काठमाडौं । यस वर्षको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने ‘रजस्थल’ त्रैमासिकलाई अर्पण गर्ने निर्णय गरिएको छ।
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा २०८२ फागुन १६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
विश्वप्रेम अधिकारीको प्रधान सम्पादकत्वमा २९ वर्षअघिदेखि निरन्तर प्रकाशित हुँदै आएको ‘रजस्थल’ त्रैमासिक हालसम्म १०२ अङ्क प्रकाशित भइसकेको छ।
यसअघि सो पुरस्कार ‘रचना’का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त, ‘जूही’का सम्पादक चूडामणि रेग्मी र ‘नवप्रज्ञापन’का सम्पादक नवराज रिजाललाई प्रदान गरिसकिएको छ।
‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘रजस्थल’का प्रधान सम्पादक विश्वप्रेम अधिकारीलाई आगामी चैत्र २२ गते आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने जनाइएको छ।

