साहित्यपोस्ट डट कम

नल–दमयन्ती (उपाख्यान : ६)

नल–दमयन्ती (उपाख्यान : ६)

आफ्ना प्राणप्रिय नललाई खोज्दै अगि बढेकी विरहव्याकुला सती दमयन्तीले त्यस विकट अटव्यमा यकायक व्यापारीहरूको एक यात्रुदललाई भेटिन् । त्यो यात्रुदल एउटा भव्य पुण्यसलिला नदीलाई पार गर्न लाग्दै थियो । व्यापारीहरूको समूह निकै ठूलो थियो । दमयन्ती चूपचाप त्यसै समूहमा खुसुक्क पसिन् र एकाम्य बनिन् ।

उनको रूप उन्मत्ता स्त्रीको जस्तो देखिन्थ्यो । उनी शोकले पीडित, दुर्बल, उदास र मलिन बनेकी थिइन् । तिनले आधी धोतीले आफ्ना रमणीय अंगहरूलाई ढाकेकी थिइन् । उनका केशमा धूलोको पत्र जमिसकेको थियो । तिनलाई आफूबीच यकायक पाएर कैयौं यात्रीहरू झस्किएर भाग्न थालेका थिए । कोही चिन्तित भए, कोही आत्तिएर कराउन लागे । कोही उनको उपहास गर्दै थिए, कोही उनका दोष देखाउँदै थिए । तीमध्ये कोही यस्ता पनि थिए जो उनीमाथि दया र सहानुभूति प्रकट गरिरहेका थिए । तिनै मध्यको एकले सोध्यो :

हे कल्याणि, तिमी को हौ? कसकी स्त्री हौ? अनि यो विकट वनमा के खोजिरहेकी छौ? तिमी मानवी हौ कि वनदेवी हौ? कि तिमी यक्षी हौ वा राक्षसी हौ? जो भए पनि हामीमाथि कुपित नहोऊ । हामीलाई यहाँबाट कुशलतापूर्वक जान देऊ ।

दमयन्तीले करुण स्वरमा तिनका सामु आफ्नो सबै कुरा यथार्थ बेलिविस्तार लगाइन् र उनीहरूले नललाई कतै देखेका छन् कि भनेर सोधिन् ।

तिनले भने :

हे शुचिस्मिते, म यस दलको नेता हुँ । मैले यहाँ कुनै नलनामक व्यक्तिलाई अहिलेसम्म भेटेको छैन । यो जंगल हिंस्रक जनावरले भरिएको छ । यहाँ मान्छे भेट्नु भनेको दुर्लभ कुरा हो । यहाँ पहिलो मानव मैले देखेको तिमी नै हौ । धन्न तिमी कसरी पो जीवितै भेटियौ । सबै मणिभद्रको कृपा हो ।

त्यो व्यापारीदल चेदिराज सुबाहुको नगरतिर जाँदै गरेको थाहा पाएर दमयन्ती पनि नललाई पाउने आशामा उनीहरूका साथ लागिन् ।

त्यो यात्रुदल केही बेरमा एउटा भयानक घना जंगलका बीच रहेको एउटा भव्य सरोवरका किनारमा पुग्यो । त्यसको नाम थियो : पद्मसौगन्धिक । त्यो अत्यन्त मनमोहक थियो । त्यसका किनारमा पर्याप्त फलफूल र इन्धन सहजतया पाइन्थ्यो । त्यहाँ अत्यन्त सुन्दर पक्षीहरूको श्रुतिमधुर निनाद सुनिन्थ्यो । दिनभरि हिंड्दा हिंड्दा थाकेको यात्रुदलले आजको रात यहीं विश्राम गर्ने निधो गर्‍यो । उनीहरूले त्यहीं डेरा–डण्डा जमाए । चाँडै खानपीन गरे । थकाइले लखतरान परेका हुँदा सबै एकैछिनमा भुसुक्कै निदाइ पनि हाले ।

आधी रातका वेला सहसा मदोन्मत्त बनेका जंगली हात्तीको झुण्ड भयंकर उत्पात मच्चाउँदै त्यहाँ आइपुग्यो । वास्तवमा त्यही सरोवरमा जलक्रीडा गरेर आनन्द लिन त्यो हात्तीको बथान त्यहाँ आएको थियो । त्यहाँ व्यापारी–दलका यात्रामा रहेका घरपालुवा हात्तीहरूलाई देखेर उत्तेजित हुँदै ती जंगली हात्ती तिनीहरूमाथि जाइलागे । अब त्यहाँ भयावह स्थिति पैदा भयो । सुतीरहेका यात्रुदललाई कुल्चिंदै, सूँडले उठाएर वर र पर फ्याँक्दै ती मदविह्वल हात्तीहरू त्यहाँ विध्वंसलीला मच्चाउन थाले । तीव्र वेगमा दौडिरहेका हात्तीहरूको विशाल पैतालामुनि परेर कति यात्रुहरूको इहलीला ठाउँका ठाउँ समाप्त भयो । कोही ज्यान बचाउन घना जंगलतिर हाम्फाल्दै कुदे । कति निद्रामै उठेर आँखा मिच्दै थिए, तेसैबेला ती हात्तीहरू कसैलाई दाँतले, कसैलाई सूँडले, कसैलाई पैतालाले हुत्याउँदै, किच्दै, मिच्दै दौडिरहेका थिए । तिनका धेरै उँट र घोडाहरू मारिए । कोही भागारेभाग् गर्दा आपसमा ठोकिएर लड्दै थिए, कोही आर्तनाद गर्दै पछारिंदै थिए, कोही शीघ्रताका साथ रुख रुखमा चढ्दै थिए, कोही जता पायो त्यतै कुलेलम ठोक्दै थिए ।

यसरी त्यहाँ एकैछिन्मा प्रलय मच्चियो । सबै तहस नहस पारेर त्यो जंगली हात्तीको बथान जसरी आएको थियो त्यसै गरी वेगसाथ त्यहाँबाट एकातिर लाग्यो पनि । तर त्यहाँ व्यापारीदलमा हाहाकार मच्चिएको थियो । बहुमूल्य वस्तुहरू जताततै छरपस्ट भएर पोखिएको थियो । मानिसहरू किंकर्तव्यविमूढ भएका थिए । सामानहरू बचाउने कि ज्यान जोगाउने ?

यसै उत्पातका बीच दमयन्तीको निद्रा खुल्यो । त्यो भयावह हाहाकार देखेर उनी भयभीत बनिन्, त्यो नरसंहार देखेर उनी व्याकुल बनिन् । उनी स्तब्ध बनेर धरतीमा यसरी टाँसिएकी थिइन्, लाग्दथ्यो उनी धरतीमा समाहित हुन खोजिरहेकी पो हुन् कि?

अब त्यहाँ अर्कै प्रकारको कोलाहल मच्चिन लाग्यो । कोही भन्थे :

यो हाम्रो कुन कर्मको फल हो, आज प्रस्थानकालमा मणिभद्रको पूजा नगरेको यो फल हो ।

कोही भन्थे : आज ग्रह नक्षत्र विपरीत रहेछन्, सारै अपशकुन परेको बेला हिँडिएछ क्यार ।

कोही भन्थे : आज दशा लागेको रहेछ, हे प्रभो हाम्रो रक्षा गर्नुहोस् ।

त्यसै बेलामा कोही यसो भन्न थाले : आज हाम्रो यात्रुदलमा एउटी उन्मत्त जस्ती विकराल आकारकी एउटी राक्षसी राम्री केटीको रूप धरेर पसेकी थिई, यो सबै त्यसैको माया हो । निश्चय नै त्यो राक्षसी, यक्षी अथवा भयंकर पिशाचिनी नै रहिछे, भन्नै पर्दैन– यो सबै त्यसैको करामत हो, कृत्या बनेर पो आएकी रहिछे । कहाँ छे त्यो? भेट्नासाथ ढुंगामूढा गरेर जसरी भए पनि तेसलाई खतम् नपारी हुँदैन है साथी हो ।

तिनीहरूका कुरा सुनेर लाज र डरले दमयन्ती व्याकुल बनिन् । आफ्नो दुरवस्था देखेर भयभीत हुँदै ज्यान जोगाउन चूपचाप त्यहाँबाट भाग्दै एकान्त वृक्षतलमा पुगेर करुण स्वरमा विलाप गर्न लागिन् :

अहो, ममाथि विधाताको कति भयंकर कोप रहेछ । मलाई कसै गरे पनि शान्ति भएन । मैले आफ्नो मन, वाणी र क्रियाले कसैको अलिकति पनि कुभलो त गरेकी छैन, आखिर कुन जन्मका पापको फल म अहिले भोग्दैछु ? मेरा स्वामीको राज्य अपहृत भयो, उनीसँग मेरो वियोग भयो, आफ्ना सन्तानलाई पनि मैले देख्न पाएकी छैन, भयंकर जीवजन्तुले भरिएको यस घनघोर जंगलमा आज म अनाथ बनेर भटकिरहेकी छु, थाहा छैन अब मेरो के दशा हुने हो?

….

यस्तैमा बिहान भयो । पूर्वदिशाबाट उषाको लालीकिरण जग्मगायो । तर उनको मन खिन्न थियो । उनी सोच्दै थिइन् :

आखिर मैले कुन दुष्कर्मको यो सजाय पाइरहेंछु । उनले सोचिन् : स्वयंवरमा आएका लोकपालगणको मैले तिरस्कार गरेकी थिएँ, आफ्ना प्राणधन नललाई वरण गरेकी थिएँ, शायद तिनै देवताहरूको कोप ममाथि आइलागेको हो कि?

उता बिहान भएपछि त्यस यात्रुदलमा बँचेका केही वेदज्ञ प्रसन्नचेता ब्राह्मणहरूसँग लागेर यात्रा गर्दै उनी अगि बढिन् । दिनभरि हिंडेपछि साँझपख उनी चेदिराज सुबाहुका राजधानीमा आइपुगिछिन् । उनको रमणीय देह अर्धवस्त्रले लपेटिएको थियो । उनी विह्वल, दीन–हीन र दुर्बल अवस्थामा त्यस शहरमा प्रवेश गरिन् । उनको केश चारैतिर छरिएको धूलिधूसरित थियो, तिनले कति दिनदेखि स्नान पनि गरेकी थिइनन् । नगरवासीहरूले उनलाई कुनै पगली ठानेर पर पर हुन लागे । केही बालकहरू कौतूहलवश उनका पछि पछि लागिरहेका देखिन्थे । जाँदा जाँदै उनी राजमहलको छेउमा पो पुगिछिन् ।

राजमाताले अचानक उनलाई देखिन् । अनि धाईलाई अह्राइन् :

जाऊ, ती दुःखिनी युवतीलाई यहाँ लिएर आऊ त । तिनीलाई सबैले हैरान पारिरहेका छन् । तिनी अनाथिनी जस्ती छिन्, आश्रय खोजिरहेकी जस्ती छिन्, तिनको वेशभूषा त उन्मत्ताको जस्तो छ, तर ती विशालनयना युवती कल्याणमयी स्वयं लक्ष्मीजस्ती देखिन्छिन् । त्यस्तो विकट अवस्थामा पनि तिनको सौन्दर्य जगमगाइरहेछ । मेघमालामा प्रकाशित भएकी बिजुली जस्ती छिन् ।

धाईले दमयन्तीलाई लियेर राजमाताका छेउ, महलको अट्टालिकामा पुर्‍याइन् । राजमाताले विस्मयका साथ सोधिन् :

नानी, यस्तो दुःखमय अवस्थामा पनि तिमी काला बादलभित्र चम्किएको बिजुलीजस्ती उज्याली देखिन्छ्यौ । भन त तिमी को हौ? कसकी स्त्री हौ? हुन त तिम्रा देहमा गरगहना छैनन् तैपनि तिमीले दिव्य कान्ति धारण गरेकी छौ । यस्तो असहाय अवस्थामा पनि तिमी कोहीसँग डराएजस्ती पनि छैनौ । आफ्नो सबै वृत्तान्त मलाई भन, नानी ।

दमयन्तीले मनमनै केही विचार गरी परिस्थितिअनुरूप आत्मरक्षाको मार्ग अवलम्बन गर्दै यसो भनिन् :

हे माता, म मानवी नै हुँ । आफ्ना पतिका चरणमा अनन्य अनुराग राख्ने नारी हुँ । म अन्तःपुरमा काम गर्ने सैरन्ध्री जातिकी स्त्री हुँ । म सेविका हुँ अनि जहाँ इच्छा लाग्छ त्यहीं रहने गर्दछु । म एक्ली छु, फलमूल खाएर जीवन धान्दछु, जहाँ साँझ पर्छ त्यहीं विश्राम गर्दछु । मेरा स्वामीमा असंख्य गुण छन्, उनका प्रति मेरा दिलमा अनन्य अनुराग छ । दुर्भाग्यवश एक दिन मेरा पतिदेवले जुवाको आसक्तिमा परेर सबकुछ गुमाउनुभयो र एक्लै जंगल पस्नुभयो । म पनि उहाँलाई सान्त्वना दिंदै पछि पछि लागें । जाँदा जाँदै भोकले पीडित भएर उहाँ फलफूलको खोजीमा जंगलभित्र पस्नुभयो । होश हराउन थालेपछि उहाँको एउटै वस्त्र पनि कतै छुटेछ । मेरा शरीरमा पनि एउटै वस्त्र थियो । म सुतिरहेकी थिएँ अनि मेरो आधा धोती च्यातेर, त्यही लपेटेर म निरपराधिनी पत्नीलाई एक्लै छोडेर उहाँ कतै हिंडिदिनुभयो । उहाँको विरहमा मेरो यो हाल भएको छ । उहाँलाई नै खोज्दै खोज्दै म यहाँ आइपुगेकी हुँ । मेरा प्रियतमको कान्ति कमलको गुभोजस्तो दिव्य छ, उहाँ देवतासमान तेजस्वी हुनुहुन्छ । कति खोजिसकें, अझै पनि भेट्न सकेकी छैन ।

यति भन्दाभन्दै दमयन्तीका नेत्रयुगल अश्रुपूरित बने । उनी आर्तस्वरले विलाप गर्न थालिन् ।

तिनको दुरवस्था देखेर राजमाताका पनि आँखामा आँशू रसाउन थाले । अनि भनिन् :

हे कल्याणि, तिमी मसँगै बस, म तिमीलाई धेरै माया गर्छु, तिम्रा पतिलाई पनि मेरा सेवकहरूले खोजिदिनेछन्, पीर नगर, के थाहा तिमीलाई खोज्दै खोज्दै उनी स्वयम् यहाँ आइपुग्छन् कि वा ।

दमयन्तीले दृढताका साथ भनिन् :

हे वीरमाता, म एउटा नियमका साथ यहाँ बस्न सक्दछु । म कसैको जूठो खाने छैन, कसैको गोडा पनि धुने छैन, कुनै पुरुषसँग बोल्दा पनि बोल्ने छैन । कुनै पुरुषले मलाई पाउने चेष्टा गरिहाल्यो भने त्यो दण्डनीय हुनेछ, धेरै सताउन थाल्यो भने प्राणदण्ड समेत दिन सकिनेछ । यो मेरो निश्चित व्रत हो । म आफ्ना पतिको खोजका लागि केवल पवित्र ब्राह्मणवर्गसँग मात्र भेट्न सक्नेछु । यदि यहाँ त्यस्तो व्यवस्था हुन सक्छ भने म अवश्य हजुरसँग यहाँ बस्नेछु । यसमा कुनै सन्देह छैन ।

राजमाताले प्रसन्नचित्त बन्दै भनिन् :

छोरी, म तिमीले भनेजस्तै सारा प्रबन्ध गर्दछु । सौभाग्यको कुरा हो तिमी यस्तो उत्तम व्रत पालन गर्दिरहिछौ ।

यति भनिसकेर राजमाताले आफ्नी छोरी राजकुमारी सुनन्दालाई बोलाएर भनिन् :

सुनन्दे, यिनी सैरन्ध्री हुन्, यिनलाई तिमी देवीसमान जान । यिनी अवस्थामा तिमी सरह नै छिन् त्यसैले तिम्री सखीका रूपमा रहुन् । तिमी यिनीसँग प्रसन्नचित्त एवं आनन्दित बनेर रहनु ।

आफ्ना प्रिय सखीहरूले घेरिएकी, सरल स्वभावकी सुनन्दाले पनि हर्षोल्लासका साथ दमयन्तीलाई आफूसँगै लिएर गइन् । दमयन्तीको इच्छानुसार नै उनलाई त्यहाँ सारा सुविधाका साथ बस्ने व्यवस्था सम्पन्न गरियो । बिस्तारै दमयन्ती त्यहाँ निरुद्विग्नताका साथ रहन लागिन् ।

….

प्रिय पाठक बन्धु, यसपछि के भयो ?

आउँदो शुक्रवार उपाख्यानको सातौं भागमा प्रस्तुत गरिनेछ । सबैको जय होस् ।

……

महाभारत, वनपर्व, अध्याय : ६५

२०८२ साल माघ २३ गते शुक्रवार, ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.