गत हप्ता नाट्यसंस्था सर्वनाममा अवस्थित सानो तर आकर्षक कला दीर्घामा एउटा सामूहिक कला प्रदर्शनी भयो । ‘सिर्जना कलेज अफ आर्ट’का एल्मुनाइ एसोसिएसनले जिम्मा लिएको यो कला प्रदर्शनीमा युवा कलाकारका चित्रहरू बढी मात्रामा देखा परेका छन् । थरीथरीका संरचना बोकेका यी चित्रहरू गहिरो भावावेगका साथ संयोजन गरिएको हुँदा पनि यसले भावकलाई यथेष्ट रोमाञ्चित बनाउँछ । अहिले युवा कलाकारहरूले कस्ता प्रकारले कस्ता कलाको सिर्जना गरिरहेका छन् । कलाको ढर्रा आजको दिनमा कसरी बढिरहेको छ । यो कला प्रदर्शनी हेर्दै गर्दा भावकले अवलोकन मात्र होइन यथेष्ट महसुस गर्न सक्ने छ । धेरै समयपछि यो कला–दीर्घाले जीवन पाएको छ । यसकारण यो कला प्रदर्शनी स्वयं पनि नयाँ नौलो ढंगबाट आउन खोजेको अनुभूति हुन्छ ।
मूलतः यो कला प्रदर्शनीले दुईतीन वटा कुराहरू स्पष्ट इंगित गरेको देखिन्छ । पहिलो कुरा त यो कला–प्रदर्शनी वा यहाँ प्रदर्शनमा भएका कला अनि कलाकारहरूसँग प्रत्यक्ष रूपमा नाटक जोडिन पुगेको छ । अर्थात् कला कै अर्को सशक्त विधा जहाँ पनि अभिव्यञ्जना उस्तै उस्तै प्रकारले प्रवाहित भइरहेको हुन्छ । व्यक्ति विशेषका अभिव्यञ्जना, जस्तो कि एउटामा व्यक्ति विशेष स्वयं अभिनयबाट आफ्नो कलालाई प्रकटन गर्न चाहन्छन् । शारीरिक हाउभाउमा अन्तर्निहित भाव–अभिव्यक्ति सम्प्रेषित भइरहँदा दर्शकले यसैबाट अमूक कुराहरूलाई ग्रहण गर्ने प्रक्रिया रहन्छ । यतिनै बेला अर्कोमा अर्थात् चित्रकलामा चाहिँ क्यानभासमा यस्तैयस्तै आकृतिलाई पात्रको रूपमा संगठित गरी आफ्नै भाव अनि विचारहरूलाई प्रस्फुटन हुन–गराउन लागि परेका हुन्छन् । एउटै कुरा तर फरक फरक तरिकाबाट अभिव्यक्त भइरहँदा दुवै विधाका कलाकारलाई त थप ज्ञान हुने नै छ । भावक समेतलाई नौलो मनोरञ्जन हुने छ ।
नाटक आफै पनि कलाको अर्को एउटा सशक्त विधा हो । जहाँ मनका भाव मात्र होइन, आजको सामाजिक राजनीतिक अवस्थाहरू पनि प्रतिबिम्बित हुने गर्दछन् । यही समाजमा बस्ने बासीहरूको आजको भाष्यलाई समेत यसले उजागर गरिरहेको हुन्छ । भाषा–साहित्य, अभिनय, अर्थात् मञ्चन दुवैको सहाराले निश्चित व्यक्ति विशेषले हाउभाउद्वारा यस्ता सन्दर्भहरू सञ्चारित गरिरहेको हुन्छ । अर्कोमा चाहिँ चित्रपटमा चलमल नहुने आकृतिहरू बसेका हुन्छन् । अनि मौन भाषामा यही सन्दर्भका अनेकानेक कुराहरू सम्प्रेषण भइरहेको हुन्छ । यसले आम भावकमा एउटा बिम्बको आभास गराउँछ । अनि रङ्ग–रेखाहरूद्वारा यस्तैयस्तै कथालाई डोर्याइरहेको अनुभव पनि गराउने गर्दछन् । नाटकमा चाहिँ मञ्चनपछि पनि यसबारे कुराकानी हुन्छ । तर चित्रमा चाहिँ कलामाथि बहस गर्ने चलन छैन । यसर्थ पनि चित्र चाहिँ नबुझिने भाषामा परिणत भएको देखिन्छ । सम्भवतः फरक चाहिँ यति नै हो । वस्तुतः दुवैमा सगोल रूपमै बहस हुन चाहिँ आवश्यक छ ।
यी दुई माध्यम बीच कसरी तालमेल हुन सक्छ वा एउटै सन्दर्भलाई दुई फरक विधाबाट कसरी आफ्ना कुराहरू राख्दा रहेछन् । यसलाई अवलोकन गर्न भावकलाई पनि सुनौलो अवसर यसले प्रदान गर्दछ । अर्थात् नाटक गर्ने, नाटक हेर्न आउने एक अलग्ग प्रकारका दर्शकसँग यी कलाहरूले संवाद गर्न खोज्दा कलाकार स्वयंलाई पनि यसले नयाँ ऊर्जा दिनेछ । नाटकमा पनि यी चित्रहरू स्वयं पनि गतिलो पात्रको रूपमा प्रयोग गर्न सकिन्छ । यसका साथै सर्वनामले गर्ने गरेको अन्य धेरै क्रियाकलापसँग पनि यी कलाहरू जोडिने सन्दर्भ पनि यहाँ रमाइलोसँग देखिन्छ । फलतः यी कलाहरूलाई धेरै प्रकारका भावकहरूसँग साक्षात्कार गर्न अनुकूल मिल्छ ।
आज सर्वनामले नाटकमात्र गर्दैन यहाँ नाटक सिकाउने काम पनि हुन्छ । कुनै कसैलाई पनि काम गर्न एकान्त स्पेसको आवश्यकता भए । यो पनि यहाँ उपलब्ध छ । यति मात्र होइन यहाँ ध्यान गर्ने अलग्ग स्थल पनि छ । अनि क्याफे पनि हुँदा यहाँ खानपानको पनि राम्रो व्यवस्था भएको देखिन्छ । खाना खान मात्र आउने कला वा नाटकसँग वास्ता नै नभएका व्यक्तिहरूसँग पनि यी कलाहरूको भेट हुन्छ । समग्रमा भन्दा दर्शकको एउटा ठूलो भीडसँग कलाको जम्का भेट हुन जान्छ । कहिले कला नदेखेका दर्शकसँग कला संवाद हुँदा हुने अनुभूति पनि कलाकारलाई प्राप्त हुन्छ । यो एउटा सर्वथा अलग्ग वातावरणले गर्दा पनि अन्य कला ग्यालरीभन्दा यो ग्यालरी नितान्त अलग्ग देखिन्छ ।
एउटा अर्को रमाइलो कुरा पनि यहाँ गाँसिएको छ । त्यो के हो भने यो सानो कला दीर्घालाई अझ सानो बनाउँदै बोर्डहरूले बेरबार गरी अनेकौँ खण्डमा विभाजित गरिएको छ । यो अलिकता अलग्गै ग्यालरीको संरचनाले आम भावकलाई एउटा अलग्गै स्वाद दिन्छ । बस्ने कुर्सी छ । टेबल छ । अनि सँगै झुण्डिएका अनगिन्ती चित्रहरू पनि छन् । यसरी हरेक खण्डहरूमा कुर्सी–टेबलको व्यवस्था गरिँदा आम भावकलाई तीन चारवटा कुराहरूको प्रत्यक्ष फाइदा हुन्छ । आरामसँग एकान्तमा बसेर खाना खान, सँगै झुण्डिएको चित्रलाई रसास्वादन गर्न अनि मन लागे यी चित्रहरू पनि खरिद गर्न पनि सक्नेछन् । अनि थप अध्ययन गर्न मन लागे अलि पर रहेका सानो अध्ययन कक्षमा गएर पढ्नलाई पनि अनुकूल हुन्छ । यो एउटा सानो पुस्तकालयको खण्ड पनि त्यहाँ छ ।
यी आदि इत्यादिको व्यवस्था पनि हुँदा सर्वप्रथम त धेरै प्रकारमा मान्छेहरूको यहाँ ओइरो लाग्ने सम्भावना बढी मात्रामा हुन्छ । अनि कलालाई नाटक वा साहित्यसँग गाँसेर अवलोकन गर्ने पनि मौका मिल्नेछ । यहाँको प्रेक्षालयमा नाटक अनि साहित्य वा अन्य खाले कार्यक्रम पनि हुने हुँदा पनि थरीथरीका दर्शकहरूसँग कलाको भेटघाट हुने, प्राज्ञिक बहस हुने गर्दछ । यसले कलाको मूल्य–मान्यता अनि एस्थेटिक्सका कुराहरू गहन प्रकारले बुझ्न बुझाउने वातावरण पनि हुन जान्छ । तापनि मुख्य कुरा चाहिँ यो कला प्रदर्शनीका कलाकारहरू जसले आफ्ना कलाहरू लिएर सहभागी भएका छन् । ती कलाकारहरू चाहिँ आउँछन् कि आउँदैनन् । यो चाहिँ अहिले पनि अहम प्रश्न बनेको छ । कला प्रदर्शनीमा कलाकार स्वयं चाहिँ बसिरहने त्यस्तो प्रचलन नहुँदा भने दर्शक आफैले कला हेर्ने । हेर्न पर्ने । बुझ्ने आदि कुराहरू आफै गर्नु पर्ने हुन्छ । यो चाहिँ अलि नमिठो कुरा हो ।
अब अलिकता कलाका कुराहरू
विशेष गरेर यसपल्टको यो कला प्रदर्शनीमा आकारमूलक चित्रहरूले बढी मात्रामा प्रश्रय पाएको देखिन्छ । हुन त हिजोआजका कलाहरूले अमूर्त स्वरूपलाई मन पराएको त्यति देखिन्न । यो कलाशैली अलि पुराना भयो भन्ने पनि छ । तर यति भन्दाभन्दै पनि एउटा चित्र चाहिँ नितान्त अमूर्त स्वरूपमा पनि देखा परेको छ । यो चित्र चाहिँ सन्दीप न्यौपानेको हो । जसले बढो आकर्षक ढंगले रातो, कालो, हरियो अनि सेता रङ्गहरूको खण्डहरूलाई बढो गजबले समायोजित गरेका छन् । सहरको व्यस्त जीवनलाई सिङ्गो सहरको वास्तुकलालाई अमूर्त रूपमा प्रस्तुत गर्नु यसको विशेषता पनि हो । शान्त स्थिर एउटा सहरको दृश्यचित्रको प्रतिबिम्ब लाग्ने यो चित्रले यथेष्ट रूपमा सौन्दर्यता बोकेको महसुस हुन्छ । अमूर्त कलाको यही त उद्देश्य पनि हो । यसले भावना अनि विचारभन्दा पनि भावकलाई आनन्दविभोर हुन गराउन सहयोगी सिद्ध हुने गर्दछ ।
आजका कलाहरू यथार्थ अनि कन्सेप्टमा आधारित भएर बन्ने गरेको हुन्छ । जसलाई यो कला प्रदर्शनीमा पनि महसुस गर्न सकिन्छ । कलाहरू यहाँ शास्त्रीय ढंगबाट संयोजन भएका देखिँदैनन् । अर्थात् मात्र व्यक्ति चित्र वा दृश्यचित्र वा स्थिर–जीवनका यथार्थ चित्रमा पनि थप अवयवहरूलाई टाँसटुँस गर्ने, अयथार्थताको अनुभूति आउने गरी पात्रहरूलाई अस्वाभाविक किसिमले समायोजन गर्ने हुँदा पनि यसले कलाकारका भावहरूभन्दा पनि विचारलाई बोकेको महसुस हुन्छ । हिजोआजको कलाको यो एउटा विशेषता पनि हो ।
जस्तो कि नम्रता सिंहकै कलाको चर्चा गरौँ । उनी तराईका हुन् । अझ उनी मैथिली क्षेत्रका हुन् । यसो हुँदा पनि उनका आधुनिक चित्रहरूमा उहिले पहिलादेखि नै मिथिला कलाका बिम्बहरू दरिलो मोटिफको रूपमा देखिने गर्दछन् । यसर्थ पनि मिथिला लोककलाका बिम्बहरूलाई लोकगाथासँग जोडेर प्रस्तुत गर्ने उनको आफ्नै पारा छ । यसपल्टको चित्रमा चाहिँ मिथिला कलाको चित्रात्मक शैलीमा एउटा आजको महिला देवीको आयुध त्रिशूलका साथ देखिन्छन् । पृष्ठभूमिका पातहरूको झ्याङ्गमा अलि धमिलो पाराले देवीलाई त्रिशूल नै धारण गरेर बसेको देखिन्छन् । अर्थात् आजको त्रिशूललाई पुरानै परम्परादेखि नै शक्तिको वा देवीको आयुध हो भन्ने अर्थका साथ पनि देखिन गएको छ । अनि यो देवी मातासँगको मौन संवाद पनि देखिन्छ । भक्तिभावको चरम उत्कर्षमा देखा परेको यो चित्रमा करुणा अनि जनावरप्रतिको अथाह माया–प्रेम समेत उजागर भएको देखिन्छ ।
समग्रमा भन्न पर्दा चाहिँ हाम्रो परम्परागत संस्कृति अलिकता धर्म अनि आजको सन्दर्भमा यी अवयवहरू कसरी नारीभित्र देखा पर्दै छ भन्ने एउटा गतिलो उदाहरण पनि हो । परोक्ष रूपमा यो महिलाको इस्युलाई प्रस्फुटन गर्ने सन्दर्भ पनि निस्कन्छ ।
धर्मकै सन्दर्भ उठिरहँदा भानु भट्टराईको ‘गणेश’ नामक चित्र पनि यहाँ टड्कारो रूपमा देखिन्छ । जहाँ गणेश किसिमकिसिमका आधुनिक पोस्चरमा देखिन्छन् । देव गणेशका आँखा, सुँड वा अन्य आयुधहरूलाई टुक्राटुक्रामा विभाजित गरी संयोजन गरिँदा यसले अमूर्तताको भावलाई पनि बोकेको देखिन्छ । तापनि यो अमूर्त कला भने होइन । देव गणेशका विशेषतः शिरलाई चहकिलो आँखा, चन्द्रमा वा कमलको फूल आदि इत्यादिलाई भावनात्मक रूपमा प्रयोग भइरहँदा यसले एउटा अलग्ग स्वरूप बोकेको देखिन्छ । यो मिथकीय प्रयोगले परम्परागत परम्परालाई जोड्ने उनको रहर पनि देखिन्छ ।
पल्पसा मानन्धरले झट्ट हेर्दा हातले ढम्मै ढाकेको महिलाको अनुहारलाई चित्रित गरेकी छन् । अनुहारको पीडालाई लुकाएर अनुहार जम्मै हातले लुकाएर बनाएको एउटा पाको महिलाको चित्र चाखलाग्दो मात्र देखा परेको छैन । यसभित्र थुप्रै कुराहरू लुकेको देखिन्छ । सिङ्गो चित्रपट भरी वस्त्रले अनौठा पाराले ढाक्दा पनि यो उनको कलागत संरचना अलि अर्कै स्वरूपमा देखिन्छ । अनुहारमा लाज, दुःख वा कष्ट के छ बाहिर देखिन्न तर पनि आजको समाजमा महिलाको स्थितिलाई भने सर्वाङ्गमा उजागर गरेको देखिन्छ । उनैको अर्को चित्र पनि छ जहाँ सोचमग्न महिला विगत वा भविष्यको गहिरो सोचमा डुबेको देखिन्छ । यसो हुँदा कलाकार आफै महिला अनि महिलाको अन्तरमनका कथाहरू उनको चित्रमा कतै न कतै प्रस्फुटन हुन खोज्नु स्वाभाविक नै देखिन्छ ।
भावना मानन्धरको चित्र अझ चाखलाग्दो छ । कुकुरको अनौठा चित्र स्वैर काल्पनिक रूपमा प्रस्तुत हुँदा यसले थुप्रै कथा बोकेको आभास हुन्छ । कोएक्जिटेन्स नामक यो उनको चित्रमा गर्भमा रहेको आभास दिने अवस्थामा एउटा चरा पनि अनौठो पाराले बसेको देखिन्छ । आयुस थापाका रेखाङ्कन अझ चम्किलो भएर देखा परेको छ । उनी हातका औँलाहरूलाई सशक्त पात्रको रूपमा उभ्याउँछन् । अनि अनेकौँ भावहरूलाई प्रस्फुटन गर्न प्रयासरत रहन्छन् । रुकमणि धिताल अझ चाखलाग्दो चित्र लिएर देखा पर्दछ । जालोभित्र जकडेर बसेको एउटा किरा अनि अनगिन्ती स–साना अन्य किरा फट्याङ्ग्राहरू संगठित हुँदा उनको कला एक तमासको देखिन्छन् । सुरज अमात्यको नरसिंह अझ घतलाग्दो पाराले देखा परेको छ । त्यो एउटा बालिकाको मासुम चित्र अनि पृष्ठभूमिका ‘सेभ गर्ल’ लेखिएका अक्षरहरू पनि टाँसी महिलाको मुद्दालाई उठाएको देखिन्छ । अर्को चित्रमा अनेकानेक मठमन्दिर अनि देवीदेवताका बीच चहकिलो रङ्गमा महात्मा बुद्धलाई चित्रण गरेको चित्र पनि छ । यी र यस्तायस्तै चित्रहरूले पनि यो कला प्रदर्शनीलाई अझ रोचक बनाएको देखिन्छ ।
कलाकार / कला समीक्षक

