साहित्यपोस्ट डट कम

मुक्तक मञ्चमा गुञ्जिए १९ मुक्तककार

मुक्तक मञ्चमा गुञ्जिए १९ मुक्तककार

पोखरा । मुक्तक मञ्च केन्द्रीय समिति ले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवका अवसरमा १९ जना मुक्तककारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै विशेष मुक्तक उत्सव सम्पन्न गरेको छ ।

कार्यक्रमले करिब दुई दशक उमेरदेखि ८८ वर्षसम्मका युवा र अग्रज स्रष्टालाई एउटै मञ्चमा उभ्याउँदै पुस्तान्तरणको सशक्त सन्देश दिएको थियो ।

सोही अवसरमा मञ्चले निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्य लाई संस्था विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको छ । त्यसैगरी नियमित वाचनमा सक्रिय तेजबहादुर तमू लाई उत्कृष्ट वाचक तथा मकवानपुर शाखालाई उत्कृष्ट शाखा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, अग्रज साहित्यकार सरुभक्त, सूर्य खड्का बिखर्ची र दुर्गाबहादुर शाह बाबा लगायतले सम्मान अर्पण गर्नुभएकाे थियाे । प्रमुख अतिथि प्रकाश बराल ले राष्ट्र, राष्ट्रियता, मातृत्व, माटो र मायाका विषयमा आधारित सिर्जनाले भाषा, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै स्रष्टाहरू राष्ट्रका अमूल्य निधि भएको बताउनुभयाे ।

अग्रज साहित्यकार सरुभक्त ले नेपाली साहित्यमा मुक्तक विधाको विकासमा पोखराको ऐतिहासिक भूमिका रहेको स्मरण गर्नुभयाे । त्यस्तै अग्रज लोकदोहोरी गायिका हरिदेवी कोइराला ले १९ स्रष्टाको सहभागितामा गरिएको मुक्तक उत्सवलाई सराहनीय कार्य भएको बताउनुभयाे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान का संस्थापक कुलपति सूर्य खड्का बिखर्ची ले मुक्तक मञ्चको योगदान उल्लेखनीय रहेको बताउनुभयाे भने पुतलीबजार प्रज्ञा–प्रतिष्ठान का उपकुलपति दुर्गाबहादुर शाह बाबा ले मुक्तक विधा पछिल्लो समय लोकप्रिय बन्दै गएको धारणा राख्नुभयाे ।

उत्सवमा अग्रजतर्फ शान्तिनारायण श्रेष्ठ, काजी रोशन, दिलीप दोषी, कृष्ण उदासी, लक्ष्मण थापा तथा युवातर्फ रुपिन्द्र प्रभावी, सञ्जीव पौडेल, असफल गौतम, प्राञ्जल, टुकादेवी आचार्य, सागर तिम्सिना, राजेन्द्र घिमिरे, अर्जुन अधिकारी, शिव त्रिपाठी, बिर्सना बस्नेत, मिथिला अधिकारी, वीरेन्द्र सायर, रविन ढकाल तथा नव पुस्तातर्फ आर्या त्रिपाठी र सिचु सारु ले मुक्तक वाचन गर्नुभएकाे थियाे ।

समारोहमा पोखरा चेम्बर अफ कमर्श कास्की का अध्यक्ष उमराज बास्तोला, लोकदोहोरी गायक रामजी पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रमको अन्त्यमा मञ्चकी अध्यक्ष अम्बिका भण्डारी ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्दै सहभागी मुक्तककारहरूलाई प्रोत्साहनसहित सम्मान अर्पण गर्नुभयाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.