साहित्यपोस्ट डट कम

नल–दमयन्ती (उपाख्यान १)

नल–दमयन्ती (उपाख्यान १)

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्

देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।

अथ नल–दमयन्ती कथा

महाभारतीय आख्यान–अनुरागी प्रिय रसिक बन्धु !

नल र दमयन्तीको अत्यन्त मार्मिक प्रेमगाथा लोकप्रसिद्ध रहेको पाइन्छ । यो निकै विस्तृत रूपमा अगि बढेको छ । यहाँ क्रमशः यस कथालाई मौलिक र संक्षिप्त रूपमा प्रस्तुत गरिन्छ । महाभारत वनपर्वमा यो उपाख्यान बृहदश्व मुनिले पाण्डवज्येष्ठ युधिष्ठिरलाई सुनाउनुभएको छ । आख्यान यसरी प्रारम्भ हुन्छ:

आसीद् राजा नलो नाम वीरसेनसुतो नृपः

उपपन्नो गुणैरिष्टो रूपवानश्वकोविदः ।

महाभारत, वनपर्व, ५३ अध्याय, प्रथमश्लोक

निषध देशमा नल नाम गरेका एक प्रसिद्ध राजा भए । उनी वीरसेनका पुत्र थिए । राजा नल उत्तम गुणगणले युक्त, अत्यन्त सुन्दर अनि अश्व–सञ्चालन कलाका विशेषज्ञ थिए । जसरी देवराज इन्द्र समस्त देवताका शिरोमणि मानिन्छन् तेसै गरी नल पनि सबै राजाहरूमा सर्वश्रेष्ठ थिए । उनी सूर्यसमान तेजस्वी, ब्राह्मणदेवका भक्त, वेदविद्, शूरवीर, द्यूतक्रीडाका प्रेमी, सत्यवादी एवम् एक अक्षौहिणी सेनाका परमाधिपति महान् राजा थिए । ती सुन्दरीहरूका प्रिय थिए, उदार र जितेन्द्रिय थिए, प्रजावत्सल र मनुतुल्य नीतिज्ञ एवम् धनुर्धरहरूमा श्रेष्ठ पनि थिए ।

ठीक तेसै समयमा उता विदर्भदेशमा अत्यन्त पराक्रमी भीम नामक राजा राज्य गर्दथे । ती पनि शूरवीर र सर्वगुणसम्पन्न थिए । उनका सन्तान थिएनन् । एकपटक दमन मुनि सपत्नीक उनका दरबारमा आएका थिए । ती मुनि–दम्पतिलाई उत्तम सेवा सत्कार गरेर भीम–दम्पतिले प्रसन्न तुल्याए । तिनै यशस्वी मुनिले कृपापूर्वक भीम–दम्पतिलाई अमोघ वर दिए । जसको फलस्वरूप तिनका एक पुत्री र तीन उदार पुत्र उत्पन्न भए । ती कन्याको नाम राखियो दमयन्ती, अनि ती पुत्रहरूको नाम राखियो क्रमशः दम, दान्त र दमन । ती सबै पुत्रहरू गुणवान्, वीर र पराक्रमी थिए ।

भीमपुत्री दमयन्तीलाई भैमी भनिन्थ्यो । तिनी अप्रतिम सुन्दरी थिइन् । तिनी कमनीय रूप, तेज, यश, श्री र सौभाग्यले तीनै लोकमा सुविख्यात सुन्दरी भइन् । विशालनयना भैमी जत्तिका सुन्दरी न देवलोकमा थिए, न यक्षलोकमा न गन्धर्वलोकमा । ती बालालाई देख्नासाथ जसको पनि मन फक्रक्क फक्रिएको कमलजस्तो प्रसन्न हुन्थ्यो ।

उता वीरसेनसुत नल पनि यस भूतलका मनुष्यहरूमा अनुपम सुन्दर थिए । उनलाई देख्दा यस्तो लाग्दथ्यो नलका स्वरूपमा स्वयं कामदेव नै यस धरतीमा अवतरित भएका पो हुन् कि ?

मानिसहरू कौतूहलवश दमयन्तीसँग नललाई जोडेर प्रशंसा गर्दथे र भन्दथे :

आहा, यिनीहरू एकैसाथ भए कति सुहाउँदो जोडी हुँदो हो, अनि दमयन्तीका अगि नलको प्रशंसा गर्दथे, नलका अगि दमयन्तीको । अनि भन्दथे– तिमीहरूको जोडी बने कत्ति सुहाउँदो होला ।

हुँदा हुँदा कस्तो भयो भने आपसमा देखादेखै नभइकन पनि उनीहरूको एकअर्काप्रति मनोऽनुराग अंकुरित, पल्लवित र पुष्पित हुन लाग्यो ।

एक दिन राजा नल, दमयन्तीलाई नै बारम्बार कल्पना गर्दै कामाकुल बनेर एकान्तमा एउटा रमणीय उपवनमा बसिरहेका थिए । तेसैबेला उनका नजर सुनौला प्वाँखले मनमोहक बनेका केही हंसिनीहरूप्रति आकर्षित भए । ती त्यसै उपवनमा विचरण गरिरहेका थिए, कुतूहलवश उनले तीमध्ये एउटा हाँसलाई च्याप्प समाते ।

अनि त्यो गगनविहारी हाँसले नललाई मानव–बोलीमा भन्यो :

हे राजन्, कृपया मलाई नमार्नुहोस्, म हजुरको प्रियकार्य गर्नेछु, हे नैषध, म दमयन्तीका समीपमा गएर हजुरका रूप र गुणको यसरी बयान गर्नेछु कि उनले आफ्ना दिलमा कहिल्यै पनि हजुरबाहेक अरु कुनै पुरुषलाई स्थान पनि दिने छैनन् ।

हाँसका यस्ता प्रिय कुरा सुनेर नलले त्यसलाई सप्रेम विदा गरे । ती हाँसका बथान त्यहाँबाट उडेर विदर्भदेश गए र दमयन्तीमा समीपमा अवतरित भए । दमयन्ती पनि ती अघोर राम्रा हाँसका बथान देखेर आकर्षित भइन् र नलले जस्तै तिनलाई समाउने चेष्टा गर्न लागिन् । सारा सखीहरूका साथ दमयन्ती ती हाँसहरूलाई समाउन दौडिन लागिन् । दमयन्तीका नजीक जुन हाँस थियो त्यसले मानवबोलीमा बोल्दै भन्यो :

ए राजकुमारी दमयन्ती, सुन । निषधदेशमा एक जना प्रसिद्ध राजा छन् तिनी कामदेवसमान सुन्दर छन्, यस धरतीमा तिनीजस्तो राम्रो पुरुष अरु कोही छैन । हे सुन्दरी दमयन्ती, यदि तिमी तिनकी पत्नी बन्यौ भने त तिम्रो जन्म साँच्चिकै सफल हुने थियो, हामीले देवता, गन्धर्व, मनुष्य र नागजातिका सबैलाई देख्याछौं तर तेति राम्रा पुरुष अरु कतै देख्या छैनौं । जसरी तिमी रमणीहरूमा सर्वश्रेष्ठ छौ तेसै गरी तिनी पुरुषहरूका मुकुटमणि सरह छन् । विशिष्ट सुन्दरीको विशिष्ट पुरुषका साथ जोडी बन्दा यस सृष्टिमा सुनमाथि सुगन्ध थपिएजस्तै उत्तम हुन्छ, बाबै !

यस्ता प्रिय कुरा सुनेर विस्मय र हर्षले रोमाञ्चित हुँदै त्यस हाँसलाई प्यारो गरेर दमयन्तीले भनिन् :

हे पक्षिराज, नलका छेउमा गएर मेरा बारेमा पनि यस्तै कुरा भन्देऊ है ।

तथास्तु ! भन्दै त्यो हाँस फेरि उडेर निषधदेश पुग्यो र नलका सामू दमयन्तीका कुरा जस्ताको तस्तै सुनायो ।

दमयन्तीले जुन बेलादेखि नलका बारेमा हाँसका कुरा सुनिन् त्यसै बेलादेखि उनी नलप्रति अनुरक्त हुँदै गइन् र त्यसैले विस्तारै अस्वस्थ हुन थालिन् । उनका मनमा चिन्ता बढ्न लाग्यो, स्वभावमा दीनता देखा पर्न थाल्यो, मुहारको रंग फीका हुँदै गयो, दिन प्रतिदिन दुब्ली हुँदै गइन् । उनी लामो लामो सास लिन्थिन्, शून्य गगनतिर हेरेर नलकै ध्यानमा डुबिरहन्थिन् । हेर्दा सधैँ उन्मादग्रस्त देखिन्थिन् । शरीर पहेंलो हुँदै गयो । कामवेदनाको तीव्रताले उनको सुधि बेला बेला हराउन थाल्यो । सुत्ने, खाने, हाँस्ने, खेल्ने केहीमा पनि रुचि हुन छोड्यो । न त उनी राती निदाउँथिन्, न दिनमा । बारम्बार हाय हाय ! गरेर रोइरहन थालिन् ।

मुखले केही नभने पनि, दमयन्तीका आकृति प्रकृति र स्वभावले तिनका प्रिय सखीहरूले उनको अवस्था थाहा पाए अनि विदर्भनरेशलाई उनका बारेमा सूचना दिए ।

राजाले पनि आफ्नै ढंगबाट अनुमान लगाउँदै के सोचे भने– छोरी तरुणी भइसकेकी छ, अब छिटै बिहाको चाँजोपाजो मिलाउन पाए सबै ठीक भैहाल्छ । अनि उनले दमयन्तीका स्वयंवरको घोषणा गरिदिए । सारा संसारभर खबर फिंजियो । दमयन्तीजस्ती परमसुन्दरीलाई नचाहने को होला र ? सारा राजा र राजकुमारहरू रोमाञ्चित हुँदै स्वयंवरमा भाग लिन विदर्भदेशतिर हान्निए । राजा भीमले पनि तिनको यथायोग्य स्वागत सत्कारका साथ भव्य आतिथ्य प्रदान गरे ।

उता, ठीक यसै समय देवर्षि नारद र पर्वत यकायक स्वर्गलोकमा इन्द्र–दरबारमा दाखिल भए । कुरै कुरामा देवराजले भने :

खै, आजभोलि समरमा वीरगति प्राप्त गरेर स्वर्गलोकको दिव्य सुखभोग गर्न कोही आउनै छोडे । देवर्षिले हाँस्दै भने :

कसरी आउँथे त ? के तपार्इँलाई थाहा छैन र, सारा राजा महाराजाहरू युद्ध सुद्ध सबै बिर्सेर दमयन्तीको स्वयंवरसभामा भाग लिन तँछाड मछाड गर्दै दौडेका छन्, अनि कताबाट आउँथे यहाँ ?

अनि फेरि इन्द्रमहाराज छक्क पर्दै दमयन्तीबारे जिज्ञासा राख्न थाले । देवर्षिले भने :

ओहो, ती दमयन्ती त त्रिलोकीकै सर्वश्रेष्ठ सुन्दरी पो हुन् त । अनि किन लट्टू नहुन् राजाहरू, जसले उनलाई पाउला उसको जीवन परमधन्य होला । वास्तविक स्वर्गको आनन्द त उसैले पो भोग्ला ।

यो सुनेर देवराज इन्द्रका मनमा पनि कौतूहल र लोभ पैदा भयो, अनि भने :

त्यसो भए हामी पनि जाउँ न त त्यो स्वयंवरसभामा भाग लिन । अनि समस्त लोकपालहरूको डफ्फाका साथमा देवेन्द्र मत्र्यलोकतिर लागे ।

त्यसैबेला राजा नललाई उनले देखे, कामदेवसमान सुन्दर एउटा केटो पनि स्वयंवर–सभातिरै जाँदैछ । अनि देवराज इन्द्र उनका सामु गएर भन्न लागे :

तपाईं त निषधदेशका राजा नल होइन र ? हामीलाई अलिकति मदत गरिदिन पर्‍यो ।

मनस्वी नल उदार स्वभावका थिए । भलादमी मानिसहरूलाई देखेर उनले आफ्नो स्वभावअनुसार उदारतासाथ तुरुन्तै भने :

हवस्, म अवश्य मदत गरुँला । बरु भन्नुहोस् के कस्तो मदत चाहियेको हो ।

अनि भने :

तपाईंलाई अब के ढाँट्नु ? म स्वयं देवराज इन्द्र हुँ । यिनी अग्निदेव, यिनी वरुणदेव, अनि यिनी यमदेव । अब हाम्रो दूत बनेर तपाईंले गएर दमयन्तीलाई खबर गरिदिनुपर्‍यो कि महेन्द्र आदि लोकपालहरू तिमीलाई नै हेर्न आउँदै छन् । तिनमध्ये तिमीलाई जो मन पर्छ उसैलाई पतिका रूपमा वरण गरे हुन्छ ।

राजा नललाई बडा अप्ठयारो पर्‍यो । हात जोडेर भने :

हे देवगण, म पनि तिनै दमयन्तीलाई प्राप्त गर्ने एकमात्र अभिलाषाले त्यसै स्वयंवर–सभामा जान लागेको हुँ, अब तपाईंहरू नै भन्नुहोस्– जसका मनमा जुन परमसुन्दरीलाई प्राप्त गर्ने दृढ संकल्प छ त्यस व्यक्तिले अरुका लागि त्यो संकल्प कतै छोड्न सक्दछ र ? कृपया मलाई क्षमा गर्नुहोस् ।

देवराजले दबाब दिंदै भने :

हे राजन्, पहिले नै सहयोग गर्ने वचन दिएर अहिले नाइँ भन्न पाउनुहुन्न नि । आफैंले गरेको प्रतिज्ञा आफैंले कसरी तोड्नुहुन्छ ?

आखिर राजा नललाई उनीहरूको वचन मान्न करै लाग्यो । नमान्नू पनि कसरी ? देवता हुन्, रिसाएर शाप दिए भने ?

अनि हारेर भने :

हुन्छ नै, अब हजुरहरूको यस्तै आदेश छ भने मैले कसरी नाइँ भन्न सक्छु र ? जाऊँला । तर विदर्भराजको सारा दरबार सशस्त्र पहरेदारको कडा सुरक्षा–घेरामा छ । म आखिर कसरी त्यहाँ प्रवेश गर्न सकूँला र ?

देवराजले भने :

मैले भनिसकेपछि अब तिमी जहाँ पनि प्रवेश गर्न सक्नेछौ, तिमीलाई कसैले कहीं पनि रोक्न सक्नेवाला छैन । अब जाऊ । काम फत्ते गर । तथास्तु !

देवराजको आज्ञा शिरोपर गरेर, उनकै दूत बनेर आखिर राजा नल आफ्नी हृदयेश्वरी दमयन्तीलाई भेट्न विदर्भनरेशका दरबारतिर लागे ।

प्रिय पाठक बन्धु, यस उपरान्तको वृत्तान्त आगामी शुक्रवार यहीं प्रस्तुत गरिनेछ ।

जय होस् !

……

महाभारत, वनपर्व, ५५ अध्याय,

२०८२ साल पौष १८ गते शुक्रवार, ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.