेलाई गाली गर्न र अभियोग लगाउन थाल्यौ ?
वर्तमानवाणी : म दुख्दैछु र भुक्दैछु सचेतताकै निम्ति । तर सिंहासनका लागि होइन । वर्तमानको शरीरमा घाउ भएको छ र ऊ घाइते भएर हिँडिरहेको छ ।
मृत्यु : वर्तमान घाइते ?
वर्तमानवाणी : हो ! वर्तमान घाइते छ । बिसञ्चो छ। बिमारी वर्तमानकै वाणी हुँ म । म भविष्यवाणी गर्न सक्दिनँ । तर अड्कल काट्दै छु । भविष्य मान्छेको गर्भमा नै तुहिनेछ पशु र मान्छेमा अन्तर भएन भने । जीवन शुरुमा नै तिम्रो अर्थात् मृत्युको मुखमा पर्नेछ जङ्गली र सभ्यमा भिन्नता भएन भने । र बोल्दैछु म । झक्झकाउँदैछु सबैलाई । हाहाकार हुन्छ एउटा हत्यापछि शहरमा । बन्दहरू छन् धेरै । निस्तब्धता छ फेरि । जीवन डराउँछ । फेरि ढुक्क हुन्छ । फेरि डराउँछ । हाहाकार हुन्छ अर्को हत्याले । केका निम्ति ? कसका निम्ति ?
मृत्यु : प्रश्न छोडिदेऊ अहिले । उत्तर खोज्लान् मान्छेहरूले । अन्तहीन छ निष्कर्ष । अन्त गराउने अभिभारा छोडिदेऊ यिनीहरूलाई । म जान्छु अब । किनभने म अकस्मात् आउनुपर्छ फेरि । र जानुपर्छ । अहिले परसम्म हिँड मसित । हिँड ।
(मृत्युले वर्तमानवाणीलाई अँगालेर लान्छ केही पर। दुवै हिँड्दा हिँड्दै अचल हुन्छन्)
* पर्दा *

