साहित्यपोस्ट डट कम

नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौँको आयोजनामा २०८२ साल पौष १९ गते त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार समारोह सम्पन्न भएको छ । सो अवसरमा नेपाली साहित्य तथा हास्यव्यङ्ग्य विधामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ तथा नगद रु. १० (दश हजार रुपैयाँ) पुरस्कार प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले लुइँटेललाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान यसपटक लुइँटेललाई अर्पण गरिएको हो ।

भोजपुरमा जन्मिनुभएका लुइँटेल हाल काठमाडौं महानगरपालिका–१४, कलंकीमा बसोबास गर्दै आउनुभएको छ । उहाँले २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) अध्ययन पूरा गर्नुभएको हो । विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आउनुभएका लुइँटेल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा समेत योगदान दिइसक्नुभएको छ । साथै, उहाँले विभिन्न साहित्यिक पत्रपत्रिकामा कार्यकारी सम्पादकको जिम्मेवारी पनि निर्वाह गर्नुभएको छ ।

दर्जनौँ साहित्यिक संघ–संस्थामा आबद्ध रहँदै निरन्तर सिर्जनात्मक तथा संस्थागत योगदान पुर्‍याउँदै आउनुभएका लुइँटेलका हास्यव्यङ्ग्य तथा गैर–हास्य विधामा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । गीतिकाव्य, शोककाव्य, लेखन तथा सहलेखनमार्फत उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँले अढाई दर्जनभन्दा बढी साहित्यिक संघ–संस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । हाल उहाँ ‘फित्कौली डट कम’ अनलाइन सेवा सञ्चालन गर्दै विभिन्न साहित्यिक संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की तथा उपस्थित साहित्यकारहरूले उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदान र उहाँका उपन्यासबारे चर्चा गर्नुभएको थियो । सम्मान ग्रहणपछि बोल्दै नरनाथ लुइँटेलले लीलाध्वज थापाको मन उपन्यास सानै उमेरमा भोजपुरमा पढेको र पछि काठमाडौं आएपछि पुनः अध्ययन गरेको स्मरण गर्नुभयो । उहाँले उक्त उपन्यास मौलिक सामाजिक यथार्थको गहिरो चित्रण भएको कृति भएको र त्यसले आफूलाई अत्यन्त प्रभावित पारेको बताउनुभयो । मदन पुरस्कार मात्र नभई देश–विदेशमा समेत चर्चित र पाठ्यक्रममा समावेश भएको कृतिका स्रष्टाको नाममा स्थापित प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा गर्व र खुसी लागेको उल्लेख गर्दै अध्यक्ष विजयध्वज थापाप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार कला निधी दाहाल, हरिभक्त सिग्देल, डा. अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल र डा. बमबहादुर थापा जितालीले सम्मानित स्रष्टालाई बधाई दिँदै उपन्यासकार लीलाध्वज थापाको साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

रचना वाचन कार्यक्रममा कुमार नेपाल, विजयध्वज थापा, प्रा.डा. गोविन्दमान सिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, प्रकाश बस्नेत ‘गफाडी’, कर्ण दयाल ‘सोराडी’, डा. मेघराज ढकाल, प्रमोद नेपाल, गुप्तबहादुर श्रेष्ठ, इन्दिरा ढकाल, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, मदनप्रसाद नेपाल, मधुसूदनप्रसाद घिमिरे, मीरा काफ्ले पोखरेल, मीरा गजुरेल, सुभद्रा अधिकारी, एन.भी. जनकपुरी, भानुप्रकाश जोशी, महेशप्रसाद रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, आवेश मिश्र, सुशान्त के.सी., वीरबहादुर लोहनी, शालिकराम दाहाल, राजेशमान के.सी., शशीश्री आचार्य, उमा दाहाल, रुपा रिसाल चालिसे, प्रमोद भण्डारी, भोजराज रेग्मी ‘मुखाले’, जीत कार्की, नानु राना थापा, राजेन्द्र खनाल, मदनराज थापा, प्रार्थना खनाल जोशी, भागीरथी भट्टराई ग्यवाली, प्रदीप नेपाल, वृन्दा ढुंगाना र भुवन दिवाकोटी लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्दै सम्मानित स्रष्टामाथि प्रकाश पार्नुभएको थियो भने वृन्दा ढुंगानाले कार्यक्रम सहजीकरण गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा अध्यक्ष विजयध्वज थापाले अग्रज स्रष्टाको सम्मान गर्न पाउँदा आफू र संस्थासमेत गौरवान्वित भएको धारणा व्यक्त गर्नुभयो । हालसम्म ८२ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान, ८ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढी स्रष्टालाई कदर–पत्र प्रदान गर्न पाएको उल्लेख गर्दै उहाँले उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.