कुरा सुन्दा निकै मीठो सुनिन्छ- ‘नैतिक शिक्षा‘ । मानौँ, यो कुनै जादुमयी चक्की हो, जुन बालकलाई खुवाउनासाथ ऊ रातारात ऋषिमुनि बनेर निस्कनेछ । राज्यले विद्यालयमा फेरि यो विषय अनिवार्य गर्ने घोषणा गर्दा यस्तो लाग्छ, मानौँ समाजमा फैलिएको भ्रष्टाचार, हिंसा र व्यभिचारको एउटै मात्र ओखती अब ‘नैतिक शिक्षा‘ को पाठ्यपुस्तक हो । यद्यपि, हाम्रो समाजमा नैतिकता अहिले सरकारी कार्यालयको त्यो फाइल जस्तो भएको छ, जसमा बाहिर ‘अति जरुरी‘ लेखिएको छ, तर भित्रका पानाहरू रित्ता छन् । हामी बालबालिकाको काँधमा पाठ्यपुस्तकसँगै एउटा ठूलो ‘पाखण्डको पहाड‘ बोकाउन खोजिरहेका छौँ । यो नैतिकताको सिधा होइन, उल्टो यात्रा हो ।
घरभित्रको पहिलो झुट
यात्राको शुरुवात घरबाटै हुन्छ । आमाबुबा भन्छन्- “बाबु, झुट बोल्नु पाप हो, सत्यको बाटो कहिल्यै नछोड्नु ।” ठीक त्यही बेला ढोकामा साहु आएर ढकढक्याउँछ । बुबाले सुस्तरी इसारा गर्दै भन्छन्- “जा, बुबा घरमा हुनुहुन्न भनिदे ।” बालकको कलिलो मथिङ्गलमा पहिलो गाँठो त्यहीँ पर्छ । उसले बुझ्छ- ‘सत्य‘ त केवल किताबमा लेखिने वा प्रवचनमा भनिने सैद्धान्तिक रटान मात्र रहेछ, ‘झुट‘ त जीवन चलाउने व्यावहारिक इन्धन हो ।
हामी बच्चालाई अरूको सम्मान गर्न र सबैलाई समान देख्न सिकाउँछौँ । तर बिहानै चियाको कपसँगै परिवारका ठूलाबडाहरूले जब छिमेकीको जात, उसको औकात र उसको चरित्रमाथि छिर्के दाउ लगाउँछन्, तब बालकले ‘सम्मान‘ को परिभाषा होइन, ‘विभेद‘ को व्याकरण घरकै भान्साबाट सिक्छ । उसको कलिलो मनमा यो कुरा गढ्छ कि- आफूभन्दा शक्ति, पद र पैसा कम हुनेलाई जे भने पनि वा जे गरे पनि हुँदो रहेछ । घरमा सिकाइने यो दोहोरो मापदण्ड नै नैतिकताको उल्टो यात्राको पहिलो पाइला हो ।
पर्दाको अश्लीलता
हाम्रो उल्टो यात्रा यतिमा मात्र रोकिँदैन । अचेल बालबालिकाको पहुँचमा यस्ता सिनेमा र संगीत छन्, जहाँ रोमान्सका नाममा ‘ब्लर‘ नगरिएका अश्लील दृश्यहरू र वीरताका नाममा विभत्स क्रूरता देखाइन्छ । आजका ‘भाइरल‘ गीतहरूका शब्द र भिडियोहरू सुन्नुहोस्- जहाँ प्रेमलाई केवल शरीरको भोग र महिलालाई एउटा उपभोग्य वस्तुका रूपमा प्रस्तुत गरिन्छ । समाजका भद्रभलाद्मीहरू तिनै द्विअर्थी गीतमा कम्मर मर्काएर नाच्छन् र ताली बजाउँछन् ।
जब एउटा बालकले पर्दामा आफ्नो नायकले रगतको होली खेलेको देख्छ वा शक्तिको आडमा कसैको अस्मिता लुटेको दृश्यलाई वीरताका रूपमा व्याख्या गरिएको पाउँछ, तब उसको मानसपटलमा नैतिकताको जग नै भत्किन्छ । यस्ता दृश्य र संगीतले बाल मस्तिष्कलाई समयभन्दा अगाडि नै परिपक्व मात्र बनाउँदैनन्, बरु उनीहरूको मानवीय संवेदनालाई नै भुत्ते बनाइदिन्छन् । उसले सिक्छ- प्रेम भनेको शरीरको प्राप्ति हो र शक्ति भनेको अरूलाई सिध्याउनु हो । हामी बालबालिकालाई सज्जन बन्ने उपदेश त दिन्छौँ, तर उनीहरूको दिमागको पर्दामा भने तिनै अश्लील र हिंस्रक मानकहरूलाई आदर्श बनाएर सजाइदिन्छौँ ।
शिक्षा कि पैसाको व्यापार ?
जब बालक विद्यालय पुग्छ, त्यहाँ उसको स्वागत त्यो शिक्षकले गर्छ, जसको हातमा लट्ठी र मुखमा ‘नैतिकता‘ को उपदेश छ । यो कस्तो विरोधाभास ! जो शिक्षक विद्यार्थीको अलिकति फरक मत सुन्नासाथ ‘प्याट्ट पिट्छ‘ वा ‘गाली गरेर झम्टिन्छ‘, उसले दिने नैतिकताको प्रवचनले बाल मनोविज्ञान कसरी बदल्न सक्छ ?
त्यसैगरी, विद्यालयमा उसले नैतिकताको पाठभन्दा पहिले ‘पैसाको शक्ति‘ देख्छ । शिक्षा अहिले सेवा होइन, एउटा महँगो र नाफामूलक व्यापार बनेको छ । विद्यालयका चर्को शुल्क, भर्नाका नाममा लिइने ‘डोनेसन‘ र ‘टाइ-बेल्ट‘ को चमकधमकले बालकलाई सिकाउँछ – ज्ञानभन्दा ठूलो त आर्थिक स्तर रहेछ । एउटा सामान्य श्रमिकले आफ्नो बच्चालाई राम्रो विद्यालयमा पढाउन नसक्ने यो विभेदकारी शिक्षा प्रणालीले बालकलाई सानैदेखि ‘हुने-खाने‘ र ‘हुने-भुस‘ बीचको खाडल बुझाइदिन्छ ।
अभिभावकले रगत-पसिना एक गरेर तिरेको चर्को शुल्कको रसिदमा नैतिकताको कुन अक्षर छापिएको हुन्छ ? जहाँ विद्यालय सञ्चालकहरू शिक्षालाई ‘प्रडक्ट‘ र विद्यार्थीलाई ‘ग्राहक‘ ठान्छन्, त्यहाँ दिइने नैतिक शिक्षाले कुन चाहिँ चरित्र निर्माण गर्ला ? विद्यालयहरू अहिले अक्षर चिन्ने कारखाना त बनेका छन्, तर मान्छे चिन्ने पाठशाला बन्न सकेका छैनन् । शिक्षकले भन्छ- “प्रश्न गर”, तर बालकले प्रश्न गर्दा उसको अहङ्कारमा चोट पुग्छ र उसले बालकको जिज्ञासालाई दमनले कुल्चिन्छ । फरक मतलाई शत्रु देख्ने यो संस्कारले समाजमा ‘रोबोट‘ हरू त जन्माउँछ, तर सोच्न सक्ने नागरिक जन्माउँदैन । भयमा आधारित नैतिकता वास्तवमा नैतिकता नै होइन । त्यो त केवल एउटा मुखौटा हो, जुन मौका पाउनासाथ स्वतः फुत्किन्छ ।
डिजिटल धमिरा र भीडतन्त्र
आजका शिशुहरू आमाको लोरी वा हजुरआमाका दन्त्यकथा सुनेर होइन, मोबाइलको नीलो प्रकाशमा आँखा गाडेर निदाउँछन् । निर्दोष देखिने कार्टुनहरू वास्तवमा नैतिकता सिध्याउने ‘डिजिटल धमिरा‘ हुन् । कार्टुनको एउटा पात्रले अर्कोलाई हथौडाले हिर्काउँछ, अर्को पात्र च्याप्टो हुन्छ र फेरि जुरुक्क उठेर बदला लिन कुद्छ । बच्चाले के सिक्छ ? उसले सिक्छ कि हिंसा मनोरञ्जन लिने तरिका हो र बदला लिनु नै वीरता हो । पब्जी र फ्री-फायर जस्ता गेमहरूले उसको कलिलो चेतनामा जितको एउटै अर्थ बुझाउँछन्- हत्या । जहाँ साथीलाई ‘मार‘ भन्दा पोइन्ट पाइन्छ, त्यहाँ हुर्किएको बालकले भोलि समाजमा सहिष्णुता र करुणाको पाठ कसरी बुझ्ला ?
त्यस्तै, सामाजिक सञ्जालमा देखिने ‘डिजिटल लिन्चिङ‘ अर्को डरलाग्दो यथार्थ हो । कसैको एउटा सानो गल्ती वा फरक मतमाथि हजारौँको भर्चुअल भीड यसरी जाइलाग्छ कि मानौँ त्यो व्यक्तिको बाँच्ने अधिकार नै छैन । जब बच्चाले आफ्नै घरका ठूलाबडालाई फेसबुक र टिकटकमा अरूको उछित्तो काढेको र चरित्र हत्या गरेको देख्छ, तब उसले बुझ्छ कि भीडमा मिसिएर कसैलाई सिध्याउनु नै वीरता र ‘भाइरल‘ हुनु नै नैतिकताको नयाँ मानक हो । यहाँ मर्यादाको अन्त्येष्टि भइसकेको छ र घृणाको व्यापार फस्टाएको छ ।
समाजको नग्न अनुहार
समाजमा निस्किएपछि बालकले अर्को डरलाग्दो यथार्थ देख्छ- जातको भूगोल र पाखण्डको राजनीति । पुस्तक भन्छ- “सबै मानिस बराबर हुन्”, तर आश्चर्य, छेवैमा उसले देख्छ कि उसको बाबुले कसैको थर सोधेपछि मात्र उसको घरको पानी पिउने कि नपिउने निर्णय गर्छ । मन्दिरभित्र भगवानको पूजा हुन्छ, तर त्यही मन्दिरको गेटमा एउटा गरीब बच्चाले रोटी माग्दा उसलाई झम्टेर लखेटिन्छ ।
हामीले धर्मलाई ‘आचरण‘ बाट हटाएर ‘प्रदर्शन‘ मा झारेका छौँ । निधारमा लामो तीलक लगाउने तर मुटुमा घृणा बोक्ने यो धार्मिक पाखण्डले बालबालिकालाई झन् बढी भ्रमित बनाउँछ । उनीहरूले देख्छन् कि- जतिसुकै अपराध गरे पनि मन्दिरमा ढोग दिएपछि वा दान गरेपछि तुरुन्तै नैतिकवान् भइँदो रहेछ । एउटा मान्छेको सम्मान उसको चरित्रले होइन, उसको बैंक ब्यालेन्स र उसको पुर्खाको जातले तय हुन्छ । यसरी समाजले बालकलाई सिकाउँछ – “नैतिक बन्नु भनेको कमजोरी हो, चलाख बन्नु र अरूलाई कुल्चेर अगाडि बढ्नु नै सफलता हो ।”
सत्ताको सुन र रित्तो बाकस
सबैभन्दा उल्टो र बीभत्स दृश्य त राज्यको नेतृत्वमा देखिन्छ । देशको मन्त्रीले जब किलोका किलो सुनको विवरण बुझाउँछ र भ्रष्टाचारका फाइलहरूमा राजनीतिक जलप लगाइन्छ, ठीक त्यही बेला एयरपोर्टमा एउटा ‘रित्तो बाकस’ ओर्लिन्छ । त्यो बाकसमा ५० डिग्रीको मरुभूमिमा आफ्नो आयु पगालेर देशको रेमिट्यान्स धानेको कुनै युवकको लास तेर्सिएको हुन्छ ।
जब राज्यले ‘पसिना‘ को लगत कहिल्यै राख्दैन तर भ्रष्टाचार र सम्पत्तिको पारदर्शिताको नाटक मञ्चन गर्छ, तब नैतिकताको परिभाषा त्यहीँनेर मर्छ । नेतृत्वले जब झुटलाई सत्यको आवरण लगाउँछ र संसद्मा घृणाको खेती गर्छ, तब बालकले नैतिकतालाई एक कमजोरी र भ्रष्ट हुनुलाई जीवनको अवसर ठान्न थाल्छ । खाडीबाट बाकसमा फर्कने शवहरू र शहरका आलिसान बंगलाहरूबीचको यो दूरी नै हाम्रो देशको सबैभन्दा ठूलो अनैतिकता हो । आज प्रशासनमा ‘बर्दीभित्रको अहङ्कार‘ र ‘फाइलभित्रको घुस‘ देख्ने युवाले भोलि कुन नैतिक मूल्यको आधारमा देश निर्माण गर्ला ?
निष्कर्ष: मुहानकै लेदो सफा गरौँ
नैतिकता राराको पानी जस्तो स्थिर कुरा होइन, यो त बगिरहने नदी जस्तो हो । यदि माथि मुहानमै लेदो जमेको छ भने, तल्लो तटीय क्षेत्रमा सफा पानीको अपेक्षा गर्नु आफैँमा एउटा उल्टो कुरो हो । बालकको झोलामा नैतिकताको पुस्तक कोच्नुअघि यो देशका शासक, प्रशासक, शिक्षक र अभिभावकहरूले नैतिकताको पहिलो अक्षर आफैँ पढ्न र व्यवहारमा उतार्न आवश्यक छ ।
अहिलेको पुस्ता ‘अक्षर चिन्न सक्ने रोबोट‘ बन्दैछ, जसमा सूचना त छ तर संवेदना छैन । हामीले आफ्नो आचरण बदल्नेबित्तिकै बालबालिकालाई पढाउनै पर्दैन, उनीहरूले व्यवहारबाटै सिक्नेछन् । जबसम्म यो भूगोल रित्तो पार्ने ‘श्रम‘ को लगत बुझिँदैन, तबसम्म ‘सुन‘ को लगत बुझाउने मन्त्रीको नैतिकताले कुनै बालकको भविष्य सुधार्दैन । अब स्पष्ट हुनुपर्छ- नैतिकता कुनै पाठ्यक्रममा छापिने अक्षर होइन, यो त रगतमा बग्ने इमान हो । जबसम्म हामी बालकलाई ‘सत्य बोल्नु‘ भन्दै साहुलाई ‘बुबा घरमा हुनुहुन्न‘ भन्न लगाउँछौँ, तबसम्म हाम्रो शिक्षाले चरित्र होइन, केवल एउटा कुशल अपराधी र ‘छली‘ नागरिक तयार पारिरहनेछ ।
हामीले नैतिकताको उल्टो यात्रा रोकेनौँ भने भोलि यो समाजमा मान्छे त हुनेछन्, तर मानवता हुनेछैन; कानून त हुनेछ, तर न्याय हुनेछैन; र मन्दिर त हुनेछन्, तर ईश्वर हुनेछैन । यदि हामी आफैँ ऐनाअगाडि उभिएर आफ्नो अनुहारको लेदो पुछ्न तयार छैनौँ भने, निर्दोष बालबालिकाको झोलामा ‘नैतिक शिक्षा‘ को पुस्तक कोच्नु भनेको एउटा मृत लासलाई अत्तर छर्किनु जस्तै व्यर्थ हो । अब उपदेशको खेती बन्द गरौँ र आचरणको विजारोपण गरौँ । अन्यथा, इतिहासले हामीलाई एउटा यस्तो पुस्ताका रूपमा सम्झिनेछ, जसले सन्तानलाई ‘सुसंस्कार‘ त होइन, केवल ‘सुन्दर ढोँग‘ मात्र विरासतमा छोडेर गयो ।

