मूल लेखक : रूडयार्ड किप्लिङ
अनुवादक : भानु छेत्री
मोगलीका दाजुभाइहरू – १
यस्तै प्रकारको जीवन बाँच्दै ऊ बढ़ेर ठूलो र बलियो हुँदै गयो । आमा ब्वाँसोले उसलाई एकदुईपटक शेर खानसित जोगिएर हिँड्नु भनेकी थिई अनि यो पनि भनेकी थिई कि उसले मौका पारेर एक दिन शेर खानलाई मार्नपर्नेछ । यदि मोगली ब्वाँसो हुँदो हो ता उसलाई यो अर्ती याद रहिरहनेथ्यो, तर ऊ त एउटा सानो केटो मात्र थियो- उसले यो कुरो भुलिहाल्थ्यो । अँ, यदि उसलाई मान्छेको कुनै भाषा बोल्न आए, उसले त्यस भाषामा आफूलाई एउटा ब्वाँसो नै हुँ भन्ने थियो ।
शेर खानसित उसको जङ्गलमा प्रायः नै भेट हुन्थ्यो । अकेला अब बूढ़ो र कमजोर भइसकेको थियो अनि त्यो लङ्गड़े बाघ अर्थात् शेर खानले झुण्डको युवा ब्वाँसोहरूसित साँठगाँठ मिलाएको थियो जो उनीहरूको शिकारको उब्रिएको टुक्राहरूका लागि उसको पुच्छरे बन्न पुगेका थिए । यदि अकेलामा यति क्षमता भए त उसले यस कुराको सहन गर्ने थिएन । शेर खानले युवा ब्वाँसोहरूलाई उनीहरूकै मुखअघिल्तिर सर्काउँदै आश्चर्य प्रकट गर्थ्यो कि यति दक्ष अनि युवा शिकारीहरूले त्यो बूढ़ो मरन्च्याँसे ब्वाँसो अर्थात् अकेला अनि त्यो मान्छेको बच्चाको फुटानी किन सहन्छ ।
उसले भन्थ्यो, “मैले सुनेको कि तिमीहरू परिषद्को ब्वाँसोहरूले ऊसित आँखासम्म जुझाउन सक्तैनौ अरे!” उसका यी कुराहरूले उत्तेजित भएर ती युवा ब्वाँसोहरू रिसले ड्यारड्यार गर्थे ।
बघेराको आँखा र कान चारैतिर डुलिरहन्थे । उसले मोगलीलाई पनि यस विषयमा सतर्क पार्ने यति कोशिश गरयो कि यदि यस्तै भइरहे शेर खानले कुनै दिन मोगलीलाई मार्नेछ । तर मोगलीले यसो भन्दै हाँसेर टारिदिन्थ्यो कि “मेरो मदतका निम्ति ती ब्वाँसोहरूका झुण्ड छँदैछ, तिमी छौ, भालु छ यद्यपि ऊ यति ढिलो छ तर मेरो निम्ति भिड़िने नै छ । फेरि म किन डराउनु?”
एक दिन बघेरालाई नयाँ कुराको याद आयो । वास्तवमा उसले हावामा उड्दै गरेको खबर सुनेको थियो शायद साही नामक दुम्सील उसलाई भनेकी थिई । जब घना जङ्गलमा घुम्दाघुम्दै मोगली उसको सुकिलो र चिल्लो छालामाथि टाउको राखेर ढल्कियो तब मौका पाएर उसले भन्यो, “सानो भाइ, मैले तँलाई कति पटक सम्झाएँ कि शेर खान तेरो शत्रु हो ।”
“त्यति नै पटक जति रूखमा फलहरू छन्”, मोगलीले, जसलाई गन्ती गर्न आउँदैनथ्यो, भन्यो । “त्यसो भए के त? मलाई निन्द्रा लागिरहेछ। शेर खानले ठूल्ठूला कुराहरू मात्र हाँकिरहन्छ, केही पनि गर्नुसक्दैन।”
“तर यो सुतेर गुमाउने समय होइन । भालुले यो कुरो जान्दछ, म जान्दछु, झुण्डको सबै ब्वाँसोहरूले जान्दछन् । यहाँसम्म कि मूर्ख हरिणहरूले पनि जान्दछन् । तबाकीले पनि तँलाई भनेको थियो ।”
“हो! हो! तबाकीले केही दिन अघि अभद्र व्यवहार देखाउँदै मलाई भनेको थियो कि म एकजना नाङ्गो कमजोर मान्छेको बच्चा हुँ । मैले त्यसको पुच्छर समातेर त्यो ताड़को रूख वरिपरि दुईचोटि यसरी घुमाएँ कि त्यसले सारा अभद्रता भुल्यो ।”
“त्यो त तेरो मूर्खता भयो । तबाकी दुष्ट र यताउता झगड़ा लगाउने अवश्य हो, तर हुन सक्छ कि तैंले ऊबाट कुनै काम लाग्ने कुरा थाहा पाउने थिइस् कि? सानो भाइ आफ्नो आँखा खोल् । शेर खानले यहाँ जङ्गलमा तँलाई मार्ने आँट गर्न सक्दैन, अकेला अब धेरै बूढो भइसक्यो । चाँडै नै अब त्यो दिन आउनेवाला छ जब उसले आफ्नो शिकार मार्न सक्नेछैन अनि उसलाई नेताको पदबाट हटाइने छ । जब तँलाई सबैभन्दा पहिला बैठकमा ल्याइएको थियो त्यतिखेर धेरै ब्वाँसोहरू सानो नै थिए अनि तिनीहरूले तँतिर कुनै ध्यान दिएका थिएनन्, तर अहिले तिनीहरू सबै ठूला भइसकेका छन् अनि शेर खानले तिनीहरूलाई भड्काउँदै भनिरहेछ कि तिनीहरूका झुण्डमा मान्छेको बच्चाको लागि कुनै स्थान छैन । आखिर केही समयपछि तँ मान्छे बन्ने नै छस् ।”
“के मान्छे यस्तो प्राणी हो जो भाइहरूसित मिलेर बस्न सक्दैन?” मोगलीले सोध्यो। “म जङ्गलमा जन्मेको हुँ । मैले सधैं जङ्गलको कानूनको पालन गरेको छु अनि झुण्डमा कुनै यस्तो ब्वाँसो छैन जसका पञ्जाहरूमा बिजेका काँड़ा मैले ननिकालेको होस् । ती सबै मेरा भाइहरू हुन् ।”
बघेराले आफ्नो शरीरलाई पूरा लम्बाइमा तन्काएर आफ्नो आँखा झिमिक्क पार्दै भन्यो, “सानो भाइ, मेरो च्यापूमन्तिरको जग्गालाई छोएर हेर् ।”
मोगलीले आफ्नो दहिलो खैरो हातले त्यहाँ छोएर हेस्यो र थाहा पायो कि त्यहाँका भुत्लाहरू सबै नै उड़िसकेका छन् ।
“मेरो यो दागको विषयमा जङ्गलको कसैलाई पनि थाहा छैन । म मान्छेहरूका बीचमा जन्मिएको थिएँ अनि मेरी आमा पनि तिनीहरूकै बीचमा मरेकी थिइन् – उदयपुरको राजमहलका पिञ्जराहरूमा । यसैकारण त मैले झुण्डको बैठकमा, जब तँ सानो नाङ्गो बच्चा थिइस्, तेरो निम्ति मूल्य चुकाएको थिएँ । किनकि म आफै पनि मान्छेहरूका बीचमा जन्मिएर हुर्की बढ़ेको थिएँ, मैले जङ्गलको मुखसम्म पनि देखेको थिइनँ । तिनीहरूले मलाई पिञ्जराभित्र नै एउटा फलामको भाँडामा खाना दिनेगर्थ्यो । एक रात अचानक मलाई अनुभव भयो म बघेरा हुँ, मान्छेको खेलतमासाको चीज होइन अनि मेरो घर जङ्गल हो । मैले मेरो पञ्जाले हिर्काएर एकैपटकमा पिञ्जराको ताला भत्काइदिएँ अनि भागेर यहाँ आएँ। मैले मान्छेहरूका बानी बेहोरा पनि बुझेको थिएँ, म जङ्गलमा शेर खानभन्दा पनि बलियो प्रमाणित भएँ। हो कि होइन?”
“अँ यो त साँचो हो । मोगलीबाहेक अरू सबै बघेरासित डराउँछन् ।”
“अरे तँ त मान्छेको बच्चा होस्”, बघेराले खूबै स्नेहसित सम्झाउँदै उसलाई भन्यो, “जसरी म आफ्नो जङ्गलमा फर्की आएँ उसरी नै तँ पनि आफ्नो भाइबन्धु अर्थात् मान्छेहरूबीच फर्की जानपर्छ, नत्र भने झुण्डका ब्वाँसोहरूले कुनै दिन तँलाई मारिदिनेछ ।”
“तर तिनीहरू मलाई किन मार्न चाहन्छन्?” मोगलीले सोध्यो ।
“मतिर हेर्”, बघेराले भन्यो । मोगलीले उसको आँखामा हेस्यो । लगभग आधा मिनटमा नै विशालकाय बघेराले आफ्नो आँखा झुकायो ।
“यसैकारण”, उसले भन्यो, “म पनि तँसित आँखा जुझाउन सक्तिनँ । सानो भाइ, मेरो जन्म मान्छेहरूका बीचमा भएको थियो अनि म तँलाई माया गर्छु । तर अरू जन्तुहरूले तँलाई घृणा गर्छन् किनभने तिनीहरूका दृष्टि तेरो दृष्टिको सम्मुख अड़िन सक्तैन। त्यसो हुनगएको कारण के हो भने तँ बुद्धिमान छस्, तैंले तिनीहरूका पञ्जाबाट काँडा झिकेको छस्, तै एकजना मान्छे होस् ।”
“म यी कुराहरू जान्दिनथें”, मोगलीले उदास भएर आँखा तर्दै भन्यो ।
जङ्गलको कानूनले भन्छ, पहिला हिर्काऊ अनि त्यसपछि मुखले बोल । तेरो लापरवाहीबाट नै तिनीहरूले बुझ्छन् त मान्छे होस् । बुद्धि चलाएर काम गर् । मेरो मनले भन्छ, अकेला आफ्नो अर्को शिकार मार्न असफल बन्नेबित्तिकै झुण्डले उसको अनि तेरो विरुद्धमा षड्यत्र गर्नेछ किनकि अब उसलाई प्रत्येकपल्ट आफ्नो शिकार गर्नमा धेरै साह्रो पर्दैछ । तँ छिटो गरी तल घाँटीमा बनिएको मान्छेहरूका झोपड़ीमा जा । तिनीहरूले त्यहाँ रातो फूल उमार्छन् । त्यहाँबाट केही फूलहरू चुँडाउनू । ती मान्छेहरू माझ तैंले म, भालु अनि झुण्डको ती ब्वाँसोहरूभन्दा, जसले तँलाई माया गर्छन्, धेरै शक्तिशाली साथीहरू पाउन सक्नेछस् । जा, रातो फूल लिएर आइज ।”
‘रातो फूल’ भन्नाले बघेराको मतलब थियो ‘आगो’ । जङ्गलका प्राणीहरूले आगोलाई रातो फूल नै भन्ने गर्थे । तिनीहरू आगोसित खूबै डराउँथे अनि त्यसको वर्णन विभिन्न प्रकारले गर्थे ।
“रातो फूल?” मोगलीले भन्यो, “त्यो त तिनीहरूका झोपड़ीबाहिर साँझको समयमा उम्रन्छ । म गएर ल्याउनेछु।”
“अहिले पो गरिस् त तैंले मान्छेको बच्चाले गर्ने खालका कुरा ।” बघेराले गर्वसित भन्यो। “याद राख्नू कि त्यो फूल ससाना भाँडामा उम्रन्छ । त्यो छिटो लिएर आइज अनि चाहिएको बेलामा चलाउनलाई आफूसित राख् ।”
“ठीक छ, मेरो बघेरा, म जानेछु ।” मोगलीले बघेराको गतिलो गर्दन अँगाली उसका ठूल्ठूला आँखाहरूका गहिराइमा नियाल्दै भन्यो, “तर के तिमीलाई पूरा विश्वास छ कि यी सबै शेर खानको काम हो?”
“त्यो भत्किएको तालाको जसले मलाई स्वतन्त्र पारेको थियो, कसम खाएर भन्छु कि यस कुरोमा कुनै शङ्का छैन, सानो भाइ।”
“त्यसो भए जुन साँढ़लाई मेरो मूल्यको रूपमा दिइएको थियो त्यसको कसम, म शेर खानलाई त्यसको पूरा, त्यसभन्दा पनि अधिक नै सजाय दिनेछु ।” यति भनेर मोगली त्यहाँबाट दौड़ेर गयो ।
“यसैलाई भनिन्छ मान्छे ! यही नै हो असली मान्छे!” बघेराले फेरि ढल्किँदै भन्यो, “अरे एई शेर खान ! तैंले दश वर्षअघि जे गरेको थिइस् त्योभन्दा ठूलो जघन्य हत्याकाण्ड अर्को हुन सक्तैन ।”
मोगली जङ्गलको बीच भएर दौडिरहेथ्यो। साँझपख त्यो आफ्नो गुफानेर पुग्यो अनि बिसाएर स्याँ… स्याँ… गर्दै श्वास फेर्न थाल्यो । बच्चाहरू बाहिर गएका थिए तर आमा ब्वाँसो भने गुफाको पछिल्तिर थिई । उसले मोगलीको श्वास फेराइबाट बुझिहाली कि उसको मोगलीलाई कुनै कुराले सताइरहेछ ।
“के भयो नानी?” उसले सोधी ।
“त्यो चमेरा शेर खानको मामला छ ।” मोगलीले भन्यो, “आज म ती जोतिएका खेतहरूमा गई शिकार गर्नेछु ।” अनि ऊ तल झ्याङहरूका बीचबाट भएर घाँटीमा बग्दै गरेको नदीतिर दगुर्दै गयो । त्यहाँ पुगेर ऊ थामियो किनभने शिकार गरिरहेका झुण्डको आवाज उसको कानमा पुग्यो । उसले घाइते साँभरको चीत्कार पनि सुन्यो । त्यसपछि उसले युवा ब्वाँसोहरूका धृष्टतापूर्ण चुनौति पनि सुन्यो, “अकेला! अकेला! अकेलालाई आफ्नो बल देखाउन देऊ । झुण्डको नेता अकेलालाई आउन देऊ। अँ अकेला ! झम्ट, देखाऊ आफ्नो शक्ति!”
त्यसपछि यस्तो प्रतीत भयो कि अकेला झम्टियो तर उसको हिर्काइ चुक्यो अनि साँभरले आफ्नो अघिल्लो पञ्जाले हिर्काइ आघात पुरयाएर उसलाई लड़ाइदियो ।
त्यहाँ ऊ अरू थामिएन, बरू अझ चाँड़ो दगुर्न थाल्यो । जसै ऊ गाउँलेहरूका खेतनेर पुग्यो, अकेला कराएको आवाज मन्द हुँदै गयो ।
ऊ स्याँ… स्याँ… हुँदै थियो। एउटा झोपड़ीको झ्यालनेर राखिएक पशु चारोको थुप्रोमा आरामसित लुकेर बसी ऊ सोच्न थाल्यो, “भोलि अकेला र म दुवैका निम्ति सङ्कटको दिन हो ।’
त्यसपछि उसले झ्यालनेर आफ्नो अनुहार अड़ाएर चुल्हामा जलिरहेको आगोलाई हेस्यो । उसले देख्यो कि कृषककी पत्नीले त्यसमा कालोकालो डल्ला हालिरहेकी थिई । बिहानीपख, जब चारैतिर कुइरो लागेको थियो, कृषकको छोराले माटोले लिपेको एउटा टोक़ी उठायो, त्यसमा रातोरातो, जलिरहेको कोइला हाल्यो, त्यसलाई आफ्नो कम्बलभित्र हुल्यो अनि गोठमा गई गाईबस्तुको हेरचार गर्न गयो ।
‘खालि यति नै हो?’ मोगलीले सोच्यो, ‘यदि एउटा बच्चाले यसो गर्न सक्छ भने डराउने के कुरा छ र?’ ऊ कुनामा गएर लुक्यो अनि जसै त्यो केटो त्यहाँबाट निस्क्यो, उसले झम्टेर आगो भएको टोक्री केटोको हातबाट खोस्यो अनि कुइरोभित्र हरायो। त्यो केटो डराएर कराउन थाल्यो ।
‘यी मान्छेहरू म जस्तै नै छन्’, मोगलीले सोच्न थाल्यो । त्यसपछि उसले टोक्रीमा भएको आगोलाई फुक्यो, कृषककी पत्नीले त्यसो गरेकी उसले देखेको थियो । “यदि यी राता फूलहरूले खाना नपाए यिनीहरू मर्नेछन्”, यो सोचेर उसले आफ्नो नजिकै भएका ससाना सुकेका हाँगाहरू र रूखको सुकेका बोक्राका टुक्राहरू त्यसमा हालिदियो । पहाड़मा उकालो चढ्दै गर्दा उसको बघेरासित भेट भयो, जसको सुनौलो छालामाथि बिहानको शीतका थोपाहरू रत्नाहरू झैँ टल्किरहेका थिए ।
“अकेला चुक्यो। तिनीहरूले त उसलाई हिजो राति नै मारिदिने थिए, तर तिनीहरूले तँलाई पनि सँगै मार्न चाहन्थे। तिनीहरूले पहाड़मा तेरो खोजी गरिरहेका थिए ।”
“म खेतहरू भएतिर गएको थिएँ। हेर, म तयार छु।” अनि मोगलीले त्यो आगोको भाँड़ा देखायो ।
“यो तैंले राम्रो गरिस् । मैले यसमा मान्छेहरूले सुक्खा हाँगाका टुक्राहरू हालेको देखेको छु, जसलाई हाल्नेबित्तिकै रातो फूल अझ फक्रेर आउँछ । तँलाई योदेखि डर त लागेको छैन?”
“अहूँ! किन डराउनु? अब सम्झना भइरहेछ, मलाई थाहा छैन यो सपना हो कि बिपना, ब्वाँसोहरूको गुफामा पुग्नभन्दाअघि म राता फूलहरूको छेउमा नै ढल्केको थिएँ । त्यसको तातो बड़ो आनन्दमय लागिरहेको थियो ।
मोगली दिनभरि गुफामा बसेर आफ्नो आगोको भाँडाको हेरचाह ह्यो, त्यसमा सुक्खा हाँगाका टुक्राहरू हालिरह्यो र त्यसलाई जलेको रमाइरह्यो । साँझपख जब तबाकी गुफामा आयो अनि उसलाई भन्यो उसलाई परिषद् शिलामा बोलाइएको छ तब ऊ यति साह्रो हाँस्यो कि की रिसाएर भाग्न पस्यो । हाँस्दैहाँस्दै नै ऊ बैठकमा सामेल हुन पुग्यो ।
अकेला सधैं आफू बस्ने चट्टानमुन्तिर ढल्किरहेको थियो, जसको थियो कि उसलाई पदच्युत गरिएको छ अनि नेताको पद खाली छ । खान छेउमा ओहोरदोहोर गरिरहेथ्यो अनि उसको टुक्राहरूमा पालिने बोहरू मुखमा तेल धसेर उसलाई चिप्लो लगाइरहेका थिए । बघेरा लीको छेउमा नै ढल्किरहेको थियो अनि आगोको भाँड़ा अर्थात् अँगेटी लीले आफ्ना दुई घुँड़ाहरूका माझमा राखेको थियो । जब सबैजना भए तब शेर खानको भाषण शुरू भयो । अकेलाको शासनकालमा खानले यसरी बोल्ने आँट कहिल्यै गर्न सकेको थिएन।
बघेराले खुसुक्क मोगलीलाई भन्यो, “शेर खानलाई यसरी नेताको नमा बोल्ने कुनै अधिकार छैन । तैंले यस कुराको विरोध गर्नपर्छ ।”
मोगलीले तुरन्तै उठेर भन्यो, “एई स्वतन्त्र मान्छेहरू हो ! के शेर – यस झुण्डको नेता हो? एउटा बाघलाई हाम्रो झुण्डको नेतृत्वसित के कार छ र?”
“किनकि नेताको पद अहिले रिक्त छ अनि मलाई बोल्नका निम्ति रोध गरिएको छ, म…” शेर खान फेरि बोल्न थाल्यो ।
“कसले गस्यो अनुरोध?” मोगलीले भन्यो, “के हामीहरू स्याल हाँ स्तो गाईबस्तुका हत्यारालाई तेल धस्नु? आफ्नो नेताको चुनाउ गर्नु डको निजी मामला हो ।”
उसको मतको पक्ष र विरोधमा थरीथरीका आवाजहरू उठ्न थाले ।
न्छेको बच्चा तँ चुप लाग्ग्… उसलाई बोल्न दे । उसले सदैव हाम्रो तुनको पालन गरेको छ…” यस्ता आवाजहरूले त्यो स्थान गुञ्जियो । व्यमा झुण्डका केही वरिष्ठ सदस्यहरूका आग्रहमा अकेलाले आफ्नो एको शिर माथि उठाएर बोल्न थाल्यो, “स्वतन्त्र मान्छेहरू अनि शेरखानका स्यालहरू, मैले वर्षोंदेखि तिमीहरूको नेतृत्व गरी आएको छु अनि त्यस अन्तरालमा न त कुनै ब्वाँसो कुनै शिकारीको जालमा पस्यो न अपाङ्ग नै भयो । यसपटक म मेरो शिकारमा चुकें तर मसित धोका भयो । मेरो निर्बलता सिद्ध गर्नका निम्ति मलाई एउटा भर्खरको जवान र फुर्तिलो साँभरसित भिडाइयो जबकि यसो गर्नु कानूनको विरूद्ध हो। जे होस् म चुकेको छु । यसैले तिमीहरूलाई अधिकार छ कि मलाई यसै परिषद् शिलामाथि मार । त्यसो भए यस हारेको ब्वाँसोको अन्त गर्नका निम्ति को अघि आउन चाहन्छ? जङ्गलको कानूनअनुसार मेरो यो अधिकार छ कि तिमीहरू एकएक गरी आऊ अनि म मेरो प्राण रक्षाका निम्ति तिमीहरूसित भिंहुँ ।”
यसको जवाबमा त्यहाँ चकमन्नता व्याप्त भयो । झुण्डको एउटै पनि ब्वाँसो अकेलासित एकलै भिड़िन चाहँदैन थियो । शेर खानले गर्जदै भन्यो, “छिः यो थोते ब्वाँसोसित हामीहरूलाई के को मतलब ? यो त त्यसै पनि मर्न आँटेको छ । अँ यो मान्छेको बच्चा भने धेरै बाँचिसक्यो । स्वतन्त्र मान्छेहरू हो, यो शुरूदेखि नै मेरो शिकार थियो । यो मलाई सुम्पिदेऊ, नत्र भने म तिमीहरूको यस शिकार क्षेत्रमा नै शिकार गरिरहनेछु अनि तिमीहरूलाई एउटा हड्डीको टुक्रासम्म पनि टिप्न दिने छुइनँ। यो मान्छेको बच्चा मेरो हो अनि मलाई योसित अत्यधिक घृणा छ ।”
झुण्डको आधाभन्दा बेसी ब्वाँसोहरू कराउन थाले, “मान्छे! मान्छे! मान्छेको यहाँ के काम ? उसलाई आफ्नो घर जान देऊ ।”
“अनि गाउँका मान्छेहरूसित शत्रुता मोल्नु?” शेर खानले भन्यो, “होइन त्यो मलाई सुम्पिदेऊ। त्यो मान्छे हो । यो त तिमीहरूले देखेकै छौ होला कि हामीहरू ऊसित आँखा जुझाउन सक्दैनौँ ।”
अकेलाले फेरि आफ्नो शिर उठाएर भन्यो, “ऊ हामीहरूसित नै खाइरहेछ, सुतिरहेछ अनि शिकार गरिरहेछ । उसैले जङ्गलको कुनै कानून तोड़ेको छैन ।”
“यसबाहेक मैले उसलाई झुण्डमा सामेल गराएको सट्टामा एउटा साँढ़को मूल्य चुकाएको छु। साँढ़को विशेष मूल्य छैन तर यो बघेराके इज्जतको प्रश्न हो, जसका निम्ति ऊ भिड़िन पर्छ।” बघेराले आफ्नो विनम्र स्वरमा भन्यो ।
“त्यो त दश वर्ष अघिको कुरा हो”, झुण्डका ब्वाँसोहरू ड्यारड्यार गर्न थाले, “समय बित्यो साथै कुरा पनि दश वर्ष अघिको मरेको साँदलाई कसले पो याद राखिरहन्छ र?”
“तिमीहरूलाई आफ्नो बाचा पनि याद छैन?” बघेराले आफ्नो सेतो दाँत देखाउँदै व्यङ्ग्य कस्यो, “शायद यसैकारण स्वतन्त्र मान्छे भनिन्छौँ ।”
“एउटा मान्छेको बच्चा जङ्गलको जन्तुहरूसित बस्न सक्दैन”, शेर खानले फेरि गर्जेर भन्यो, “त्यो मलाई सुम्पिदेऊ ।”
“मान्छे भए तापनि यो हाम्रो भाइ हो”, अकेलाले भन्यो । “तैंले उसलाई मार्नेछस् । सत्य यही हो कि म धेरै बाँचिसके । तिमीहरूमध्ये कतिले गाईबस्तु खान्छौ अनि मैले सुनेको छु कि तिमीहरू शेर खानले सिकाएअनुसार अँध्यारो रातमा गएर गाउँलेहरूका घरबाट उनीहरूका बच्चाहरू पनि टिपेर ल्याउँछौ । यी सबै कायरहरूको काम हो अनि म जान्दछु कि मैले कायरहरूलाई नै सम्बोधित गरिरहेछु। मेरो मृत्यु त अब निश्चित नै छ । मेरो प्राण दिने थिएँ, तर आफ्नो यस झुण्डको इज्जत बचाउनका निम्ति म एउटा प्रस्ताव तिमीहरूसमक्ष राख्छु । यदि तिमीहरूले यस मान्छेको बच्चालाई सुरक्षित रूपमा आफ्नो घर जान दियौ भने म बाचा गर्छु कि मेरो मृत्युको समय आउँदा तिमीहरूसित नभिड़िकन नै मर्नेछु । तिमीहरूको विरुद्धमा म मेरो एउटा दाँतसम्म खोल्ने छुइनँ। यसले कमसेकम झुण्डका तीनवटा जीवन त बाँच्नेछ अनि यसो गर्नाले तिमीहरू आफ्नो एउटा निर्दोष भाइलाई मार्ने लज्जास्पद कार्य र कलङ्कबाट पनि बाँच्नेछौ आफ्नो त्यो भाइको हत्या गर्नबाट जसलाई जङ्गलको कानूनअनुसार नै झुण्डमा सामेल गरिएको थियो ।”
“त्यो मान्छे हो – मान्छे हो मान्छे हो!” झुण्डका युवा ब्वाँसोहरू ड्यारडुर्र गर्नथाले। तिनीहरू शेर खानको, जसको पुच्छर बड़ो डरलाग्दो ढङ्गमा घुम्न थालेको थियो, चारैतिर भेला हुन थालेका थिए ।
“अब त सबै कुरो तेरै हातमा छ”, बघेराले मोगलीलाई भन्यो,
“हामी त भिड़िनबाहेक अरू केही गर्न सक्दैनौँ ।”
मोगली हातमा आगोको भाँडा लिई सीधा तन्केर उभियो । त्यसपछि उसले एकपटक आङ तान्दै हाइ काड्यो, मानो उसलाई कुनै कुराको चिन्ता छैन । तर उसको मन भने क्रोध र सन्तापले भरिएको थियो। यसको अघि ब्वाँसोहरूले उसलाई कहिल्यै पनि भनेका थिएनन कि तिनीहरू ऊसित यति बिघ्न घृणा गर्छन् ।
“यसरी कुकुरहरू जस्तै भुक्नुपर्दैन । आज राति तिमीहरूले म मान्छे हुँ भन्ने कुरा यतिपटक गरयौ (म त जीवनभरि तिमीहरूसित ब्वाँसो नै बनेर बस्थें) कि मलाई पनि यस कुरोमाथि विश्वास हुन लागिरहेछ । अब म एउटा मान्छेले जस्तै तिमीहरूलाई आफ्नो भाइ होइन तर कुकुर भन्नेछु । अब तिमीहरूले के गर्नेछौ वा के गर्नेछैनौ, यो तिमीहरूले होइन, तर म निर्णय गर्नेछु । मैले आफूसित अलिकता रातो फूल लिएर आएको छु जोसित तिमी कुकुरहरू साहै डराउँछौ ।”
उसले आगोको भाँडालाई भुइँमा थेचास्यो । त्यसबाट केही जलेका कोइलाहरू भुइँमा छरियो जसले गर्दा त्यहाँको सुक्खा घाँसहरू जल्न थाल्यो अनि त्यसबाट आगोको ज्वाला दन्कन थाल्यो । झुण्डका ब्वाँसोहरू डराएर पछि सरे। मोगलीले एउटा सुकेको हाँगा टिपेर त्यसको अघाड़िको भाग सल्कायो र त्यसलाई डराएका ब्वाँसोहरू माझ घुमाउन थाल्यो ।
“सानो भाइ, अब स्थिति तेरो वशमा छ । कसैले केही बिगार्न सक्दैन ।” बघेराले अलि दबिएको स्वरमा भन्यो, “अकेलालाई मृत्युको मुखबाट बचा । ऊ सदैव तेरो साथी बनेर रहेको छ ।”
अकेलाले, जसले आजसम्म कसैसित पनि दयाको भीख मागेको थिएन, मोगलीतिर मायालाग्दो आँखाले हेस्यो । नाङ्गो मोगलीको लामो कालो केश जलिरहेको हाँगाको उज्यालोमा छायाँ बनाई उसको काँधहरूमा हल्लिरहेको थियो ।
मोगलीले चारैतिर हेर्दै भन्यो, “तिमीहरू सबै कुकुरहरू हौ । म तमीहरूलाई छाडेर आफ्नो मान्छेहरू भएका ठाउँमा गइरहेछु – यदि तिनीहरू साँच्चै नै मेरा आफ्ना हुन् भने । जङ्गल त अब मेरो निम्ति बन्द भइहालेको क। म पनि अब तिमीहरूसित बिताएका समयलाई भुल्ने कोशिश गर्नेछु ।
तर म तिमीहरू झैँ कठोर छुइनँ । हामीमाझ रगतको साइनो छैन त के भो? तरै पनि म तिमीहरूको भाइजस्तै भएर बसेको छु । म बाचा गर्छु कि तिमीहरूले झैँ विश्वासघात कहिल्यै गर्ने छुइनँ ।” उसले आफ्नो खुट्टाले आगोलाई लात लाउँदा त्यहाँबाट झिल्काहरू निस्कियो । “म झुण्डका ब्वाँसोहरूमाझ कुनै झगड़ा भएको चाहन्नँ, तर जानभन्दा अघि मैले एउटा ऋण चुक्ता गर्नुछ ।” भन्दै ऊ शेर खान भएतिर बढ्यो, जो बसेर मूर्खले झैँ आगोतिर हेर्दै आँखा झिमझिम गर्दै थियो । बघेरा पनि खतराको आशङ्का गर्दै उसको पछि पछि लाग्यो । मोगलीले शेर खानको दाह्रीको भुत्ला समातेर भन्यो, “ए कुकुर उठ्! जब कुनै मान्छे बोल्न थाल्छ तब तँ उठेर उभिनपर्छ नत्रभने म तेरो रूवा जस्तो छालालाई डढ़ाइदिन्छु ।”
डरले गर्दा शेर खानको कान शिथिल भएर त्यसको टाउकोपछाड़ि गई झुण्डिएको थियो । मोगलीको हातको जल्दै गरेको हाँगा त्यसको मुखको छेउमा पुगेको मात्र के थियो डराएर त्यसले आँखा बन्द गरयो ।
“यो गाईबस्तुको हत्याराले भनेको थियो कि यसले मलाई परिषद्द्मा मार्नेछ किनभने जब म सानो बच्चा थिएँ त्यतिखेर यसले मलाई मार्न सकेको थिएन। अब म यसलाई बताउनेछु कि मान्छेले कुकुरलाई कसरी मार्छ । यदि तैंले तेरो जुघाको एउटा रौं पनि हल्लाइस् भने नि लङ्गड़े ! म यो रातो फूल तेरो घाँटीभित्र घुसारिदिनेछु।” उसले शेर खानको टाउकोमा त्यो जल्दै गरेको हाँगाले हिर्काउन थाल्यो अनि त्यो क्रूर बाघ भयभीत भएर रून थाल्यो ।
“अरे एई डढ़ेको बिरालो, अब यहाँदेखि भाग् ! अँ, एउटा कुरा याद राख्नू । जब म अर्कोपटक मान्छेजस्तै इज्जतसित यस परिषद् शिलामा आउनेछु तब म तँलाई मारी तेरो छाला लिएर जानेछु ।.. जहाँसम्म अकेलाको प्रश्न छ ऊ जसरी चाहन्छ उसरी नै बस्नेछ । तैंले उसलाई मार्नेछैनस् किनभने म यस्तै चाहन्छु। अनि तिमीहरू कुकुरहरूजस्तै जिब्रो ल्यापल्याप गर्दै यहाँ किन बसिरहेको? भाग!” अनि मोगलीले जल्दै गरेको हाँगालाई तिनीहरूका बीचमा गई चारैतिर घुमाउन थाल्यो । त्यसबाट झिल्काहरू निस्किएर ब्वाँसोहरूको रौंलाई डढ़ाउन थाल्यो अनि तिनीहरू चिच्याउँदै र कराउँदै भाग्न थाले। अन्त्यमा त्यहाँ अकेला, बघेरा अनि दशजना ती
ब्वाँसोहरू थिए जसले मोगलीको पक्ष लिएका थिए, मात्र बाँकी रहे । एकाएक मोगलीलाई आफूभित्र एउटा पीड़ाको यस्तो ठेसको अनुभव हुनथाल्यो जो पहिला कहिल्यै भएको थिएन । उसलाई श्वास थुनिएको झैँ लाग्न थाल्यो-उसका आँखाबाट आँसु झर्न थाल्यो।
“यो मलाई के भइरहेछ?” उसले भन्यो। “म जङ्गल छोड्न चाहने अनि म जान्दिनँ कि मलाई के भइरहेछ? बघेरा, के म मर्नेवाला छु?”
“होइन, सानो भाइ, यो त केवल आँसु हो जो मान्छेहरूसित हुन्छ अब मैले बुझें कि तँ पूरा मान्छे भइसकिस, बच्चा रहिनस् । जङ्गलको दैलो त अब साँच्चै नै तेरो निम्ति बन्द भइसकेको छ । आँसुहरूलाई बग्न दे मोगली।” अनि मोगली बसेर यति साह्रो रोयो मानो उसको मुटु फुट्नेछ। योभन्दा अघि ऊ कहिल्यै रोएको थिएन ।
“अब म मान्छेहरू भए ठाउँमा जान्छु ।” उसले भन्यो । “तर पहिला आफ्नो आमासित बिदा लिई आउनेछु ।” अनि ऊ गुफामा पुग्यो जहाँ आमा र बाबु ब्वाँसो आफ्ना बच्चाहरूसित बस्ने गर्थे । आमा ब्वाँसोको रूईजस्तो छालामा टाँसिएर ऊ धेरै बेरसम्म रोइरह्यो अनि आमा ब्वाँसोको चारवटा बच्चाहरूले पनि करुण विलाप गर्न थाले ।
“तिमीहरूले मलाई भुल्ने त छैनौँ होइन?” मोगलीले भन्यो ।
“कहिल्यै पनि भुल्नेछैनौँ”, चारैजनाले भने, “जब तँ मान्छे हुन्छस कहिलेकाहीँ पहाड़को मुनि आउने गर्नु अनि हामी तँसित बात मार्नेछौं । हामी पनि राति खेतहरूमा आएर तँसित खेल्ने गर्नेछौँ ।”
“छिटो आउनू।” बाबु ब्वाँसोले भन्यो, “मेरो ज्ञानी सानो भ्यागुत छिटै फर्केर आउनू किनभने तेरो यो आमा र म, दुवै बूढो भइसकेका छौं नानी ।”
“छिटो आउनू मेरो नाङ्गे सानो नानी!” आमा ब्वाँसोले भनी, “सुन एई मान्छेको बच्चा, मैले तँलाई आफ्ना बच्चाहरूलाई भन्दा पनि बेसी मायारेकी छु। छिटै फर्की आउनू, नानी!”
“म अवश्य आउनेछु।”, मोगलीले भन्यो, “अनि यहाँ आएर परिषद शिलामाथि शेर खानको छाला बिछ्याउनेछु। मलाई नभुल्लू ! जङ्गलम नि सबैलाई मेरो सम्झना गराइरहनू।”
जब मोगली पहाड़देखि तल ओर्लियो तब बिहान भइसकेको थियो। ऊ एकदमै एकलो थियो अनि ती रहस्यमय प्राणीहरूसित भेट्न गइरहेथ्यो जसलाई मान्छे भनिन्छ ।
शिओनी ब्वाँसो झुण्डको शिकार गीत
रातिको कालो अँध्यारो चिरेर
धरतीमा जसै उज्यालो खस्यो
घना जङ्गलमा साँभरको आवाज
दोहोरिएर फर्कीफर्की आयो
हरिणले पानी पिउने थलामा
हरिणी उफ्री पलापलामा
विचार्दै आवाज किन यसरी
दोहोरिएर फर्कीफर्की आयो
रातिको कालो अँध्यारो चिरेर
धरतीमा जसै उज्यालो खस्यो
घना जङ्गलमा साँभरको आवाज
दोहोरिएर फर्कीफर्की आयो
एउटा ब्वाँसो गयो फर्केर
झुण्डका निम्ति खबर बोकेर
आइपुग्ने उसको विचार मनमा
दोहोरिएर फर्कीफर्की आयो
रातिको कालो अँध्यारो चिरेर
धरतीमा जसै उज्यालो खस्यो
ब्वाँसोको झुण्डले चिच्याएको आवाज
दोहोरिएर फर्कीफर्की आयो
जङ्गलमा निशान छैन पाइलाको
आँखाले बुझ्छ रहस्य निशाको
कान थापी सुन आवाज फेरि त्यो
दोहोरिएर फर्कीफर्की आयो
क्रमशः

