साहित्यपोस्ट डट कम

म्वाइँ खान दिएको भए के हुन्थ्यो ?

म्वाइँ खान दिएको भए के हुन्थ्यो ?

आदरणीय तारानाथ बा !

श्रद्धापूर्वक धेरै धेरै सम्झना छ !

हुन त मेरो वाङ्मयिक भावभूमिमा सधैँसधैँ अविचल बसिरहनुभएका तपाईंलाई शब्दको सम्झना भन्नुको अर्थ नै कहाँ छ र ? सम्झना त बिर्सिएकाहरूलाई गर्ने न हो । तपाईं त मेरो लेखनयात्रामा सधैँसधैँ सँगै नै हुनुहुन्छ र म पनि यही आशामा छु, तपाईंले पनि हामी अनुजहरूलाई पक्कै पनि बिर्सनुभएको छैन । यदि बिर्सनुभएको नै रहेछ भने पनि म तपाईंलाई स्मरण गराउन चाहन्छु, तपाईंसँग मेरो पहिलो परिचय कसरी भयो ? पहिलो भेट कहिले भयो ? र तपाईंलाई मैले कसरी चिनेँ ?

आदरणीय तारानाथ बा, तपाईंलाई मैले सानै उमेरमा पढ्ने मौका पाएकी हुँ । चालीस–बयालीस सालतिर, म यस्तै पाँच-छ कक्षामा पढ्थेँ होला । त्यो वेला माध्यमिक तहअन्तर्गत नेपाली विषयमा तपाईंद्वारा रचित ‘घनघस्याको उकालो काट्ता’ पढाइ हुन्थ्यो । म सानैदेखि माथिल्लो कक्षामा पढ्ने दाजु-दिदीका किताबका छन्द कविता, छोटा कथा पढ्न लोभिइरहन्थे । त्यही भएर आफू सानो कक्षामा पढ्ने फुच्ची भए पनि मैले ठूलै कक्षाका किताबमा तपाईंलाई देखिसकेकी थिएँ ।

उसो त दाजु–दिदीका किताब सहजै पढ्न पाइन्नथ्यो । उनीहरूका किताब छोए चलाएको देखे भने “हाम्रा किताब नचला, मैलिन्छ, च्यातिन्छ” भनेर गाली गर्थे । अटेरी गरे तोरीका फूल देख्ने गरी गाला नै पड्काइदिन्थे । उनीहरू घरमा नभएको मौका छोपेर, बडो होसियार भएर, उनीहरूका आँखा छलेर पढ्नुपर्थ्यो । छन्दमा लेखिएका कविता पढ्दा भाका हालेर पढ्न मन लाग्थ्यो तर दाजु दिदीले सुन्लान् र झापु खाइएला भन्ने डरले साउती मारेर कविता वाचन गर्नुपर्थ्यो । साउती मारेरै कथाहरूमा पनि डुबुल्की लगाउँथेँ । छन्द कविताचाहिँ दुई-चार पटक पढेर कण्ठाग्र नै पार्थें । लेखनाथ पौड्यालको चरीको विलाप, कृष्णप्रसाद भट्टराईको आमा कवितालाई चार-पाँच कक्षामा पढ्दा नै कण्ठस्थ पारेकी हुँ । ती कालजयी कविताहरू आजपर्यन्त मलाई कण्ठ नै छन् । त्यसै क्रममा ‘घनघस्याको उकालो काट्ता’ पनि पढेँ। त्यो वेला मैले पढेको तपाईंको रचना नियात्रा हो भन्नेसम्म पनि मलाई थाहा थिएन । तपाईंको लेखनशिल्पबारे त जान्ने कुरै भएन तर पनि त्यो रचना पढ्दा बाटो हिँड्ने बटुवाले लेखेको कुरा पनि किताबमा छापिँदोरहेछ र हामीजस्ता विद्यार्थीले पढ्नुपर्दोरहेछ भन्ने ज्ञान पाएकी थिएँ । मेरो कलिलो पठनचेतले कति नै पो बुझ्यो होला र ? तथापि ‘घनघस्याको उकालो काट्ता’ले मभित्र पनि एकप्रकारको नयाँ स्फूर्ति र उत्सुकता सञ्चार गराएको थियो ।

त्यो वेला हामीले पढ्ने कविता, लेख र रचनाका रचनाकारहरू कोही पनि जिउँदा छैनन् भन्ने लाग्थ्यो । नेपाली किताबमा ‘घनघस्याको उकालो काट्ता’का लेखक तारानाथ शर्माको जन्म र मृत्यु उल्लेख गरिएको थिएन । तर त्यो नियात्रा पढ्दा मेरो मस्तिष्कमा मरिसकेका तारानाथको एउटा धमिलो चित्र नाच्ने गर्थ्यो । तपाईं मरिसकेको लेखक हो भन्नेमै थिएँ म तर त्यसको केही वर्षपछि थाहा पाएँ, तपाईं बाँचिरहनुभएको रहेछ र लेखनकर्ममा लागिरहनुभएको रहेछ । यो थाहा पाएर म तपाईं जिउँदै भएकोमा खुशी हुने कि किताबमा पढिने मान्छे पनि अझै नमरेका भनेर छक्क पर्ने भन्ने अनौठो खालको विस्मयमा परेकी थिएँ । भुराको मन न हो !

तारानाथ शर्मा अर्थात् हक्की, निडर र प्रखर कलमकर्मी । झर्रोवादी अभियानका नेतृत्वकर्ता । त्यसको केही वर्षपछि तपाईंको नियात्राकृति ‘बेलाइततिर बरालिँदा’ पनि पढ्ने मौका पाएँ । त्यो कृति पढ्दै जाँदा म शनैःशनै तपाईंको गुरुकृपाले सिञ्चित हुँदै गएँ । तपाईंले मभित्र चरैवेतिको बालसुलभ अनुराग भरिदिनुभयो । यसरी दुनियाँ बुझ्नु छ भने घर छोडेर बाहिर निस्कनै पर्ने रहेछ, आफूलाई जुझारु र निडर बनाउनै पर्ने रहेछ र यात्रामा होमिनै पर्ने रहेछ भन्ने प्रेरणात्मक चेतना भर्ने काम पनि पहिलोपटक तपाईंले नै गरिदिनुभएको थियो ।

म सानी छँदा घनघस्याको उकालोका माध्यमबाट चिनेका तपाईंप्रति ममा बेग्लै किसिमको आस्था थियो । तपाईंले चढेको घनघस्याको उकालो चढ्न पाए कस्तो हुन्थ्यो होला भन्ने पनि लागिरहन्थ्यो । कहिलेकाहीँ सपना पनि देख्थेँ, ठूली भएपछि तारानाथजस्तै यात्री बन्छु भन्ने । अहिले सम्झेर ल्याउँदा लाग्छ, उदयपुरको अनकण्टार गाउँमा जन्मिएकी मलाई आफ्नो गाउँघरभन्दा अलि परको रमाइलो संसारमा पुग्न प्रथम सपना देखाउने जादूगर–मान्छे पनि तपाईं नै हुनुहुन्छ ।

समयक्रममा थाहा पाउँदै गएँ, तपाईं त बहुआयामिक लेखक पो हुनुहुँदोरहेछ । समालोचनामा निर्धक्क आलोचना गर्ने, झर्रो शैलीमा खरो टिप्पणी गर्ने । पञ्चायतकालमा पनि मवीवि शाहको उसैका लागि भन्ने कवितालाई केवल हिन्दी गीतको नक्कल भनेर समालोचना गर्दा तीन महिना जेलमै थुनिएको जिउँदो समालोचक पो हुनुहुँदोरहेछ । बालकृष्ण समजस्ता स्वनामधन्य लेखकको पनि महाकाव्य कृति चिसो चुल्होलाई झुसिलो डकार भनेर समालोचना गरी समजीको पनि हृदय जित्नुभएका कलमवीर पो हुनुहुँदोरहेछ । यस्ता बहुआयामिक प्रतिभासम्पन्न तपाईंसँग मेरो भौतिक भेटचाहिँ सत्तरी सालमा मात्रै भयो ।

म तपाईंसँग भेट्नकै लागि तपाईंको निवासमा आएकी थिएँ । पहिलो भेटमा मैले तपाईंलाई मेरो स्मृतिका पत्रहरू खोलेर भनेकी थिएँ— म सानी छँदा मरिसकेका र ठूली हुँदै जाँदा बाँचिरहेका तपाईंलाई भेट्न पाउँदा साह्रै खुशी भएँ । मेरा कुरा सुनेपछि तपाईंले हाँसेको लामो हाँसो अहिले पनि मेरो मानसमा गुन्जिरहेकै छ ।

म घुमन्ते स्वभावकी मान्छे । म कार्यरत कार्यालयको कामको प्रकृति पनि सोही बमोजिमकै पाएँ । कामको सिलसिलामा फिल्ड गइरहनुपर्ने । नयाँ नयाँ गाउँ, ठाउँ र बस्तीमा पुग्नुपर्ने । अनेक जातजाति, रीति र संस्कृति मान्ने मान्छेसँग अन्तर्क्रिया गर्नुपर्ने । नयाँ नयाँ कुरा देख्न, जान्न र सिक्न पनि पाइने । सोही क्रमले काम गरिरहेकी मसँग एक दिन निजामती सेवामै कार्यरत वरिष्ठ नियात्राकार प्रतीक ढकालसँग लेखनका विषयमा बातचित गर्ने मौका मिल्यो । उहाँले मसँग हलुका गुनासो गरेजस्तो लाग्ने गरी तर अलि जोड दिएर आदेशात्मक शैलीमै भन्नुभयो, ‟यस्ती घुमन्ते मान्छेले फुटकर छन्द कविता मात्रै लेखेर हुन्छ र ? नियात्रा किन नलेखेको ?”

आफूले श्रद्धासाथ पढिरहेको लेखकले गरेको गालीले मलाई भित्रैबाट हौसला भर्‍यो र म नियात्रा लेखनमा लागेँ । उहाँकै आशीर्वचनलाई शिरमा राखेर २०७८ सालमा पहिलो नियात्राकृतिको रूपमा ‟घामभन्दा पहिले” लाई प्रकाशनमा ल्याएँ । एक अमर स्रष्टाको कलमबाट लेखिन पाउनु कत्रो सौभाग्यको कुरा । तपाईंले मलाई माया गरेर आशीर्वादका हरफहरू लेखिदिनुभयो । त्यो आशीर्वाद मैले त्यस कृतिमा राख्न पाएँ । त्यो सौभाग्यप्रति म धन्यधन्य छु । मैले दोस्रो कृति पनि ‘पद्य-नियात्रा’ नै ल्याएँ । त्यो पनि तपाईंकै जन्मभूमि इलामको । ‘चारखोलाको आँगनीमा’ नामक त्यस कृतिमा तपाईं अनेक हिसाबले जोडिएर आउनुभएको छ ।

उकालो घनघस्याको सानैमा पढ्न पाइयो

अमिला सुन्तला चाखी ढुङ्गामाथि निदाइयो ।

तिम्रो लेखनमा डुब्दै तिम्रै हात समाउँदै

हिँडेझैँ लाग्छ यात्रामा म सानी बालिका छँदै ।

म हुर्कें चेतनासाथ बस्यो साहित्यको रस

बरालिँदै पुगेँ आफैँ बेलायत तिमीसित ।

चारखोलाको आँगनीमा तपाईंका सम्झनामा लेखिएका यस्ता थुप्रै श्लोकहरू छन् । यी श्लोकहरू तपाईंलाई सस्वर सुनाउने ठूलो रहर थियो तर तपाईं असमयमै अस्ताउनुभयो र मैले चाहेर पनि सुनाउन पाइनँ ।

२०७० साल यता तपाईंसँग अनेकौँपल्ट भेट गर्ने मौका पाएँ । कहिले नियात्राकारहरूको साथ लागेर घरैमा भेटेँ । कहिले साहित्यिक कार्यक्रमहरूमा भेटेँ । जहाँ जहाँ भेटेँ वा भेट्ने मौका पाएँ, तपाईंका विचार सुनेर मैले सदा ऊर्जाशील बन्ने सौभाग्य नै पाएँ ।

जीवनको उत्तरार्धमा ओछ्यान पर्नुभएको वेला पनि म निकैपटक भेट्न आएँ । तिनै भेटहरूमध्येको एउटा भेट, जसको सम्झनाले मलाई वेलावेलामा लखेटिरहन्छ र पछुतो खट्किरहन्छ । आदरणीय बा, म त्यो सम्झनाको गाँठो फुकाएर आफू हलुको हुन चाहन्छु, कृपया अन्यथा नसम्झनू ल !

२०७८ सालको कार्तिक महिनाको कुनै दिन । तपाईं बिरामी नै हुनुहुन्थ्यो, वरिष्ठ कवि कोषराज न्यौपाने, वरिष्ठ नियात्राकार प्रतीक ढकाल र म सल्लाहै गरेर तपाईंलाई भेट्न भनेर एउटै गाडी चढेर तपाईंको निवास सरस्वतीनगर चावहिल पुगेका थियौँ । तपाईं ओछ्यानमै पल्टेर आराम गरिरहनुभएको थियो । शान्ता आमाले तपाईंलाई हुनसम्मको स्याहार गरेर राख्नुभएको थियो । तपाईं टक्टकाउँदो ओछ्यानमा सफा लुगा लगाएर पल्टिरहनुभएको थियो ।

हामीलाई देखेपछि तपाईंको अनुहारमा खुशीका घाम लागे । शायद लाग्यो होला, मेरा पनि हितैषी छन् । मलाई मनैदेखि माया गर्नेहरू पनि छन् । परिआउँदा काँध थाप्ने मित्रहरू पनि छन् । शायद मन दह्रो भएर होला, तपाईं ओछ्यानबाट जुरुक्क उठ्नुभयो । हामीसँग अट्टहास गर्दै गफिनुभयो । ठमठम हिँडेर एक्लै शौचालय पनि जानुभयो । हामीसँगै खाजा पनि खानुभयो । तपाईं खुशी भएको देखेर हामी दुई गुना खुशी भएका थियौँ । प्रतीक ढकाललाई त तपाईं ‘तँ’ भनेरै बोल्नुहुँदो रहेछ, उहाँसँग त अर्कै लवजमा ठट्यौली पनि गर्नुहुँदो रहेछ । यस्तै रमाइलो वातावरणमा सबैले खुशी साटिरहेका वेला तपाईंले एउटा अनपेक्षित आग्रह गर्नुभयो— भवानी, तिमी मेरा नजिकै आऊ । मलाई म्वाइँ खान मन लागेको छ ।

बा, तपाईं त्यो वेला शारीरिक हिसाबले निकै अशक्त हुनुहुन्थ्यो । गोडाले राम्ररी भर नपाउने अवस्थामै हुनुहुन्थ्यो । तपाईंसँग यस अघि दर्जनौँपटक भेट भएकै हो र ती भेटमा तपाईंले कहिल्यै यस्तो कुरा गर्नुभएको पनि थिएन । त्यही भएर पनि हुन सक्छ बा ! त्यस्तो अवस्थाबाट गुज्रिरहनुभएका तपाईंले गरेको यो आग्रहले मलाई किंकर्तव्यविमूढको अवस्थामा पुर्‍यायो ।

तपाईंको त्यो भनाइ सुनेर म हठात् अवाक् बनेकी थिएँ । अवाक् बन्नुका पनि थुप्रै कारणहरू हुन सक्लान् । म यही समाजकी एउटी सदस्य हुनुको सङ्कोचले हच्किएकी पनि हुन सक्छु । तपाईं र मबीच रगतको साइनो नभएकाले तपाईं एक परपुरुष हो भन्ने भ्रान्तिका कारणले म खुम्चिएकी पनि हुन सक्छ । बाल्यकालदेखिकै हुर्काइले भरिदिएका सङ्कोचले मलाई गुम्स्याएको पनि हुन सक्ला । मैले तपाईंको आग्रहको सकारात्मक अर्थ लगाउनै सकिनँ । त्यसका निम्ति मलाई क्षमा गर्नोस् है तारानाथ बा !

छेवैमा बसेर तपाईंको भनाइ सुनिरहनुभएका कोषराज न्यौपाने, प्रतीक ढकाल, शान्ता आमा र तपाईंकै छोराले के ठान्नुहोला ? तपाईंले गर्ने भनिएको चुम्बनको कस्तो अर्थ लगाउनुभयो होला उहाँहरूले ? तपाईंले गर्ने चुम्बनको कुनै दार्शनिक अर्थ पनि थियो होला । स्वभाविक वा कुनै फराकिलो अर्थ पनि थियो होला । तर यो अप्रत्याशित प्रस्तावले मलाई किंकर्तव्यविमूढ तुल्याइसकेको थियो । सँगै भएका अरू विस्मित आठ आँखामा हेर्न नसकेर उम्किने प्रयासमा म लल्याकलुकुक हुँदै थिए । म चाहन्थेँ, यो एउटा भ्रम मात्र होस् । सपना मात्र होस् । म ब्युँझँदा अर्कै स्वभाविक दुनियाँमा पुगेकी होऊँ । तर परिस्थिति मैले चाहेकोजस्तो थिएन । तपाईंले फेरि उही कुरा दोहोर्‍याउनुभयो— यहाँ आऊ न, म्वाइँ खान मन लागेको छ के !

त्यो असहजतालाई चिर्दै मैले तपाईंलाई नै सोधेकी थिएँ— तपाईंले मलाई म्वाइँ खानैपर्ने खास कारण के हो, भन्नुस् त ?

– कारन सारन केही था छैन । माया लाग्यो तिम्रो । म्वाइँ खान मन लाग्यो ।

मायाका अनेकौँ रूपहरू छन् । अनेकौँ अर्थहरू छन् । म्वाइँ गर्नकै लागि गरिएको मायालाई कुन अर्थ लगाउने ? क्षमा गर्नुहाला बा, त्यो वेला तपाईंको जवाफले मलाई अझै अफ्ठ्यारोमा पार्‍यो । म कसै गरी सहज हुन सकिनँ अथवा मेरो बुद्धि पुगेन । तपाईंले यत्तिसम्म आग्रह गरिसकेपछि “नाइँ कसरी भनूँ छोरी सम्झेर म्वाइँ खानुहोला” भनेको भए पनि हुन्थ्यो होला तर त्यसो भन्न पनि सकिनछु । मैले तपाईंको ठट्यौलो रहरलाई अस्वीकार गर्दै आफ्नै लहरमा भनेकी थिएँ— “अरे, म्वाइँ त त्यस्तो व्यक्तिलाई खाइन्छ जसले आफूलाई पनि त्यसरी नै म्वाइँ खान सकोस् । निःस्वार्थ माया गरोस् । तपाईंलाई मनैदेखि माया गर्ने प्रतीक ढकाल दाजु यहीँ हुनुहुन्छ । उहाँका गालामा म्वाइँ खानोस् । तपाईंको म्वाइँले पनि मूल्य पाउँछ ।”

त्यसपछि तपाईंले एकपटक जोडले हेहेहे गर्दै भन्नुभयो— ओहो, कति बाठी ! तर छुच्ची पनि उस्तै ।

अनि चुप हुनुभएको थियो ।

तपाईंको घरबाट बिदा भएर फर्कंदै गर्दा प्रतीक ढकालले भन्नुभयो— “बूढा मान्छेले ठट्यौली पारामै भए पनि बडो रहर गरेका थिए, एकफेर म्वाइँ खान दिएकै भए पनि हुन्थ्यो होला नि बहिनी ! ओछ्यान परेका बूढाले के सुरमा भनेका थिए कुन्नि ! के थाहा, कुनै आशीर्वाद पो छुट्यो कि । भनिन्छ, पृथ्वीनारायण शाह बालकै रहेका वेला गुरु गोरखनाथले कुनै दिन आफूले खाइरहेको जुठो दही ‘ल, यो खा’ भनेर राजकुमार पृथ्वीनारायणका हातमा थुकिदिनुभएको थियो रे । त्यो जुठो दही कसरी खाऊँ भन्ने दुविधामा परेर हातमा दही लिइरहेका पृथ्वीनारायण शाहको हातबाट पोखिएर खुट्टामा पर्‍यो रे । त्यो देखेर गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई भन्नुभएको थियो रे, मूर्ख बालक, यो दही घीन नमानीकन खाएको भए तँलाई वाकसिद्धि प्राप्त हुन्थ्यो र जे बोल्थिस्, त्यही पुग्थ्यो तर पोखिएर खुट्टामा परेको हुनाले तैंले टेकेको धर्ती मात्र तेरो हुनेछ । तैंले जहाँजहाँ पाइला राख्छस्, त्यहाँ त्यहाँ तैंले विजय प्राप्त गर्नेछस् । गोरखनाथको आशीर्वाद खुट्टामा पर्दा त पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्न सके भन्छन् खाएकै भए त झन् के के हुन्थ्यो होला ! मैले अघि नै यी सबै कुरा सोचिसकेको थिएँ तर बहिनीले, नराम्रो मान्नुहोला कि भनेर बोल्न सकिनँ ।”

त्यसको झण्डै पाँच महिनापछि तपाईंको देहावसान भएका दिन कोषराज न्यौपानेले फोन गरेर भन्नुभयो, “कठै, तारानाथ शर्मा त बितेछन् नि ! तारानाथ बितेको खबर सुन्नासाथ मैले तिमीलाई सम्झेँ नानी ! त्यसदिन तारानाथले तिम्रो म्वाइँ खान्छु भनेर कत्रो रहर गरेका थे । आखिर मरेर गइहाल्ने रहेछन् । म्वाइँ खान दिएकै भए हुनेरहेछ है । बरु हामीले ताली बजाएर त्यो क्षणलाई अझ उज्यालो बनाइदिन्थ्यौँ नि !”

आदरणीय तारानाथ बा, समय नदी बगेझैँ बगेर गइसक्यो । समयले तपाईंको भौतिक शरीरलाई धर्तीबाट लोप गराइसक्यो । अहिले म जिउँदै छु । कोषराज बा, प्रतीक ढकाल दाजु र शान्ता आमा पनि जिउँदै हुनुहुन्छ । सरस्वती नगरको तपाईंको निवास पनि जस्ताको तस्तै नै छ तर तपाईं मात्र हुनुहुन्न ।

अनि, अहिले सम्झँदा लाग्छ, मैले त्यसदिन बाबुसमानको एक श्रद्धाको पात्रलाई म्वाइँ खान दिएको भए के हुन्थ्यो ? शायद समयले त्यही म्वाइँका माध्यमबाट मभित्र तारानाथको अर्को कुनै अवतार पो हुर्काउन चाहेको थियो कि ?

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.