मनका भावनाहरू उन्मुक्त भएर अभिव्यक्त गर्ने माध्यम हो काव्य । यसै काव्य विधा अन्तर्गत छोटो आयतनमा मुक्तक लेख्ने गरिन्छ । अहिलेको समयमा मुक्तकलाई सशक्त एवम् स्वतन्त्र विधा मानिएको छ । हिजो जे जसरी लेखिएको भएपनि आज मुक्तक सूत्रमा लेखिन थालिएको छ । अहिले चतुष्पदी आफैंमा स्वतन्त्र रूपमा अर्थ्याउन सक्ने सामर्थ्य भएको पद्यमा लेखिन्छ मुक्तक । चतुष्पदी मुक्तक जहाँ पहिलो, दोस्रो र अन्तिम अनुप्रास एकआपसमा मिल्ने हुन्छ । तेस्रो हरफ स्वतन्त्र र उन्मुक्त हुन्छ । अन्तिम हरफले क्लाइमेक्समा पुर्याउँछ अर्थात् जे कुरा भन्न खोजेको हो त्यसमा झटारो हान्छ ।
भिम दर्शन रोक्काले मुक्तकमा रुवाई शैली ल्याएको मानिन्छ । त्यसपछि थुप्रै मुक्तककारहरूले यही शैलीलाई निरन्तरता दिए । अहिले नेपालमा वर्तमान समयमा लोकप्रिय बनेको छ मुक्तक । नेपाली साहित्यमा मुक्तकहरू थुप्रै सिर्जना गरिएका छन् । सयौं मुक्तककार उदाएका छन् । अहिले मुक्तकको खेती मज्जैले फस्टाएको छ । यसै क्रममा धर्मराज पौडेल ‘अल्पायू’ आएका छन् । यस अघि उनका दुई कविता र मिश्रित काव्यका कृति प्रकाशित भैसकेका छन् । यहाँ आफ्ना चोटिला मुक्तकहरू ‘न घाम न जून’ मार्फत पस्केका छन् । कृतिको शीर्षक नै बिम्बात्मक लाग्छ । यसभित्र दुई सय विषयगत मुक्तक समावेश भएका छन् ।
सिर्जनशील कविले आफ्ना भोगाइ ,अनुभव र अनुभूतिलाई समेत आफ्ना मुक्तक मार्फत उजागर गरेका छन् । वर्तमान समयको सजीव तस्वीर देखिन्छ मुक्तकमा । समयका नकारात्मक छालहरूमा बग्दै गरेका सकारात्मक कुराप्रति चिन्तनभावको प्रकटीकरण पाइन्छ मुक्तकमा । अल्पायू गलत कुराहरूको अन्त्य छिटै हुने कुरामा भने ढुक्क देखिन्छन् । उनको आत्मविश्वास बलियो छ । अनादर्शप्रति कडा कटाक्ष गर्न पनि उनी पछि पर्दैनन् । नकारात्मक गतिविधि र क्रियाकलापले समाज छोपिइसकेको देखेर हुँडलिरहन्छ कविको मन । अनि व्यक्तिन्छ मुक्तक बनेर । कुनै पनि विषयको उठान र त्यसको समर्थन गर्ने तरिका सुन्दर छ । झड्का दिने अनुप्रासयुक्त तरिका पनि बडो शक्तिशाली देखिन्छ । प्रेमिल लाग्छन् । आफ्ना अनुभूति पोख्छन् – प्रेमका ।
उसै त पोखरा मुक्तकको खानी मानिन्छ । मुक्तकको एउटा सुन्दर फुलबारी ठानिन्छ । त्यस्तो माहोल भएको जिल्लामा जन्मेका धर्मराजको लेखनशैली प्रभावशाली नहुने कुरै भएन । यस्तो चिटिक्क परेको विधामा उनको उपस्थिति जमेकै देखिन्छ । राजनीतिक विकृति होस् या पर्यावरणको ह्रास, पारिवारिक सम्बन्धमा आउने उतार चढाव हुन् या देशप्रेम, सबै सबैमा राम्रा मुक्तक छन् । उनी भुइँमान्छेका दुःखका मुक्तक उतिक्कै लेख्छन् ।
सर्वसाधारणका जीवन र शासकहरूको व्यवहारप्रति चिन्तित छन् उनी । देशमा बेकारीको संख्या बढेको छ, भ्रष्टाचारका कारण आक्रान्त छ देश, जनताका समस्याप्रति सत्तासिनहरू उदासिन छन्–मानौं केही भएकै छैन । यस्ता कुराले उनको मन भतभती पोल्छ । एउटा पृथ्वीनारायणजस्तै बहादुर शासकको आवश्यकता महसुस गर्छन् । उनलाई राष्ट्र र राष्ट्रियता प्यारो विषय लाग्छ । कतै डुब्ला कि देश ! उनको यसतर्फ चिन्ताभाव प्रकट भएको छ । सीमामा छिमेकीको अतिक्रमण दिन दुईगुना, रात चौगुना भएको देखेर मन थाम्न सक्दैनन् । सीमाका पिलरहरू सरिरहेकोतर्फ उनको ध्यानकर्षण छ सरोकारवाला सबैमा । यसमा राज्यसँग उनको प्रश्न छ, जो कुर्सीमा विराजमान छ, मुलुकको नेतृत्वमा छ, चुप बसेकोमा उसप्रति औँला ठड्याउँछन् । सचेत हुन सन्देश प्रवाह गर्छन् मुक्तक मार्फत:
दिनहुँ पिल्लर लुटिँदा मौन बस्ने कस्तो सरकार हो
यस्तो कामको शुरुवात गर्ने नेता नै बरबाद हो
कुकुरलाई घीउ पच्दैन भनेको पनि यही होला
राष्ट्रलाई माया गरी राज्यका लागि बोल्नु खबरदार हो । (मुक्तक–१६२)
मुक्तककार श्रममा विश्वास गर्छन् । श्रमजिवीको पक्षधर उनी । जस्तो सोच्छन्, त्यस्तै गर्छन् । अर्थपूर्ण जीवनमा श्रमको अधिक महत्त्व दर्साउँछन् । मानव जीवनको महत्त्वको अर्थ बुझेका अल्पायूमा जहिल्यै सकारात्मक सोचको भाव प्रवाहित भएर मुक्तक फुर्छन् । उनको अभिलाषा छ –सबैले सुख पाऊन् । खियाएर पैताला पसिना बगाउनेहरूलाई श्रद्धा गर्छन् – तिनकै भोगाइलाई मिसाएर मुक्तक लेख्छन् ।
कवि मन न हो, कहिलेकाहिँ निराशाको बादलले घेर्छ मज्जैले, नदेखिने गरी । कहिले निराशावादी सोचले दिलमा अड्डा जमाउँछ । जीवनप्रतिको मोहलाई गलाउँछ । मनै विक्षिप्त हुन्छ । कहिले रुन्छ मन धरधरी । जति प्रयास गर्दा पनि निम्छरो बन्नुपर्दाको पीडा उनलाई थाहा छ । उन्नति र प्रगतिमा वाधाका गतिला छेकबार आउँछन् । दुःखका जति जङ्घार तरे पनि थपिइरहन्छन् । अनि विरक्त लाग्छ । मनको सुखका बालीका कोपिलाहरूमा असिनापात बर्सिन्छ । फूलका जस्ता रहर नभएका कहाँ हुन् र तर रहरहरूमा तुषारा पात लागिदिन्छ र त निराश भाव आउँछ:
यसरी नै फक्रने कति रहर थियो
आफ्नै कल्पनाको एक शहर थियो
सबै सोचेजस्तो नहुँदो रहेछ साथी
ओइलिएर झर्नुपर्छ त उसको कहर थियो । (मुक्तक –१७८)
राजनीतिक दल, तिनका नेता कार्यकर्ताले गरेका नकारात्मक गतिविधी मुक्तककारलाई पटक्कै मन पर्दैन । उनीहरूले गरेका भ्रष्टाचार, अनिमियतता, बेथिति, नातावाद र फरियावाद, आफ्नो र अर्कोबीचको विभेद उनलाई किमार्थ सैह्य छैन । ग्राह्य छैन । नेताहरूको अदुरदर्शिताले मुलुकले दुःख बेहोरिरहेको उनको तर्क छ । अशिष्ट र फोहोरी राजनीतिले विकासका आधारहरूलाई भत्काएर धुलिमाटी बनाएको उनको बुझाई छ । जनताको विश्वासलाई चुनावद्वारा अनुमोदित गराएर जनतालाई नै भ्रमजालमा पार्नेहरूविरुद्ध उनी कटाक्ष गर्छन् । सदनको ताल र त्यहाँका सांसदका व्यहोरा देखेर उनलाई रिस उठ्छ । उनको यसमा प्रतीकात्मक व्यङ्ग्यचेत प्रबल रूपमा देखिएको छ । यहाँ हेरौँः
नाटक देख्दा सडकको र सदनको छुट्ट्याउन सकिएन
कोदो तोरी एकै ठाउँमा भो खुट्ट्याउन सकिएन
जान्नु नजान्नु धेरै जानेका यी हाम्रा नेताहरू
गाई पाल्ने ग्वाला र सांसद छुट्ट्याउन सकिएन । (मुक्तक–७६)
उनी प्रकृतिलाई माया गर्छन् । प्राकृतिक सौन्दर्यमा मन्त्रमुग्ध भएर सिर्जना गर्छन् । ऐतिहासिक धरोहरहरूको संरक्षणमा जोड दिन्छन् । देशका यावत कुराहरूको माया गर्छन् । खोलानाला हराउलान्, बिस्तारै सबै कुरा ओझेल पर्लान्, उनको चासो र चिन्ता त्यतातिर पनि छ । कवि प्रेमिल पनि छन् । प्रेमसँग सम्बन्धित धेरै थान मुक्तक कृतिभित्र छन् । प्रेममा विश्वास र भरोसा हुन्छ । आशावादी भाव हुन्छ । घृणाले प्रेम जित्न सकिन्न । मायालु मनले जित्ने हो प्रेममा । प्रेम प्राप्ति मात्र हैन – समर्पण पनि हो । सुखमा मात्र प्रेम बाँच्दैन–दुःख पनि प्रेमले दिन्छ । खुशी मात्र हैन– बाधा र अवरोधमा पनि फुल्छ प्रेम । यस्तै भाव छ उनको । यस्तै अनुभूति छ शायद र त भन्छन्:
नजरमा बस्यौ तिमी कहाँबाट आयौ
कसैले नि नदिएको गाढा प्रेम लायौ
कति गाह्रो हुन्छ भुल्न माया लगाएपछि
ऐले हेर मैलेभन्दा तिमीले दुःख पायौ । (मुक्तक–२६)
धेरै भन्नु छैन । वर्तमान समयका सीमान्त स्वरमा आएका मुक्तकहरू छन् कृतिमा । केही मुक्तकमा भाषागत त्रुटि देखिएका छन् । मुक्तकका पहिला र दोस्रा हरफहरूमा शब्दहरू घटीबढी भैदिँदा मकैमा बालुवा मिसिएको हो कि भन्ने भान पाठकलाई पर्न सक्छ तर मुक्तकका अभिव्यञ्जना शक्तिशाली छन् । समय सान्दर्भिक छन् । विषयका दृष्टिचेतले हेर्दा बहुविषयक लाग्छन् । हाम्रा आफ्नै समस्याहरूप्रति चिन्तन गरिएका छन् । सरल र सुललित शब्द, हरफ संरचनामा छन् । अन्त्यानुप्रास मिलेका नै देखिएका छन् । मुक्तकका केन्द्रीय भावलाई मज्जैले झड्का दिनेछन् । कृतिका लागि धर्मराज पौडेल ‘अल्पायू’लाई हार्दिक बधाई ।

