काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष कुमार बस्नेतले लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’ जापानी पाठकले पनि मन पराउने सम्भावना रहेको बताउनुभएकाे छ । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रममा साहित्यकार सुरेन उप्रेतीसँगको संवादमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएकाे हाे ।
चन्द्रागिरिमा जन्मिनुभएकाे बस्नेतले जापानमा लामो समय अध्ययन र बसोबास गर्दै नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे छ । उहाँले डायस्पोरामा रहेका नेपालीहरूको पहिचान जोगाउन भाषा, साहित्य, संस्कृति र संस्कार संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभयाे ।
“पहिचान हराउनु भनेको अस्तित्व गुमाउनु हो,” उहाँले भन्नुभयाे, “भाषा, साहित्य र संस्कृतिलाई जोगाउन सकेमात्र हामी आफ्नो पहिचान जोगाउन सक्छौँ, नत्र इतिहाससहित हराउने जोखिम हुन्छ ।”
बस्नेतले प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा सिकाउन समुदायस्तरमै पहल आवश्यक रहेको बताउनुभयाे । हप्तामा कम्तीमा एक दिन भए पनि भाषा शिक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो। “भाषासँग जोडिन विभिन्न सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्छ, त्यसले आत्मविश्वास पनि बढाउँछ,” उहाँले भन्नुभयाे।
उहाँले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अनुवादको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै ‘मुनामदन’ जस्ता कृतिहरू विदेशी भाषामा अनुवाद गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे। जापान र नेपाली समाजबीच ऐतिहासिक रूपमा श्रम–आधारित जीवनअनुभवमा समानता रहेकाले यस्ता कृतिले जापानी पाठकको मन छुने उहाँको विश्वास छ ।
बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएन) र अनेसासजस्ता संस्थाहरूले संयुक्त रूपमा नेपाली भाषा र साहित्य संरक्षणमा ठोस पहल गर्नुपर्ने सुझाव दिनुभएकाे छ । कार्यक्रममा प्रवासमा बसेर पनि भाषा–साहित्यका लागि समय, श्रम र समर्पण गर्ने स्रष्टाहरूको भूमिकाको पनि चर्चा गरिएको थियो।

