सपनामा आमा
आमा देहमुक्त भएपछि
पहिलोपल्ट रातभर सपनामा
आमाको नजिक बसिरहेँ
यस्तो लाग्यो आमा मेरो घर आउनुभयो
या निद्राको बाटो म आमाको काख नजिक पुगेँ
आमा गएपछि
ओड्ने हराएर कामिरहेको जाडो भएको थिएँ
एक घुट्को प्यास मागिरहेको पानी भएको थिएँ
आँखाको घर कुनै दिन आमा आउनुहुन्छ सोचेको थिएँ
तर अँध्यारोको भर यति ठुलो हुन्छ सोचेको थिइनँ
आमा गएपछि
पहिलोपल्ट रातभर
आमाको नजिक बसिरहेँ
र बिहान ब्युँझदा पहिलोपल्ट आफूलाई
महाँन तिर्थबाट फर्किएको यात्रु जस्तो महसुस गरेँ ।
अन्तिम सवारी
आमा सवारी हुनुभयो कुनै धाम
धुवाँको बाटो
घाटमा आमा त आफ्नो देह साथ
केही बेरमै जलिसकिनु भयो
तर स्नेहको रिक्ततालाई त केहीले नजलाउने रहेछ
बाबा गएपछि वहाँ आफैँ हुनुभएको थियो बाबा
जब जब
पीडा सर्कियो गलामा
साहसले पिउनुभयो पानी
कठिनाइ अल्झियो सारीमा
अठोटले पन्साउनुभयो
हरेक चोटहरूलाई चन्द्रमा भन्नुभयो
हरेक सकसहरूलाई सूर्य भन्नुभयो
आँसुको ताल
आँखाका पुतलीहरू पछाडि लुकाई
ढुङ्गा खियाइरहनुभयो
बचेराहरू
पखेटामा च्यापेर उड्ने
विशाल हृदयको पन्छी हुनुभयो
उड्दैउड्दै
पुग्नुभयो आफ्नै सन्तानहरू
झ्याँगिएर बनेको एउटा बस्ती
यही बस्तीको किनार आइपुग्नुभयो
सूर्यको लालीमा
आँखामा थपक्क राखी
आफू फूलको थुङ्गाजस्तो
हलुङ्गो झर्नुभयो
शायद आमालाई कुनै आवाजले कतै बोलायो कि ?
कसको आवाज हुनसक्छ त्यो ?
स्वर्गवासी हजुरआमाको या पतिको ?
साथमा कान्छी बहिनी मात्र थिई उसबेला
ऊ आत्तिएर चिच्याउँदा
किन सुन्नुभएन आमाले उसको चित्कार ?
शायद उताको बोलावट सुनेपछि
यताको ध्वनि सुन्ने इन्द्रिय बन्द हुन्छ
साँझमा बाल्नुभएको बत्ती
बलिरहेको थियो झलमल
आफ्नो सामर्थ्यले टाँग्नुभएको आकाशमा
ताराहरू टिम्टिमाइरहेका थिए
अन्तिम सवारीको तयारीमा
आमा एकाएक मौन हुनुभयो
र आफ्नो यत्रो सृष्टि यतै छाडेर
आमा त्यो अन्तिम धाम सवारी हुनुभयो ।

