साहित्यपोस्ट डट कम

नइबाट विजय मल्ल शताब्दी महोत्सवको समापन, दुई कृति लोकार्पण

नइबाट विजय मल्ल शताब्दी महोत्सवको समापन, दुई कृति लोकार्पण

काठमाडौं । नइ एकेडेमीद्वारा आयोजित नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव समापन गरिएको छ । समापन अवसरमा वानीरा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा दुई महत्वपूर्ण कृतिको लोकार्पणसमेत गरिएको छ ।

समालोचक वासुदेव त्रिपाठीले डा. साधना पन्त ‘प्रतीक्षा’द्वारा लिखित ‘नारीवादी नाटककार विजय मल्ल’ तथा नरेन्द्रराज प्रसाईद्वारा रचित ‘विजय मल्ल’ नामक जीवनी कृतिको लोकार्पण गर्नुभएको हो । दुवै कृति नइ एकेडेमीबाट प्रकाशित भएका हुन् । कृतिमाथि प्रा. केशव सुवेदीले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे ।

महोत्सवअन्तर्गत विजय मल्लका सिर्जनात्मक योगदानको सम्मानस्वरूप नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार तथा नाट्य–चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार–२०८२’बाट विभूषित गरिएको थियो । साथै मल्लको व्यक्तित्व र कृतित्वमाथि विभिन्न चरणमा चर्चा–परिचर्चा समेत गरिएको आयोजकले जनाएको छ ।

वि.सं. १९८२ मा जन्मिनुभएकाे मल्लको २०५६ सालमा निधन भएको थियो । नेपाली नाटक र आख्यान साहित्यमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख वक्ता त्रिपाठीले मल्लको साहित्यिक योगदानबारे विस्तृत प्रवचन दिनुभएकाे थियाे । साथै ग्रन्थकार पन्त ‘प्रतीक्षा’ र प्रसाईले पनि मल्लको कृतित्व र प्रभावबारे आफ्ना धारणा राख्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.