साहित्यपोस्ट डट कम

मुन्दुम केन्द्रित छैटौँ किरात राई प्राज्ञिक संगोष्ठी काठमाडौंमा हुने

मुन्दुम केन्द्रित छैटौँ किरात राई प्राज्ञिक संगोष्ठी काठमाडौंमा हुने

काठमाडौं । किरात राई प्रज्ञा परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा मुन्दुम केन्द्रित छैटौँ किरात राई प्राज्ञिक संगोष्ठी यही चैत २० र २१ गते काठमाडौंमा हुने भएको छ ।

परिषद्का सदस्य–सचिव तथा भाषाशास्त्री डा. तारामणि राईका अनुसार यस वर्षको वार्षिक संगोष्ठीमा मौखिक ज्ञान परम्पराका रूपमा रहेको मुन्दुममाथि केन्द्रित विमर्श गरिनेछ । परिषद्ले किरातसँग सम्बन्धित विविध विषयमा निरन्तर बहस तथा छलफलका कार्यक्रम गर्दै आएको बताएको छ ।

संगोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई सहभागी हुनुहुनेछ भने विशेष अतिथिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ र किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई रहनुहुने जनाइएको छ ।

यसैगरी मुख्य वक्ताका रूपमा प्रा.डा. अभि सुवेदी रहनुहुनेछ भने उक्त सत्रको अध्यक्षता प्रा.डा. नोवल किशोर राईले गर्नुहुनेछ । दुई दिने संगोष्ठीमा मुन्दुमसँग सम्बन्धित करिब २५ वटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

किरात राई प्रज्ञा परिषद्, किरात राई यायोक्खाको प्राज्ञिक क्रियाकलाप सञ्चालनका लागि गठन गरिएको संस्था हो । परिषद्ले किरात राई भाषा, लिपि, साहित्य तथा संस्कृतिको अनुसन्धानमा निरन्तर काम गर्दै आएको जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.