साहित्यपोस्ट डट कम

नैतिक पतन र भ्रष्टाचार तानाशाही इच्छाका प्रिय सन्तान हुन्‌

नैतिक पतन र भ्रष्टाचार तानाशाही इच्छाका प्रिय सन्तान हुन्‌

हजारौं वर्षको मानव सभ्यता एउटा पदमार्ग हो । झाडी जंगल भित्रभित्रै फाँड्दै, दुर्लङ्घ्य पहराहरू कोतर्दै, बेगवान् नदीमा फड्के थाप्तै, ओडारमा रात बिताई ब्यूँझेर मानिस हिँडिरह्यो । पुग्नु ता कहीं थिएन, जीवनदेखि मृत्युसम्म मात्र हो तर नबिसाई, नथाकी, नहारी ऊ निरन्तर हिँडिरह्यो ।

ती आदिम कालका मधूरा पाइला र डोबहरूमै गोरेटा बने, घोडेटा बने, गर्दागर्दै राजमार्ग बनिए— विशाल व्यापक दश–बाह्र लेनका सडकहरू । तर मानव निर्मित प्रत्येक गोरेटो भिन्न भिन्न दिशा लैजाने मार्ग रहेछ । कुनै छन् धर्मका, कुनै अर्थका, कुनै नीति आचार वा कानूनका र सामाजिकताका, कुनै खोजी अनुसन्धान अन्वेषण तिर्खाका, कुनै औषधि विज्ञानका, कुनै अन्तरिक्ष यात्राका, कुनै त्याग निवृत्ति र परमार्थका, कुनै साहित्य, संस्कृति र भाषाका । यी बेग्ला–बेग्लै राजमार्गहरू यति धेरै बाटाहरू छन्‌— अगणित । तर ती मूल बाटा होइनन्, वैकल्पिक हुन् । मूल बाटो ता जीवन निर्वाह गर्ने, पेट पाल्ने अपरिहार्य कर्म हो । त्यसको चिन्ताले एउटा ठूलो वर्ग सदैव पिरोलिएको हुन्छ ।

यस्तो विविधताले युक्त छ जगत् भन्ने कुरा त युवाकाल लाग्दै थाहा हुन थाल्छ । तर धेरै जसो हामी जीवन–मार्ग खोज्न आतूर हुन थालेपछि आफ्ना पितापुर्खाले खनेको बाटोतिर हेर्छौं, दुई चार पाइला हिँड्न थाल्छौं, केही सिक्छौँ । हाम्रा समाजमा ता जात–वर्गको धर्म वा कर्मले पनि निर्देशित गर्‍यो तर अब समतामूलक समाज जन्मिँदै छ, शिक्षाले हामी नेपालीलाई भर्खरै अँध्यारा ओडारबाट पाखा निकाल्दैछ । मानिसले लिने बहुमार्गमध्ये एक वैकल्पिक मार्ग रहेछ राज्यसत्ता अर्थात् राजनीति । राजनीति एक भर्‍याङ हो राज्यसत्तामा चढ्ने । सबै मार्गको, तिनका यात्रीको नियमन केन्द्र नै राज्यसत्ता रहेछ । त्यसैले धेरैलाई त्यता हिँड्ने इच्छा जाग्दो रहेछ कारण त्यता पुगेपछि (सत्ता चढेपछि) शक्तिको अंश प्राप्त हुने भएकाले प्रत्येक व्यक्ति नियन्ता बन्दछ अर्थात् आफूलाई त्यस्तो ठान्दछ । एउटा सरकारी कार्यालयमा जानोस् पाले–पिउन्‌देखि हाकिससम्म त्यही दम्भको शक्तिले फुलिरहेका हुन्छन् ।

अधिकांश आधुनिक राज्य व्यवस्थालाई नियमन गर्ने साँचाको नाम हो चुनाव । मैले जानेदेखि चार–पाँच वर्षको अन्तरालमा चुनाव भन्ने पर्व दोहोरिँदै आएका छन् । त्यसमा पनि २०४८ देखि यताको कुनै पनि आवधिक सत्ताले आफ्नो काल पूरा भोग गर्न पाएन । आजसम्म षडयन्त्रले गर्दा समय नपुगी भत्काइएका, अहंकारले गिराइएका हाम्रो देशका अस्थायी सत्ता भवनको संख्या दर्जन पुग्न आँट्यो । त्यसमा एकैजनाको शक्ति दम्भ उम्लेको हुन्छ— गिरिजा, ओली, देउवा जो होस् ।

यसपालि कुसमयले सत्तासीनहरूलाई पछार्‍यो, लडायो, भागाभाग बनायो । लुक्तै र भाग्दै धूलो टक्टक्याउँदै फेरि उठे अनि फेरि तिनै सत्ताका कुर्सीको खोजीमा छामछाम छुमछुम गर्न लागे । फेरि चुनाव भन्ने एउटा खेलको उद्घोष भयो । सत्ता खेलको नियम नै यही हो ।

विगतका तीन महीनादेखि देशमा अशान्ति, अन्योल, हानाहान र तानातान शुरु भए । हिजो लडनेहरू फेरि जुरुक्क जुरुक्क उठे, पाखुरा सुर्के र दारा किट्तै यसपालि ता सबैलाई लडाउँछु भनेर तात्तिँदै मैदानमा उफ्रे । कतिका घरबार बिग्रने हुन्, कतिका घरबारी उडने हुन् त्यो त समयले हिसाब देखाउनेछ । एकसयभन्दा बढी पाटी जमजमाएर सिंगौरी हान्दै, खूरले धूलो उडाउँदै, जूराले ठेलेर ढिस्का भत्काउँदै, फुङ्कार गर्दै मैदानमा उफ्रन थाले ।

राजनीतिक व्यक्ति वा दलको शक्ति भन्नु नै जनाधार वा जनविश्वास रहेछ । अघि भोट पाएर सत्ताको मद चाखेकाहरू त्यसैको उन्मादमा फुलेर डुक्रिन्छन्‌; आजसम्म चाख्न नपाएकाहरू सत्तावालाको जालसाजी, असत्य, घुर्‍र्याईं, झूट तथा लोभी पापी कर्म र जघन्य अपराधहरूको सूची बनाएर तिनको पत्तासाफ गराउँछौं भन्दै आफ्ना गीत गाउँदै उडेका छन् । पाटीका झन्डा फिलिलि छन् काँधमा । एउटा त्रासद रणमैदान देखियो । गृहयुद्ध पो चल्छ कि शङ्का उठ्यो ।

यो अति कठीन कर्म रहेछ राजनीति । तर यसको मादकताले छोपेपछि मान्छे बहुलाउन थाल्दो रहेछ । आँखा, कान, विवेकका दैला सबै बन्द हुँदा रहेछन् । यसमा सफलता झन् कठिन रहेछ । यसमा ज्ञान, शिक्षा, अध्ययन डिग्री केही नचाहिने तर केवल छलकपट, धुर्त्याइँ र असत्यका मार्गहरूमा पारङ्गत हुनुपर्ने रहेछ । धाक धम्की छलछाम गर्न र संडा–मुसंडाहरू अघि पछि लाएर हिँड्न सक्ने, पैसा पेल्न सक्ने, धम्की दिएर मान्छे तर्छाउन सक्ने, आश्वासन बाँडेर पछि लाउन सक्ने गुण भएको मान्छे चाहिन्छ । यहाँ प्रेम, दया, करुणा, विवेकजस्ता गुण भएका मानवतावादी कोही नआउँदा रहेछन् । उच्च शक्ति भएका अहंकारी र धूर्तहरू मात्रै । त्यसैगरी छली अत्याचारीहरूले एक दुईपल्ट जिते तथापि राजनीति विजय र पराजय अत्यन्तै अस्थिर झल्का मात्र रहेछन् ।

राज्यसत्ताले दुई प्रकारले जनताको नियन्त्रण गर्दछ— बलपूर्वक अथवा बुद्धिपूर्वक; बाध्यात्मक अथवा स्वैच्छिक विकल्प दिएर । अधिनायक तन्त्रमा पहिलो लागू हुन्छ, लोकतन्त्र वा प्रजातन्त्रमा दोस्रो । प्रजातान्त्रिक संविधान भए पनि हाम्रो देशको राजनीति विश्वमै सर्वाधिक फोहोरी होला । देशमा पढेका शिक्षित, विद्वान्, स्रष्टा कलाकार पनि कति निकम्मा लन्ठकका अघि पछि लागेर कुधेका देख्छु । जान्ने मानिसले मूर्खको संगत नगरौं, तिनको पूजा नगरौं भनी एक दुई विज्ञप्ति निकालें तर मान्छे सुन्दैनन्, बुझ्दैनन् । अन्य उपाय नास्ति भएकाहरूले गर्ने पेशा रहेछ राजनीति— विना कुनै लगानी, विना कुनै योग्यता कुनै लाज शरम, पश्चात्ताप केहीले नछुने । तर राष्ट्रका भाग्य निर्माता पनि तिनै हुन् ।

आश्वासन, धम्की, त्रास, लोभ र विश्वास आदि कारणले तिनीहरू राजनीति गर्न गाउँ गाउँ कुधेका छन्, बजारमा हार लागेका छन्, धुलो उडाएका छन् । सबैभन्दा निकृष्ट शब्द प्रयोग गरेर मूर्ख र सज्जन सबैलाई नर्ककुण्डमा खसालेर थुकेका छन्, कुल्चेका छन् । कोही पनि दोषरहित छैन, प्रत्येक दोषको गुजुल्टाभित्र लुकेर एकले अर्कालाई तीर हान्दै दौडेका छन् । मानव समाजले खेल्ने अनेकमध्ये सबैभन्दा फोहोरी खेल राजनीति रहेछ । यो टाढा रहनुपर्ने, छेउछाउ जानु नहुने कर्म हाम्रा ससाना नानीहरूले पनि ती व्यंग्य, गाली, दुर्वचन, आक्षेपहरू सिक्ने हुन् कि भन्ने त्रास भो । फेरि त्यसमा ध्यान नदिँदा पनि हामीमाथि शासन गर्न आउने पात्रहरू कति डिग्री स्वाँठ पर्नेहुन् त्यो पीर लाग्छ ।

नेपोलिअन् बोनापार्टले भनेका छन्‌— “राजनीतिमा मूर्खता कुनै अक्षमता वा दुर्बलताको परिचायक होइन ।”यो (स्टुपिडिटी इज नट अ ह्याण्डिक्याप) । नेपाली जनतामा यो कुरा राम्ररी लागू हुन्छ । आजसम्म एम.ए. सम्म अध्ययन गरेको प्रधानमन्त्री पाएन यो देशले । किनकि त्यसको लागि न्यूनतम योग्यता एसएलसी पनि तोकिएन । देशको सेवा गर्छु भनी वाचा गर्नेहरू भिजनरी र उच्च शिक्षावाला कोही भएन, केवल गफले मानिस भुल्याउने, वाचाले बाँध्ने, गफाडी, लण्ठक, ढाँट, धूर्त अन्यलाई गाली निन्दा आलोचना र टिप्पणीले पुर्दै आफू दूधले नुहाएझैँ देखिने खेल रहेछ यो । त्यसै गर्नेहरूले हामीलाई जोते । तर पछि गएर राष्ट्रको ढुकुटी यिनकै हातमा हुँदो रहेछ, यसका नीति निर्णय सबै । त्यसैले राणाकालमा नब्बे प्रतिशत धन आफैं सके त्यस यता पनि पचास प्रतिशत खाएकै छन् ।

कुनै योग्यताले जागीर खान नसक्ने, उद्योग व्यवसाय नभएकाहरू शक्तिशाली तिनै छन् । लेखन र पठनले अनुसन्धान र कार्यपत्रले कहिल्यै ठाडो शिर गर्न नभ्याएको आफ्नो शरीर बेलाबेला सोझो पारेर हेर्छु— तिनै साँढे–साँढीहरू नाचेका छन्, तिनैले बजाएका र गाएका छन्, ढाँटेका छन्, उफ्रेका, सिंगौरी हानेका छन्, मैले सिधै जित्छु भनी फुँकार गरेका छन् । त्यति निस्फिक्री, त्यति निर्लज्ज र त्यति निःसंकोच अनि त्यति उद्दण्ड हुन कत्रो अभ्यास गरेका हुन्छन्‌— स्तुति, प्रशंसा र चाटुकारिताका भरमा । आफ्ना वरिपरि चाटुकार भजनिकहरू सदा तत्पर छन् । आज यो पाटीमा, भोलि फेरि अर्कामा निर्लज्जहरू ।

हजारौं वर्षको अन्त्यमा उभिएर गुन्दा अनुभव र परिष्कारले प्रजातन्त्र नै विश्वको सर्वोत्कृष्ट प्रणाली हो भन्ने प्रमाणित भएको हो । यसको हृदयमा “मानिसको वाक् अधिकार र चयनको अवसर” हुन्छ (गिभिङ पीपल अ भोइस् एण्ड अ चोइस्) भनेका छन् । नत्रभए राजतन्त्र, अधिनायक तन्त्र, अल्पतन्त्र, धर्मतन्त्र, समाजवाद, साम्यवाद नाम चलेका अरू पनि पद्धति छन् । राजतन्त्र र अधिनायकतन्त्र त हामीले पनि भोग्यौं । तर बहुमतले रोजेको बहुलतन्त्र नै चाहिन्छ भनेर प्रजातन्त्रले यस्ता कुरा दिन सक्छ भनी टुंगो लागएका हौं । अझ एउटा गहना झुन्ड्याएका छौं ‘समाजवादी’ ।

त्यसो त नेपालमा साम्यवादले धेरै बल गर्‍यो । अधिनायकतन्त्र हुल्न नसकेपछि त्यो पनि प्रजातन्त्रको खोलभित्रै पसेर साम्यवाद गर्दैछ, अधिनायकवाद गर्दैछ ‘काँधमा चढेर शिरमा हान्ने’ सिद्धान्तधारीहरू अझै ढुक्तैछन् । यद्यपि सर्वस्व पराजित भई ती लडेका छन् । दशक लामो क्रूरतापश्चात् देश रक्तरञ्जित भएपछि देशवासी त्राहीमाम भएर भागाभाग भएपछि बर्षौंदेखि क्रान्तिमा जीवन अर्पण गर्ने योद्धाहरू सारा स्वप्नद्रष्टाहरू सबै ‘डेमोक्रेसी’ भित्र पसे । बुझ्दैलाँदा त सबै खालको कम्युनिष्ट पार्टीको ‘आश्रयस्थल’ यही प्रजातन्त्र रहेछ, यही लोकतन्त्र रहेछ । जहाँ बोल्न पाइन्छ आफ्ना कुरा खोक्न पाइन्छ । नेपाली जनताले खुलेर बोल्न पाए तर सुख र शान्तिले बस्न र बाँच्न पाएका छैनन् । यसको लागि जनता नै पूर्ण शिक्षित हुनु अनिवार्य रहेछ । त्यसो त हाम्रो देशमा कम्युनिजम पक्षधर नेता धेरै छन् । रुस र चीनले पचासवर्ष प्रयत्न गरेर उनीहरूकै लगानीमा यी नेता जन्माएका हुन् । अझै कल्पित भूस्वर्गको बयान गरेर साम्यवादका गीत र भजन गाउनेहरू सक्रिय नै छन् तर संसारमा २०० वटा राष्ट्र भएकामा जम्मा पाँचवटामा मात्र साम्यवादी सत्ता छ— चाइना, क्युबा, लाओस, उत्तर कोरिया र भियतनाम । त्यहाँका जनता कसरी बसेका होलान् ? एक दल, एक पार्टी, एक विचार, दर्शन— सत्ताधारी र देश छन् शिरमा । चुइँक्क बोल्यो कि गयो । संसारमा कहीँ पनि यो लागू हुन सकेन किनकि भोकै भए पनि मानिस स्वतन्त्र भएर कराउन चाहन्छ । साम्यवाद जोगाउन जनता चाहिन्न केवल बन्दुकको नाल भए पुग्छ । एकदिन रसियाले बन्दुक बिसायो र साम्यवाद पनि सँगै बिसायो । अरूले साइत हेर्दैछन् ।

त्यसैले गर्दा नेपालका वाममार्गीहरू पनि लोकतान्त्रिक व्यवस्था भित्रै सुरक्षित रहेका छन्‌— डेमोक्रेसी छहारीमा पसी कम्युनिजम्‌का गीत गाउँदै भयंकर ऐश्वर्यपूर्ण जीवन जिउँदैछन् । उनीहरूलाई डेमोक्रेसी छोड्न मन छैन, किनकि यहाँ ‘जनताको गीत’ गाउन पाइन्छ । उनीहरूले सम्बोधन गरेका जनता, तल्लोवर्ग, सर्वहारा, भूमिहीन, बेरोजगार, महिला, मधेशी सबै घोषणा–पत्रमा सुरक्षित छन् । त्यसैले गर्दा प्रजातन्त्र वामपन्थ दुवैले जप्ने मूलमन्त्र नेपालमा केवल भ्रष्टाचार र कुशासन भएका छन् । तिनकै शक्तिले देश र जनता कंगाल भएको देखिन्छ । तिनकै शक्तिले यसपल्ट सत्ता ढाल्यो— जनता कसरी आजित भएका रहेछन्, कत्रो पीर खपेर रुँदै बाँचेका रहेछन् यसपालि थाहा भो । हाम्रो गणतन्त्रभित्रका सबै ‘वाद’ लाई बधाई छ । ती भागेनन् ढलेर देखाइदिए ।

तर प्रजातन्त्रलाई पनि जनमानसमा भिज्न धेरै समय लाग्ने हुनाले प्रोपागन्डा, नारा, होहल्ला, जनप्रियवाद ‘पपुलिजम्’ हरू मान्छे बढार्ने आँधी भएर उडेका छन् सधैं तर ती आँधीका दिशा र त्यसले समेटेका/बढारेका मानिस छिनछिनमा बदलिरहन्छन् । प्रजातन्त्र एउटा स्थायी मूल्यको स्थापना गर्नुछ तर सारा अस्थायी र परिवर्तनशील तत्वहरूको सहयोगले ।

हाम्रो देशमा पनि राणाकालको एकतन्त्री नियन्त्रणबाट मुक्तिको लागि कत्रो त्याग र बलिदानको इतिहास रच्नु पर्‍यो । देशमा शिक्षालय थिएनन्, तथापि प्रजातन्त्रलाई आँगनमा ओराले वीरहरूले । बिस्तारै त्यसलाई मलजल गर्दै हुर्काउँदै ल्याएको भए राजतन्त्र प्रजातन्त्र हुँदै सँगै बाँच्थे । राजाले प्रजातन्त्र मासे र आफू पनि मासिने एउटा बलियो विषवृक्ष रोपे— एकतन्त्री शासन । महेन्द्रका कर्मले गर्दा धेरै वर्ष मानिस डराएरै बसे तर अन्त्यमा राजतन्त्रप्रति नै मानिसको विश्वास समाप्त भयो । वीरेन्द्र एउटा धोद्रे सिमलको बोट भएर बाबुको घरमा बसे र जनताको हृदयमा श्रद्धा सकिएपछि देउताले मात्रै धेरै नथाम्ने रहेछन् ।

त्यो पञ्चायत वृक्ष भयंकर तीव्र गतिमा हुर्कियो, फुल्यो फल्यो । तर जरामा धमीरा पसेछन्, तीस वर्षभित्रै सुकेर गड्याम्मै ढल्यो । मान्छेले दाउरा चिरे, पोले, खरानी बनाए । तर त्यो बेलाको डरलाग्दो एकतन्त्री शासनले नागरिकलाई दुई चीरा बनायो— एकतर्फी व्यवस्थाको समर्थन गर्ने, प्रशंसा गर्ने, रस खाने, गुप्तचरी गर्ने । अर्कोथरी वाक् स्वतन्त्रता, विविधता, बहुलता, अनेक विचारको फूलबारी बनाउने भएर लुक्तै भाग्दै, जेल, नेल, मृत्यु खप्तै बच्ने । बिस्तारै घर–घर दुई चीरा भए, समाज दुई फ्याक । इतिहास पढ्दा चिनिएको नाजिवादले ‘राष्ट्रिय समाजवाद’ भनेर गरेका कामहरू नेपालमा पनि सानो रूपमा पञ्चायती व्यवस्था अन्तर्गत नबिसाई भइरहे । प्रजातन्त्र भएको भए एउटा समाप्त पारेर मात्रै अर्को हुर्किन्छ भन्ने विश्वास मान्य हुने थिएन । सह–अस्तित्वमा दुवै दल बाँच्थे, बहुविचार बाँच्थे ।

अन्त्यमा २०४८ मा पुनस्थार्पित भयो प्रजातन्त्र तर तीस वर्ष पञ्चायती सत्ता खानेहरू त्यसका विरोधी थिए । निरङ्कुश राजतन्त्रले आधी गुमाउनु पर्दा दरबार पनि आधा खुशी थियो । छिट्टै राजतन्त्र समाप्त गरिदिए त्यसबेलासम्ममा अर्का पार्टी नेपाली हिटलरहरू जंगलमा हुर्किरहेका थिए । दशवर्षे नाजी सेनाले आधाउधी देश ध्वस्त, विकलाङ्ग बनाइसकेको थियो । केवल त्रास बाँकी थियो । त्यसको क्षतिपूर्ति कहिल्यै हुँदैन । देश क्रमशः रित्तिँदैछ, त्यसैको तीव्र परिणाम हो । हाम्रो देशमा कतिपय सच्चा सेवक निस्वार्थ र विवेकी नेताहरू पनि भए । तर आज ती अधिकांश मौन र निष्क्रिय छन् । किनभने क्रूर समयद्वारा ती पराजित छन् ।

त्यसपछि मुद्दाहरू किनारा लागे तर राणाकाल, शाहकाल, प्रजातन्त्र पुनर्स्थापनाकाल अन्तर्गत भारी मतले विजयी एमाले, माओवादी आदि दलहरू आआफ्नो क्षेत्र/भाग कब्जा गर्ने उद्देश्यले ठूलो घम्साघम्सी गर्न थाले । म हत्याउन सक्छु कि भन्ने चिन्ताले प्रत्येकलाई उधिनिरह्यो । समाज राम्ररी शिक्षित छैन, स्वस्थ छैन, स्थायी आयस्ता विहीन भूपरिवेष्टित राष्ट्र परम्पराबाट मुक्त हुन सकेको छैन हुने बाटो पनि छैन केवल एउटा प्यारो देश छ र बारम्बार लुटिएका जनताहरू तर आन्तरिक मुद्दाहरू भित्रभित्रै चलिरहे ।

कस्तो विरोधाभासमय छ समाज । यसका अनेकौं पक्ष र पाटा छन्, यता भत्किरहेको छ उता पलाउँदै पनि । मुख्य चिन्ताको विषय चाहिँ देशबाट नागरिकको शक्तिशाली वर्ग रित्तिँदै जानु, समाजको स्थिर जीवनशैली चिरिँदै जाने प्रक्रिया छन् ।

विगतका पचास वर्ष मलाई लाग्छ नेपाललाई सधैँ उग्रवादले दलिरह्यो । गत तीन दशकदेखि तीन दलले स्थापित गरेको भ्रष्टाचार, तिनैको मिलिभगत देश पल्टाउने खालको थियो । छोपेर, ढाकेर, थर्काएर, न्याय कानून, प्रशासन सबै कब्जामा लिएर तीन दशक देश लुटे । तर शिक्षितहरूलाई लाग्छ देश कमजोर छ— उत्पादनरहित, आयातमा आधारित, परावलम्बी, आफ्ना जुइना फुक्लिरहेको । यो सारा अहितकर राजनीतिक दबाबले, कब्जाले भएको हो । आफ्ना वरिपरि भजनिकहरू नचाएर सत्य कति दिन छेकिन्छ ? यसपालि त्यस्तै भो ।

नेताहरू भन्छन्‌— यस्तो र यति विकास गरेँ । तर एक थोपो विकास कसैले गरेको छैन । शिक्षा, औषधि विज्ञान, यातायात, सञ्चार, प्रविधि कुनै कुराको स्रोत र आधारशीला नेपाल देश होइन सबै विदेशी, सबै विदेशी । जो विकास भए, जुन परिवर्तन आइरहेछन् ती ता अन्तर्राष्ट्रिय खोज, अनुसन्धान, उत्पादनका परिणाम हुन् । नेपाली उद्योगका जगका ढुंगै उखेलेर फ्याँक्नेहरू आज मैले विकास गरेँ भन्दैछन् । शिक्षा नभएका मूर्खहरू आँटी र साहसी हुन्छन् ।

झन्डै चार दशक विश्वविद्यालय सेवामा बिताएँ तर आज देख्छु— दश पास गर्नेमध्ये आधी जति शिक्षाको निहुँ गरी देश छोड्दैछन् कहिल्यै नफर्किने गरी । देशप्रेमको भाव शून्यतिर झर्दैछ किनभने हाम्रो शिक्षा–नीतिले त्यही खोज्दैछ । देशमा उत्पादन/उद्योगको अन्त्य भएपछि संसारका दामी सर्दाम रोजेर किन्न पाइने खुला मार्केटको स्थापना भयो । त्यसकै अंग हुन शिक्षा र स्वास्थ्य अवस्था । त्यसको लागि पैसा कमाउन युवावर्ग सिमाना काटेर कहाँ कहाँ पुगेको छ । निर्लज्जहरू भन्छन्, विकास खूब गरियो ।

आज आफ्नो र अरूका देशको भेद रहँदैन । आज जति विश्वविद्यालय खुल्दैछन् ती सारा आआफ्ना पार्टीका भोलिन्टिर फोर्सका भर्ती केन्द्र हुन् । कुनै तात्विक उद्देश्यरहित विकासका राजनीतिक एजेन्डा ।

सबै कुरा थपिँदैछ, आफ्नोपना मासेर अरूको बीउ छर्ने रोप्ने र मार्केट बढाउने । २००७ सालदेखि यताका ७७ वर्षमा दशवटा विद्रोह भए, परिवर्तन आए तर पनि आफ्नो उभिने आधार नभएको देश सदा हल्लिरहेको छ— भास जमिनमा पाइला राख्ता थलथल गर्दै परसम्म हल्लिन्छ काँप्छ, त्यस्तै गरी । यो देशका बौद्धिक, स्रष्टा, कलाकारहरू कि चाकडी गर्न बाध्य छन् कि मौन बस्न । धेरै ‘सिनियर सिटिजन्‌’ विदेश बसेर दुःखले नेपाली कला साहित्य र अर्थोपार्जन गर्दैछन् । अत्यन्तै धूर्त, चतूर र अपठितहरूले सत्ता कब्जा गरेको नराम्रो मनोविज्ञान भोग्नु परिरहेछ ।

यी सारा गुनासा एक पक्षीय हुन् । तल्लो तहका जनजीवनका, श्रमिक, वञ्चितका दुःख पीडाले न आवाज पाएका छन् न राहत । सत्ता झनझन् महँगो र कृत्रिम बन्दैछ । यस्तो समयमा विद्रोही पुस्ता उदायो । यी र यस्ता अनेक अत्याचारबाट आतङ्कित भएपछि युवाले विद्रोह गरे । ठूलो रक्तपातको मूल्य चढाएर सत्ता परिवर्तन भयो । यसपल्टको विजय हाम्रो सुन्दर र निष्पक्ष भविष्यतिरको यात्रारम्भ हो । पठित नयाँ पुस्ता आक्रोश र पीडासँग अघि बढेको छ । यत्रो ऐतिहासिक विजयमा नै देशले अभूतपूर्व आशाको उज्यालो देख्छ । तर सारा पैरो लडेको छ । पन्साएर मिलाएर नयाँ गरा बिराएर नयाँ बीउ छर्न समय लाग्छ तथापि यो पुस्ताले प्रजातान्त्रिक बहुलवादको सम्मान गर्दै सबैको छाता भएर काम गर्ला भन्ने अपेक्षा गरेको छ देशले ।

दम्भीहरू सिंहासनबाट भागाभाग भएपछि अब गृहयुद्ध नै सल्काउँछन् कि भन्ने थियो । तर विधिबेत्ता विवेकीजनले छोटो सत्ता सम्हाले । यतिखेर सम्पूर्ण नेपाली हृदयले एक नेपाली माता (सुशीला कार्की) र उनका दलको अन्तर्हृदयले प्रशंसा गरेका छन् । देशको शासन व्यवस्थाका सबै अंगमा हाम्रो हार्दिक बधाई छ । भुइँमा पछारिनेहरू बोलेको सुन्छु— नयाँ पुस्तामा अनुभव छैन, हामी जान्ने छौं । तर यो संसारलाई नयाँले नै बचाएका छन्, बदलेका छन् । पुरानो म्याद गुज्रेको औषधि फ्याँक्नु पर्छ । अघि लाग युवा जोश र होस् दुवै सम्हालेर । हाम्रा सहयोगी मन र हातहरू पर्खिरहेका छन् ।

२८ फागुन २०८२

सुकर्मटोल, कीर्तिपुर

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.