साहित्यपोस्ट डट कम

नारायण नेपालका गजलहरूको साङ्गीतिक प्रस्तुति काठमाडौँमा

नारायण नेपालका गजलहरूको साङ्गीतिक प्रस्तुति काठमाडौँमा

काठमाडौँ । दाङमा रहेर साहित्य सिर्जनामा सक्रिय गजलकार नारायण नेपालका गजलहरूको साङ्गीतिक तथा वाचन प्रस्तुति शनिबार काठमाडौँमा सम्पन्न भएको छ । सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपालका पाँच गजल साङ्गीतिक रूपमा प्रस्तुत गरिए भने पाँच गजल स्वयं नारायण नेपालले तरन्नुममा वाचन गर्नुभयो ।

प्रस्तुत गजलहरूमध्ये तीनवटामा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत रहेको थियो । तीमध्ये दुई गजलमा श्रेष्ठ स्वयंले स्वर दिनुभएको थियो भने एउटा गजल गायिका जलजला परियारले गाउनुभएको थियो । त्यसैगरी, दुई गजल नारायण नेपालकै धूनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिनुभएकाे थियाे ।

वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधिकारीले साथ दिनुभएकाे थियाे, जसले गजल प्रस्तुतिलाई अझ सशक्त बनाएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले स्रष्टा, सङ्गीतकार तथा गायक–गायिकाको परिचय गराउँदै ‘नेपाली गजल गायनको स्वर्ण दशक (वि.सं. २०८०–२०९०)’ अभियानबारे जानकारी दिनुभयो । उहाँले उक्त अभियान सन्तोष श्रेष्ठ र आफूले दुई वर्षअघि घोषणा गरेको र हालसम्म देशका विभिन्न स्थानमा दर्जनजति प्रत्यक्ष गजल गायन कार्यक्रम सम्पन्न भइसकेको बताउनुभयो ।

ओझाले अभियानअन्तर्गत आगामी २७ पुसमा कोसी प्रदेशको झापा जिल्लाको बिर्तामोडमा गजलकार रश्मि असफलका गजलहरूमा सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वरमा प्रत्यक्ष गायन हुने जानकारी दिनुभयो । साथै यसअघि राधा कणेल र आफ्ना शब्दमा श्रेष्ठकै सङ्गीत र स्वर रहेको ‘नसोधी’ एल्बम सार्वजनिक भइसकेको र आगामी ३ माघमा राधा कणेल, रश्मि असफल तथा आफ्ना शब्द समेटिएको ‘मतला’ गजल एल्बम भारतको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको सङ्गीतमा सार्वजनिक हुने जानकारी पनि दिनुभयो ।

अनाममण्डलीको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियसनको सहकार्यमा सम्पन्न कार्यक्रममा गजलकार नारायण नेपालका प्रस्तुत गजलहरूमाथि प्रा. डा. कृष्णहरि बरालले सूक्ष्म टिप्पणी गर्नुभयो । उहाँले गजल गायनका विभिन्न शैली र प्रविधि हुने उल्लेख गर्दै अरबी गजल गायन शैली हिन्दी वा नेपालीमा जस्ताको तस्तै नहुन सक्ने धारणा राख्नुभयो ।

बरालले गजल गायनको शैली र प्रविधि भाषा, भूगोल, साजबाज तथा सङ्गीतकार र गायक–गायिकाअनुसार फरक–फरक हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, गजलकार ज्ञानु विद्रोहीलगायत साहित्यकार तथा गजलप्रेमीहरूको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.