काठमाडौं । तीसको दशकदेखि कथा लेखनमा सक्रिय कथाकार नारायण तिवारीको नयाँ कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौंमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्रा. डा. दयाराम श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि श्यामललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो । यो तिवारीको १२औँ कृति हो ।
कार्यक्रममा बोल्दै प्रा. डा. दयाराम श्रेष्ठले कथा लेखनका प्राविधिक र ऐतिहासिक दुई पक्षमध्ये आफूले ऐतिहासिक पक्षबाट कृतिलाई हेरेको बताउनुभयो । उहाँले तिवारीका कथाहरू सरल भाषामा लेखिए पनि गम्भीर विषयवस्तु प्रस्तुत गर्ने गरेको उल्लेख गर्नुभयो ।
आधा शताब्दीअघि प्रकाशित तिवारीको कथा ‘ती सबै मेरा सपना थिए’ स्मरण गर्दै उहाँले धेरै कथाकारले जीवनका विसङ्गतिलाई विषय बनाइरहेका बेला तिवारीले पूर्वी तराईको परिवेशलाई कथाको केन्द्रमा राखेर मौलिक लेखन गरेको धारणा व्यक्त गर्नुभयो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा. ज्ञानु अधिकारीले तिवारीका कथाहरू सरल, परिमार्जित र जीवनसँग निकट रहेको बताउनुभयो । सङ्ग्रहमा समावेश २७ कथामध्ये ‘जमाना खराब छ’, ‘कुर्ता सुरुवाल’ र ‘टुङ–टुङ’ शीर्षकका कथाले विशेष ध्यान आकर्षित गरेको उहाँको भनाइ थियो । उहाँले अधिकांश कथाले विराटनगर र पूर्वी तराईको सामाजिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको उल्लेख गर्नुभयो ।
पाठकीय मन्तव्य राख्दै कवि श्यामलले कथाकारजस्तै तिवारीका कथा पनि सरल, सुललित र प्रवाहपूर्ण रहेको बताउनुभयो । उहाँले कथाको गद्य प्रभावकारी रहेको तथा परम्परागत संरचनाभन्दा फरक शैलीमा लेखिएका कथामा मैथिली भाषाको स्वाभाविक प्रयोग भएको टिप्पणी गर्नुभयो ।
आख्यानकार नारायण ढकालले तिवारीका कथामा गहिरो संवेदना र गम्भीरता रहेको उल्लेख गर्दै नेपाली कथा परम्पराको चर्चा गर्नुभयो । उहाँले पुष्कर शमशेर, विश्वेश्वरप्रसाद कोइराला र गुरुप्रसाद मैनालीको कथा परम्परासँग जोडेर तिवारीको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा कथाकार तिवारीले आफ्नो लेखन यात्राबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो । शिखा बुक्सद्वारा प्रकाशित ‘जङ्गबहादुर पनि हाँस्छ ?’ कथासङ्ग्रहको मूल्य ५ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

.jpg)