साहित्यपोस्ट डट कम

‘नन्दा’ र ‘नन्दिनी’ काव्य अध्ययन गर्दा

‘नन्दा’ र ‘नन्दिनी’ काव्य अध्ययन गर्दा

नन्दाले प्रयोग गरिने कपडा वस्तु देख्दा कसको मन छुँदैन र ! मन सानो हुन्न र ! सम्झना आउँदैन र ! त्यो पढ्दा रुन मन लाग्छ ।

===

म्याग्दी जिल्ला पुलाचौरका जीवनाथ पौडेलकी जेष्ठ सुपुत्री नन्दादेवी सुवेदी २००३ साल माघ ४ गते जन्मिएकी थिइन् । उनको विवाह नोभेम्बर १५, १९५७ मा म्याग्दी ताकमका समाजसेवी बहुचर्चित दूरदर्शी ज्योतिष बहुचर्चित उच्च खानदानका जि.मु. हरिलाल उपाध्याय सुवेदीका जेष्ठ सुपुत्र होमनाथ सुवेदीसँग भएको थियो । घरमा विशेष अतिथि, इष्टमित्रहरू सल्लाह गर्न र भेट्न आउने भएकोले अतिथि सत्कार सम्मान गर्न सधैँ तत्पर रहन्थिन् । खेतीपाती हलीगोठाला पशुचौपायातिर पनि हेरचाह गरिरहन्थिन् । सबैको न्यायसङ्गत इज्जत राख्ने गर्थिन् ।

वि.सं.२०४० तिर नन्दादेवी सुवेदी, छोरा पुरुषोत्तम सुवेदी, प्रकाश सुवेदी र छोरी कल्पना ताकमको घरमा बसेका थिए । होमनाथ सुवेदी काम विशेषले अमेरीका गएका थिए । पुरु र प्रकाश हेम मा.वि. शिवाङ ताकममा पढ्दै थिए । छोरी कल्पनाले नजिकको विद्यालय बलेवा पैयुँपाटा पाठशालामा पढ्थिन् । नन्दाले खेतीपाती गरी भैँसी पनि पालेकी थिइन् । छोराछोरीलाई कुनै कुराको अभाव हुन दिएकी थिइनन् । एकदिन बुहारी नन्दाले मलाई बोलाएर भनिन्, “कान्छा ससुरा ! यी छोराछोरीहरूले मासु खान नपाएको धेरै दिन भयो । कही मासु खान किन्ने बाख्रा पाइन्छ कि ?”

मैले भनेँ, “म खोजुँम्ला ।”

म भोलिपल्ट बिहानै उठी हिलापोखरी जुक्ते गुरुङ घरमा गएँ र भनेँ— गुरुङ कान्छो बा ! यहाँ बेच्ने थारो बाख्रा या खसी छ कि छैन ? जिम्बल दाइकी जेठी बुहारीको लागि हो ।

गुरुङले भने— तिमी भतिजा आयौ । एउटा थारो बाख्रो छ । त्यसको ५०० मूल्य हो । त्यो तिरेर लग ।

यसरी लैजाऊ भनेपछि मैले पैसा पछि पठाउने गरी त्यो किनेर बाख्रो उनको घरमा लगेर बुझाएर गएको थिएँ । नन्दाले त्यो बाख्रो काट्ने मानिस खोजेकी रहिछन् । खोजेको मान्छेले बाख्रो काट्यो । काटेपछि भुँडीबाट आन्द्राभुँडी निकाल्दा पाठो भेट्टियो । त्यो बाख्रो त ब्याउने रहेछ । बेच्ने गुरुङ कान्छोबालाई पनि थाहा भएन । यो घटनाले नन्दा आत्तिइछन् र मसित भनिन्—ब्याउने बाख्राको मासु खाँदैनन् । अब कसो गर्ने होला ?

मैले भनेँ— तिमी चिन्ता नगर । म समाधान निकालिदिन्छु ।

त्यसो भनेर मैले त्यो पाठो घर पछि जौबारीमा गाडेर राखिदिएँ । पछि केही मासु घरमा राखी अरू मासु सबै बिक्री वितरण भयो । यसरी छोराछोरीलाई राम्रो पालन पोषण गर्थिन् र पढाइमा पनि राम्रो वातावरण सिर्जना गरी अवरोध कहिल्यै गराइनन् ।

होमनाथ सुवेदीले पचासभन्दा बढी पुस्तकहरू लेखन, सम्पादन र प्रकाशन गर्नमा नन्दाले पूर्ण सहयोग गर्थिन् । अर्धाङ्गिनीले पतिलाई साथ र सहयोग नदिए जीवन सफल हुँदैन, सार्थक हुँदैन, जीवन व्यर्थ हुन्छ । नन्दाको सहयोग साथले पति सुवेदी अन्तर्राष्ट्रिय नेपाली साहित्य क्षेत्रमा चर्चित भई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष भए । जन्मदेश नेपाल र मातृभूमि ताकमको इज्जत र महिमा बढेको छ । नन्दा अमेरिका गएपछि पनि होमनाथको इच्छामा काँध थापेर अनेसासको काम गरिन् र नन्दादेवी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थापक सदस्य भइन् । साहित्यको आदि स्रोत लोकगीतकी मधुरो स्वरकी गायिका थिइन् र अमेरिकामा साँस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रममा भाग लिने गर्थिन् । नेपालमा त सामान्य साक्षर मात्र थिइन् । अमेरिका गएपछि भने उनले अङ्ग्रेजी पनि पढिन् । उनी विभिन्न सङ्घ संस्थाबाट पुरस्कृत र सम्मानित भएकी थिइन् । यी कुराहरू उनको नाममा प्रकाशित भएको ‘नन्दादेवी सुवेदी स्मृति ग्रन्थ’मा पढ्न पाइन्छ ।

दुर्भाग्यवश २०१६ मई ८ मा अचानक मस्तिष्क घात भई मरणान्त अवस्थामा बिरामी भइन् । तत्कालै सुवेदीले अस्पताल पुर्याई उपचार गरे । तुरुन्तै उपचार गर्न ताकममा सम्भव थिएन । अमेरिकामा उपचार भएर पुर्नजन्म भयो तर पूर्ण रूपले पुनरागमन भएन । उनी अचेत अवस्थामै रहिन्, हिँड्न, बोल्न र आफैँ खाने अवस्था थिएन । यद्यपि अमेरिकाको नियमानुसार सुसारे नर्स र डाक्टर तोकिएका थिए तापनि उनका पतिले झिँजो, घिन, दिक्क नमानीकन आत्मीयता र मायालु भावले ७-८ वर्ष स्याहार सुसार गरे । अरूको विश्वास नगरी कपडा लगाइदिने, खुवाइदिने, डोर्याएर डुलाउने आदि सबै काम स्वयम् गर्थे । यसरी पत्नी सेवा गर्दागर्दै ७७ वर्ष पुग्न ३ दिन बाँकी छँदै २०८० माघ १ गते उनको काखबाट अलग भएर स्वर्गवास भइन्, उनलाई एक्लै छोडेर गइन् । अ.ने.सा.स.को आमा गुमाउन पर्यो । अ.ने.सा.स.को ठूलो क्षति भयो र हाम्रो पनि । उनको आत्माले चिर शान्ति पाओस् ।

होमनाथ सुवेदीले पत्नी शोकमा परेको बेला प्रेमभाव राखी ३ वटा शोककाव्यका पुस्तक लेखी प्रकाशन गरे । ‘नन्दा’शोक खण्डकाव्य, सेती गजल (शोक गजल खण्डकाव्य), ‘नन्दिनी’ (शोक महाकाव्य) ३ वटा पुस्तक प्रकाशन भयो । अ.ने.सा.स.ले नन्दादेवी सुवेदी स्मृतिग्रन्थ प्रकाशन गर्यो । जुन स्मृतिग्रन्थमा बलेवाका भान्जा गोबिन्द पौडेलले ताकम पारी साहुपट्टिका भाइहरू बास्कोटमा गोठ बस्दा गोबिन्द र भाउजू नन्दादेवीले सँगै बसेर दही, मही, आटो, ढिँढो हाँसी हाँसी खुशीले खाएको सम्झना गरेका छन् । यी कुरा अविस्मरणीय छन् । ताकम बास्कोट, त्यो बेलाको कुरा गर्दा त्यो अत्यन्त रमाइलो समय थियो । सुवेदीले प्रकाशन गरेका पुस्तकहरूमा जन्मभूमि ताकमको जग्गा कौछिनी, सङनाम र सोलबाङ्गको नाम उल्लेखित भएकोमा ताकमकै सम्झना आइरहन्छ ।

सबै सर्ग राम्रा छन्, घतलाग्दा छन् । त्यसमध्ये ‘नन्दिनी’ शोकमहाकाव्यको पञ्चमसर्गको उपसर्ग ३२ को कोठा शीर्षकमा भावविह्वल हुने शब्द तथा वाक्यहरू छन् । नन्दाले प्रयोग गरिने कपडा वस्तु देख्दा कसको मन छुँदैन र ! मन सानो हुन्न र ! सम्झना आउँदैन र ! त्यो पढ्दा रुन मन लाग्छ ।

त्यसैगरी ‘नन्दा’शोक खण्डकाव्यमा पेज ६० उच्छवास ५३ मा ‘एक्लै बनाई गयौ’ मा आफ्नोे श्रीमतीलाई आमा भनी सम्बोधन गरेका छन् । मलाई एक्लै छोडेर गयौ, म कसरी बसम् भनेका छन् । यसमा पनि आँसु थाम्न सकिँदैन ।

‘सेती गजल’मा पेज ५५ मा ‘त्यही भेटौंला’ भन्ने शीर्षकमा अर्को आशय छ कि मलाई जीवनभर कति सहयोग गर्यौ, मैले आँटेका काममा कति काँध थाप्यौ, मेरो जीवन सार्थक बनायौ तर अहिले छोडेर गयौ । मेरो बुढो दुःख पाउनु भयो भनेर चिन्ता नलेऊ, तिमी फर्क, फर्कन नसके बरु त्यही बसेर बाटो हेरी पर्ख, म तिमीलाइ भेट्न त्यही आउँछु । त्यति बेलैमा त्यही भेटौंला यस्ता मार्मिक भावहरू छन् । यसरी पत्नीमा प्रेमभाव राखी विरहको वेदना पोखेका छन् । केही वर्षअगाडि पितृभक्तिभाव राखी जि.मु. हरिलाल उपाध्यायको वंशवृत्त लेखेका छन् ।

वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले विद्युतीय धारा प्रवाहिक रूपले कथा, उपन्यास तथा काव्यका पुस्तकहरू लेख्छन् । उनमा दैविक शक्ति छ । ७८ वर्ष पुग्दा पनि लेख्ने मन, मस्तिष्क, हात थाकेका छैनन् । रातदिन लेखहरू, शुभकामना दिने काम बिनारोकतोक आराम धैर्यताकासाथ चलिरहन्छ । नन्दाको सम्झनामा एक पतिले एक पत्नीको, एक पुरुषले एक महिलाको वियोगका माया र सम्मानसाथ लेखिएका ‘नन्दा’शोक खण्डकाव्य, महाकाव्य, गजल पुस्तकहरू प्रकाशन गरेकोमा धन्यवाद साथै सुस्वास्थ्य र शतआयुको कामना गर्दछु ।

कान्छो ससुराले जेठी बुहारीप्रति यी काव्यको बारबार वाचनले चिरकालसम्म सम्झना गर्दछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.