इटहरी । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीको आयोजनामा नेपालका क्रान्तिकारी व्यक्तित्व नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा काव्य गोष्ठी सम्पन्न भएको छ ।
शिक्षालयको सभाहलमा आयोजित कार्यक्रममा साहित्य, कला र विचारका विविध आयाम समेटिएका कविता तथा मन्तव्य प्रस्तुत गरिएका थिए । सुनसरी र मोरङका साहित्यकार, बुद्धिजीवी, प्राध्यापक, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, वम देवान, डा. दिवाकर क्षेत्री, प्रह्लाद पहरेदार, नानुमैया दाहाल, सुविद गुरागाईं, गायत्री लम्साल, जनकऋषि राई, भोलामान गुरुङ, जयकृष्ण यादव र विमला पोखरेलले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरूले श्रमजीवी वर्ग, सामाजिक रूपान्तरण तथा नरबहादुर कर्माचार्यको योगदानलाई केन्द्रमा राखेर कविता वाचन गर्नुभएको थियो ।प्रतिष्ठानका अध्यक्ष निर्मल बरालले विचार, त्याग र कर्मका कारण महान् व्यक्तित्वहरू दीर्घकालसम्म स्मरणीय रहने बताउँदै अग्रजहरूले देखाएको मार्गलाई व्यवहारमा उतार्न सके मात्र राष्ट्रिय विकास र सामाजिक रूपान्तरण सम्भव हुने धारणा राख्नुभयो ।
प्रतिष्ठानका सचिव पुष्प ढुङ्गानाले साहित्य समाज परिवर्तनको चेतना बोकेको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै यस्ता साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रमको समीक्षा गर्दै साहित्यकार कुन्ता शर्माले गोष्ठीलाई वैचारिक रूपमा सार्थक र अनुशासित कार्यक्रमको संज्ञा दिँदै नरबहादुर कर्माचार्यका विचारलाई साहित्यमार्फत जनस्तरसम्म पुर्याउने प्रतिष्ठानको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । काव्यवाचन र वैचारिक मन्तव्यसहित सम्पन्न गोष्ठीले सुनसरीको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाएको आयोजकले जनाएको छ ।

