साहित्यपोस्ट डट कम

मुकेशको नवीनतम सिर्जना ‘भैरव–भाव’

मुकेशको नवीनतम सिर्जना ‘भैरव–भाव’

दरबारमार्गमा अवस्थित ग्यालरी एक सय आठमा गत ९ डिसेम्बरमा देव–भैरवको आठ रूपलाई प्रदर्शन गरियो । भैरव–भाव नामक यो कला प्रदर्शनी आगामी ३१ जनवरी सम्म चल्नेछ । भैरवका आठ वटा रूपहरूमा क्रमशः काल भैरव, आकाश भैरव, उन्मुक्त भैरव, शान्त भैरव, श्वैत भैरव, बटुक भैरव, कीर्तिमुख भैरव र बाघ भैरव छन् । यसबाहेक पिस, शिव पार्वती, आदि पनि प्रदर्शनमा राखिएको छ ।

भैरवका यी अत्याधुनिक रूप बनाउने कलाकार चाहिँ मुकेश श्रेष्ठ हुन् । मुकेश आफै चाहिँ समसामयिक कलाको नितान्त नौलो धारमा काम गरिरहेको कन्सेप्चुल आर्टिष्ट हुन् । उनका कलागत अवधारणहरू (कन्सेप्ट ) जहाँ कहीँ अर्थात् परम्परागत कलामा पनि घुसिबस्ने उनको कलागत स्वभाव छ । यसो हुँदा नितान्त पौभा चित्रको स्वरूपलाई उतार्दै गर्दा पनि पृष्ठभूमिका अनेकानेक टेक्चरसँग उनी खेलिबस्छन् । जसले गर्दा दुरुस्तमा देखिएका ग्रीन तारा वा मञ्जु श्री जस्ता देवीहरू पनि आधुनिक फर्ममा देखिन्छन् । उनले कैयौँ समसामयिक मुद्दाहरूमा शक्तिशाली कामहरू गरिसकेका छन् । यस अर्थले उनी कन्टेस्चुयल कलाकार पनि हुन् । मूलतः यही नै उनको मूल विशेषता पनि हो ।

ग्यालरी एक सय आठ आफैमा नयाँ ग्यालरी हो । राजधानी शहरको केन्द्रमा हुँदा पनि यो ठाउँमा आम मान्छेको जमघट अलि बाक्लै हुने गर्दछ । तापनि यो ग्यालरीमा चाहिँ त्यस्तो मात्रमा भीड पस्दैन । तर जो पुग्छन् । भीडभाडबाट एकदमै टाढो कहीँ कतै सुनसान ठाउँमा पुगेजस्तो अनुभव गर्दछ । यसकारण पनि भीडबीच एकान्तको यसले आफ्नो एक अलग्गको पहिचानलाई आम दर्शक माझ पुर्‍यइ सकेको छ । स्पेस त्यति ठूलो छैन अलि अँध्यारो पनि छ । तथापि यसले आफ्नै ढङ्गले कलालाई प्रस्तुति गर्दा आम भावकहरू यहाँ आकर्षित हुने गर्दछन् ।

कला–दीर्घाको अँध्यारो भित्तामा एकैनासका अर्थात् अधिकांश चित्रहरू एकै साइजमा (१७५ वाइ १०२ सेन्टीमिटर) झुन्डिएका देखिन्छन् । अनि एउटै कलर स्किमले (एल्लोअकर पृष्ठभूमिमा कालो धर्काले घेरिएको सेतो रङ) चित्रहरू ओतप्रोत भएको देखिन्छ । गाडा पहेँलो रङ माथि चहकिलो सेतो अनि शिरोभागको रातो–पनले स्वयंमा, वातावरणलाई नितान्त चहकिलो बनाएको देखिन्छ । स्वभावतः यसले एक प्रकारको रमणीय वातावरण त बन्छ नै । अझ यसैमाथि कृत्रिम प्रकाश अनुकूलतामा बसिदिँदा, देखिंदा प्रदर्शन कक्ष समग्रमा मनोरम देखिन्छ । स्वभावतः भावकहरू एकचित्त भई एकाग्र भएका पनि देखिन्छन् । अनि मिठास पूर्ण रसास्वादन गर्दै गरेको देखिनु यो ठाउँ स्वयंको पनि महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । शान्त, स्निग्ध यस वातावरणमा भावकहरू एकाग्र हुनु, चित्रमा गहिराइका साथ पस्नु आदी इत्यादिलाई यो आध्यात्मिक विषयले यथेष्ट सघाउ पुर्‍याएको महसूस पनि हुन्छ ।

सबै पहेँलो नै किन ? उत्तरमा कलाकार सहज रूपमा भन्छन् । यो आध्यात्मिक साधु–सन्त महात्माको प्रतिबिम्बको रङ पनि हो । अनि यसमाथि सेतो र कालो रङ खुलेको पनि महसूस गर्दछु । यसकारण पनि मैले यस रङलाई प्राथमिकतामा राखेको हुँ । आध्यात्मिक दर्शन अनि कलागत प्रविधि सन्तुलनमा बसेका यी रङहरू आफै पनि मात्र आकर्षक देखिँदैन । यसले एक प्रकारको आध्यात्मिक चेत, सन्देशलाई प्रभावित पनि गरिरहेको हुन्छ । सँगसँगै गुणस्तरका कलालाई पनि प्रस्तुत गरिरहेको हुन्छ । एउटा सिङ्गो मन्दिरभित्र देव–देवी विराजमान भएजस्तो ।

आम मान्छेको, समुदायको परम आस्था बलवान् भैरव अनि आजको कलागत प्रवृत्ति सँगसँगै मिलेर प्रस्तुत गराउनु पनि मूलतः उनको मुख्य विशेषता देखिन्छ । देव शिवको उग्र रूप भैरवमा देखिनु देखाउनु पनि उनको अर्को आशय हो । कलाकारको गहन शिल्प–दक्षताले गर्दा पनि मानवीय शरीर बटारिएर, बाङ्गिएर, खप्टिएर देखिंदा पनि सन्तुलित देखिन्छन् । अनि स्वाभाविक रूपमा दृष्टिगोचर हुन्छ । यो उनको आफ्नै कलागत सिग्नेचर पनि हो । अझ उनका शक्तिशाली रेखाहरू सेतो क्यानभासमा कुँदिबस्दा एउटा यस्तो गति लाई जन्म दिन्छ । जसले देव–शिव स्वयं चलायमान हुँदै देव–भैरव भित्र आफ्नो शक्तिलाई उदाङ्गो पारे जस्तो अनुभव हुन्छ ।

मुकेश जब कलामा औपचारिक अध्ययन गरिरहेका थिए । त्यसैबखत उनको मूल विषय नै मानवीय शरीर थियो । उनी यसैमा गहिरोसँग अभ्यास गरिबस्थे । झन्डै यो दुई दशक अगाडिको कुरा हो । मानवको शरीरमाथि खेलिबस्ने उनको यो अभ्यास आज उनकै कलागत सिग्नेचर बनेको छ । निरन्तरमा बग्दाबग्दै सामान्य मानव हुँदै गर्दा आज उनी देव–देवतालाई पनि यही भाकामा प्रस्तुत गर्न पुगेका छन् । सम्भवतः यता आजको दिनमा देवी देवतालाई ह्यूम्यान फिगरमा आधुनिक पारामा खेलाउने क्रममा उनी सबै भन्दा अग्रपङ्क्तिमा छन् । मूलतः यसरी मानवीय शरीर, चेहरा, हात, खुट्टा आदिलाई बङ्गाएर बटारेर, भाँचेर अनौठा प्रकारले, एकताका बेलायतका कलाकार फ्रान्सीस वेकनले अनि अलि पछि भारतका कलाकार तैयब मेहतले प्रयोग गरेका थिए । केही वर्षअघि तैयब मेहतका यस्ता चित्र त्यो वर्षको भारतको समसामयिक कलाको सबैभन्दा महँगो चित्र साबित भएको थियो । फ्रान्सीस वेकनको कलाको त यति धेरै मूल्य अहिले पनि छ । यसको तुलना गरेर साध्य नै छैन । यी कलाकारहरू अहिले विश्व मै महान् कलाकारमा गनिन्छन् । यसैको प्रभाव मुकेशमा पनि यथेष्ट मात्रमा परेको देखिन्छ । नभन्दै अहिले कै कला प्रदर्शनीमा पनि उनको एउटा चित्रको दाम नौ लाख राखिएको ले पनि यस्लाई प्रमाणित गर्दछ ।

झट्ट हेर्दा यी देव–भैरवहरू सबैजसो समान रूपका जस्ता देखिन्छन् । एउटै जस्तो देखिनु चाहिँ सबै नृत्य मुद्रामा उभिनुले गर्दा पनि हो । सबैले मास्क लगाउनु अनि लयात्मक देखिनुले पनि एउटै जस्तो देखिनु स्वाभाविक नै देखिन्छ । एउटै पोस्टरमा उभिएको अनि नृत्य मुद्रामा (ताण्डव नृत्य) देखिनु चाहिँ फेरि देव शिवको प्रतिनिधित्व हुनु गराउनु पनि हो । यसरी एउटै खुट्टाले उभिनु अनि हस्तमुद्राहरू नृत्यसँग नजिक देखिंदा पनि सबै भैरवहरू एक तमासको देखिन्छ । स्वभावतः सबै भैरवहरू स्वादिलो र रहरलाग्दो प्रकारले नाचिरहेका देखिन्छन् । यसले कलागत सौन्दर्यतालाई पनि स्थापित गरेको देखिन्छ ।

अनि मान्छेलाई अर्थात् राक्षसी प्रवृत्तिलाई टेकेर उभिएको देखिनु चाहिँ अज्ञानता र राक्षसीपनलाई उठ्नै नदिने गरी दबाइराख्न हो, भन्ने पनि अर्थ लुकेको देखिन्छ । यो एउटा परम्परागत मान्यतामा मानवरूपी राक्षसीपन अनि अज्ञानतालाई कुल्चिएर यसको नास गर्ने उपक्रम देखिन्छ । यो हाम्रो समाजमा उहिले देखिने परिकल्पना गरिएको छ । यसैलाई मुकेशले गरेको अलग्ग ढङ्गको कलागत संरचनाले अझ प्रभावपूर्ण ढङ्गले यो भाष्यलाई प्रभावित गरेको महसूस हुन्छ । यसैलाई नितान्त नौलो ढङ्गबाट अवधारण समेत गाँसेर थप पाइलाका साथ मुकेशले बनाउन थालेका हुन् । हाम्रो पूर्वीय संस्कृति वा धर्ममा दुर्गुण वा अज्ञानता, अनि राक्षसीपनको भयावह स्थितिलाई संहार गर्न अनि मानव–मात्रको संरक्षण गर्न पनि भैरवको परिकल्पना गरिएको हो । यो नौलो विषय नवीन पाराले पस्कनुले पनि यो उनको चित्रको सबल पक्ष देखिन्छ । यसो हुँदा पनि उनका कलालाई चिन्न क्यानभासमा अलग्ग रूपमा नाम हेरिरहन पर्दैन ।

यसैले यो पोस्चरले यस्तायस्तै परम्परागत मान्यतालाई बोकेर बसेको पनि देखिन्छ । अनि परोक्ष रूपमा आज पनि यसैको आवश्यकतामा अनेक आन्दोलनहरू भइरहेका छन् । यसै गर्न पनि माग बढिरहेको देखिन्छ । यी कुराहरूको प्रतीकात्मक विम्बको रूपमा पनि यी कलाहरू देखा पर्दा समसामयिक सन्दर्भमा यसको महत्ता अझ बढेर गएको देखिन्छ ।

भैरवको मुखमण्डल (मास्क) चाहिँ अलग अलग छन् । हरेक मास्कको भागभङ्गिमा, रङहरू जस्ताकै तस्तै राख्न (शास्त्रमा जे छ , जसरी मठमन्दिरमा देखिन्छन्) कोशिश हुँदा पनि सर्वाङ्गमा सेतो वा पहेँलोले दबाब दिइरहेको चित्रगत संरचनामा चहकिलो रङले भरिएको मुखमण्डल अझ खुलस्त भएर उदाएको देखिन्छ । आयुध र आसन पनि थोरै अलग अलग छ । यसो हुँदा भैरवका रूप जहाँ जस्तोसुकै अवस्थामा अवतरित भए पनि उनी एकै हुन् भन्ने शाश्वत सत्यतालाई पनि यसले इङ्गित गरेको देखिन्छ । तर बाह्य चक्षुले हेर्न खोज्दा अलग अलग रूपमा देखिन्छ भन्ने भाष्यलाई पनि स्थापित गर्न खोजेको देखिन्छ । अझ विश्वव्यापी रूपमा फैलिएको भैरवको कुरा गर्दा त पचासौँ भैरवका अलग अलग रूपहरू देखिन्छन् । अनि पोस्चर त अझ नितान्त अलग अल रूपमा देखा पर्दछ । यसैले गर्दा काठमाडौं उपत्यकामा आम मान्छेमा चर्चामा रहेका भैरवहरूलाई मात्र कलाकारले केन्द्रबिन्दु राखेको देखिन्छ । यसो हुँदा पनि काठमाडौं उपत्यकाभित्र चरम चर्चामा रहेका आठ वटा भैरवहरूलाई शिवसँग गाँसेर प्रस्तुत गर्न आशय देखिदा पनि यहाँ समग्र भैरवको विशेषताहरूलाई भने छाम्न सकिन्न ।

भैरव अनि यसैको मूल रूप देव–शिव घुलमिलाएर प्रस्तुत हुँदै गर्दा पनि शिवका कैयौँ विशेषतालाई पनि कलाकारले समायोजन गरेका छन् । आयुधको रूपमा त्रिशूल अनि डमरु वा सर्प स्पष्ट रूपमा देखा पर्दछ । जसले शिवको रूपलाई सहजै पहिचान हुने गर्दछ । भैरव स्वयं पनि शिवका अवतारको रूपमा मान्ने गरिन्छ । यी दुवैको अलग अलग विशेषता लाई देखाउन पनि कतै आयुध कतै आसन अनि कतै अनुहार स्वयं पनि समायोजन हुन पुगेको देखिन्छ । भैरव स्वयं उग्र रूपमा देखिने हुँदा पनि शिवको डरलाग्दो ताण्डव नृत्यलाई कलाकारले सबैजसो भैरवका यी चित्रहरूमा मिलाएर राखेको देखिन्छ । यी दुई प्राणी सजिलै अलग्गाउनै नसकिने गरेर सङ्गठित गर्ने उनको यो एप्रोच पनि गजब कै छ ।

कैयौँ भैरवहरूको मास्क मात्र देखिने हुनाले पनि कतिपय ठाउँमा चाहिँ शरीरको स्वरूप कलाकार आफैँले कल्पनामा गुथेको देखिन्छ । यसो हुँदा पनि सबैमा एकरूपता कायम गर्न अनि सौन्दर्ययुक्त बनाउन कलाकारले आफ्नै ढङ्गले पोस्चरहरू निर्माण गरेको देखिन्छ। यसरी कतै परम्परागत अनि कतै आफ्नैपन देखिँदा पनि आधुनिकता र परम्पराको गजबको मिलन भएको देखिन्छ । रमाइलो कुरा त भैरवको सबैभन्दा नभई नहुने वाहन कुकुरलाई भने कतै समायोजन गरेको देखिँदैन । कुकुर वाहन मात्र होइन, स्वयं भैरवको रूप हो भनेर मान्ने प्रचलन पनि छ । अर्को मुख्य आयुध दण्डी हो, जुन कतै–कतै देखिएता पनि स्पष्ट रूपमा भने यसलाई ल्याइएको देखिँदैन । मूलतः भैरवले पापीहरूलाई सजाय दिन पनि यही दण्डीको प्रयोग गर्ने गर्दछन् भन्ने जनविश्वास छ ।

स्वयं भैरव चाहिँ हिन्दूको शैविज्म अनि बौद्ध धर्मको वज्रयानी सम्प्रदायका आराध्य देव हुन् । डरलाग्दो अनुहारको रूप बाँकेको देव भैरवले डरलाई नाश गर्दछ अथवा डरदेखि पर रहन्छ भन्ने पनि गरिन्छ । आयुधहरूमा त्रिशूल, खट्वाङ्ग, तरवार, कपाल, सिकल, वज्र, नुज, पिनाक तीर, पशुपतास्त्र तीर, पेष्टर र डमरु हुन् । मूलतः भैरवले परब्रह्म अनि सुपर रियालिटीलाई प्रतिनिधित्व गरिरहेको हुन्छ । डिस्ट्रक्सन अनि प्रोटेक्टरको रूपमा यी देव भैरवलाई मान्ने प्रचलन उहिलेदेखि नै छ । धर्मपण्डित वा शास्त्रअनुसार यसको रूप, आसन र आयुधहरूलाई अलि डरलाग्दो रूपमा कल्पना गरिएको छ । हिन्दू अनि बौद्ध धर्म दुवैका आराध्य देवको रूपमा मानिने यी देव तन्त्रको अवधारणासँग नजिक मानिन्छन् ।

अर्थात्, भैरवका आठ रूपभन्दा पनि काठमाडौं उपत्यकामा पाइने शक्तिशाली भैरवहरूलाई थोरै नयाँ पारामा, आन्तरिक शक्तिलाई उजागर गर्ने क्रममा प्रस्तुत भएको देखिन्छ । काठमाडौं उपत्यकामा पाइने कैयौँ भैरवलाई यहाँ समायोजन गरिएको छैन । लोकगाथा वा शास्त्रमा जसरी वर्णन गरिएको छ, त्यसलाई उनले बिगार्न खोजेको देखिँदैन । तर उनले जसरी यसलाई व्याख्या गरे, बुझे, त्यसलाई पनि आधुनिक पारामा जोडेका कारण यो भैरवको रूप थोरै अलग देखिन गएको हो । यसर्थ यहाँ देखिन आएको भैरवको पोस्चर अन्य कहीँ पनि देखिँदैन । यसो हुँदा नयाँ स्वरूपमा विकसित भएको देव–भैरव परम्परा र आधुनिकताको फ्युजनका रूपमा पनि देखिन्छ ।

ह्युमन फिगरमा खेलिबस्ने मुकेश गत वर्षहरूदेखि मानवहरूलाई एकआपसमा खप्टाएर, एउटै ठाउँमा जोडी अनौठो जीवका रूपमा बनाई अमूर्तताको भाव ल्याउने अनेक प्रयोगात्मक काम गर्दै आएका अनुभवी कलाकार हुन् । उनका शुरू–शुरूका चित्रहरूले मन र शरीरलाई अमूर्ततामा पनि प्रस्तुत गरेका थिए । हुन त आज देखिएका कलाहरू त्यसैको अझ विकसित रूप हुन् । यस अर्थले पनि उनलाई राम्ररी बुझ्न उनका त्यस बेलाका चित्रहरू पनि अवलोकन गर्न जरूरी छ ।

यो स्वयं पनि अनौठो कलागत संरचनामा मात्र होइन, दुई अलग–अलग अवयवहरूको चारित्रिक गुणलाई समायोजन गर्ने वा एकाकारमा प्रस्तुत गर्ने सोच पनि हो । उनले देवी–देवताहरूलाई पृथक् शैलीमा आफ्ना क्यानभासमा ओराल्छन् । तत्पश्चात् परम्परागत भाष्यलाई पुनर्व्याख्यासहित प्रस्तुत गर्ने गर्दछन् । यी भैरवका चित्रहरू यसैको थप पाइला हुन् । यो उनको कलागत नितान्त नेपाली शैलीले विश्वमाझ पनि एक अलग पहिचान बनाइसकेको छ । विदेशका कैयौँ ठाउँमा यस्तै–यस्तै कलाहरू प्रदर्शन हुनु मात्र होइन, यस्ता कलाहरूले यथोचित स्थान पनि पाएका छन् ।

यसको अर्को पाटो भनेको चाहिँ नेपाली समसामयिक कलाको इतिहासमा कलामा मिथक प्रयोग भएको यो चरम–उत्कर्ष रूप पनि हो । विश्व कलाको परिवेशमै पनि समसामयिक कलाको यो नवीनतम धार हो, जसलाई अहिले मुकेशले अत्यन्त तीव्रताका साथ प्रयोग गरिरहेका छन् । हुन त नेपाली समसामयिक कलामा मिथकको प्रयोग सन् साठीको दशकको अन्त्यतिर नै शुभारम्भ भइसकेको थियो । अझ शास्त्रीय कलामा त मिथकको प्रयोग हजारौँ वर्षदेखि हुँदै आएको छ । मूलतः मुकेशले यही परम्परालाई कायम राख्दै देव–भैरवलाई समसामयिक अवस्था र आजको अवधारणासँग प्रस्तुत गरेका छन् । यसर्थ यो नितान्त परम्परागत कलाको रूपमा देखिए पनि आजको समसामयिक कला हो । यसो हुँदा पनि उनको कला अलग्गै अर्थ राख्दछ ।

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.