बिउँझँदाखेरि असाध्य कपाल दुखिरहेको हुन्छ । स्वास्नीले बगलमा राखिदिएको चियाको मग मगैसमेत हुत्त झ्यालबाट फ्याँकिदिऊँ कि जस्तो लाग्छ । जुरुक्क उठेर धारामा जान्छ । टुटीमै मुख लाएर घटघट दुई मानाजति पानी खान्छ । बल्ल भित्रदेखिको वाकवाकी कम हुन्छ । ऊ फेरि पल्टिन्छ बिछ्यौनामा ।
अबेर उठेर ऊ आफ्नो नित्यकर्मतिर लाग्न मात्र आँटेको हुन्छ कि टुप्लुक्क पल्लो घरको खड्का काजी आइपुग्छ । यो काजी गुप्तचर विभागमा काम गर्छ । उसलाई कुनै खास काम गर्नु पर्दैन; यसै पुग्छ, जहान पाल्न पुग्छ, पुगेकै छ ।
काजी गएर सुरु गर्छ, 'हँ त के खबर छ ?'
'मलाई अड्डा जान हतार छ ।' भन्नुपर्ने यही हो, भन्न चाहेको पनि यही हो तर भन्न सकेको यो होइन । यो हो, 'खोइ, मलाई के थाहा...!'
'तैपनि यसो... अलिअलि त थाहा हुन्छ नि...'
'....' एउटा ओठलेप्प्राइ मात्र ।
'निकै दिन भो भेट नभा'को, तिमीलाई पनि मलाई भेट्न सारै मन लाग्या होला भनेर आएको...' अनि ऊ आसन जमाएर बस्छ ।
उसलाई चर्पी जान आतुरी परिसक्छ । तर भन्न सक्तैन । अड्डा जान हतार परिसक्छ, तर भन्न सक्तैन । मात्र मुरमुरिन्छ, छटपटिन्छ ।
'हैन, अड्डा जानु पर्दैन कि क्या हो आज ?' भित्रबाट श्रीमती च्याँठिन्छे । ऊ उठ्ने उपक्रम गर्न थाल्छ ।
'पख न एकछिन, के हतार भयो ? भर्खर पनि नौ त भयो नि ।' भन्दै काजी आफ्नो घडी हेरेर श्यामलाई हातै समातेर बसाल्छ ।
हतारहतारमा सब नित्यकर्म सिद्धयाएर अड्डा पुग्दा साढे दस बजिसकेको हुन्छ। भऱ्याङमै हाकिमसँग जम्काभेट हुन्छ। ऊ पनि भर्खर आउँदै गरेको। नमस्ते खानेबित्तिकै हाकिम अकड्डिएर सोध्छ, 'अड्डा आउने ट्याम यही हो ?' ऊ रातो मुख लाएर ङिच्च गर्छ, हाँस्ने कोसिस गर्छ।
'मलाई यस्तो बिलकुल मन पर्दैन।' हाकिम थप्छ गम्भीर भएर।
उसको हाँसो अब विकृतिमा परिणत हुन्छ। ओठ च्यातिएका च्यातिएकै हुन्छन्, मुख बाङ्गिएको बाङ्गिएकै हुन्छ तर अनुहारमा हाँसो छैन। रोदन हुन्छ। अनुहार रातोबाट कालो हुन्छ। तैपनि ङिच्च भने गरि नै रहन्छ।
उसले यो सोच्न पनि सक्तैन कि उसलाई अबेर आएकोमा गाली गर्ने हाकिम आफू स्वयम् पनि ऊजत्तिकै अबेर आइरहेछ र नित्यजसो अबेर नै आउँछ। अझ, अबेर आउँछ र जुन बेला मन लाग्यो, त्यही बेला जान्छ। तर अबेर आएबापत गाली खानेचाहिँ ऊ र ऊ जस्ता साना कर्मचारीहरू मात्र हुन्छन् ।
झोक्राएर आफ्नो थोत्रो मेचमा थच्चिरहेको हुन्छ। उसमा काम गर्ने जाँगर मरेर आउँछ। यत्तिकैमा एउटा पियन आएर भन्छ, 'फलानो सापले बोलाउनुभा' छ ।'
सापहरू धेरै छन्। उसको अड्डामा मात्र हैन, देशका समस्त अड्डाहरूमा। कामका निमित्त मान्छे भर्ना गरिंदैनन् यहाँ, यहाँ त मान्छेका लागि दरबन्दी सिर्जना हुन्छ। हो, मान्छेका लागि स्थानको सिर्जना हुन्छ। तर सोर्सवाला मान्छेका लागि भने अड्डै पनि सिर्जना हुन्छ। यसका प्रत्यक्ष उदाहरणहरू छन्, अनेकानेक केन्द्रहरू, आयोजना केन्द्र, परियोजना केन्द्र, प्रशासन केन्द्र, दुःशासन केन्द्र आदिआदि ।
तीन भऱ्याङ उक्लेर ऊ फलाना सापको कार्यालयमा पुग्छ। सापको मेचमा त सापको कोट मात्रै हुन्छ। अलिबार पर्खिन्छ। तर कतिबेर पर्खनु, आधा घन्टापछि पर्खेर ऊ आफ्नो ठाउँमा फर्किन्छ। फर्केर आफ्नो मेचमा बस्न पाएको हुन्न, अर्को साप चर्किन्छ, 'कहाँ बेपत्ता भइराख्या ? यत्तिका बेरसम्म...।' 'फलानो सापले बोलाउनुभा'थ्यो ।'
'म सुन्न चाहन्नँ, यस्ता नचाहिने बहाना... आफ्नो सिट नछाड्नु... आज मेरो काम छ, अलिअलि चाँडै जान्छु।' भनेर ऊ हिँड्छ।
उसको कामै मात्र परिरहन्छ। अबेर आउँछ, चाँडै जान्छ र आफूमुनिका कर्मचारीलाई अर्ती दिन्छ, सिट नछाड्नु भनेर ।
यसरी उसको अड्डा सुरु हुन्छ र यसै गरी समाप्त हुन्छ । छुट्टी भएपछि ऊ पत्तै नपाईकन एउटा भट्टीमा पुगिसकेको हुन्छ, कहिले कुनै साथीसँग, कहिले एक्लै ।
उसको विचारमा उसले पाउनुपर्ने घुम्ने मेच । तर उसको भाग्यमा रहेछ केवल झुम्ने मेच । जतिजति उसको मेच झुम्न थाल्छ, उसको यो विचार पनि उतिउति प्रबल हुँदै जान्छ । तर के लाग्छ ! उसको कतै कुनै सूत्र-सोर्स थिएन । हूलमूलमा वा कुनै भूलमा परेर उसले एउटा अस्थायी जागिर पाएको थियो धेरै वर्षअघि र त्यो जागिर जोगाउन उसलाई के मात्र गर्नु परेन ? बिनासोर्सको जागिर त बिना पीँधको लोटा जस्तै, कहिल्यै स्थिर भएर अड्न नपाउने । सधैँको ढलपल, सधैँको त्राहित्राहि । जागिर खाएको दस वर्ष पुग्न लागिसक्ता पनि उसले कुनै दिन ढुक्कसँग अड्डाभित्र खुट्टा हाल्न सकेको होइन । एउटालाई झाँक चल्यो भने जाने जागिर, यस्तो जागिर के जागिर ! तर यही जागिरमा अल्झेर नै उसले बितेका विकट दस वर्षभरि आफ्नो तथा आफ्नो परिवारको मुखमा माड लगायो । हो, माड मात्र लाग्यो । भात खान त यस्तो जागिरले कहाँ दिन्छ र ? मुखमा माड मात्रै पनि चिन्ता नगरी लगाउन पाए पुग्ने थियो ।
घरमा कुकुर पालेको जस्तो गरी जहानैका जीउमा रोग पालिएका छन् । उसको शरीरमा, पेटमा सदासर्वदा अनन्त भोक पालिएको छ । उसको हाकिमका आँखामा सधैँ अकारण नै झौंक । जीवनको यसै अपरिहार्य त्रिशूल अथवा तीन चम्काका बीचमा कसौंडी जस्तो बसाइएपछि भट्टीको आगोमा उसको कोखो छङ्कन थाल्छ, 'एउटा गतिलो भुइँचालो आए पनि हुने... ।' तर भुइँचालो आउँदैन, आउँदैआउँदैन । ल्याउने कसले ? आजको मर्द बिचरालाई आफ्नो लिङ्गको भारी बोक्नसमेत अर्काको (विदेशीको ?) सहायता चाहिन्छ । आजको मात्रै किन हिजोका पनि यस्तै थिए । इतिहासको वीरता या वीरताको इतिहास ? त्यो सब गलत हो, उपहास । आजको वर्तमानले आँखाभरिभरिको प्रमाण दिइसकेको छ कि हिजोको इतिहास पनि आजैको जस्तो गरी लेखिएको वा लेखाइएको थियो । पत्यार नलागे रेडियो नेपाल सुने हुन्छ । त्यसले बोल्नुपर्ने कुरा कहिल्यै बोलेन । अस्ति बारामा हिन्दु (स्थानी?) हरूले मुसलमान मारेको काण्डै थाहा पाएन,
हिजोको झापाको सामन्तशाही उन्मूलन काण्डै थाहा पाएन, तर...तर कुन्नि, केको जबरजस्ती (अ) शुभ पर्वमा प्रसूतिगृहमा दूध (बिगौती ?) बाँड्ने र कुन्नि कता चकलेट बाँड्ने तमासालाई मुख्य समाचार बनाएर सत्रौँ पटक यस्तरी चिच्च्याईचिच्च्याई फलाकिरहेको हुन्छ, मानौँ उद्घोषक महोदय देशका सम्पूर्ण गरिबका घरमा दालभातको वर्षा भएको कुराको घोषणा गरिरहेछ ।
'तोङ्बा र सुकुटी ।'
न घुम्ने मेच, न झुम्ने मेच । केवल हल्लिने बेन्चमाथि बस्तै ऊ आज्ञा दिन्छ मुसुक्क हाँसेर स्वागत गरिरहेको तिब्बती साहूजीलाई । गुरुङ ङिच्च हाँस्तै आँखा तर्छ । सिन्काले चिरेका जस्ता घुम ओढेका आँखा । उसको आँखातराइ अहिले उत्तिको प्रभावकारी हुँदैन, आँखा राताराता भएका छैनन् नि । आज गुरुङको पैसा तिर्ने पालो, यसैले ऊ आँखा मात्र तर्छ । फर्माउनेचाहिँ शर्मा (शर्मा, वर्मा, कर्मा वा गोपर्मा, ऊ जे पनि हुन सक्छ तर यहाँ सजिलाको निमित्त उसलाई शर्माकै बिल्ला टाँसिदिऊँ) नै हुन्छ । यी दुईबाहेक यहाँ अरू पनि १२/१५ जना मूर्खहरू छन्, दुईचार जना हिप्पीहिप्पिनीहरू पनि । हिप्पीहिप्पिनीहरू नेपालीमा कुरा गर्छन्, नेपालीहरूचाहिँ अङ्ग्रेजीमा । तर यिनीहरूको अङ्ग्रेजी यस्तो हुन्छ कि अङ्ग्रेजको बाबु आए पनि केही बुभन सक्तैन । हिप्पीहरू हङकङको पुरुष वेश्यालयका बारेमा कुरा गरिरहेका छन् । नेपालीहरू, जसमा उत्तरको दुर्गम क्षेत्रदेखि लिएर दक्षिणको मित्रराष्ट्रको सीमा एवम् प्रवाससम्मको प्रतिनिधित्व छ, अर्थोकैको कुरा ठानेर सही थापिरहेका छन् । सायद आफ्नै छरछिमेकको चर्चा ठानेर स्वाद लिइरहेछन् ।
'ममचा एक प्लेट ।' एउटा ग्राहकको आज्ञा ।
'यहाँ ममचा पाउँदैन, मोमो भन मोमो, ममचा खान न्यारको पसलमा जाऊ न, किन यहाँ आउनु ?' भट्टी मालिक झर्किन्छ । उसलाई पैसाको मात लागिसकेको छ । उसलाई यहाँ बसेर कसैले पनि गफ गरेको मन पर्दैन । ऊ चाहन्छ; उसको ग्राहक आओस्, घटघट... घटघट एकदुई पानी तोङ्बा तानोस् या १५/२० गिलास छ्याङ धोकोस् अनि क्वाप्ल्याप राँगाको परिकार, मोमो, थुक्पा या सुकुटी निलोस्, गइहालोस्, बस । गफमा ऊ केवल दुई कुरा मात्र सुन्न सक्छ । एक त उसको स्वास्थ्यको प्रशंसा । उसलाई 'तपाईंको स्वास्थ्य क्या गजबको छ, तपाईं भर्खर ३०-३५ को देखिनुहुन्छ' भनिदिएपछि ऊ मक्ख । उसको उमेर लगभग ५० वर्षको छ । दङ्ग परेर आफ्नो राम्रो स्वास्थ्यको श्रेय तोङ्बालाई दिन्छ । अनि अर्को गफ, भकुन्डोको गफ । ऊ स्वयम्लाई आफ्नो समयको उत्तम खेलाडी बताउँछ । उसको गफमा होका हो लगाइदिनुपर्छ । यति गरेपछि मात्र उसको कोपभाजन हुनबाट बचिन्छ ।
'ए, अब त कानबाट चुहिन आँट्यो ।' दोस्रो तोङ्ङ्काको तेस्रो पानी तान्दै गुरुङ कुहिनाले हान्छ शर्मालाई ।
'नकरा, मेरो पालिमा, तैंले अस्ति तीन तोङ्बामाथि २३ गिलास छ्याङ उडाएको बिर्सिस् ?'
'ए, थाहा पायो, पुरु थापाले फेरि बिहा गरेछ ।'
'जम्मा कति बिहा भयो त ?'
'त्यो त कुन्नि, दोस्रो विवाह गर्न नपाउने कानुन पास भएपछिचाहिँ यो तेस्रो हो ।'
'...' उत्तरमा केवल अडेस लाग्छ, अडेस लागेर आँखा चिम्लिन्छ ।
'के विचार गर्न लाग्यो ?'
'हँ...!'
'के विचार गर्न लाग्यो भन्या ?'
'यही कि यो जाँड खाने पैसाले छोरालाई दूध ख्वाउन सके कस्तो हुन्थ्यो होला ?'
'साला, फेरि कवि बन्न लाग्यो !'
चुरोटको धुवाँले आँखा खोलिरहन असिजलो हुन लागिसक्ता पनि झ्यालका पर्दा खोल्न चाहँदैन भट्टी मालिक । किनभने झ्यालबाहिर पर्छन् तीनचारवटा चर्पीहरू वीर अस्पतालका । झ्याल खोल्नेबित्तिकै दुर्गन्धको मुस्लो आउँछ त्यहाँ ।
एक हुल कलिला केटाहरू आउँछन्, ठाउँ नपाएर उभिइरहन्छन् मटानमा । उनीहरूलाई फर्केर जान पटक्कै मन लाग्दैन, तपाईंलाई सिनेमा हलमा गइसकेपछि टिकट नपाउँदा पनि फर्कन मन नलागेजस्तै ।
अगाडि एउटा हबलदारले सिङ्गै टेबुल ओगटेको छ । तीन जनाको ठाउँ । तोङ्बा, छ्याङ र खुकुरी रम-तीनै चीज छन् उसका अगाडि । ऊ सधैँ आउँदैन । एक दिन, दुई दिन बिराएर मात्रै आउँछ । विशेष अतिथि हो, उसलाई पैसा लाग्दैन यहाँ । किनकि यो अवैध भट्टी हो र अवैध भट्टीमा वैध हबलदारले कसरी पैसा तिर्नु ? एकदुई दिन ऊ यसकारण बिराउँछ कि यस्ता अरू पनि एकदुई ठाउँमा उसले भ्याउनुपर्छ । पालो लगाएको होला ।
हबलदारले छेउमा ठाउँ दिन्छ कि भन्ने आसले ठिटाहरू उभिएका, तर हबलदार आँखा मात्र तर्छ, चिम्सा आँखा । अनि आफ्नै गफमा मस्त हुन्छ-टिङ्गवामा मात्तिएको गफमा, 'यहाँ टन्न तोङ्बा खाएर टिङ्गवामा पसेको थिएँ । त्यस दिनको तोङ्बा पनि कडा परेछ... निक्कै छिप्पेको, त्यहाँ पुगेर तीन प्याग दिन नपिउँदै म त आउट भइहालेछु... कत्तिखेर, कत्तिखेर बोकेर लगेर सडकमा फ्याँकिदिँदो रहेछ, फेरि आउँदो रहेछु, फेरि फ्याँकिदिँदो रहेछ... फेरि आउँदो रहेछु ।'
'हैन, केही नगरीकन पनि सडकमा फ्याँकिदिँदो रहेछ ?'
'कहाँ हुन्थ्यो ! क्रिस्टिनालाई समात्न पुग्दो रहेछु ।'
'ए...!'
'योचाहिँ घाउ त... ।' ऊ एउटा घाउ औंल्याउँछ, 'पछि घर पुग्ने बेलामा लोटेको तर योचाहिँ...' पुर्पुरोको अर्को घाउ औंल्याउँछ, 'कुन बेला भएछ, भएछ, पत्तै पाइनँ ।'
अनि यस्तैमा एउटा सुइँखुट्टे केटाले आफ्नो टेबुलभरि छरछिमेकमा समेत छिटयछिटी पुग्ने गरी अचानक छादिदिन्छ । उग्रगन्धी छाद... ह्वालह्वालती... ।
अँ, सोल्टीमा थापाजीले छादेजस्तै ।
या, आदर्शमा जोशीजीले छादेजस्तै ।
या, दूतावासका पार्टीमा सम्पादकजीले छादेजस्तै ।
या, भन्नै नहुने ठाउँमा भन्नै नहुने मान्छेले छादेजस्तै ।
अब उसका पाइतालामुनिको सडक घुम्न थाल्छ । ऊ डराईडराई घरभित्र पस्छ । तर किन र कोसँग डराएको हो, उसलाई पनि थाहा छैन । घरमा उले मान्नुपर्ने कोही छैनन् । केवल एउटी स्वास्नी र अलिकति छोराछोरी । स्वास्नी या त भुँडी बोकेकी या त सुत्केरी, अनि छोराछोरी चौथाइ दर्जन मात्र । अलिकति यस तुलनामा कि ऊ सात दाजुभाइ र आठ दिदीबहिनीका हूलमा हुर्केको । हुक्यों कसरी, यसको उसलाई राम्रो हेक्का छैन । सिवाय बिर्सनै नसकिने एकदुई घटना । जसरी भए पनि ऊ हुक्यों-पाडा, बाच्छा वा कुकुरका छाउरा हुर्केजस्तै गरी । त्यसैले होला, उसमा अझै बेलाबेलामा गाईभैंसीको जस्तो पशुता र कुकुरको
जस्तो एक गाँस दिनेको पछिपछि पुच्छर हल्लाउँदै हिँड्ने बेहोर प्रस्टै देखिन्छ ।
तोङ्बाले भुँडी टन्न टन्किएको छ फुट्ला जस्तो । रौंका प्वालबाट पनि तोङ्बाको पचका छुट्ला जस्तो लाग्छ उसलाई । जुत्ताको फित्ता फुकाउन पनि उसलाई गाहारो पर्छ । निहुरिँदा हुलुक्क मुखबाट पोखिन्छ कि जस्तो ।
उसको मुटु ढुकढुक गरिरहेको आवाज उसले प्रस्ट सुन्छ । मुटु त अगि नै देखि ढुकढुक गरिरहेको थियो । तर यतातिर उसको ध्यान भने भर्खरै भएको छ । जाँडरक्सी खाएपछि कुन्नि उसलाई मात्रै हो कि अरूलाई पनि यस्तो हुन्छ, मुटुको ढुकढुकी औधी चर्को हुन्छ ।
ऊ कोठाभित्र पस्छ । स्वास्नी चटपटाउँछे मात्र, उठ्तिन । ऊ सोच्छ, भात हिउँ जस्तो भइसकेको होला । स्वास्नी फेरि चटपटाउँछे, झर्केजस्तो गरी, मानौँ झर्किंदै भन्न चाहन्छे, 'आफैँ तताएर खाए पनि हुन्छ...' या 'तातो खान खोज्नेले आउनुपर्छ बेलाँ घर ।'
ऊ एकछिन ट्वाँ पर्छ । तखतामा कित्रीकित्री गरिरहेको थोत्रो चाइनिज घडीतिर उसका आँखा पुग्छन् । बाह्र बज्न केही मिनेट बाँकी छन् । केही मिनेट, दसबीस मिनेटको लेखाजोखा यो घडीबाट हुँदैन । यो सधैँ दसबीस मिनेट या त छिटो या ढिलो हुन्छ, आज चाँडो भए भोलि ढिलो, भोलि ढिलो भए पर्सि चाँडो ।
ऊ फतफत लगाएका लुगा फुकालेर बाकसमाथि फाल्न थाल्छ । फेरि भोलि चाहिँदैन कि जस्तो गरेर । उसमा डरका साथसाथै अब अलिकति रिसको मात्रा पनि बढिरहेछ तर त्यो रिस पनि उसको डर जस्तै छ अर्थात् थाहा छैन कि यो रिस किन उठेको वा कोसँग उठेको छ ।
अब उसको खाट झुम्न थाल्छ ।
ऊ फेरि एकपल्ट आफैँसँग डराउँछ । ऊ फेरि एकपल्ट आफैँसँग रिसाउँछ । एकपल्ट फेरि भात सम्झन्छ । अनि भुसुक्क निदाउँछ ।
(रोशन थापा 'नीरव'द्वारा सम्पादित 'नगेन्द्रराज शर्मा - समग्र आख्यान'बाट)


