नेपाली साहित्यमा बहुआयामिक परिचयका उदाहरण हुनुहुन्छ प्रोफेसर गोविन्दराज भट्टराई । विश्वविद्यालयका अंग्रेजी भाषाका गुरुलाई साहित्यकार भनेर चिनेको धेरैपछि हो यो पङ्क्तिकारले ।
पातल प्रवासमा पसेपछि सातौं नम्बरमा भेटिनु भएको थियो, गोविन्दराज भट्टराई । उहाँको कान्छो भाइ नजन्मँदैका ‘मुगलान’ उपन्यासका लेखकलाई यो पाठकले लेखक साहित्यकारका रूपमा चिने-सुनेको ‘सुकरातका पाइला’ पछि मात्र हो । सम्भवतः गुरुको यो कृति भने उहाँकै कान्छो भाइको ‘स्रष्टा र समय’ भन्दा कान्छो र ‘रेगिस्तान डायरी’को दामले हुनुपर्छ । यी दुवै कृतिका लेखक हुन् पत्रकार मित्र देवेन्द्र भट्टराई । लातको भूत बातदेखि डराउँदैन, शायद यही भएर पो हो कि देवेन्द्र साहित्यिक लेखनको मिष्टान्न भोजन छोडेर अखबारी लेखनको कोर्रा चलाइरहेछन् ! अखबारी लेखनका बाटोमा भेटेको हो देवेन्द्रजीलाई यो पङ्क्तिकारले । वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई (लेखक ‘चिठी-पत्र’समेत) यसै परिवारका सदस्य हुनुन्छ । चिनिन बाँकी यस परिवारका अन्य साहित्यिक सर्जकहरूको परिचय पनि समयकालमा खुल्दै जाला !
यो सन्दर्भ हो- प्रोफेसर भट्टराईकृत ‘मुगलान’ उपन्यास माथिको पाठकीय रायको । साहित्यिक सिद्धान्तका कसीमा यो यस्तो मात्र हो- हात्तीलाई छामेर गरेको अनुमान जस्तो । अनुमान गर्न सकिन्छ, आँखा चिम्लेर हात्ती छामे त्यो पूर्ण हात्ती नभएर शरीरको कुनै अङ्गहरू मात्र हुनसक्छन् !
पाताल बासको सातौं नम्बरमा प्रोफेसर गोविन्दराज भट्टराईले लेख्नुभएको छ- ‘जीवन अपूर्ण आनन्द र अपूर्व संघर्षको संगम हो । अलिकति आकांक्षा, अलिकति भग्नाशा, अलिकति प्रेम र अलिकति घृणा हो ।’ बाँकी ७ वाक्यको सम्बन्धमा अर्को कुनै सन्दर्भमा चर्चा गरौंला ।
संयोग यो कस्तो मिलेको रहेछ भने – मुगलानको कथानक पनि लेखकका माथिका यिनै अभिव्यक्तिसँग मिलेको । जीवनलाई हेर्ने, बुझ्ने र व्यक्त गर्ने नै हो साहित्य सृजनाका माध्यमहरूबाट पनि । लेखक भट्टराईले प्रथम साहित्यिक सिर्जनामा प्रकट गरेको त्यही निष्कर्ष हो – ‘मुगलान’ ।
लेखकले ५० वर्ष पहिले लेखेको आफ्नै कृति ‘मुगलान’ कै निष्कर्ष पातल प्रदेशको अर्को मुगलानेको डायरीमा लेख्नुभएको रहेछ । यो कस्तो संयोग ? अहिले गम खाँदैछु ! यस्तो लाग्छ, दुई दशक पहिले लेखक भट्टराई यो पङ्क्तिकारलाई भन्दै हुनुहुन्थ्यो- “मुगलानको त्यही कष्टसाध्य बाटोमा हिंडेको रहेछस् हौ… तँ पनि !”
एउटा नेपालीले कतिसम्म दुःख भोग्न सक्छ ? हरेक नेपालीले कतिसम्म दुःख भोगिरहेका छन् ! कथा के हो ? कथाका सम्बन्धमा महाकवि देवकोटाले भनेकै ‘सामाजलाई हेर्ने त्यही आँखीझ्याल हो’ मुगलान । यस उपन्यासको परिवेशले विगतको मात्र होइन वर्मानसम्मकै नेपाली समाजको ऐना देखाएको छ ।
गत वर्ष गोरखापत्रमा एउटा समाचार प्रकाशित भएको थियो – सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७ सय ३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १ सय २१ छ । जसमध्ये बालक ६ सय ३० र बालिका ४ सय ९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८ सय ७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् ।
– ललित बसेल,सुर्खेत, २०८१ माघ २७ गते,गोरखापत्र दैनिक
मुगलानेको मन दुख्न धेरै केही नचाहिने रहेछ । यस समाचारले पनि मुगलानेको मन छोयो । तर मुगलान भन्नु नै भारत चैं हो कि होइन ? समाचार, समाचारको भाषा र सन्देशका बारेमा पनि कसैले बोलिदिए जाती हुनेथियो । रोजगारीका लागि देशबाहिर जानु ‘मुगलान पस्नु’ हो भने यस समाचारमा …‘भारत (मुगलान) … चैं नलेखिदिएको भए हुन्थ्यो । ‘उनीहरू रोजगारीका लागि जाने आमाबुबाहरूकै पछि लागेर भारत पुगेका छन् ।’ अंग्रेजी भाषामा लेख्दा ‘एस, एच’ वा ‘जी, जे, जेड’ केही बिग्रेला भनेर हात कमाउने हामी अर्थात् नेपाली भाषीहरू नेपाली लेख्दा ‘भाषाको काम कुरा बुझाउने हो’- फुल खाए कुखुराको अण्डा, गलामा लगाए वा शिरमा राखे त्यही ‘फुल’ गोदावरी-सयपत्रीको माला भनेर तर्क पनि गरिरहेका छौं । यस्तो लाग्छ, नेपाली भाषा ‘पुरातनवादी’ मानिने खस आर्यको भागमा परेको छ ! यो भाषाको मानक र मर्यादा उनैको जिम्मा !
नेपालीका दुःख खोज्न कतै जानै पर्दैन । देवकोटाको ‘मुनामदन’, धर्मराज थापाको ‘नेपालीले माया मार्यो’, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ हेरे पुग्छ । यी त सम्झेका उदाहरण भए । म पनि एक मुग्लाने हुँ, भोगिरहेको, पढेको वा देखेको र सुनेको मुग्लान । हिजो नेपालमा भूटानी शरणार्थीका कथा-व्यथा बुझ्दै-लेख्दै झापा-मोरङ तिरका शरणार्थी क्याम्पहरूमा हिंड्दा मैले यस्तो मुग्लानको कल्पना र सपना देखेको थिइन । यस्तो पनि कसरी हुन्छ ? बासै उठाएर सरकारले निहत्था नागरिकहरूलाई कसरी डाँडो कटाउँछ होला जस्तो लाग्थ्यो !
साहू वा ठेकेदारको चक्करमा परेर पनि होइन । शासक लाग्नै परेन, रोजेर नै त्यही बाटोमा पाइला परेछन् ! आधुनिक ‘नेभिगेटर’ले ‘रङ डाइरेक्सन’मा पो ल्याइपुर्याएछ ! अभिमन्युले साहसले चढेको चक्रव्यूहमा बुद्धिले काम गरेन । मानिसले देख्ने र रुने त्यही लेखेको दुःख पढेर, हेरेर त हो । दुःख भोगेर कोही रोएको छ र ? हामी रोएको बसाइँ वा जयमाया… होस् वा मुगलान पढेर र पूर्णेको सारङ्गी हेरेर हो । अबका पाठकले बसाइँ पढ्नु पर्दैन । मुगलान पनि बुझ्नु पर्दैन । अब सहकारीको पैसा अपचलन बुझे मात्र हुन्छ । वैदेशिक रोजगारीको ठगी भोगे पुग्छ । अनलाइन बैंक ‘स्क्याम’ मा परे वा ‘सोसल मिडियाका अन सोसल कन्टेन्ट’ र आइडी ह्याकरले गरेको बार्गेनिङ र लुटेको देखे थाहा हुन्छ ।
यी पङ्क्ति लेख्दै गर्दा अमेरिकाका नवनिर्वाचित ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कसरी, को माथि, कहिले खनिने हुन् ‘डाइभर्सिटी सोसाइटी’ माथि सर्वत्र चासो र त्रास पनि छ ! उनले ‘डाइभर्सिटी भिसा लोट्री’ अर्थात् चिट्ठा मार्फत् हुने आप्रवासन सुविधामा कैंची चलाउँदैछन् । उता हङ्कङ् निवासी भयवादी साहित्यका अध्येता देश सुब्बा यसले नेपालीसमेत विश्व समुदायलाई पार्ने भयको आकलन गर्दैछन् । भन्छन् – राष्ट्रपति ट्रम्प प्रशासनका आप्रवासन सम्बन्धी नीतिहरू ‘अमेरिकी सुरक्षाको प्राथमिकता’ मा हो तर विश्व समुदायले भय महसूस गरिरहेको छ ।
दुःख, गरीबी र अभावको कथा हो ‘मुगलान’ । मान्छेमा मानवता हराएको कथा पनि हो यो । नेपालको इलाम-पाँचथरबाट हाट भर्न भारतको दार्जेलिङ् बजार पुगेका नेपालीहरूको समूहबाट २ जना भाग्छन् । रिकुटमा भर्ना भएर राइफल समात्ने सपना बोकेर आफ्नो बगाल छोडेर भागेका नेपाली नौजवानहरू ‘डे वान’देखि नै भूटानमा निर्माण हुँदै गरेको सडकका ठेकेदारहरूको चङ्गुलमा परेर एकपछि अर्को ठेकेदारसँग बेचिन पुग्छन् । सडकको कष्टसाध्य काम, ज्यालामा ठेकेदारको मनलाग्दि कटौती, भौगोलिक विकटता आदि असाध्य परिस्थितिको सामना गर्न बाध्य मजदूरका दुःखले पाठकको मन दुखाउँछ । दिनभरि आफूसँगै काम गरेर क्याम्पमा फर्केला भनेर पर्खेको साथीलाई भोलिपल्ट हिउँले खाएको हृदयविदारक दृश्य, काम छोडेर भाग्दाका दशौं दिनसम्मको निर्जन जङ्गल यात्रा, यात्रामा आफैसँग सुतेको साथीको इहलिला समाप्त भएको बिहानी आदि अनुमान बाहिरका कथा शिल्प हुन् । कथाका कथाको मध्यान्तरमा सुतार कान्छाको जीवनमा आएको उज्याला दिन शुरू भए जस्तो लाग्छ ऊ केही पैसो जगेडा गरेर घर फर्किन्छ । तर मध्यान्तर क्षणिक उज्यालो र द्विविधाबाट अगाडि बढ्दाबढ्दै झन् अँध्यारोतिर धकेलिन्छ ।
‘मुगलान’का पात्रहरूले चर्चेको भूगोल
मुगलानमा सुतार कान्छाले पछिल्लो पटक आफ्ना वयोवृद्ध पितालाई रेल स्टेशनमा भेट्नु पहिले किन आफ्नी जहान सम्झेन भन्ने लागेको थियो । तर पनि ऊ छोरीलाई लिएर घरै फर्केपछि थप दुःखान्त वा सुखान्त पनि हुनसक्थ्यो । तर त्यस्तो हुँदैन । सुतार कान्छो स्वयं पिता, जसले जीवनमा दुःखको पहाड बोकेर सास धान्यो, ऊ घर फर्किंदैन । उसैलाई प्रवासमा पुत्रीमाथि झम्टिने पात्रका रूपमा प्रस्तुत गरेर लेखकले पात्र माथि अन्याय गरेका छन् ! यिनको निर्दोषिताका बारेमा अर्थात् उनीमाथि लेखकले गरेको अन्यायका विरुद्ध सडकमा टायर कसले बालिदिने ? चक्काजाम कसले गरिदने ? माइती घर मण्डलामा गएर को उभिने ? यस्तो लाग्छ – लेखकहरूले यो सम्मको अन्याय पात्रहरूमाथि नगरे पनि हुने ! पात्रको इमानदारिता र निर्दोषिताको सम्मान तथा संरक्षण वास्तविक जीवनमा हुन नसकोस् तर आख्यानहरूमा मात्र भए पनि उदाहरणीय एवम् प्रेरणादायी त हुनेथियो ।
कथा अगाडि बढ्दै जाँदा दुःखान्त त होला नै तर अन्तिममा सुतार कान्छालाई डिभाइडे भनेर पक्राउ गर्लान् सोचेको थिएँ । तर त्यस्तो पनि हुँदैन । पाठकले लेखकलाई अनुमान गर्ने होइन रहेछ । सुतार कान्छो लेखकले थोपरेको आफ्नो कुकर्मले विक्षिप्त भएर जिउँदै डायना खोलाको पहरामा हराउँछ ! ज्यादै दुखान्त, सुतार कान्छाको प्रेतात्माले शान्ति कहिले पाउला ? नजाने के सुतार कान्छाका नाममा पाथीभरा मन्दिरमा तिनका परिवारले पहिले नै दियो बालिदिए होलान् त !
मुगलान पढेपछि नरहरि शर्माको ‘मेचीपारि र वारिपारि’ सम्झें । यो पाँच दशक पुरानो नेपाली युवाले भोगेको दुःख बिसाउने शर्माको नाट्य कृति हो । यो पनि ठेकेदारले गरेको श्रम शोषणको कथा हो । साहू महाजनको कहर, ठेकेदारको ज्यादती, परायभूमिमा श्रम पसिना नेपाली जनको विगतदेखि कै विरासत रहेछ !
मुग्लान, लेखकले २१ वर्षको उमेरमा ५० वर्ष पहिले लेखेको र नेपाली जनले भोगेको यो कथा र कथ्य ‘अपत्यारिलो संयोग’ लाग्छ । त्यो समय र उमेरमा लेखकले निक्कै अगाडि हेरेका रहेछन् । मान्छेले मान्छेलाई नै खाइरहेछ र विकासले मानिसलाई दुःख दिरहेछ । प्रविधि, विकास, भूगोल, स्थानीय संस्कृतिलाई लेखकले मसिनोसँग केलाएर पाठकलाई कृतिले चर्चेको भूगोलमा पुर्याएका छन् । यस्तो लाग्छ – यति धेरै मसिनोसँग लेखकले ती भूगोलको पाटा-पाटा कसरी केलाउन सके ? त्यहाँको सामाजिक परिवेशमा पाठकहरू घुलमिल हुनसक्छन् । प्रथा-परम्परा भाषा, समुदाय र भूगोल पनि मिल्दोजुल्दो र मित्रवत् लाग्छ । तर व्यवहार र परिणाम भने ठीक उल्टो कहालीलाग्दो, क्रूर, हिंस्रक र अमानवीय तथा त्यतिकै निन्दनीय पनि !
‘मुगलान’भन्दा पुरानो हो – ‘बसाइँ’ । लीलबहादुर क्षेत्रीकृत बसाइँ धेरै पटक पढेको भए पनि मुगलानसँग तुलना गर्न मन लाग्यो । यता रोजगारीको खोजीमा भौंतारिएका इमानदार श्रमजीवी युवाहरूमाथि भएको कहालीलाग्दो श्रम शोषणको कथा छ । उता, इमानदार ग्रामीण किसान साहुको झेली चक्रव्यूहमा परेर जन्मथलो छोडेर नजाने कुन मुगलानतिर बसाइँ सर्छ ! दुवै कृतिमा इमानदार श्रमजीवीहरूमाथि अमानवीय र असाध्य ज्यादतीको बयान छ । बसाइँमा इमानदार युवा उज्यालोको सपना बोकेर अगाडि बढ्छ । मुगलानमा आजीवन इमानदार श्रमिक निराशाको चरम अवस्थामा जीवनभरको सपना कुल्चेर अकल्पनीय व्यवहार गर्नपुग्छ ।
‘बसाइँ’ उपन्यास र ‘मेचीपारि र वारिपारि’ नाटक यी दुवै कृतिभन्दा केही वर्ष जेठो तर यही भूगोलको आसपासमा नेपाली भाषी र नेपाली जातिले भोगेको अर्को दुर्दान्त कथा हो- इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ । सन् १९४५ आसपासमा जन्मेकी जयमाया (‘विपना कतिपय’ कथा सङ्ग्रह, सन् १९६१) जो १५-१६ वर्षको उमेरमा दोस्रो विश्वयुद्धपछि बर्माबाट खेदिएर शरणार्थीहरूको रूपमा लिखापनी आइपुगेकी थिई, उसैलाई विसं २०५०-६० को दशकमा ‘शरणार्थी’ उपन्यासमा कृष्ण धरावासीले ६५ वर्षको उमेरमा पनि आफ्नो देश पुग्न नसकेको पुनः स्मरण गराउनुभएको थियो । उनै जयमायालाई अनुमानतः ८०-८५ वर्षको उमेरमा धरावासी दाइले नै ‘ग्रेट फल्स’मा अमेरिका भित्राउनु भएको छ । थाहा छैन, जयमायाले अहिले उनको ८ दशक कटेको कायालाई शरणार्थी जीवनको कष्टकर यात्रामा कहाँ पुर्याइन् होला । जयमायाले खोजेको देश अगाडिको हो कि पछाडिको यो पनि छुट्टै बहसको विषय हो । उत्तर आधुनिक होस् वा लीलालेखनका अभ्यासहरूमा पूर्व प्रकाशित कृतिहरूका पात्रहरूलाई तिनका अनुज वा लेखक स्वयंले नै निरन्तरता दिने प्रयास गरेका अन्य उदाहरणहरू पनि छन् । नयाँ मुगलान, पनि प्रोफेसर भट्टराईकै ‘सिक्वेल राइटिङ्’ श्रृङ्खला लेखन हो ।
मुगलानतिर नै फर्कौं- यस्तो लाग्छ, यति धेरै कठोरता त्यही इमानदार पात्रमाथि लेखकले गर्नुहुँदैन थियो । इमानदारले जाने ठाउँ नै बाँकी नरहेको यो अँध्यारो बाटोले पाठकलाई ठूलै झट्का दिन्छ । सुखान्त काव्यकृतिको नेपाली साहित्य परम्परामा यो मिष्टान्न भोजनमा लाग्ने ठूलो ढुङ्गा हो । यसो त साहित्यमा हुने सिद्धान्त र प्रयोग ज्यादा दुःखान्त नै पाइन्छ । बजार र भावनाको प्रभाव पनि यही होला । यसो त लेखक गोविन्दराज भट्टराई अंग्रेजी साहित्यका अध्येता र विज्ञ हुनुहुन्छ । विश्व साहित्यमा पनि यो अभ्यास स्वाभाविक नै होला ।
दुःख भोग्नेहरू जीवनको अतृप्त जिजीविषा बोकेर आँसुको भेललाई दबाइरहेका हुन्छन् । मुटुमा व्यथाको गुजुल्टो पारेर अनुहारमा उज्यालो पोतिरहेका हुन्छन् । असफल विपनाको दुःख बिर्सेर सुखको सपनामा खुशी देखिन्छन् ।
सबै मानिसका आ-आफ्नै दुःखका पहाड हुन्छन् र सबैलाई ती सबैभन्दा ठूलो मेरै मात्र हो भन्ने लाग्छ । दुःखको भारी र आँसुको पर्याय नै हो मानिस । हाँस्नु त ‘देखाउने दाँत’ मात्र हो । आँसु त खुशीमा पनि झर्छ । कसैको दुःख लेखक वा स्वयं दुःखी पात्रले नै नलेख्दा अरूले कसरी अनुमान गर्छन् ? रुने दुःख भोग्नेले होइन । रुने दुःख देख्ने वा पढ्ने र हेर्नेले मात्र हो । मानिसलाई रुवाउने दुःखले होइन, दुःखको कल्पनाले रहेछ ।
आखिर सुतार कान्छो जतिसुकै दुःखको पहाडले थिचिए पनि किन रोएन ? उसैको कथा पढेर पाठकहरू रोइरहेका छन् । यस कथामाथि ५ दशक यता किन कुनै चलचित्र बनेनन् ? अलिक अनौठो पनि लाग्यो । यो कठोरतालाई छायाङ्कन गर्ने दुष्साहस कसैले गर्न चाहेनन् । लाग्छ, चलचित्र कर्मीहरूले यति कठोर कथामा हात हाल्ने आँट नै गरेनन् । गरुन् पनि कसरी जबकि उनै लेखकले ‘दोस्रो मुग्लान’ किन लेख्नु पर्थ्यो । आशा छ, नयाँ मुगलानमा लेखकले इमानदार पात्रमाथि यति धेरै क्रूरता नदोहोर्याएका हुन् ! के सत्यको जित र अन्यायको अन्त्य नहुने नै विधिको विधान हो र ?
नेपालीका दुःख देखाउने र बिसाउने साहित्यिक कृति अरू पनि धेरै छन् । धर्मराज थापाको ‘नेपालीले माया मार्यो बरीलै …’ गीत पनि सम्झनुपर्छ । लोक गायक तथा जनकवि केशरी थापाको गीतको एउटा अंश-
रोप्दैछौं हामी काट्दैछौं हामी
दाइँ हाल्छ अर्कै पाखाको आई ।
दार्जेलिङ्ग, आसाम, बर्माको गोठमा
भागसू र सीमला ल्हासा औ गोठमा
भैछौ कि कामदार गोठाला कुल्ली
जिन्दगी भर परदेशमै हल्ली ।।
दुःख वा वियोगान्त कथाको उदाहरण त लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर’ पनि हो । नेपाली साहित्यमा नचिनिएका प्राध्यापक उपेन्द्र पोखरेल धनकुटामा चिनिएका समाजिक र शैक्षिक उन्नयनमा परिचित व्यक्तित्व थिए । उनै पोखरेलकृत ‘मिमि (२०२४)’, लघु उपन्यास वा लामो कथा पनि वियोगान्त र दुःख बोकेको कथाको अर्को एउटा आँखीझ्याल नै हो । यसो त उपन्यासलाई लामाकथा र कथालाई लघुउपन्यास भने पनि त हुन्छ नि ! माथि नै उल्लेख कथाकार, उपन्यासकार तथा आयामेली र लीलालेखन साहित्य सिद्धान्तका अगुवा इन्द्रबहादुर राईको ‘जयामाया मात्र लिखापानी आइपुगी’ पनि यसै प्रकारको लघु उपन्यासको उदाहरण हो । जयमायाहरू शासक र प्रकृतिको क्रूरताको शिकार बने । सुतार कान्छाहरू साहू र ठेकेदारहरूको अमानवीय यातनाको शिकार ! ‘मुगलान’ उपन्यास पढ्दा यस्तो लाग्छ, मानौं नेपालीको नियति यही हो –
दुःखीको घरमा मात्र तेरो बास हुने भए,
हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे ।
– बालकृष्ण सम, मुकुन्द इन्दिरा (वि.सं. १९९४)

