इन्द्र आदि लोकपालका दूत बनेर राजा नल विदर्भनरेशको दरबारभित्र प्रवेश गर्दै दमयन्तीका महलमा दाखिल भए । देवराज इन्द्रका दिव्य प्रभावले उनलाई कसैले कहीं पनि रोकटोक गरेन ।
त्यहाँ उनले भैमीलाई प्रथमवार देखे, तिनी सुन्दरी प्रिय–सखीगणले घेरिएकी थिइन् । विदर्भराजकुमारी दमयन्ती परम सुन्दरी रहिछन्, मनमोहक रूप र यौवन अनि देदीप्यमान कान्तिले उद्भासिता रहिछन् । सुकुमार यौवनमय अङ्ग–प्रत्यङ्ग, बान्किला ओठ, छिनेको कम्मर, ठूला ठूला आँखा, मादक देहलता अनि मोहनीदार मुस्कान, यी सबैकी स्वामिनी दमयन्तीलाई देख्नासाथ निषधराज नलको मन कामाग्निले प्रज्वलित झैं बन्न गयो । तर, उनी त देवताका दूत पो बनेर गएका थिए त ! यस कुरालाई हेक्का राख्दै उनी संयमित भए र आफ्ना मनका भावावेगलाई बलपूर्वक रोके ।
यता, निषधराज नललाई देखेर अन्तःपुरका सारा स्त्रीहरू चकित भए र मनमनै उनको दिव्य सौन्दर्य र आकर्षक व्यक्तित्वको प्रशंसा गर्न लागे । उनीहरू मनमनै सोच्दैथे : अहो ! यिनी कति राम्रा, को होलान् ? हुनसक्छ देवता हुन् अथवा गन्धर्व पो हुन् कि ? उनका सौन्दर्यको ओजले सबै हतप्रभ भए, कसैले एक शब्द पनि बोल्न सकेन ।
तर, मोहक मुस्कान फैलाउँदै, विस्मयभावका साथ दमयन्ती बोलिन् :
हजुर को हुनुहुन्छ ? हजुरका अंग–प्रत्यंग निर्दोष र परमसुन्दर छन्, हजुरलाई देख्नासाथ मेरो मन कामावेगले चञ्चल बनेको छ, हे निष्पाप वीर ! हजुर देवतुल्य बनेर यहाँ पाल्नुभएको छ, म हजुरको परिचय पाउन चाहन्छु । यस अन्तःपुरमा हजुरको प्रवेश कसरी सम्भव भयो ? कसैले देख्न त देखेन ? यो महल अत्यन्त कडा सुरक्षा घेरामा रहेको छ, यहाँ अपराधीलाई अत्यन्त कडा दण्डको विधान पो छ त !
नलले मुस्कुराउँदै भने :
हे कल्याणि, म निषधराज नल हुँ । म देवताहरूको दूत बनेर यहाँ आएको छु । इन्द्र, अग्नि, वरुण, यम सबै देवता तिमीलाई पाउन चाहन्छन् । हे सुन्दरी, तिमी उहाँहरूमध्ये जो मन पर्छ उसैलाई आफ्नो पति चुन । उनै देवताहरूका दिव्य प्रभावले म यस महलभित्र आइपुगेको हुँ । यहाँ मलाई कसैले देख्न सकेन । भित्र आउँदा न कसैले रोक्यो, न त केही सोधपूछ नै गर्यो । हे शुभे, अब तिम्रो जे इच्छा छ, त्यही गर ।
दमयन्तीले श्रद्धापूर्वक आफ्ना इष्टदेवलाई नमस्कार गरेर मुसुक्क हाँस्दै भनिन् :
हे महाराज ! हजुर नै मेरो पाणिग्रहण गर्नुहोस्, अनि भन्नुहोस् म हजुरको के सेवा गरुँ ? हे नरेश्वर, म तथा मेरो जे जति धन छ त्यो सबै हजुरकै हो । हजुर पूर्ण विश्वस्त भएर, ढुक्कसँग मलाई विवाह गर्नुहोस् । हे भूपाल, सुनौलो पंख भएको प्रिय हाँसबाट जे जति सुनें त्यसपछि हजुरलाई अवलम्बन बनाएर कामाग्निले मलाई सदा जलाइरहन्छ । हे वीर ! मैले हजुरलाई नै पाउनका लागि यो स्वयंवरसभाको आयोजन गराएकी हुँ । हे मानद, हजुरका चरणमा भक्तिभाव राख्ने यो दासी दमयन्तीलाई कृपापूर्वक स्वीकार गर्नुहोस् । नत्र म हजुरका कारण विष, अग्नि, जल अथवा फाँसीको फन्दालाई नै निमित्त बनाएर भए पनि प्राण त्यागिदिन्छु ।
दमयन्तीका यस्ता प्रेममय समर्पणभावले सम्पन्न मर्मस्पर्शी वाणी सुनेर नल मनमनै अभिभूत भए । तर उनी त देवताका दूत बनेर गएका थिए, आफूलाई सम्हालेर उनले भने :
हे दमयन्ती ! तिमीलाई पाउन यस जगत्का लोकपालहरू उत्सुक हुँदा हुँदै तिमी किन मजस्तो सर्वसाधारण मनुष्यलाई पति बनाउन चाहन्छौ ? उनीहरूका अगाडि त म धूलोको कण बराबर पो हुँ त । हे सुन्दरी, देवताहरूका विरुद्ध चेष्टा गर्ने मानव सोझै मृत्युमुखमा पर्यो भन्ने सम्झ । तेसैले तिमी मलाई बचाऊ, देवतालाई नै मनमाफिक वरण गर । अग्निदेव, धर्मराज, वरुणदेव र स्वयं देवराज इन्द्रका अगाडि म के नै हुँ र ? तेस्ता सर्वशक्तिमान् लोकपालहरू मध्ये कुनै एकलाई चुन र धन्य बन । मलाई मन पराएर के पाउँछौ र कल्याणि ?
निषधराज नलका यस्ता कुरा सुनेर दमयन्तीको कोमल मन हताशाले झञ्झाऽहत शिरीषपुष्प झैं छियाछिया भयो, उनी आँखाभरि आँशू भरेर भन्न लागिन् :
हे पृथ्वीपति, म सम्पूर्ण देवताहरूलाई नमस्कार गरेर हजुरलाई नै पतिदेवका रूपमा वरण गर्दछु । म सत्य बोलिरहेछु राजन्,…
यति भनेर सुकुमारहृदया दमयन्ती थरथर काम्दै दुवै सुकोमल हात जोडेर नलका सामू श्रद्धावनत बनेर झुकिन् ।
नलले भने :
हे कल्याणि ! म अहिले देवताहरूको दूत बनेर आएको छु । अतः तिमी मप्रति त्यही व्यवहार गर जुन मेरो अनुरूप छ । म पहिले देवताहरूका अगि प्रतिज्ञाबद्ध बनेर विशेषतः परोपकारका लागि यहाँ आएको छु भने अहिले आएर कसरी स्वार्थसाधनमा प्रवृत्त हुन सक्छु र ? बरु मैले आफ्नो धर्मनिर्वाह गरें भने मेरो स्वार्थसिद्धि पनि हुने सम्भावना हुन्छ । त्यसैले तिमी यस्तो प्रयत्न गर जसबाट मैले धर्मनिर्वाहपूर्वक आत्मकल्याण गर्न सकूँ ।
अनि, केही बेर सोचेर आँखाभरि आँशू भर्दै दमयन्तीले भनिन् :
तेसो भए हजुर इन्द्र आदि सबै देवताका साथमा मेरो स्वयंवरसभामा आउनुहोस्, अनि म उनीहरूकै सामुन्ने हजुरलाई वरण गरुँली । यसो भएपटि हजुरलाई कुनै दोष लाग्ने छैन ।
उनका युक्तियुक्त कुरा सुनेर नल फर्किए अनि इन्द्रादि लोकपालहरूलाई यही वृत्तान्त जस्ताको तस्तै सुनाए ।
…..
शुभ साइतमा स्वयंवरसभा आयोजित भयो । सारा राजाहरू दमयन्तीलाई पाउने व्यग्रताका साथ सभामा दाखिल भए । सबका सब राजाहरू एक से एक थिए । विभिन्न आभूषण र उत्तम वस्त्रादिले विभूषित भएर, रम्रिएर आएका थिए ।
सबैले प्रथमवार दमयन्तीलाई देखे । मन्त्रमुग्ध भए । सबैको चित्तहरण गर्दै दमयन्ती स्वयंवरको माला दुवै हातमा लिएर स्वयंवरसभामा प्रवेश गरिन् । सारा राजाहरूको भव्य परिचय दिइन थाल्यो । दमयन्ती त्यो सबै सुन्दै सुन्दै, माला लिएर सखीहरूका साथ अगि बढ्दै जाँदा चकित भइन्, यकायक उनका पाइला अडिए । उनले देखिन् : त्यहाँ पाँच जना भव्य रूपाकृतिवाला पुरुष लहरै बसेका थिए । ती सबैको रूप रंग आकार प्रकार र भव्यता एक समान थियो । ती पाँचै जना ठ्याक्कै नलकै प्रतिरूप थिए । यस्तो लाग्दथ्यो – एउटै नल पाँचवटा बनेर एकै लहरमा बसेका छन् ।
दमयन्तीको मन विकट संकटको चक्रमा फँस्यो । आखिर वास्तविक नलचाहिँ को हुन् त ? ठूलो प्रश्न मनमा उत्पन्न भयो । उनी विलखबन्दमा परिन् । अनि अन्तरात्मादेखि प्रार्थना गर्न लागिन् :
मैले सुनौलो रहरलाग्दो हाँसका मानवीय वाणीमा विश्वास गरेर आत्मादेखि नै निषधनरेश नललाई मन पराएकी हुँ, यदि मेरो प्रेम साँचो छ भने देवगणले नै मलाई नल चिनाइदिउन् ।
यदि म मन वाणी र कर्मले पनि कहिल्यै सदाचारबाट च्युत भएकी छैन भने त्यस सत्यका प्रभावले देवगणले मेरो प्रिय नल मलाई प्राप्त गराइदिउन् ।
यदि देवताहरूले निषधनरेश नल नै मेरा पति निश्चित गरेका छन् भने मलाई नल चिनाइदिऊन्, मैले नलको आराधनामा नै व्रत गरेको साँचो हो भने देवताहरूले मलाई नललाई चिनाइदिऊन् ।
बरु इन्द्र आदि देवगणले आफ्नो वास्तविक रूप प्रकट गरिदेउन् जसले गर्दा मैले मेरो प्राणेश्वर नललाई चिन्न सकूँ ।
यसरी प्रार्थना गर्दा गर्दै उनको स्वर क्रमशः करुण विलापमा परिणत हुन लागेको थियो ।
सरलहृदया अनुरागवती दमयन्तीको भक्ति, प्रेम र नलप्रति अनन्य अनुराग देखेर ती नक्कली नल बनेका देवगणको चित्त पग्लियो । अनि उनीहरूले दमयन्तीका अन्तरात्मामा देवसूचक लक्षणहरूको ज्ञान प्रेरित गरिदिए ।
अनि, दमयन्तीले स्पष्ट थाहा पाइन् :
१. सबै देवगणका देहमा कहीं पसिनाको एक थोपो पनि छैन,
२. उनीहरूका परेला पनि कहिल्यै झिम्किंदैनन्,
३. तिनले धारण गरेका मालामा एउटा फूल पनि ओइलाएको छैन,
४. तिनमा धूलोको एकै कण पनि परेको छैन,
५. सबै सिंहासनमा बसेका छन् तर कसैको गोडाले भुइँ छोएको छैन,
६. ती कसैको पनि छाया बनेको देखिँदैन ।
ती पाँच जना नलहरूमध्ये एउटाको मात्र देहमा पसिना पनि आएको छ, आँखा पनि झिम्किएका छन्, मालामा फूल पनि केही ओइलाएका छन्, केही धूलाका कण पनि परेका छन्, गोडाले भुइँ पनि छोएको छ अनि छाया पनि स्पष्ट बनेको देखिन्छ ।
अनि त के थियो र ? खुशीले फक्रिएको गुलाफजस्ती बनेकी दमयन्तीले लजाउँदै लजाउँदै आफ्ना प्रियतम नलको समीपमा गई फेरि पनि लजाउँदै उनले पहिरिएका पोषाकको फेर समाएर उनका गलामा स्वयंवरको शोभाशाली पुष्पहार पहिराइदिइन् र हार्दिक परितृप्तिले आनन्दित भइन् । यसरी परमसुन्दरी दमयन्तीले पतिका रूपमा आफ्नो प्रियतम नललाई वरण गरिन् । यता, कृतकृत्य बन्दै निषधनरेश नलले भने :
हे कल्याणि, दमयन्ती, यत्रा देवगणका सामू तिमीले मजस्तो साधारण मनुष्यलाई नै वरण गर्यौ, यो अलौकिक अनुरागका कारण तिमी यो नललाई सदा तिम्रा हरेक आज्ञाको पालन गर्न तत्पर सम्झ । हे शुचिस्मिते, जबसम्म मेरो शरीरमा प्राण रहला तबसम्म तिमीमाथि मेरो अनन्य अनुराग कायम रहनेछ म सबैका सामु आज यो प्रतिज्ञा गर्दछु ।
यस्ता मधुर प्रिय वाणी सुनेर अनुरागवती दमयन्तीले दुवै हात जोडी विनीत बन्दै नललाई अभिनन्दन गरिन् ।
त्यसपछि समस्त देवगण र महर्षिगणले नलको प्रशंसा गर्दै उनको भाग्यको सराहना गरे । उनीहरू दम्पतिलाई आशीष दिए ।
इन्द्रले भने :
हे नल, म तिमीलाई यज्ञमा प्रत्यक्ष दर्शन दिउँला र शुभ उत्तम गति प्रदान गरुँला ।
अग्निदेवले भने :
राजा नल जहाँ चाहनेछन् त्यहाँ तत्काल म प्रकट होऊँला ।
यमराजले भने :
राजा नलले बनाएको भोजनमा उत्तमोत्तम स्वाद आउला, धर्ममा यिनको दृढ निष्ठा होला ।
वरुणदेवले भने :
जब नलले चाहलान् म तत्काल प्रकट होऊँला, यिनले पहिरिएका मालामा सदा दिव्य सुवास भरिएला ।
यसरी परमआनन्द एवम् हर्षोल्लासका साथ नल–दमयन्तीको परिणय सम्पन्न भयो । सबै आ–आफ्ना स्थानमा गए । नल र दमयन्तीको अनन्य प्रेम शची र देवराज इन्द्रको झैं दिव्यताले सम्पन्न थियो । नलले अत्यन्त कुशलताका साथ प्रजापालन गरेर, विविध यज्ञयागादि भव्यतासाथ सम्पन्न गरेर महाराजको पदवीलाई सार्थक तुल्याएका थिए । दमयन्तीका साथ उनी विविध रमणीय वन र उपवनमा स्वच्छन्द रमण गरेर आनन्दित हुन्थे, तर कहिल्यै अघाउँदैनथे ।
यथासमय उनीहरूका दुई सन्तान भए : पुत्र– देवसेन र पुत्री– देवसेना ।
प्रिय पाठक बन्धु, यस उपरान्तको उपाख्यान आउँदो शुक्रवार यहीं प्रस्तुत हुनेछ ।
……
महाभारत, वनपर्व, अध्याय : ५५ देखि ५७ अध्यायमा आधृत
२०८२ साल पौष २५ गते शुक्रवार, ॐअक्षरालयः ।

