नेपालको भूगोल आफैँमा एउटा महाकाव्य हो । यहाँका अग्ला हिमाल, कलकल बग्ने नदी र हरित वनजङ्गल र हाम्रो सांस्कृतिक विविधताले युगौँदेखि सर्जकहरूलाई काव्यिक ऊर्जा प्रदान गर्दै आएका छन् । साहित्य र पर्यटन दुई भिन्न विधा देखिए तापनि यिनीहरूको अन्तर्सम्बन्ध निकै गहिरो छ । पर्यटनले भूगोलको बाह्य अवलोकन गराउँछ भने साहित्यले त्यो भूगोलको अन्तर्यमा प्राण भरिदिन्छ ।
पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवन जिल्ला नेपाली साहित्यका उर्बर सङ्गमस्थल बनेका छन् । नारायणी नदीले यी दुई जिल्लालाई केवल भूगोलमा मात्र विभाजित गरेको छ, तर यहाँको कला, साहित्य र संस्कृतिले भने एउटै हृदय र प्राण सञ्चार गरेको आभास हुन्छ । यसै काव्यिक माहोलका बीच गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मिति २०८२ चैत्र २२ र २३ गते एक ऐतिहासिक “पर्यटन काव्य उत्सव २०८२“ भव्यताका साथ सम्पन्न भएको छ ।
यो उत्सव केवल एउटा समसामयिक जमघट मात्र थिएन, यो त नेपाली साहित्यिक इतिहासको एउटा महत्त्वपूर्ण कडीको पुनर्जागरण थियो । इतिहासको पाना पल्टाउँदा वि.सं. २०२२ साल फागुन २२ देखि २७ गतेसम्म चितवनको रामपुरमा एक बृहत् साहित्यिक सम्मेलन भएको थियो । तत्कालीन राजा महेन्द्रको इच्छामा सो सम्मेलन भएको थियो । त्यस कार्यक्रमको समापन कविवर लेखनाथ पौड्यालको स्मृति जोडिएको हुनाले देवघाटमा गर्ने राजाको मनसाय अनुसार दुईवटा डुङ्गा जोडेर कविता वाचन गरिएको थियो । उक्त ऐतिहासिक सम्मेलनको ६० वर्षपछि, त्यही पदचाप पछ्याउँदै यसपटक हामी ’राइनो क्रुज’ नामक नेपाली पानीजहाजमा काव्य सुन्ने सुनाउने र पर्यटनसँग यसको नाताका बारेमा चिन्तन गर्दै थियौं ।
विगतको इतिहासलाई केलाउँदै प्रा.डा. चुडामणि बन्धु र प्रा.डा. नारायणप्रसाद खनालले ६० वर्षअघिको त्यो ’डुङ्गा–गोष्ठी’लाई स्मरण गर्दा हामी सबैमा गौरवको अनुभूति भयो । हिजोका स–साना डुङ्गाको ठाउँ आज नेपालमै निर्मित पानीजहाजले लिएको छ । उक्त अवसरमा प्रा.डा. चुडामणी बन्धुले भन्नुभयो, “त्यो कार्यक्रममा म पनि उपस्थित थिएँ तर कविता नभन्ने भएकाले म डुङ्गा जान पाइनँ नदीको किनारमा बसेर हेरेर फर्किएँ ।” उहाँको यो भनाईले इतिहास थाहा पाउने अवसर मिलेको थियो । पर्यटनलाई कवितामा उनेर जलविहार गर्दै सिर्जना वाचन गर्न पाउनु हाम्रो पुस्ताका लागि एउटा दुर्लभ र अविस्मरणीय उपलब्धि बन्यो ।
उत्सवको आरम्भ र सामिप्यता
आयोजकको निम्ता अनुसार २२ गते दिउँसो २ बजे ’रिभर क्राउन होटल’को प्राङ्गणमा हामी जमघट भयौं । स्वागत सत्कारमा मौलिक नेपालीपन झल्किन्थ्यो । भुटेको मकै, गोलभेडाको अचार, स्फूर्तिदायी मोही र पकौडाका साथमा चियाको चुस्की लिँदै गर्दाको माहोल आफैँमा एउटा काव्यिक विम्ब जस्तो देखिन्थ्यो । पुराना परिचितहरूसँग सम्बन्ध नवीकरण गर्ने र नयाँ व्यक्तित्वहरूसँग परिचय गाँस्ने त्यो अवसर निकै फलदायी रह्यो । यो असरलाई कसैले आफ्ना कृति साट्ने मौको रूपमा पनि लिए । मैले पनि मेरो पुस्तक “छोटु” केही साहित्यका मुर्धन्य महानुभावलाई उपलब्ध गराएँ । त्यो माहोलमा काव्यका कुरा एक आपसमा भइरहेको थियो । के लेख्दै हुनु हुन्छ ? पुस्तक कति पुगे । पुरस्कार र सम्मान त निकै पाउनुभयो है ! यस्ता कुरा साटिएका सुनिन्थे ।
खाजापछि हामी ’राइनो क्रुज’तर्फ प्रस्थान गर्यौँ । क्रुजभित्रको व्यवस्थापन व्यवस्थित र आकर्षक थियो । दुई लहरमा सजाइएका टेबल–कुर्सीहरूले कुनै औपचारिक सभा हलको मात्र होइन, बरु एउटा गतिशील बौद्धिक पाठशालाको आभास दिन्थे ।
उत्सवको औपचारिक उद्घाटन गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका कुलपति कविवर गोविन्द विनोदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले साहित्य र पर्यटनलाई जोड्ने यस अभियानलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बहुभाषिक र बहुसांस्कृतिक समाज रहेको हाम्रो नगरमा कला र संस्कृतिको संरक्षण हाम्रो प्राथमिकता हो ।“ त्यसैगरी उपप्रमुख शान्ति कोइरालाले यस नौलो अभ्यासले स्थानीय मुद्दालाई राष्ट्रिय तहसम्म पुर्याउने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जलविहारसहितको साहित्यले पर्यटन प्रवद्र्धनमा ठोस योगदान दिने धारणा राखेका थिए । पहिलो दिनको कार्यक्रमको सञ्चान नगर प्रज्ञा सदस्य एवं पठन संस्कृतीका अभियन्ता लेखराम सापकोटाको मीठो शैलीले थप रोचक बनाएको थियो । छोटो उद्घाटन कार्यक्रमपछि कविता सुन्ने सुनाउने कार्यक्रम शुरु भयो ।
नारायणीको छालमा गुञ्जिएका शब्दहरू
करीब १०० जनाको प्रतिष्ठित स्रष्टाहरूको उपस्थिति रहेको उक्त दिन झण्डै तीन दर्जन कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । ढाईतले भव्य क्रुज, नारायणीका मदहोस छाल र सर्जकका गम्भीर स्वरहरू— वातावरण साच्चै मन्त्रमुग्ध पार्ने खालको थियो । पर्यटनलाई कथ्य बनाएर लेखिएका कविता, गजल र गीतहरू सुन्दा लाग्थ्यो, नारायणीका लहरहरू पनि ती शब्दसँगै ताल मिलाइरहेका छन् । कुनै बेला नदीको बहावमा क्रुजको ढलफल ढलफल हुँदा म आफैँ हल्लिएको छु कि कविताको शूरमा आफैँ नाच्दै छु जस्तो भाव भएको थियो ।
उक्त कार्यक्रममा चितवन,नवलपरासी, काठमाडौं, कास्की, परासी लगायत धेरै ठाउँको उपस्थिति थियो । स्वदेश मात्र होइन ‘जोगले हुन्छ’ भेट भने जस्तै गजलकार एवं विश्लेषक नारायण ‘गाउँले’ को पनि बेलायतबाट नेपाल आएको मौकाले उपस्थिति रहेको थियो । उनले पनि गजल गाउँदै यस अनुभवलाई जीवनकै विशेष र गौरवमय अवसरका रूपमा व्याख्या गरेका थिए ।
साँझ ढल्दै जाँदा वारि गैँडाकोट र पारि नारायणगढ बजारको झिलिमिली प्रकाश नारायणीको पानीमा पौडिरहेको देखिन्थ्यो । झन्डै चार घण्टा चलेको त्यो काव्यिक यात्रा राति सवा सात बजे समापन भयो । दिनभरिको बौद्धिक खुराकपछि प्रायः गोष्ठी र यस्ता कार्यक्रको आयोजना हुँदा साँझपख तामसि खाना खानाको व्यवस्था हुने आधुनिकतालाई तोड्दै होटल क्राउनमा शुद्ध शाकाहारी नेपाली खाना दाल, भात, तरकारी र सागको व्यवस्था थियो ।
‘पर्यटन काव्य उत्सव २०८२’ को पहिलो दिनले के पुष्टि गर्यो भने, साहित्य केवल पुस्तकका पानामा सीमित हुनु हुँदैन । जब शब्दहरू प्रकृति र प्रविधिसँग जोडिन्छन्, तब त्यसले पर्यटनको विकास मात्र गर्दैन, समाजलाई एउटा नयाँ चेतना पनि प्रदान गर्दछ । भोलि बिहानको नयाँ उत्साह बोक्ने सङ्कल्पका साथ पहिलो दिनको यो काव्यिक यात्राको बिट मारिएको थियो ।
सिर्जना र विमर्शको सङ्गम
नारायणीको सुसाहटका बीच अघिल्लो दिनको काव्यिक न्यानोपन अझै बाँकी थियो । दोस्रो दिन बिहान ठीक ८ बजे, राइनो क्रुजको बाहिर नारायणीको किनारमा साहित्यकारहरूको पुनरागमन भयो । केही स्थानीय अनुहार बदलिए पनि उत्साह उस्तै थियो । क्रुजको पहिलो तलामा जाम पाउरोटी, आलु परौठा, अचार र माटोको कपमा पस्किएको चियाको आतिथ्यले बिहानीलाई घरेलु सुगन्ध प्रदान गर्यो । तर, वास्तविक तृप्ति त त्यसपछिको बौद्धिक खुराकमा लुकेको थियो । दोस्रो दिनको कार्यक्रम सञ्चालिका मुना धनन्जयको सुरिलो र मिठासपूर्ण शैलीले हललाई सुमुधर बनाएको थियो ।
दोस्रो दिनको सत्र केवल वाचनमा मात्र सीमित रहेन, यो गहिरो विमर्शात्मक र बौद्धिक विमर्शमा रूपान्तरण भयो । चर्चित कवि चिन्तक तथा लेखक भूपिन खड्काले “काव्य सिर्जना, सम्भावना र चुनौती“ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली साहित्यमा ‘पर्यटन काव्य’को बारेमा सम्भावना र चुनौतीका बारेमा अवधारणा पत्र प्रस्तुत गरे ।
उनले मानव सभ्यताको विकासलाई नै यात्रा र गतिशीलताको प्रतिफल मान्दै पर्यटन र काव्यबीचको अविच्छिन्न सम्बन्धलाई रेखाङ्कन गरे । पर्यटन केन्द्रित लेखनमा देखिएका कमजोरी, यसको आर्थिक आयाम र लेखकले गर्नुपर्ने सूक्ष्म साधनाबारे उनको विश्लेषण ‘निर्मम’ तर सत्य थियो । उनको अवधारणाको सार थियो नेपालको प्राकृतिक र सांस्कृतिक वैभवलाई विश्वबजारमा चिनाउन ‘काव्य’ एउटा शक्तिशाली र प्रभावकारी ब्रान्डिङ माध्यम बन्न सक्छ । सर्जकले यसबारेमा कलम चलाउनु पर्ने र राज्यका निकायले पनि यसमा ध्यान दिनु पर्ने विषयमा चर्चा गरेका थिए । उनले पर्यटन काव्यका रूपमा लेखिएका केही चर्चित रचनाको समेत उल्लेख गरेका थिए ।
वरिष्ठ नियात्राकार प्रतीक ढकालले कार्यपत्रमाथि टिप्पणी गर्दै छलफललाई अझ उचाइ प्रदान गरेका थिए । सरकारी सेवाको अनुभव र पर्यटन लेखनको खारिएको दृष्टि बोकेका ढकालले भने, “नेपाल नेचर, कल्चर र एड्भेन्चर (प्रकृति, संस्कृति र साहस) को त्रिवेणी हो । यसलाई अक्षरमा उतारेर देशको अर्थतन्त्र र पहिचानलाई मजबुत बनाउनु आजको आवश्यकता हो ।” यसका साथै कतिपय कार्यक्रम सञ्चालनमा बोल्ने कला र सिर्जनाका बारेमा समेत तिखो तर यथार्थ विवेचना गरेका थिए । उनले अन्तर्राष्ट्रिय रूपमा भ्रमण गरेका देशको समेत आफ्नो अनुभुति राखेका थिए ।
दोस्रो दिन पनि अवधारणा पत्रपश्चात फेरि शुरु भयो कविताको शृङ्खला । नारायणीको विशाल छातीमा तैरिँदै गर्दा विभिन्न पुस्ताका स्रष्टाले आफ्ना भावना पोखे । अघिल्लो दिनमा नारायणीको विशाल छातीमा क्रुज तैरिरहँदा स्रष्टाहरूका भावना पनि छालझैँ उर्लिरहेका थिए । यसै क्रममा मैले पनि “नारायणीको तरङ्गमा शब्दका लहरहरू” भन्ने शीर्षकको कविता सुनाएको थिएँ । जसका केही हरफ यस्ता थिए:
नारायणीको यो कञ्चन छाती, शब्दले भिजाउँदैछौँ
गैँडाकोट र भरतपुरको नाता, प्रीतिले सजाउँदैछौँ ।
कहीँ कर्णाली, कहीँ कोशी, कहीँ गण्डकीको यो शान
आज पानीमाथि पन्थी बन्दै, गाउँदैछौँ राष्ट्रको गान ।
साहित्यले समाज बोल्छ, बोल्छ यहाँको राजनीति
यसले बदल्छ युगको चित्र, कोर्छ सुन्दर भावी रीति ।
जब अँध्यारोले बाटो छेक्छ, साहित्य नै बन्छ मशाल
अक्षरभित्रै शक्ति हुन्छ, जसले बदल्छ समयको चाल ।
पहिलो र दोस्रो दिनमा आफ्ना काव्य रचना वाचान गर्ने काव्यवाचकरू विदुर अधिकारी, गोविन्द अर्याल, नीमा पौडेल तिवारी, होमनाथ घिमिरे, राधा कोइराला, भानुभक्त सापकोटा, लीला राना मास्कीमगर, वसुन्धरा पौडेल, अञ्जान प्रदीप, मेनका चापागाईं काप्री, सरस्वती तिमिल्सिना, मुक्तिनाथ घिमिरे, एकदेव रिमाल, विष्णु तिवारी उषा, पोषराज पौडेल, ईश्वर कँडेल, भूपिन, विद्या भण्डारी चिराग, रामकृष्ण अनायास, धर्मानन्द शर्मा, प्रकाश चापागाईं, उदयनाथ रेग्मी, सञ्जीव पौडेल, डाक्टर उपेन्द्र सापकोटा, हरिप्रिया रिजाल, माधवप्रसाद चालिसे, कृष्णशरण उपाध्याय, शारदा सापकोटा, डाक्टर नारायणप्रसाद अधिकारी, जमुना लम्साल, इन्द्रराज पौडेल, सिर्जन लम्साल, राधा पाण्डे, प्रकाश थापा, बालकृष्ण थपलिया, गोविन्दगोपाल खतिवडा शोभा खनाल कोइराला, नारायण पौडेल, भूमिका गैरे तिमिल्सिना, विष्णुमाया पन्थी, गोविन्द रिमाल, एलबी क्षेत्री, लेखराम सापकोटा, उपेन्द्र त्रिपाठी, विश्वराज लम्साल, रणेन्द्र बराली, सबिता तिवारी, कृष्ण उदासी, घनश्याम परिश्रमी, सीमा लामिछाने, रामहरी श्रेष्ठ, धनराज गिरी, मनोहरि पौडेल लगायतका स्रष्टाले कविता, गजल, गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । पहिलो र दोस्रो दुवै दिन पोखराबाट आउनुभएका शिव त्रिपाठीको मीठो स्वरले कविता सुनाउँदा सबैलाई लठ्टै पारेको थियो । पहिलो दिन र दोस्रो दिन वाचन भएका सिर्जनाहरूको विवेचना कवि,नियात्रकार भवानी खतिवडाले गरेकी थिइन् ।
भवानी खतिवडाको ‘अद्भुत’ समीक्षाः एक अद्वितीय समीक्षा–कला
यस उत्सवको सबैभन्दा चमत्कारिक र विशिष्ट पक्ष थियो, भवानी खतिवडाको समीक्षा शैली । झण्डै पाँच दर्जन स्रष्टाका कवितालाई सुन्नु मात्र ठूलो कुरा थिएन, तर भवानीले तिनलाई जुन छन्द र लयमा वाचन गरिएको थियो, सोही लयमा ४–४ लाइनमा समीक्षा प्रस्तुत गरेकि थिइनँ । “जुन कविले जुन लय समात्यो, भवानीले त्यही लयमा प्रतिउत्तर दिँदा हलमा अचम्मको कम्पन पैदा भएको थियो । प्रशासनिक सेवामा रहेर पनि नियात्रा साहित्यमा निखारिएको कलम चलाएकी उनको चारखोलाको आगनीमा, घामभन्दा पहिले, आकाश ओढेको डोल्पो, र प्रणाम सगरमाथा जस्ता कृति पाठकसामु आइसकेका छन् । भवानीको यो कला नेपाली साहित्यमा विरलै देखिने ‘अद्भुत’ संयोग लाग्यो ।
समापन र निष्कर्ष
दोस्रो दिन साढे बाह्र बजेतिर क्रुजको काव्यिक यात्रा समापन भई ’होटल क्राउन’ मा दिवाभोजसँगै औपचारिक बिदाइ भयो । तर यो उत्सव केवल खानपान र घुमघाममा सीमित रहेन । बाहिरबाट आएका स्रष्टाहरूले मौलाकालिकाको दर्शन र केबलकारको यात्रा गर्दै नवलपुरको पर्यटकीय सौन्दर्यको प्रत्यक्ष अनुभूति पनि गरे । यस उत्सवले छोडेका तीन मुख्य सन्देशः
ब्रान्डिङःसाहित्यले भूगोलको वर्णन गर्दा पाठकमा त्यस ठाउँप्रति आकर्षण पैदा हुन्छ, जसले पर्यटनमा टेवा पुर्याउँछ ।
सभ्यताको संरक्षणः नारायणी जस्तै नदी नाला केवल पानी मात्र होइनन्, सभ्यता हुन । काव्यले यसलाई जीवन्त राख्छ ।
नवीन प्रयोगः ‘बन्द कोठा’ बाट बाहिर निस्केर प्रकृतिको काखमा गरिने यस्ता कार्यक्रमले साहित्यलाई जनस्तरमा पुर्याउँछ ।
सहयात्राको संस्कति: पर्यटन प्रवर्धनमा राज्यसँगै स्रष्टाहरू सहयात्रा गर्न तयार छन् ।
उत्सवको समापन गर्दै गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले कविताकै शैलीमा आफ्नो मन्तव्य राखेका थिए, जसले सबैको मन छोयो । उनको समापन कविता यस्तो थियो:
सुनेर कविता मीठा म आफैँ कविता भएँ
हेरी नारायणीलाई म आफैँ सरिता भएँ
काव्य सन्देश यो हाम्रो ए हावा लगिदे पर
जहाँ अक्षर भै बग्दछन् शिव, सत्य र सुन्दर ।।
६० वर्षअघिको इतिहासलाई आधुनिक प्रविधि र काव्यिक उत्साहसँग आफू पनि जोडिन पाउँदा निकै खुशी र उर्जा पनि मिल्ने रहेछ । त्यसमा पनि पर्यटनसँग जोडेर सम्पन्न गरिएको यो ‘पर्यटन काव्य उत्सव’ नेपाली साहित्यको एक स्वर्णिम मोड हो । नारायणीका लहरहरूमा गुन्जिएका ती स्वरहरूले एउटै कुराको उद्घोष गरिरहेका थिए, “साहित्य र पर्यटन नै समृद्ध नेपालको सुन्दर आधार हुन् ।”

