साहित्यपोस्ट डट कम

मुगलानी चरा

मुगलानी चरा

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा जन्मिएका कवि बलराम उपाध्याय हाल टोकियोका सडकहरूमा आफ्ना संघर्ष र सपनाका पाइलाहरू पछ्याइरहेका छन् । करीब ९ वर्षअघि जापान प्रवेश गरेका कवि उपाध्याय आफ्नो अध्ययन र पेशासँगै साहित्यकर्मलाई पनि समानान्तर रूपमा अगाडि बढाइरहेका छन् । बर्दियाबाट प्रकाशन हुने उदगार साहित्यिक पत्रिकाको प्रधान सम्पादक हुँदै विभिन्न सञ्चार माध्यममा आबद्ध भएका कवि उपाध्याय सञ्चारकर्मी र कुशल साहित्य सङ्गठक पनि हुन् । साठीको दसकमा बर्दिया, नेपालगञ्ज र सुर्खेतमा हुने साहित्यिक समारोहहरू र स्थानीय रेडियोहरूले सञ्चालन गर्ने कार्यक्रमहरूले उनलाई नजानिंदो तरिकाले साहित्यतिर डोराएको उनी सम्झन्छन् ।

नेपाली साहित्यमा विशेष रुचि राख्ने कवि बलराम उपाध्याय अंग्रेजी साहित्यमा पनि उत्तिकै रुचि र दखल राख्छन् । दार्शनिक चेतनासहित कविता परख गर्ने कवि उपाध्याय कविताका सम्बन्धमा भन्छन् ‘कविता मेरो लागि जीवन बुझ्ने सबैभन्दा नजिकको भाषा हो । यसभित्र म जीवनका सुख दुःख, संघर्ष र समाजका यथार्थ भेट्छु ।’

कविताको सामाजिक स्वरसम्बन्धमा उनी भन्छन्, ‘कविता केवल व्यक्तिगत अनुभूतिको अभिव्यक्ति मात्र पनि होइन, यो समाजको सामूहिक चेतनाको स्वर पनि हो ।’

भावको स्वतन्त्रता, विचारको गहिराइ र समकालीन चेतना गद्य कवितामा अझ प्रभावकारी रूपमा व्यक्त गर्न सकिन्छ भन्ने विश्वास राख्ने कवि उपाध्याय मनभित्रको अनुभूतिलाई अमर बनाउने माध्यम कविता हो भन्ने ठान्दछन् ।

कवि भावनात्मक तीव्रतामा दार्शनिक चेत र मिथकीय सन्दर्भलाई आधुनिक प्रेम र अस्तित्वसँग जोड्ने सश्क्त क्षमता राख्दछन् । प्रेम, स्मृति, प्रतीक्षा, वियोग र आत्मपहिचान कविका केन्द्रीय विषय हुन् । उनका कविताहरू प्रेमजन्य पीडाको मात्र बयान होइनन्, बरु मान्छेभित्रको विघटन, प्रतीक्षा र आत्मसङ्घर्षको काव्यात्मक दस्तावेजहरू हुन् । आजको मुगलानी चराको आठौँ शृङ्खलामा उनै कवि बलराम उपाध्यायका चारवटा कविताहरू प्रस्तुत गरेका छौँ —

१.

प्रिय मान्छे !!

मेरो स्मृतिबाट पर पुग्न नपाउँदै

पुनः तिम्रा यादहरू !!

निस्सङ्‍कोच मेरो मगजका हरेक खोचहरूमा

निरङ्‌कुश शासन जमाउन थाल्छन्

विस्तारवादको अभियान चलाउन थाल्छन्

मेरा सपनाहरूमाथि

एकोहोरो सङ्कटकालको घोषणा गर्छन्

इशारामा निदाउन हुकुमत लागू हुन्छ

यो कस्तो स्मृति ?

मदिराको नशाभन्दा भयानक

हजार माइल यात्रा पछिको

पीडादायक थकानजस्तो,

शिशिरको चिसो सिरेटोजस्तो

यो कस्तो सम्झना ?

तिम्रो अभावमा म अचेल

सती वियोगमा विक्षिप्त

महादेवजस्तै भएको छु ।

कालकूट विषको नशाभन्दा भयानक

तिम्रा यादहरू स्मृतिमा लिएर

म लडेको छु,

ढलेको छु

विक्षिप्त भएको छु ।

म अचेल आफ्नै सपनाको मलामी जान्छु

र तिम्रो वियोगमा ढलेको

आफ्नै लाशमाथि आगो लगाउँछु !

एक दिन म पनि

यही महाशून्यमा बिलाउनेछु

र कतै तारामण्डलमा

ध्रुवतारा बनेर तिमीलाई

हेरिरहेको हुनेछु,

हरपल मेरो

स्मृतिमा आउने

ए प्रिय मान्छे !!

= = =

२.

पर्खाइ

यो कुनै युद्धमा सामेल सिपाहीको

घर फर्काइको आशामा बाँचेकी !

आमाको पर्खाइ होइन ।

विश्वविद्यालयको परीक्षा सकेर

नतिजा कुरेर बसेका बेरोजगार

युवा, युवतीको पर्खाइ पनि होइन ।

जिम्मेवारीको भारी बोकेर सँगै उकालो लागेको

साथी छुटेपछि चौतारीमा दु:खको भारी बिसाएर

साथीको प्रतीक्षामा पसिना पुछ्दै

बसेको भरियाको पर्खाइ पनि होइन ।

यो त राम वनवास गएपछि !

छोराको घर फर्काइको पर्खाइमा व्याकुल

भएका बाबु दशरथको जस्तो पर्खाइ हो ।

सरस्वतीको पर्खाइमा कालीको मन्दिरमा

जिभ्रो काट्न तयार मुर्ख

कालिदासको जस्तो पर्खाइ हो ।

यो त औँसीको कालो रातमा

पूर्णिमाको पर्खाइमा बाँचेको

विक्षिप्त एक प्रेमीको पर्खाइ हो ।

तपाईंलाई थाहा छ ?

जीवनको सबैभन्दा कठिन काम के हो ?

उत्तर एक कसैको प्रतीक्षामा बाँच्नु !

उत्तर दुई कसैको पर्खाइमा बाँच्नु!!!

= = =

३.

म एक उत्तर हुँ

तिमी कुरेर बसेको त्यो दोबोटो

प्रणय दिवसमा दिन जोगाएर

राखेको बगैँचाको त्यो गुलाब

सबै मेरो व्यग्र पर्खाइमा होलान् ?

वस्त्रहरूले छोप्न नसकेको

तिम्रो नवयौवन !

यौवनको विषाक्त नशा पिएर

कति मात्तिंदो हो ?

कति निसासिंदो हो ?

आफैंभित्र !

यो निर्जन शहरमा

तिम्रो सम्झनाको दियो बालेर

यादको मदिरा पिएर

बेहोस भएर ढलेको छु ।

मलाई शिशिरको

चिसो सिरेटोले छुँदैन !

मलाई आगोले पोल्दैन !

मेरो आत्मालाई

ईश्वरले पनि देख्दैन !

मेरा आँखाहरू

सपनाबिहीन भएका छन् ।

मेरा शब्दहरू

आवाजबिहीन भएका छन् ।

म लाटो भएको छु

भो नसोध्नु तिमीले

अब मेरो परिचय

किनकि ?

म एक नलेखिएको कथा हुँ

लयबिहीन गीत हुँ !

तिम्रा हजारौँ प्रश्नहरूको

म एक उत्तर हुँ !!

= = =

४.

गल्तीहरू

हिड्दै जाँदा बाटो बिराउनु

जानाजानी हुने गल्ती होइन ?

बाटो बिराउनु

न नियतिको दोष हो ।

न निर्णयको दोष हो ।

यो समयको दोष हो ।

समय अनुरूप सत्य बदलिन्छ

सत्य सधैं सत्य रहँदैन ।

इतिहासको सत्य

कालान्तरमा

झुटो साबित भैदिन्छ ।

मनबाट

सत्य पोखिन जान्दैन

मात्र सत्य पोखिन्छ

आँखाबाट !

यहाँ प्रणय दिवसमा

गुलाब दिनेहरू

सबै सत्य हुँदैनन्

मलाई थाहा छ

गुलाब दिनेहरूले

त्यति गल्ती गर्दैन

जति मन दिनेहरूले गर्छन् ?

हुन त बाटो बिराउनेहरू नै

अन्तिम गन्तव्यसम्मको

सफर गर्छन् ।

बाटो बिराउनु भनेको

गन्तव्य सम्मको बाटो चिन्नु

पनि हो ।

बग्ने खोलाले पनि

बाटो बिराउँछ कहिलेकाहीँ

बाटो नभुल्ने त सागरले

मात्र हो ।

गौतम बुद्ध, वाल्मिकी

सबै बाटो बिराएका

पथिक हुन्

बाटो बिराउनु भनेको

दिव्य उपदेश

पाउनु पनि हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.