सिलगढी (भारत) । दार्जिलिङ टुक्का साहित्य समाजको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘नारी टुक्का कविता संयुक्त सङ्ग्रह’ लोकार्पण तथा विशेष साहित्यिक समारोह भव्य रूपमा सम्पन्न भएको छ।
सिलगढीस्थित बराल बगैँचामा आयोजित कार्यक्रममा समाजसेवी तथा गायिका रोजी राईको प्रमुख आतिथ्य तथा साहित्यकार विष्णु थापाको अध्यक्षतामा कृति विमोचन गरिएको हो। कार्यक्रममा कवि अर्जुन शर्मा निरौला, पत्रकार हरिप्रसाद शर्मा ‘आत्रेय’ र आशा गुरूङलगायत साहित्यिक व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे ।
विमोचित संयुक्त सङ्ग्रहमा दार्जिलिङका ८ जना र नेपालका २८ जना गरी कुल ३६ जना नारी टुक्काकारका रचनाहरू समेटिएका छन्। यसले नेपाल र भारतका नेपाली भाषी नारी स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ। कृतिको संयोजन भारतबाट हन्नाह छेत्रीले गर्नुभएको हो।
कार्यक्रमको अर्को आकर्षण रचना वाचन र सांगीतिक प्रस्तुति रहेको थियो। बाल टुक्काकार कुशल विश्वकर्मा र करूणा विश्वकर्माले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै रमा गुरूङ, बिबा तामाङ, हन्नाह छेत्री, सरोजा बान्तवा ‘पीयूष’, अम्बिका राणा, सरस्वती शर्मा र शान्ति भूजेलले समसामयिक तथा नारी चेतनासँग सम्बन्धित टुक्का कविताहरू वाचन गर्नुभएकाे थियाे ।
साहित्यकार रमेश दाहाल ‘अपजसे’ र निमा तामाङले कविता तथा गजल वाचन गर्नुभएकाे थियाे भने गायक योन्टेन भोटिया, सरस्वती शर्मा र रोजी राईलगायत स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे ।
प्रमुख अतिथि रोजी राईले समाज विकासमा नारीको भूमिका र अधिकारबारे प्रकाश पार्दै टुक्का कवितामार्फत नारी सशक्तीकरणमा पुगेको योगदानको प्रशंसा गर्नुभयाे ।
हन्नाह छेत्री र सरोजा बान्तवा ‘पीयूष’को संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार रमेश दाहाल ‘अपजसे’ले गर्नुभएको थियो।

