साहित्यपोस्ट डट कम

‘मोहपथ’पछि ललितको कथाकृति ‘उत्कर्ष’

‘मोहपथ’पछि ललितको कथाकृति ‘उत्कर्ष’

काठमाडौं । कथाकार ललित विष्टको दोस्रो कथासङ्ग्रह ‘उत्कर्ष’ सार्वजनिक भएको छ । पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

सङ्ग्रहमा १० वटा कथा समावेश छन् । सामाजिक यथार्थ, मानवीय संवेदना तथा कल्पनाशीलताको संयोजनमार्फत पाठकलाई नयाँ अनुभूति र चेतनाको संसारमा पुर्‍याउने कथाहरू पुस्तकमा सङ्गृहीत छन् ।

परम्परागत कथालेखन शैलीभन्दा पृथक् लेखन रुचाउने विष्टले यस सङ्ग्रहमा मानवीय अवचेतनका गहिराइ, जीवनका विसङ्गति तथा अस्तित्वका जटिल प्रश्नहरूलाई जादुमयी बिम्ब र काव्यात्मक भाषामार्फत प्रस्तुत गर्नुभएको छ । कथाहरूले पाठकलाई विस्मय, संवेदना र आत्मचिन्तनको यात्रामा लैजाने प्रयास गरेका छन् ।

विष्टको पहिलो कथासङ्ग्रह ‘मोहपथ’ मदन पुरस्कार–२०७६ को श्रेष्ठ सूचीमा पर्न सफल भएको थियो । उक्त कृतिले कर्णाली साहित्य समाज कृति पुरस्कार–२०७६ समेत प्राप्त गरेको थियो ।

प्रकाशकका अनुसार ‘उत्कर्ष’ को मूल्य ५ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.