साहित्यपोस्ट डट कम

‘नरहरि महर्जनका कविताहरू’ लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न

‘नरहरि महर्जनका कविताहरू’ लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न

कीर्तिपुर। कवि नरहरि महर्जनको कविता कृति ‘नरहरि महर्जनका कविताहरू’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। भूगोल साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण माघ ३ गते बिहान कीर्तिपुरमा आयोजित कार्यक्रममा सम्पन्न भएको हो।

भूतपूर्व राज्यमन्त्री दिलिप महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, राबाबैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापा तथा पाँगा माध्यमिक विद्यालयका निर्देशक रामेशमान महर्जन विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

सभापतिको आसनबाट बोल्दै पूर्व राज्यमन्त्री दिलिप महर्जनले कवि नरहरि महर्जनले लामो समयदेखि साहित्य सिर्जना गर्दै आए पनि यस उमेरमा आएर कृति प्रकाशन गर्नु साहित्यप्रेमी सबैका लागि प्रेरणादायी विषय भएको बताउनुभयाे । साथै, बैंक सेवाबाट निवृत्त कर्मचारीहरूले संस्थागत रूपमा साहित्य सेवा गरिरहेको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि नगरप्रमुख कृष्णमान डंगोल तथा विशेष अतिथि उपप्रमुख शुभलक्ष्मी शाक्यले विकास भनेको सडक विस्तार र भवन निर्माणमा मात्र सीमित नरही भाषा, साहित्य, कला र संस्कृतिको विकास पनि समान रूपमा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे । उनीहरूले यस्ता क्षेत्रका व्यक्ति तथा संस्थालाई नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे।

विशेष अतिथि तथा भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालले कीर्तिपुरजस्तो ऐतिहासिक र सांस्कृतिक नगरमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गर्न पाउनु समाजका लागि खुसीको विषय भएको बताउनुभयाे। यसले समाज र कीर्तिपुरवासीबीच नयाँ सम्बन्ध स्थापित गरेको उहाँको भनाइ थियो।

कार्यक्रममा दिनेशविक्रम थापाले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे। आगन्तुक तथा अतिथिहरूको स्वागत मन्तव्यसहित कवि नरहरि महर्जनको लेखन यात्रा र समग्र परिचय मदन डंगोलले गराउनुभएकाे थियाे।

लेखकीय मन्तव्य राख्दै कवि नरहरि महर्जनले आफ्नो एक कविता वाचन गर्नुभएको कार्यक्रममा शालिकराम महर्जनले आफ्ना कविता सुनाउनुभयाे भने कृतिभित्र समावेश कविता शैलेन्द्रकुमार शाहले वाचन गर्नुभएकाे थियाे ।

स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा भूगोल साहित्य समाजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता थियो। कीर्तिपुरस्थित पाँगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको सञ्चालन सम्झना महर्जन र शैलेन्द्रकुमार शाहले संयुक्त रूपमा गर्नुभएको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.