साहित्यपोस्ट डट कम

नल–दमयन्ती (उपाख्यान ७)

नल–दमयन्ती (उपाख्यान ७)

दुष्ट कलिले आविष्ट बनेका राजा नल आफ्नी प्राणप्रिया दमयन्तीलाई एकान्त वनमा रहेको धर्मशालामा एक्लै छोडेर त्यस घनघोर अटव्यतिर एकासुरमा फटाफट अगि बढिरहेका थिए । अगाडि एकाएक उनले भीषण वनडढेलो लागेको भयावह दृश्य देखे ।

त्यहाँ कोही चिच्याइरहेको थियो : हे पुण्यश्लोक महाराज नल ! मलाई बचाउनोस्, बचाउनोस् ।

पख, नडराऊ भन्दै उनी त्यस लपलपाउँदो अग्निज्वालामा हाम फालिहाले । त्यहाँ उनले एउटा विशालाकार नागराज कुण्डली मारेर बसिरहेको देखे । त्यसले हात जोडेर भन्यो : हे महाराज, म कर्कोटक नाग हुँ । एक दिन महातपस्वी ब्रह्मर्षि नारद मेरो ठगाइमा परे, अनि मलाई शाप दिए : स्थावर वृक्ष झैं तँ एकै ठाउँमा लडिराखेस्, कुनै दिन पुण्यश्लोक राजा नल आएर तँलाई उठाएर अन्यत्र लैजानेछन्, अनि तँ शापमुक्त पनि हुनेछस् । कृपया मलाई बचाउनोस्, शापमुक्त तुल्याउनोस् । म तपाईंको मित्र बन्नेछु । म जत्तिको प्रभावशाली सर्पलोकमा अरु कोही छैन । म तपाईंका लागि हलुका बनिदिन्छु । मलाई चाँडै यहाँबाट अन्यत्र लैजानुहोस् ।

यति भनेर त्यो विशालाकार नाग पलभरमा बूढी औंलो जत्रो लघु आकारमा परिवर्तित भयो । राजा नलले त्यसलाई सहजै हातमा उठाएर वनडढेलाबाट पर लगे, अनि आकाशमा यसै छोडिदिने विचार गरे । त्यसै बेला त्यस कर्कोटकले भन्यो : हे नैषध, मलाई यसै नछोड्नुहोस्, केही पाइला गन्दै अगि बढ्नुहोस् । म तपाईंको कल्याण गर्नेछु ।

राजा नल अगि बढे – पाइला गन्दै गन्दै । एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, अनि उनले दश ! मात्र के भनेका थिए त्यस अमोघ विषवाला कर्कोटकले उनलाई डसिहाल्यो । नागदंश हुनासाथ राजा नलको समुज्ज्वल गौरवर्णवाला कमनीय रूप तत्काल विलायो र उनी डढेको ठुटोजस्ता कुरूप काला भए । यता कर्कोटकले भने आफ्नो भयंकर फणाधारी विशाल मूल स्वरूप धारण गर्‍यो ।

अनि, सान्त्वना दिंदै भन्यो : हे राजन्, तपाईंलाई कसैले पनि चिन्न नसकोस् भनेर मैले यसो गरेको हुँ । कलियुग आविष्ट भएका कारण तपाईंले यो कष्ट सहनुपरेको हो । मेरो विषले दग्ध भएपछि अब त्यो तपाईंभित्र बडा कष्टले निवास गर्नेछ, तर तपाईंलाई चाहिं यो विषजनित पीडा कहिल्यै हुनेछैन । मैले डसेकाले अब तपाईंलाई दाह्रावाल जीवजन्तु, शत्रु र देवताका शापको पनि अब कुनै भय रहनेछैन । युद्धमा सदा तपाईंकै जय हुनेछ । हे महाराज, अब तपाईं यहाँबाट सरासर अयोध्या नगरीतिर प्रस्थान गर्नुहोस् । त्यहाँ इक्ष्वाकुवंशीय राजा ऋतुपर्णका दरबारमा जानुहोला । तिनी द्यूतविद्यामा अत्यन्त कुशल छन् । उनले तपाईंबाट अश्वविद्याको सारा रहस्य सिक्नेछन् अनि तपाईंलाई द्यूतविद्याको सारा रहस्य सिकाउनेछन् । उनी तपाईंका परममित्र पनि बन्नेछन् । द्यूतविद्यामा कुशल बनेपछि तपाईं पहिलेकै जस्तो कल्याणभागी बन्नुहुनेछ । पटक्कै चिन्ता नगर्नुहोला ।

अनि अन्त्यमा एउटा दिव्य वस्त्र दिंदै फेरि कर्कोटकले भन्यो : यथासमय यो कपडा ओढनासाथ आफ्नो वास्तविक रूप पाउनुहुनेछ । तथास्तु !

यति भनेर नागराज कर्कोटक अन्तर्धान भयो ।

लगातार दश दिन हिंडेर उनी अयोध्या पुगे । सरासर राजदरबार गएर राजा ऋतुपर्णका सामू पुगेर भने : हे महाराज ! मेरो नाम बाहुक हो । यस पृथिवीतलभरिमा म जतिको अश्वविद्या जान्ने मानिस अर्को छैन, थरिथरिका स्वादिष्ट व्यञ्जन पनि म कुशलतासाथ मिलिक्कै बनाउन जान्दछु, अरु के भनूँ, यस जगत्मा जति पनि शिल्पकला छन्, अनि जे जति कठिन काम छन् ती सबै सहजतासाथ सम्पन्न गर्न सक्दछु, आजभोलि म विकट अर्थसंकटमा फँसेको छु । कृपया मलाई आश्रय प्रदान गर्नुहोस्, मेरो भरणपोषण गर्नुहोस् ।

ऋतुपर्णले भने : हे बाहुक, तिम्रो भलो होस् । तिमी यहीं निवास गर । तिमीले भनेका सबै काम गर । म जहाँ पनि चाँडै पुग्न नसकेर हैरान भएको थिएँ । आजदेखि तिमी दरबारका अश्वाध्यक्ष भयौ । अब मेरा घोडा सदा शीघ्रगामी बनून् । तिम्रो वार्षिक वेतन दश हजार स्वर्ण मुद्रा निश्चित भयो ।

अनि सामुन्ने देखाउँदै भने : यिनको नाम वार्ष्णेय र जीवल हो, आजदेखि यी दुवै सारथि तिम्रा सेवामा रहनेछन् । यिनीहरूका साथ तिमी यसै पलदेखि दरबारमा सबै सुखसुविधाका साथ बस ।

यसरी नल राजा ऋतुपर्णका दरबारमा सम्मानित भएर बस्न थाले । उनी प्रतिदिन राती सुत्ने बेलामा यो एउटा श्लोक उच्चारण गर्ने गर्दथे :

क्व नु सा क्षुत्पिपासार्ता श्रान्ता शेते तपस्विनी

स्मरन्ती तस्य मन्दस्य कं वा साद्योपतिष्ठति ।

(महाभारत, वनपर्व, ६७ अध्याय, १० श्लोक)

भोक प्यासले पीडित, गलित थकित तिनी तपस्विनी त्यस मन्दबुद्धि पुरुषलाई सम्झँदै कहाँ सुत्दी होलिन्, अहिले कहाँ कोसँग बस्दी होलिन् ?

एक दिन राती सुत्ने बेलामा नलले फेरि यही श्लोक उच्चारण गरेको सुनेर छेउमै सुतेको जीवलले सोध्यो :

बाहुक, तिमी हरेक दिन कुन स्त्रीका लागि यसरी शोक गर्दछौ ? मलाई भन त । हे आयुष्मान्, तिनी कसकी पत्नी हुन् ? जसका लागि तिमी यसरी निरन्तर शोकमग्न रहने गर्दछौ ।

नलले उदासभावका साथ भने : कुनै अल्पबुद्धि पुरुषकी एउटी स्त्री थिइन्, जो तिनको अत्यन्त आदरणीय पात्र थियो । तर, त्यस पुरुषको वचन अलि फितलो थियो, त्यसैले ऊ आफूले गरेको प्रतिज्ञामा चिप्लियो, कुनै विशेष कारणले विवश भएर त्यो भाग्यहीन पुरुष आफ्नो प्राणप्रिया पत्नीबाट बिछोडियो । पत्नीबाट वियुक्त भएर त्यो मन्दबुद्धि मानव दिन रात शोकाग्निले दग्ध एवम् दुःसह पीडाले सन्तप्त बनेर यताउति भटकिरहेछ । रातमा तिनैलाई सम्झिएर ऊ यो एउटा श्लोक उच्चारण गर्ने गर्दछ । सारा पृथिवीको चक्कर लगाएर त्यो कुनै ठाउँमा पुगेको छ र निरन्तर उनै प्रियतमालाई सम्झेर असह्य दुःख भोगिरहेको छ, जबकि ऊ त्यस्तो कष्ट भोग्न योग्य मानिस भने होइन । ती नारी कति पतिव्रता थिइन् भने– संकटकालमा पनि त्यस पुरुषका साथ लागेर वन गइन् तर त्यस क्षीणपुण्य भएका पुरुषले उनलाई वनमै त्यागिदियो । आज उनी जीवित नै भए पनि अत्यन्त कष्टले दिन बिताउँदी हुन् । उनी एक्लै थिइन्, बाटो पनि थाहा थिएन, त्यस्तो संकट भोग्न योग्य पनि तिनी थिइनन् । भोक र प्यासले तिनका अंग व्याप्त भइरहेका थिए, त्यस दशामा परित्यक्ता बनेर उनी बाँच्नु पनि अत्यन्त कठिन छ । हे आर्य जीवल, जहाँ निरन्तर हिंसक जनावरहरू विचरण गरिरहन्छन् त्यस्तो अत्यन्त भयंकर विशाल वनमा त्यस मन्दबुद्धि एवम् मन्दभाग्य पुरुषले उनलाई त्याग गरिदियो ।

यसरी निषधनरेश राजा नल प्रियतमा दमयन्तीलाई स्मरण गर्दै अयोध्यानरेश ऋतुपर्णका दरबारमा अज्ञातवास गर्न लागे ।

प्रिय पाठक बन्धु, यसपछि के भयो ? कृपया प्रतीक्षा गर्नुहोला आगामी शुक्रवारसम्म ।

सबैको जय होस् ।

महाभारत, वनपर्व ६७ अध्यायमा आधृत

२०८२ फागुन १ गते शुक्रवार, ॐ अक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.