केशिनीले दमयन्तीका छेउ आएर बाहुकरूपधारी पुण्यश्लोक राजा नलका सबै गतिविधि र चेष्टाको बयान गरिन् । आफ्ना छोरा–छोरी इन्द्रसेन र इन्द्रसेनालाई देखेपछि आतुरतासाथ उनीहरूलाई काखमा लिएर छातीमा टाँस्दै बाहुक रोएका थिए, उनको अगाध पितृवात्सल्यको झाँकी स्वयं केशिनीले देखेकी थिइन् । त्यो सबै यथावत् दमयन्तीलाई अवगत गराइन् ।
केशिनीका कुरा सुनेर दमयन्तीलाई बाहुकको वेशमा स्वयं प्रियतम नल नै रहेछन् भन्ने विश्वास बलियो भएर हृदयमा स्थापित भयो । उनी आफ्ना हृदयेश्वरसँग मिलनका लागि आतुर बनिन् । अनि उनले केशिनीलाई राजमाताका सामू यो सन्देश लिएर जान अह्राइन् :
आमा, मेरा मनमा बाहुक नै नल हुन् कि भन्ने जुन सन्देह थियो त्यसलाई मैले विभिन्न लक्षणद्वारा बुझिसकें, उनी नल नै हुन् भन्ने लगभग तय भइसक्यो, केवल उनको बाहिरी स्वरूपका बारेमा एकमात्र सन्देह बाँकी रह्यो । म स्वयं त्यो रहस्य पत्ता लगाउन चाहन्छु । यसका लागि मलाई अनुमति दिनुहोस् । या त बाहुकलाई नै महलमा बोलाऔं, अथवा मलाई नै उनका समीपमा जाने अनुमति दिनुहोस् ।
केशिनीले दमयन्तीको आज्ञा शिरोपर गरी महारानीका सामू सबै कुरा जाहेर गरिन् । महारानीले पनि राजा भीमसँग सहमति लिएर दमयन्तीलाई बाहुकसँग भेट्ने अनुमति दिइन् । दमयन्तीले खुशी हुँदै बाहुकलाई आफ्ना महलमा केशिनीद्वारा बोलाइन् । उनी चूपचाप दमयन्तीका समीप आए ।
दमयन्तीलाई साक्षात् आफ्ना सामू बाहुकरूपधारी राजा नलले धेरै दिनपछि प्रत्यक्ष देखे । मलिन वस्त्र पहिरिएकी, जटा धारण गरेकी, धूलो र मैलोले मलिन बनेकी दमयन्तीलाई देखेर उनी शोक र ग्लानिले व्याकुल बने, उनका नयनयुगलबाट यकायक आँशूका धारा बहन थाले । उता दमयन्तीको पनि यही हालत थियो । उनीहरू एक अर्काको दुरवस्था देखेर धुरुधुरु रोइरहेका थिए । जसैतसै धैर्य बाँधेर दमयन्तीले कोमल स्वरमा बाहुकलाई सोधिन् :
पूर्वं दृष्टस्त्वया कश्चिद् धर्मज्ञो नाम बाहुक !
सुप्तामुत्सृज्य विपिने गतो यः पुरुषः स्त्रियम् ।।
मभा, वनपर्व, अध्याय : ७६, श्लोक : १०
हे बाहुक, तिमीले पहिले यस्तो कुनै धर्मज्ञ पुरुषलाई देखेका छौ जो आफूसँगै सुतीरहेकी आफ्नी पत्नीलाई वनमा एक्लै छोडेर हिंडेका थिए । पुण्यश्लोक महाराज नलदेखि बाहेक अरु को एकान्तमा थाकेर अचेत निदाइरहेकी आफ्नी निर्दोष पत्नीलाई चटक्क छोडेर जान सक्दो होला ? नजाने महाराज नलमाथि मैले कहिल्यै के अपराध गरेकी थिएँ होला जसको दण्ड दिंदै निद्राले बेहोश भएकी म असहाय अबला नारीलाई एक्लै जंगलमा छोडेर उनी गए होलान् ? पहिले स्वयंवरका बेला साक्षात् देवताहरूलाई छोडेर मैले उनीलाई नै वरण गरेकी थिएँ । म उनकी अनुगामिनी भक्तिनी सदा उनीप्रति अनन्य अनुरागिणी अनि सन्तानवती पत्नी थिएँ, आखिर उनले मलाई कसरी त्याग्न सके होलान् ? अग्नि र देवताका सामू मेरा हात समाएर, म सदा तिम्रो अनुगत रहनेछु भन्ने प्रतिज्ञा गरेर जसले मलाई अपनाएका थिए उनको त्यो सत्य कहाँ गयो होला ?
यी सब कुराहरू दमयन्तीले भनिरहँदा बाहुक स्वरूपधारी नलका आँखामा अजस्र अश्रुधारा झरझर झरिरहेका थिए । नयनयुगल राता–राता भइसकेका थिए । यसरी निरन्तर अश्रुधारा बहाइरहेका नलले दमयन्तीलाई शोकातुर देखेर यसो भने :
मम राज्यं प्रणष्टं यन्नाहं तत् कृतवान् स्वयम्
कलिना तत् कृतं भीरु यच्च त्वामहमत्यजम् । १७
हे भीरु, मेरो राज्य नष्ट भएको थियो । मैले जुन तिम्रो त्याग गरें त्यो सब कलियुगको अभिशाप थियो, मैले स्वयं त्यस्तो केही गरेको थिइँन । पहिले तिमी दिनरात दुःखी मेरा लागि जब शोक गर्दथ्यौ तेसबेला धर्मसंकटमा परेर तिमीले जुन शाप दिएकी थियौ त्यसै शापाग्निले दग्ध बनेर कलि ममा निवास गर्दथ्यो । हे शुभे, अब मेरा उद्योगले र तपस्याले कलि परास्त भइसकेको छ । अब हाम्रा दुःखका दिन सकिनुपर्दछ । हे सुन्दरी, पापी कलियुग मलाई छोडेर गइसकेको छ त्यसैले तिमीलाई पाउने उद्देश्यले नै म यहाँ आएको हुँ । म यहाँ आउनाको अरु कुनै कारण छैन । हे भीरु, कुनै स्त्रीले कहिल्यै अनुरक्त र भक्त पतिलाई त्यागेर अरु कुनै पुरुषलाई कसरी वरण गर्न सक्दछिन् ? जस्तो कि तिमी गर्न लाग्दैछौ । विदर्भनरेशका आज्ञाले समस्त पृथ्वीमा उनका दूतहरू यही घोषणा गरिरहेका छन् कि दमयन्ती दोस्रो स्वयंवर गर्दैछिन् । दमयन्ती स्वेच्छाचारिणी हुन् त्यसैले आफ्नो रुचिअनुसार अर्कै पति रोज्दैछिन् भन्ने सुनेर अयोध्यानरेश ऋतुपर्ण उत्ताउलिएर यहाँ आएका हुन् ।
राजा नलले अश्रुसिक्त हुँदै गरेका यी कुरा सुनेर दमयन्ती करुणाले काम्न लागिन् अनि भयभीत हुँदै दुवै हात जोडेर यसो भनिन् :
हे कल्याणमय निषधाधिप, हजुरले यसरी ममाथि दोषारोपण गर्दै मेरा चरित्रमाथि शंका गर्नु उचित होइन । हजुरलाई देवताहरूलाई पनि छोडेर अनन्य अनुरागले वरण गरेकी हुँ । हजुरलाई पत्तो लगाउनका लागि नै चारैतिर ब्राह्मणहरू पठाइयेका हुन्, तिनीहरूले मैले सिकाएको गाथा नै सबैतिर गाएर सुनाएका हुन् । यसै योजनानुसार नै पर्णाद नाम गरेका ब्राह्मण अयोध्यानरेश ऋतुपर्ण राजाका दरबारमा गएका हुन् । उनले हजुरलाई भेटेर आएपछि नै मैले हजुरलाई यहाँ बोलाउनका लागि स्वयंवरको झूठो खबर पठाएकी हुँ । हे नरेश्वर, मलाई राम्ररी थाहा छ कि यस जगत्मा हजुरबाहेक अरु कोही तेस्तो व्यक्ति छैन जसले एकै दिनमा रथमा जोतिएका घोडा हाँकेर सय योजन टाढा पुर्याउन सक्दछ ।
हे महीपते, म मनबाट पनि कुनै असदाचरण गर्दिन यही प्रतिज्ञा गरेर म हजुरका चरणयुगलको स्पर्श गर्दछु । यी सदा गतिशील हुने वायुदेव हुन् । यी समस्त प्राणीमात्रका साक्षी हुन्, यदि मैले कुनै पाप गरेकी रहेंछु भने यिनले मेरो प्राण हरण गरुन् । यी प्रचण्ड तेजस्वी सूर्य समस्त भुवनमा विचरण गर्दछन्, यदि मैले कुनै पाप गरेकी रहेंछु भने यिनले मेरो प्राण हरण गरुन् । विराट्पुरुषका मनबाट उत्पन्न चन्द्रदेव समस्त प्राणीहरूको अन्तःकरणका साक्षी भएर रहन्छन्, यदि मैले कुनै पाप गरेकी रहेंछु भने यिनले मेरो प्राण हरण गरुन् । वायु, सूर्य र चन्द्र यी तीनै देव सम्पूर्ण त्रिलोकीलाई धारण गर्दछन् । यदि मैले झूठ बोलकी रहेंछु भने यिनीहरूले मेरो त्याग गरिदिउन् ।
दमयन्तीले यति भनिसेकपछि अन्तरीक्ष–लोकबाट वायुदेवले भने :
हे पुण्यश्लोक राजा नल, म तपाईंसँग सत्य भन्दछु यिनी दमयन्तीले कहिल्यै कुनै पाप गरेकी छैनन् । हे राजन्, दमयन्तीले सदा आफ्नो शीलको रक्षा गरेकी छिन्, हामीहरू तीन वर्षदेखि निरन्तर यिनका रक्षक र साक्षी रहेका छौं । तपाईंलाई प्राप्त गर्नकै लागि दमयन्तीले यो अनुपम उपाय रचेकी हुन् । किनभने यस जगत्मा तपाईंबाहेक अर्को कुनै यस्तो पुरुष छैन जसले रथद्वारा एकै दिनमा सय योजन पार गर्न सकोस् । हे राजन्, भीमकुमारी दमयन्ती सर्वथा तपाईंकी योग्य छिन् र तपाईं नै दमयन्तीका पनि एकमात्र योग्य पुरुष हुनुहुन्छ । निःशंक भावले आफ्नी पत्नी दमयन्तीको सहगामी बन्नुहोस् ।
यति भन्नासाथ आकाशबाट पुष्पवृष्टि भयो । सरसराउँदो शीतल पवन वहन लाग्यो । यो अद्भुत घटनाको साक्षी भइसकेपछि पुण्यश्लोक राजा नलले आफ्ना मनमा उठेका समस्त सन्देहहरू परित्याग गरिदिए र प्रसन्न हृदयले नागराज कर्कोटकलाई स्मरण गर्दै उनले दिएको वस्त्र ओढे ।
त्यो दिव्य वस्त्र धारण गर्नासाथ नलले आफ्नो तेजस्वी रमणीय पूर्वस्वरूप प्राप्त गरे । वास्तविक स्वरूपमा प्रकट भएका आफ्ना प्राणप्रिय राजा नललाई देखेपछि सती साध्वी दमयन्ती उनलाई आलिंगन गरेर डाँको छोड्दै रुन लागिन् । राजा नलले आफ्नी प्रियतमा दमयन्तीलाई प्रगाढ आलिंगनमा बाँधिरहे अनि आफ्ना दुवै सन्तान इन्द्रसेन र इन्द्रसेनालाई म्वाइँ खाएर, सुम्सुम्याएर माया गरे । अनि तिनी शुभानना दमयन्ती पतिदेवका विशाल वक्षमा शिर राखेर लामो लामो निःश्वास लिन लगिन् ।
यसरी तीन वर्षको लामो असह्य विरहको अपार कष्ट सहेर अन्त्यमा नल दमयन्तीको मिलन भयो । नल दमयन्तीका दम्पतिले वनमा रहँदाका विगतका दुःखकष्टमय घटनाहरू एक–अर्कालाई सुनाउँदै अपार प्रसन्नताले त्यो रात बिताए । चौथो वर्षमा आफ्नी प्रियतमा दमयन्तीसँगको मिलनले राजा नलको हृदय अपार आनन्दमा निमग्न भयो । जसरी सुकेकी धरती वर्षाको वारिधारा पाएर उल्लसित बन्दछिन् दमयन्ती पनि त्यसै गरी आफ्ना प्रियतम नललाई पाएर परमसन्तुष्टा भइन् ।
…..
भोलिपल्ट बिहान स्नानादि नित्यकर्म सम्पन्न गरेर रमणीय वस्त्राभूषणले सुसज्जित भएर नल दमयन्ती विदर्भनदेश राजा भीमदम्पतिका समक्ष समुपस्थित भए । आफ्ना छोरी–ज्वाइँलाई यस्तो सुन्दर रूपमा देख्न पाउँदा उनको हर्षको सीमा रहेन । नगरभरि हर्षोल्लासका साथ उत्सव मनाइयो ।
यता अयोध्यानरेश ऋतुपर्णले पनि थाहा पाए आफ्ना दरबारमा राजसारथिका पदमा नियुक्त बाहुक नै पो अब महाराज नलका रूपमा प्रकट भए । उनको आश्चर्यको सीमा रहेन । उनले नलका सामू गएर आफूले सारथिका रूपमा व्यवहार गर्दा केही कुरा तलमाथि पर्न गएको भए क्षमा माग्दछु भनेर विनम्रता व्यक्त गरे । उदारमना राजा नलले तेस्तो केही भएको छैन, क्षमा माग्ने कुनै दरकार छैन । म हजुरका महलमा आफ्नो दरबारमा भन्दा पनि बढी सुखसुविधाका साथ रहन पाएँ भनेर उदारहृदयले कृतज्ञता व्यक्त गरे ।
त्यसपछि पहिलेको वचनानुसार राजा नलले अश्वविद्याको समग्र रहस्य राजा ऋतुपर्णलाई सिकाइदिए भने राजा ऋतुपर्णले पनि द्यूतविद्याको सारा गूढ रहस्य राजा नललाई सिकाइदिए । दुवै एकअर्काका गुरुशिष्यतुल्य बने । कृतज्ञताका साथ राजा ऋतुपर्ण अयोध्या फर्किए । राजा नलचाहिं केही दिन आफ् नो ससुराली कुण्डिनपुरमा नै परमानन्दका साथ सपरिवार रहे ।
…
महीना दिनसम्म ससुरालीमा बसेपछि राजा नलले महाराज भीमसँग विदा मागेर आफ्नो राजधानी निषधदेश फर्किने निश्चय गरे । बडो भव्यताका साथ उनको विदाइको तैयारी चल्यो । सोह्र हात्तीले घेरिएको सुन्दर रथ, पचास घोडा र छ सय पैदल सैनिकका साथ राजा नलको विदर्भदेशबाट निषधदेशतिर सवारी चल्यो । पृथ्वीलाई कम्पित गर्ने गडगडाहटका साथ उनले निषधदेशमा प्रवेश गरे ।
सोझै उनले राजमहलमा प्रवेश गरेर पुष्करसँग जुवा खेल्ने प्रस्ताव राखे ।
राजा नलले भने :
एकातिर तिम्रो सारा राज्य, अर्कातिर मेरो सारा सम्पत्ति राखेर बस् एक दाउ जुवा खेलौं । यदि तिमी जुवा खेल्न इच्छुक छैनौ भने हाम्रो रथयुद्धको खेल चलोस् । दुइ मध्ये तिमीलाई जे मन लाग्दछ त्यही तय गर ।
पुष्करले भने :
हे महाबाहु नरेश, सौभाग्यले आज पत्नीसहित फेरि तिमी आयौ, खुशी लाग्यो । वास्तवमा म तिम्रै प्रतीक्षा गरिरहेथें । हुन्छ एक दाउ जुवा नै खेलौं । मेरो प्रस्ताव छ : तिमीले जित्यौ भने मेरो प्राण सहित सारा साम्राज्य तिम्रो, मैले जितें भने तिम्री पत्नी अनिन्द्य सुन्दरी दमयन्तीका साथ तिम्रो सर्वस्व मेरो ।
यस्ता कुरा सुनेर राजा नलका आँखा रिसले लाल लाल भए, तापनि उनले हाँस्दै भने :
तिमी व्यर्थको प्रलाप छोड, खेल शुरु गर ।
तत्काल जुवाको खाल तैयार भयो । द्यूतविद्यामा निपुण भइसकेका राजा नलले एकै दाउमा पुष्करलाई हराइदिए ।
अनि नलले हाँस्दै भने :
हे नृपाधम, अब यो शान्त र अकण्टक निषधसाम्राज्य मेरा हातमा आयो । विदर्भकुमारी दमयन्तीलाई अब तैंले नजर उठाएर हेर्ने पनि धृष्टता गर्ने छैनस् । हे मूर्ख, आजदेखि सपरिवार तँ दमयन्तीको दास बनिस् । पहिले तँद्वारा म पराजित भएको थिएँ, त्यसमा तेरो कुनै पुरुषार्थ थिएन । हे मूढ, त्यो त सबै दुष्टात्मा कलिको कुकृत्य मात्र थियो । कलियुगले गरेको कुकृत्यको दोष म तँलाई दिन्न पनि । म तँलाई प्राणदान दिन्छु । जा, यथेच्छाले जहाँ मन लाग्छ, सुखपूर्वक बाँचेस् । मैले तेरो हिस्साको सारा धन पनि तँलाई नै बक्सिस दिएँ । तँ मेरो भाइ होस् । तेरा उपर मेरो स्नेह पूर्ववत् रहिरहनेछ । यसमा कुनै सन्देह छैन ।
यसरी उदारमना सत्यपराक्रमी राजा नलले आफ्ना भाइ पुष्करका सबै अपराधहरूलाई क्षमा गरेर हृदयमा लगाएर सस्नेह बिदा गरिदिए । पुष्करले पनि प्राणदान पाएकोमा र सम्पत्ति समेत बक्सीस पाएकामा कृतज्ञता व्यक्त गर्दै भने :
हे पृथ्वीनाथ, हजुरले मलाई प्राणका साथ मेरो निवासस्थान पनि बक्सनुभएकामा म कृतज्ञता अर्पण गर्दछु । हजुरको सयवर्षसम्म बाँच्नुहोस्, अक्षय कीर्ति पाउनुहोस् ।
एक महीनासम्म निषधदेशमा सुखपूर्वक रहेर राजा नलको जयजयकार गर्दै पुष्कर स्वदेश फर्किए ।
सर्वत्र शान्ति र अमैनचैन कायम भयो । महाराज नलले अब माइती देशमा रहेकी भैमी दमयन्तीलाई विदर्भदेशबाट लिन पठाए । महाराज भीमले भव्य सौगात कोशेलीका साथ नाती नातिनासहित छोरी दमयन्तीलाई पतिगृह पठाउने सुव्यवस्था मिलाए । प्रजावत्सल आफ्ना प्रिय महाराज नललाई सपरिवार सकुशल रूपमा फेरि पाएर सकल जनताले हर्षोल्लास मनाउँदै जयजयकार गरे । देशभरि महोत्सव मनाइयो ।
पुण्यश्लोक राजा नलले विविध यज्ञहरूको अनुष्ठान भव्यताका साथ सम्पन्न गरे । ब्राह्मणवर्गलाई प्रचुर दक्षिणा दिएर तृप्त तुल्याए । समस्त ऐश्वर्यसम्पदाले सम्पन्न बनेर महाराज पुण्यश्लोक नलले निषधदेशको साम्राज्य दीर्घकालसम्म भोग गरे ।
आख्यानको अन्त्यमा भगवान् व्यास भन्नुहुन्छ :
कर्कोटकस्य नागस्य दमयन्त्या नलस्य च ।
ऋतुपर्णस्य राजर्षेः कीर्तनं कलिनाशनम् ।।
मभा, वनपर्व, अध्याय : ७९, श्लोक १०
नागराज कर्कोटक, वैदर्भी दमयन्ती, पुण्यश्लोक नैषध नल, तथा राजर्षि ऋतुपर्णको जसले स्मरण कीर्तन गर्दछ, उसका समस्त कलियुगका दोषहरू विनष्ट बन्दछन् । जसले यो कथा वाचन र श्रवण गर्दछ ऊ कलियुगका समस्त पापबाट मुक्त बन्दछ ।
इति नल–दमयन्ती आख्यान
……
२०८२ साल फागुन २९ गते शुक्रवार ।
ॐअक्षरालयः ।

