साहित्यपोस्ट डट कम

नल–दमयन्ती (उपाख्यान : ८)

नल–दमयन्ती (उपाख्यान : ८)

आफ्ना छोरी ज्वाईं जुवामा समस्त राजपाठ हारेर जंगल पसे भन्ने खबर थाहा पाएपछि विदर्भनरेश भीमले तिनीहरूलाई खोज्न भनेर अनेक ब्राह्मणहरूलाई सारा दिशा विदिशातिर पठाए । उनले भने :

जसले मेरा छोरी ज्वाइँलाई खोजेर पत्तो लगाउँछ उसलाई एक हजार दुधारु गाई दिउँला ।

फेरि भने :

उनीहरूलाई खाजेर यहीं ल्याउनेलाई शहरजत्तिकै ठूलो गाउँ नै दान दिउँला ।

खुशी हुँदै अत्यन्त उत्साहका साथ ब्राह्मणवर्ग नल दमयन्तीको खोजमा निस्कियो । तिनै ब्राह्मणमध्ये एक गहिरा खोजी ब्राह्मण थिए सुदेव । तिनले चनाखो भएर खोज्दै जाँदा एक दिन चेदिनरेशका राजमहलमा विदर्भराजकुमारी दमयन्तीलाई देखिहाले । राजकुमारी सुनन्दाकी सखीका रूपमा दमयन्तीलाई देखेर उनी प्रसन्न भए र मनमनै सोच्न लागे :

मैले पहिले भीमदरबारमा यिनलाई जस्ती देखेको थिएँ अझै पनि उस्तै नै रहिछिन्, यिनी पूर्णचन्द्रका समान कान्तिमती छिन्, यिनी गोल गोल कुचयुगल पुष्ट र मनमोहक छन्, यिनी आफ्ना प्रभाले चारै दिशालाई आलोकित गरिरहिछिन्, यिनका ठूलठूला नयनयुगल कमलपत्रको सौन्दर्यलाई मात दिन्छन्, यिनी कामदेवकी स्त्री रति जस्ती लाग्दछिन्, विदर्भरूपी सरोवरमा फक्रक्क फक्रिएकी यी कमलिनी मानौं प्रारब्धकै दोषले गर्दा त्यहाँबाट निकालिएकी हुन्, यिनका मलिन अंगहरू हिलोमा लटपटिएकी नलिनीका जस्ता छन्, यिनी मानौं राहुले ग्रस्त गरिएकी पूर्णिमाकी रात हुन्, पतिशोकले व्याकुल र दीन हुनाले यिनी जलप्रवाह शुष्क भएकी नदीजस्ती छिन्, यिनको अवस्था त्यस्तो पोखरीको जस्तो देखिन्छ जसलाई जंगली हात्तीहरुले सूँडले हुँडलिदिएको छ, जसमा फुलेका कमलका पातहरू छिन्नभिन्न भएका छन्, त्यहाँका निवासी पक्षीगण भयभीत बनेका छन्, यिनी सरोवरबाट टिपिएकी कमलिनीजस्ती प्रतीत हुन्छिन् जसलाई तातो घामले ओइल्याएर लल्याक् लुलुक् बनाइदिएको छ । यिनी रूप र उदारताका गुणले सम्पन्न छिन्, शृंगार गर्न योग्या हुँदाहुँदै पनि शृंगारहीन छिन्, मानौं आकाशमा काला–काला बादलले ढाकेकी नूतन चाँदनी हुन् । यी राजकन्या कामभोगबाट वञ्चित छिन्, आफ्ना बन्धुजनबाट विरहिता छिन्, पतिदर्शनको लालसाले दुर्बल शरीर धारण गरिरहेकी छिन् । वास्तवमा पति नै नारीको सर्वश्रेष्ठ आभूषण हो, पति विना यिनी अत्यन्त शोभाहीन देखिएकी छिन् । काला–काला घना केशराशिले सुशोभिता विशालनेत्रा यी राजकन्याको अवस्था देखेर वास्तवमा मेरा मनमा पनि अत्यन्त व्यथा भइरहेछ । जसरी रोहिणी चन्द्रका संयोगले सुखी हुन्छिन् त्यसैगरी यिनी शुभलक्षणा पतिव्रता नारी पनि पतिका समागमले मात्र सन्तुष्ट हुनेछिन् । पूर्णचन्द्रमुखी यिनी राजकुमारी दमयन्तीले पहिले कहिल्यै दुःखको मुख देखेकी पनि थिइनन्, अहिले दुःखातुरा बनेर पतिको ध्यानमा परायण बनेकी छिन्, अब म यिनलाई सान्त्वना दिएर सुखी बनाउनुपर्‍यो ।

यति विचार गरेर असल बुद्धि भएका ती सुदेव ब्राह्मणले दमयन्तीका निकट गएर भने :

हे वैदर्भी, म हजुरका भाइको प्रियसखा सुदेव हुँ । महाराज भीमका आज्ञाले हजुरलाई खोज्दै खोज्दै यहाँ आइपुगेको हुँ । हे निषधदेशकी महारानी, हजुरका पितामाता र भाइ सबै सकुशल छन् अनि कुण्डिनपुरमा हजुरका छोरा छोरी पनि सकुशल छन् । हजुरका बन्धुबान्धव हजुरका चिन्ताले मरेतुल्य भएका छन्, हजुरका खोजमा मजस्ता हजारौं ब्राह्मण सारा पृथिवीमा घुमिरहेका छन् ।

सुदेवका कुरा सुनेर दमयन्तीले सारा आफन्तहरूको कुशल समाचार सोधिन् । अनि भाइको प्यारो साथी आएको देखेर हुँक्क हुँक्क रुन लागिन् । उनको हालत देखेर सुनन्दाले सबै कुरा राजमातालाई सुनाइन् । राजमाता उत्सुकताका साथ दमयन्तीका छेउ गइन् र सुदेव ब्राह्मणसँग कुरा गरिन्, सुदेवले नल दमयन्तीको सारा रामकहानी सुनाइदिए र भने :

यिनका दुवै आँखीभौंका बीचमा एउटा उत्तम कोठीको चिह्न छ । त्यो अहिले मैलोले ढाकिएको छ, तर जति ढाकिए पनि तातोपनाले आगो थाहा पाइएजस्तै गौर गरेर हेर्दा त्यो थाहा हुन्छ ।

सुदेवका कुरा सुनेर राजमाताले तुरुन्तै दमयन्तीको निधार धुने व्यवस्था मिलाइन् । धुनासाथै बादल हटेको आकाशमा चन्द्र जस्तै दमयन्तीको ललाटमा त्यो चिह्न प्रकाशित भयो ।

त्यो चिह्न देख्नासाथ सुनन्दा र राजमाता दुवै धुरुधुरु रुन पो लागे । ती दुवै दमयन्तीलाई छातीमा टाँसेर धेरै बेर रोइरहे । अनि राजमाताले भनिन् :

छोरी, तिमी त मेरी प्यारी बहिनीको छोरी हौ, यसै चिह्नले पो बल्ल मैले आज तिमीलाई चिनें । नानी, तिम्री आमा र म हामी दुवै दशार्ण देशका महाराजा सुदामाका छोरी हौं । तिम्री आमाको बिहा राजा भीमसँग भयो, मेरो चेदिनरेश वीरबाहुसँग । तिम्रो जन्म दशार्णदेशमा हाम्रै पिताजीका घरमा भएको हो । मैले त्यही बेला आफ्नै आँखाले तिमीलाई देखेकी हुँ । छोरी दमयन्ती, यो मेरो घर तिम्रै हो, यो सारा ऐश्वर्य तिम्रै हो, तिम्रा लागि जस्तो तिम्रा पिताको घर, त्यस्तै यस घरलाई पनि सम्झ ।

यति सुनेपछि दमयन्तीले आफ्नी सानीमालाई उज्यालो मुहार लाएर ढोगिदिइन् । अनि भनिन् :

सानीमा, हजुरले मलाई नचिनिकनै पनि छोरीलाई जस्तै माया गरेर यहाँ राख्नुभएको छ, आफ्नै माइतमा जस्तै सारा सुख–सुविधाका साथ म हजुरका घरमा बसेकी छु । अब, हुन त यहीं बसे पनि मलाई आमासँगै बसेजस्तै हो, तर पनि उहाँ सुदेव ब्राह्मण मलाई लिन आउनुभएको छ । मलाई मेरो बाबाघरमा जाने आज्ञा दिनुहोस् सानीमा ।

अनि प्रसन्नताका साथ राजमाताले सारा व्यवस्था मिलाएर दमयन्तीलाई अंकमाल गरेर माया गर्दै विदा गरिन् ।

सुदेव ब्राह्मणका साथ सुख–सुविधापूर्ण रथमा बसेर दमयन्ती आफ्नो पितृगृह पुगिन् । त्यहाँ हर्षोल्लासको ठेगान भएन । राजा भीम आफ्नी हराएकी छोरीलाई पाएर अत्यन्त प्रसन्न भए । उनले ती सुदेव ब्राह्मणलाई एक हजार गाई, एउटा समृद्धिसम्पन्न गाउँ र प्रशस्त धनसम्पत्ति दिएर विदा गरे ।

त्यस रात धेरै दिनपछि दमयन्तीले आफ्नो पितृगृहमा लामो सास फेरेर विश्राम गरिन् । भोलिपल्ट बिहानै उठ्नासाथ आमालाई भनिन् :

आमा, यदि मलाई जीवितै देख्न चाहनुहुन्छ भने जसरी भए पनि शीघ्रातिशीघ्र महाराज नलको खोजी गराइबक्सियोस् । यति भनेर उनी फेरि धुरुधुरु रुन लागिन् । उनको दयनीय अवस्था देखेर सबैका आँखा आँशुले टिल्पिलाए ।

तुरुन्तै नलको खोजीमा जान फेरि एउटा ठूलो ब्राह्मण दल तम्तयार भयो । दमयन्तीले तिनीहरूलाई भनिन् : तपाईंहरू जहाँ जहाँ जानुहुन्छ, त्यो जनसमुदायमा यो मेरो कुरा सबैका सामु भनिदिनुहोला –

क्व नु त्वं कितवच्छित्त्वा वस्त्रार्धं प्रस्थितो मम

उत्सृज्य विपिने सुप्तामनुरक्तां प्रियां प्रिय !

सा वै यथा त्वया दृष्टा तथाऽऽस्ते त्वत्प्रतीक्षिणी

दह्यमाना भृशं बाला वस्त्रार्धेनाभिसंवृता

तस्या रुदत्याः सततं तेन शोकेन पार्थिव

प्रसादं कुरु वै वीर प्रतिवाक्यं ददस्व च

भर्तव्या रक्षणीया च पत्नी पत्या हि सर्वदा

तन्नष्टमुभयं कस्माद् धर्मज्ञस्य सतस्तव

ख्यातः प्राज्ञः कुलीनश्च सानुक्रोशो भवान् सदा

संवृत्तो निरनुक्रोशः शङ्के मद्भाग्यसंक्षयात्

तत् कुरुष्व नरव्याघ्र दयां मयि नरर्षभ

आनृशंस्यं परो धर्मस्त्वत्त एव हि मे श्रुतः ।

(महाभारत, वनपर्व, अध्याय : ६९, श्लो ३७ देखि ४३०

ए जुवाडे प्रियतम ! हजुर वनमा सुतिरहेकी, आफ्ना प्रियतम पतिदेवमा अनन्य अनुरागवती, प्यारी पत्नीलाई छोडेर, मेरो आधा वस्त्र च्यातेर कहाँ जानुभयो ? उसलाई हजुरले जुन अवस्थामा छोडेर जानुभयो आज पनि उ त्यसै अवस्थामा हजुरको आगमनको प्रतीक्षा गरिरहिछे । आधा वस्त्रले आफ्नो शरीर ढाकेर त्यो युवती हजुरकै विरहाग्निमा अनवरत जलिरहेकी छे । हे वीर भूपाल, सदा हजुरकै शोकमा रोइरहेकी आफ्नी प्यारी पत्नीमाथि कृपा गर्नुहोस् र उसका प्रश्नको उत्तर दिनुहोस् । हे प्राणनाथ, पतिले सदा आफ्नी पत्नीको भरणपोषण र संरक्षण गर्नु उचित हो । हजुर स्वयं धर्मज्ञ सज्जन पुरुष हुनुहुन्छ, यी दुवै कर्तव्य आज सहसा कसरी विनष्ट भए ? हजुर विख्यात विद्वान्, कुलीन र सदा सबैप्रति दयालु हुनुहुन्छ, तर मेरो हृदयमा अब सन्देह पैदा हुन लागेको छ कि मेरो दुर्भाग्यले गर्दा कतै हजुर मप्रति निर्दय त हुनुभएको हैन ?

अन्त्यमा फेरि भनिन् :

हे पूज्य ब्राह्मणदेव, यस्ता कुरा सुनेर कसैले केही उत्तर दिइहालेछ भने त्यस मनुष्यको सारा परिचय लिनुहोला । यस्ता वचन सुनेर जसले जे जे उत्तर दिन्छ तिनका कुरा याद गरेर कृपया मलाई आएर बताउनुहोला । कसैलाई पनि थाहा नहोस् कि यो कुरा तपाईंहरूले मेरा आज्ञाले भन्नुभएको हो । «यदि कुनै उत्तर कतैबाट आयो भने तुरुन्तै आएर मलाई भन्नुहोला । उत्तर दिने मानिस धनवान् होस् कि निर्धन, समर्थ होस् कि असमर्थ, त्यो के गर्न चाहन्छ ? त्यो कुरा जान्ने प्रयत्न गर्नुहोला ।

दमयन्तीका कुरा राम्ररी सुनेर शिरोपर गर्दै ती ब्राह्मणहरू नलको खोजीमा छापछाप्ती घुम्न लागे । राष्ट्र, नगर, गाउँ, गोठ र आश्रमहरूमा सबै तिर नलको खोजी गरियो तर कुनै अत्तोपत्तो लागेन । दमयन्तीले भनेजसरि नै ती ब्राह्मणहरू सबैतिर गएर उनको भनाइ सुनाउने गर्न थाले ।

….क्रमशः

आउँदो शुक्रवार प्रस्तुत गरिनेछ ।

२०८२ साल फागुन ८ गते शुक्रवार, ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.