साहित्यपोस्ट डट कम

नारी पाठकका लागि क्याप्सुल हो ‘जिन्दगी फूल सम्झे फूलै हो’

नारी पाठकका लागि क्याप्सुल हो ‘जिन्दगी फूल सम्झे फूलै हो’

डा. सुमाया राई कृत ‘जिन्दगी फूल सम्झे फूलै हो’ जीवन यात्रा कृतिको बाह्य पक्षलाई दृष्टिगोचर गर्दा यसको पहेँलो पृष्ठभूमि भएको आवरणमा एक एक ओटा सेता, नीला र दुई ओटा राता फूलका थुङ्गाहरू छन् । यहाँ हल्का कालो र रातो रङको समायोजन पनि गरिएको छ । सेतोभित्र निलो मसीले ‘जिन्दगी फूल सम्झे फूलै हो’ र अलि साना सेता अक्षरमा ‘जीवन यात्रा’ लेखिएको छ । त्यसको ठीक तल पुच्छरमा कृतिकारको नाम डा. सुमाया राई लेखिएको छ ।

अन्त्यावरणमा जितपाल किरात, प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. नोवलकिशोर राईका सङ्क्षिप्त भनाइहरू राखिएका छन् । गिरीराज राई र शोभा राईले प्रकाशन गरेको यस कृतिको मूल्य ६०० रुपियाँ राखिएको छ । कृतिकारले यहाँ आमाबा र सासूससुरालाई कृति समर्पण गरेकी छिन् । प्रायः आमाबालाई कृति समर्पण गरेपनि सासूससुरालाई गरिएको खासै देखिँदैन । बरु कतिपयले त दुर्व्यवहार गरेको पनि नदेखिएको होइन । जन्म दिने र कर्म दिने आमाबाप्रति समान व्यवहार तथा भेदभाव नगरिएको यो एउटा ज्वलन्त दृष्टान्त हो । यस कुरामा कृतिकारले बाजी जितेकी छिन् । राई जातीय सङ्गठनबाट प्राप्त शुभकामना पत्रले यस कृतिलाई थप ओजनदार बनाएको छ । त्यसमाथि पनि प्रा.डा.द्वयका सारगर्भित भूमिकाले झन् ओजन बढाएर बिसौलीबाट धार्नी बनाएको छ । ५४३ पृष्ठमा विभाजित यस पुस्तकलाई सात अध्यायमा विभक्त गरिएको पाइन्छ ।

प्रस्तुत कृतिको आन्तरिक पक्षलाई पर्गेल्दा यसको प्रथम चरणमा २१ ओटा शीर्षक समावेश छन् । यहाँ कृतिकारको जन्म, हुर्काइ, बढाइ, पढाइ, इन्गेजमेन्ट, भावी पतिको बिराम, आमाको बिराम र देहान्तसम्मका घटनालाई समेटिएको छ ।

पिताले दोस्रो विवाह गरे सँगै कृतिको दोस्रो चरण उद्घाटित भएको छ । यसलाई पनि विभिन्न ७९ ओटा शीर्षकमा विभक्त गरिएको छ । जीवनका अनेकन देखाइ, भोगाइ, अनुभव र अनुभूतिहरू यहाँ अक्षरमा उतारिएका छन् । अध्ययन, पतिको बिराम, विवाह, भारतको सुविधा सम्पन्न बसाइबाट नेपालको कम विकासित परिवेश र समाजमा सङ्घर्ष गराइ, पतिको बृहत् परिवार, राजनीति प्रतिशोधले गुमेको जग्गालाई फिर्ता गर्न गरिएको प्रयास, अचानक पाएको जागीर, राजनैतिक परिवर्तन, प्राध्यापन शुरू, स्थायित्व, सन्तान प्राप्तिका लागि गरिएको दुःख र प्राप्त भए पछिको हर्ष, पतिको बिराम बीसको उन्नाइस नहुनु, बरु अशक्त भएकाले छँदाखाँदाको प्रतिष्ठित प्राध्यापन पेसा परित्याग गरी पतिको उपचार र सेवामा दत्तचित्तले लाग्नु जस्ता प्रसङ्गले यस चरणमा विशेष स्थान पाएका छन् । अति नै मायालु पिताको स्वर्गवाससँगै यो चरण अन्त्य भएको छ ।

खण्ड चारमा लेखकले आफ्नो पूरा परिचय दिएकी छिन् । उनले आफ्नो मावलीको र पतिको वंशवृक्षको पनि सविस्तार चर्चा गर्न भ्याएकी छिन् ।

पाँचौँ खण्डमा विभिन्न १३ जना चिनारुको कृतिकार प्रतिको दृष्टिकोण आदि समावेश गरिएको छ । यी दृष्टिकोणले कृतिकार कस्ती हुन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग पारेको छ ।

प्रस्तुत कृतिमा समावेश भएका प्रसङ्गको अनुसूचीलाई खण्ड ६ मा राखिएको छ । ती अनुसूचीले पुस्तकको विश्वसनीयतामाथि थप बल प्रदान गरेको छ । दरबार हत्याकाण्ड, घुङ्सा हेलिकोप्टर दुर्घटना, कोरोना कहर र जेनजी आन्दोलनको प्रसङ्गले पुस्तकको थप महत्त्व र आयु वृद्धि गरेको छ ।

सातौँ खण्डमा कृतिकारले जीवनमा अविस्मरणीय क्षण झल्काउने तस्बिरहरू सङ्ग्रह गरेकी छन् । ती तपस्वीहरूले सत्यलाई तथ्यको रूपमा पुष्टि गरेका छन् ।

कृतिको विषयवस्तु

यस कृतिको विषयवस्तु यसका मुख्य पात्र कृतिकार स्वयम् हुन् । लेखिका राईले आफ्ना देखाइ, भोगाइ, बुझाइ, पढाइ, तीतामीठा अनुभव र अनुभूतिलाई यहाँ शब्दको मीठो व्यञ्जनमा सुगन्ध आउने गरी पस्केकी छिन् । यसो भनिरहँदा यो उनको नितान्त व्यक्तिगत जीवन भोगाइको पट्ट्यारलाग्दो बकवास वा गनगन मात्र कदापि होइन । बरु यो त आफूलाई मुख्य पात्ररूपी धागो बनाएर आफ्ना पेरिफेरिका देश, काल, परिस्थितिरूपी अनमोल मोतीका दानाजस्ता घटनाहरूलाई उनिएको कालजयी माला हो । त्यसैले यो पठनीय त छँदैछ, सङ्ग्रहनीय पनि छ । सामाजिक यथार्थपरक कृति भएकोले यसमा आजभन्दा चार दशक अघिका केही नेपाल र भारतको अवस्था र सामाजिक मनोविज्ञान चियाउन सकिन्छ । विषयवस्तु जातीय उत्थान र राजनीतिसम्म पुगेर निकै व्यापक बनेको छ ।

शीर्षक

प्रस्तुत कृतिको शीर्षक कृतिकारद्वारा रचित तथा राजेश पायल राईद्वारा गाइएको गीतको अन्तराको अंशबाट राखिएको छ । मनोवेत्ताहरूको राय छ, मानिस जस्तो सोच्छ त्यस्तै बन्छ । मनोविज्ञ कृतिकारले जीवन भोगाइ जेजस्तो असहज भए पनि सहज रूपमा लिएर फूल जस्तो सकारात्मक सोच्नुपर्छ, जीवनलाई फूल सम्झे त्यो कदापि काँडो बन्दैन भन्ने आग्रह गरेकी छिन् । उनी थाङ्ग्रो नपाएको नागबेली लहरे फूल जस्तो जीवन बिताएर पनि यही सकारात्मक सोचका कारण आज हाम्रो सामु फक्रिएकी मात्र होइन सुवासित समेत भएकी छिन् ।

भाषाशैली

प्रस्तुत कृतिको बलियो पक्ष भनेकै यसको भाषाशैली हो । अत्यन्तै परिमार्जित, परिष्कृत र सुसंस्कृत भएको हामीले पाउँछौं । कृतिको भाषा अनुसन्धानात्मक लेख तथा उच्चस्तरको प्रतिवेदन जस्तो छ । यहाँको घटनाहरू सिलसिलाबद्ध तथा रेखीय ढाँचामा नलेखी पूर्वदीप्त लेखन र कतै कतै चेतनप्रवाह शैलीको प्रयोग गरेर लेखिएको पाइन्छ । खोजीपर्दा कतै कतै हिन्दी भाषाको स्वाभाविक प्रभाव पाइने उनको भाषा स्पष्ट र तार्किक छ ।

निष्कर्ष

डा. राई मनोविज्ञ भएकीले र जिन्दगीको गाडी सोचेभन्दा फरक ट्रेकमा गुडेकाले मनमा चलेका आँधीबेहरीरूपी अव्यवस्थित मनका कुराहरूलाई नियोजित ढङ्गले बहिर्गमन गराई, मनलाई शान्त र शरीरलाई स्वास्थ्य बनाउन यो कर्ममा जुटेकी पनि हुन सक्छिन् । किनभने मनोवेत्ताहरू ‘मनमा कुरा राख्नाले त्यो बिस्तारै विषाक्त हुन्छ र त्यसले शरीरमा जहरको काम गर्छ’ भन्छन् । लेख्ने कला यसैमा महान् छ जहाँ लेख्नाले मनका भावना पोखिएर स्वास्थ्य पनि होइन्छ र एउटा कृति पनि बन्छ । यसबाट यश, प्रतिष्ठा र समृद्धि पनि पाउन सकिन्छ । यी सबै श्रेय लेखिकाले पाइकी छिन्, यस कृतिमार्फत ।

अन्त्यमा, यो सबैले पढ्नुपर्ने कृति बनेको छ । त्यसमा पनि नारी पाठकले त यो पढ्न आवश्यक मात्र होइन, अनिवार्य छ । वर्तमान विकृति र विसङ्गतिलाई तोड्न यसले क्याप्सुलको काम गर्ने छ । कसैले मानवता, महानता र त्याग सिकोस् त डा. सुमाया राईको यस कृतिबाट सिकोस् । धन्यवाद ।

झिलझिले, झापा ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.