बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा जन्मिएका कवि बलराम उपाध्याय हाल टोकियोका सडकहरूमा आफ्ना संघर्ष र सपनाका पाइलाहरू पछ्याइरहेका छन् । करीब ९ वर्षअघि जापान प्रवेश गरेका कवि उपाध्याय आफ्नो अध्ययन र पेशासँगै साहित्यकर्मलाई पनि समानान्तर रूपमा अगाडि बढाइरहेका छन् । बर्दियाबाट प्रकाशन हुने उदगार साहित्यिक पत्रिकाको प्रधान सम्पादक हुँदै विभिन्न सञ्चार माध्यममा आबद्ध भएका कवि उपाध्याय सञ्चारकर्मी र कुशल साहित्य सङ्गठक पनि हुन् । साठीको दसकमा बर्दिया, नेपालगञ्ज र सुर्खेतमा हुने साहित्यिक समारोहहरू र स्थानीय रेडियोहरूले सञ्चालन गर्ने कार्यक्रमहरूले उनलाई नजानिंदो तरिकाले साहित्यतिर डोराएको उनी सम्झन्छन् ।
नेपाली साहित्यमा विशेष रुचि राख्ने कवि बलराम उपाध्याय अंग्रेजी साहित्यमा पनि उत्तिकै रुचि र दखल राख्छन् । दार्शनिक चेतनासहित कविता परख गर्ने कवि उपाध्याय कविताका सम्बन्धमा भन्छन् ‘कविता मेरो लागि जीवन बुझ्ने सबैभन्दा नजिकको भाषा हो । यसभित्र म जीवनका सुख दुःख, संघर्ष र समाजका यथार्थ भेट्छु ।’
कविताको सामाजिक स्वरसम्बन्धमा उनी भन्छन्, ‘कविता केवल व्यक्तिगत अनुभूतिको अभिव्यक्ति मात्र पनि होइन, यो समाजको सामूहिक चेतनाको स्वर पनि हो ।’
भावको स्वतन्त्रता, विचारको गहिराइ र समकालीन चेतना गद्य कवितामा अझ प्रभावकारी रूपमा व्यक्त गर्न सकिन्छ भन्ने विश्वास राख्ने कवि उपाध्याय मनभित्रको अनुभूतिलाई अमर बनाउने माध्यम कविता हो भन्ने ठान्दछन् ।
कवि भावनात्मक तीव्रतामा दार्शनिक चेत र मिथकीय सन्दर्भलाई आधुनिक प्रेम र अस्तित्वसँग जोड्ने सश्क्त क्षमता राख्दछन् । प्रेम, स्मृति, प्रतीक्षा, वियोग र आत्मपहिचान कविका केन्द्रीय विषय हुन् । उनका कविताहरू प्रेमजन्य पीडाको मात्र बयान होइनन्, बरु मान्छेभित्रको विघटन, प्रतीक्षा र आत्मसङ्घर्षको काव्यात्मक दस्तावेजहरू हुन् । आजको मुगलानी चराको आठौँ शृङ्खलामा उनै कवि बलराम उपाध्यायका चारवटा कविताहरू प्रस्तुत गरेका छौँ —
१.
प्रिय मान्छे !!
मेरो स्मृतिबाट पर पुग्न नपाउँदै
पुनः तिम्रा यादहरू !!
निस्सङ्कोच मेरो मगजका हरेक खोचहरूमा
निरङ्कुश शासन जमाउन थाल्छन्
विस्तारवादको अभियान चलाउन थाल्छन्
र
मेरा सपनाहरूमाथि
एकोहोरो सङ्कटकालको घोषणा गर्छन्
इशारामा निदाउन हुकुमत लागू हुन्छ
यो कस्तो स्मृति ?
मदिराको नशाभन्दा भयानक
हजार माइल यात्रा पछिको
पीडादायक थकानजस्तो,
शिशिरको चिसो सिरेटोजस्तो
यो कस्तो सम्झना ?
तिम्रो अभावमा म अचेल
सती वियोगमा विक्षिप्त
महादेवजस्तै भएको छु ।
कालकूट विषको नशाभन्दा भयानक
तिम्रा यादहरू स्मृतिमा लिएर
म लडेको छु,
ढलेको छु
विक्षिप्त भएको छु ।
म अचेल आफ्नै सपनाको मलामी जान्छु
र तिम्रो वियोगमा ढलेको
आफ्नै लाशमाथि आगो लगाउँछु !
एक दिन म पनि
यही महाशून्यमा बिलाउनेछु
र कतै तारामण्डलमा
ध्रुवतारा बनेर तिमीलाई
हेरिरहेको हुनेछु,
हरपल मेरो
स्मृतिमा आउने
ए प्रिय मान्छे !!
= = =
२.
पर्खाइ
यो कुनै युद्धमा सामेल सिपाहीको
घर फर्काइको आशामा बाँचेकी !
आमाको पर्खाइ होइन ।
विश्वविद्यालयको परीक्षा सकेर
नतिजा कुरेर बसेका बेरोजगार
युवा, युवतीको पर्खाइ पनि होइन ।
जिम्मेवारीको भारी बोकेर सँगै उकालो लागेको
साथी छुटेपछि चौतारीमा दु:खको भारी बिसाएर
साथीको प्रतीक्षामा पसिना पुछ्दै
बसेको भरियाको पर्खाइ पनि होइन ।
यो त राम वनवास गएपछि !
छोराको घर फर्काइको पर्खाइमा व्याकुल
भएका बाबु दशरथको जस्तो पर्खाइ हो ।
सरस्वतीको पर्खाइमा कालीको मन्दिरमा
जिभ्रो काट्न तयार मुर्ख
कालिदासको जस्तो पर्खाइ हो ।
यो त औँसीको कालो रातमा
पूर्णिमाको पर्खाइमा बाँचेको
विक्षिप्त एक प्रेमीको पर्खाइ हो ।
तपाईंलाई थाहा छ ?
जीवनको सबैभन्दा कठिन काम के हो ?
उत्तर एक कसैको प्रतीक्षामा बाँच्नु !
उत्तर दुई कसैको पर्खाइमा बाँच्नु!!!
= = =
३.
म एक उत्तर हुँ
तिमी कुरेर बसेको त्यो दोबोटो
प्रणय दिवसमा दिन जोगाएर
राखेको बगैँचाको त्यो गुलाब
सबै मेरो व्यग्र पर्खाइमा होलान् ?
वस्त्रहरूले छोप्न नसकेको
तिम्रो नवयौवन !
यौवनको विषाक्त नशा पिएर
कति मात्तिंदो हो ?
कति निसासिंदो हो ?
आफैंभित्र !
यो निर्जन शहरमा
तिम्रो सम्झनाको दियो बालेर
यादको मदिरा पिएर
म
बेहोस भएर ढलेको छु ।
मलाई शिशिरको
चिसो सिरेटोले छुँदैन !
मलाई आगोले पोल्दैन !
मेरो आत्मालाई
ईश्वरले पनि देख्दैन !
मेरा आँखाहरू
सपनाबिहीन भएका छन् ।
मेरा शब्दहरू
आवाजबिहीन भएका छन् ।
म लाटो भएको छु
भो नसोध्नु तिमीले
अब मेरो परिचय
किनकि ?
म एक नलेखिएको कथा हुँ
लयबिहीन गीत हुँ !
र
तिम्रा हजारौँ प्रश्नहरूको
म एक उत्तर हुँ !!
= = =
४.
गल्तीहरू
हिड्दै जाँदा बाटो बिराउनु
जानाजानी हुने गल्ती होइन ?
बाटो बिराउनु
न नियतिको दोष हो ।
न निर्णयको दोष हो ।
यो समयको दोष हो ।
समय अनुरूप सत्य बदलिन्छ
सत्य सधैं सत्य रहँदैन ।
इतिहासको सत्य
कालान्तरमा
झुटो साबित भैदिन्छ ।
मनबाट
सत्य पोखिन जान्दैन
मात्र सत्य पोखिन्छ
आँखाबाट !
यहाँ प्रणय दिवसमा
गुलाब दिनेहरू
सबै सत्य हुँदैनन्
मलाई थाहा छ
गुलाब दिनेहरूले
त्यति गल्ती गर्दैन
जति मन दिनेहरूले गर्छन् ?
हुन त बाटो बिराउनेहरू नै
अन्तिम गन्तव्यसम्मको
सफर गर्छन् ।
बाटो बिराउनु भनेको
गन्तव्य सम्मको बाटो चिन्नु
पनि हो ।
बग्ने खोलाले पनि
बाटो बिराउँछ कहिलेकाहीँ
बाटो नभुल्ने त सागरले
मात्र हो ।
गौतम बुद्ध, वाल्मिकी
सबै बाटो बिराएका
पथिक हुन्
बाटो बिराउनु भनेको
दिव्य उपदेश
पाउनु पनि हो ।

