मूल लेखक : रूडयार्ड किप्लिङ
अनुवादक : भानु छेत्री
मोगलीका दाजुभाइहरू – १
अब चीलले रातलाई बोलायो
चमेराहरूलाई स्वतन्त्र तुल्यायो
गाईबस्तुहरू गोठभित्र हुलिए
बिहान मात्र खोलिने ठहरिए
यो गर्व र शक्तिको क्षण हो
दाह्रा र नङ्ग्रा तिखार्ने पल हो
सबैले शिकार गर्न सकुन्
जङ्गलको कानून अक्षुण्ण रहुन्
साँझको सात बजेको थियो । सिओनी पहाडहरूको यो साँझ धेरै गरम थियो । दिनभरिको विश्रामपछि बाबु ब्वाँसो ब्यूँझियो । उसले आफ्नो शरीर कनायो, आङ तान्यो अनि निद्रा भगाउनका निम्ति एकपछि अर्को गर्दै आफ्नो पञ्जा तन्कायो । गुफाको अर्को छेउमा आमा ब्वाँसो आफ्ना चार ससाना बच्चाहरूसित ढल्किएकी थिई जो निदाएका थिएनन् र मुखबाट केही न केही आवाजहरू निकालिरहेका थिए । गुफाको मुखबाट जूनको किरण छिरेर भित्र हल्का उज्यालो फैलाइरहेको थियो ।
“आह ! फेरि शिकारमा जाने समय भयो”, बाबु ब्वाँसोले ङ्यार गर्दै भन्यो अनि ऊ बाहिर निस्केर तलतिर हाम फाल्न मात्र के आँटेको थियो, गुफाको मुखैमा झम्म पुच्छर भएको कुनै जन्तुको छायाँ देखा पर्यो । यो तबाकी नाम गरेको स्याल थियो ।
त्यसले भित्र पस्दै भन्यो, “ओ ब्वाँसोहरूका प्रमुख ! तपाईं अनि तपाईंका बच्चाहरूको भाग्य सधैं चम्किरहोस्, तपाईंका बच्चाहरूका दाँत खुबै सेतो, स्वस्थ र बलियो रहोस् अनि तपाईंले झैँ उनीहरूले पनि यस संसारमा भएका भोकानाङ्गाहरूलाई कहिल्यै नभुलून् ।”
भारतका ब्वाँसोहरूले तबाकी झैँ स्यालहरूलाई मन पराउँदैनन् किनभने तिनीहरू जुठे र पोलसरूवा हुन्छन् । तिनीहरू यताउता डुलेर झूट र नचाहिँदा कुराहरू फैलाउँछन् अनि गाउँको घुरेनबाट मैला कुरोहरू टिपेर खाँदै डुल्छन् । स्याल बौलायो भने आफ्नो डर भुलेर त्यसले आफ्नो अघि आउने जोसुकैलाई पनि टोक्दै हिँड्ने गर्छ । यस्तो अवस्थामा बाघ पनि त्योसित डराएर लुक्न थाल्छन् किनभने कुनै पनि वन्य जन्तुका निम्ति बौलाहा हुनु सबैभन्दा लज्जास्पद स्थिति मानिन्छ ।
“ठीकै छ, भित्र गएर हेर ।” बाबु ब्वाँसोले अलिक झर्को स्वरमा भन्यो, “तर त्यहाँ खानेकुरो केही पनि पाउने छैनौ ।”
“ब्वाँसोहरूका निम्ति केही नहुन सक्छ तर मजस्तो तुच्छ प्राणीका निम्ति त एउटा सुकेको हड्डी पनि भोजतुल्य हुन्छ । हामी स्यालहरू कुनै थोक रुचाउने र छान्ने को हौं र ?” यति भनेर त्यो हतारिएर दगुर्दै गुफाको पछिल्तिर गयो र एउटा हड्डी टिप्यो जसमा केही मासु पनि टाँसिएको थियो अनि बसेर आनन्दपूर्वक खान थाल्यो ।
“यति स्वादिष्ट भोजनको लागि धेरैधेरै धन्यवाद !” त्यसले जिब्रो पड्काउँदै भन्यो । “तपाईंका यी नानीहरू कति सुन्दर छन् ! कति ठूल्ठूला आँखाहरू छन् यिनका ! हुन पनि राजाका नानीहरू शुरूदेखि नै किन तेजस्वी नहोऊन् त !”
यो एउटा साधारण कुरो हो । तबाकीलाई पनि यस कुरोको ज्ञान थियो कि नानीहरूका सामु तिनको प्रशंसा गर्नु अत्यन्त अनुचित र अशुभ मानिन्छ । यसो गर्नाले तिनीहरूलाई आँखा लाग्न सक्छ । तर त्यसको यस्तो अनुचित चेष्टाले बाबु र आमा ब्वाँसोलाई चिन्ता भइरहेको थियो । त्यो देखेर त्यसको मनभित्रभित्रै रमाइरहेथ्यो ।
त्यो आफ्नो यस्तो बदमाशीमा रम्दै केही क्षण चुपचाप बसिरह्यो अनि फेरि द्वेष भरिएको स्वरमा बोल्यो, “शेर खानले आफ्नो शिकारस्थल बदलेको छ । अब आउँदो पूर्णेसम्म उसले यी पहाडहरूमा शिकार गर्नेछ । ऊ आफैले मलाई यो कुरा भनेको छ ।”
शेर खान एउटा बाघ थियो जो त्यहाँ झन्डै बीस माइलको दूरीमा वेणगङ्गा नदीको छेउमा बस्ने गर्थ्यो ।
“उसलाई यसो गर्ने कुनै अधिकार छैन ।” बाबु ब्वाँसोले रिसाउँदै भन्यो, “जङ्गलको नियमअनुसार उसले कुनै पूर्व सूचनाबिना आफ्नो शिकार स्थल बदली गर्न पाउने छैन । यसरी त उसले दश माइलभित्रका सबै जन्तुहरूलाई डराएर भगाइदिन्छ-मैले त हिजोआज दुईजनाको शिकार एक्लैले गर्न पर्दैछ ।”
“उसकी (शेर खानकी) आमाले त्यसको नाम लङ्गडा भनेर ठीकै राखेकी थिई ।” आमा ब्वाँसोले प्याच्चै भनी, “त्यो जन्मैदेखि एउटा खुट्टाले लङ्गडा थियो । यसैकारण त त्यसले गाईबस्तुहरूलाई मात्र मार्छ । अहिले वेणगङ्गापारि गाउँको मानिसहरू त्योदेखि रिसाएका छन् अनि अब त्यो यहाँ आएर हाम्रो गाउँका मानिसहरूलाई पनि बिच्काउनेछ । उनीहरू त्यसको खोजमा सारा जङ्गल चहार्नेछन् अनि घाँसमा आगो लगाइदिने छन् । त्यसो भयो भने हामीहरू आफ्नो बच्चासमेत घरमै छोडेर भाग्न पर्नेछ । हामी साँच्चै नै साहै आभारी छौ शेर खान महोदयप्रति !”
“तपाईंको आभार म ऊकहाँ प्रकट गरिदिऊँ ?” आमा ब्वाँसोको क्रोधपूर्ण व्यङ्ग्यको प्रत्युत्तरमा बोल्यो तबाकी ।
“भागिहाल् हत् यहाँबाट !” बाबु ब्वाँसोले दाह्रा किट्दै भन्यो, “गएर त्यो तेरै मालिकसित शिकार गर् । हाम्रो आजको रात त तैंले त्यसै पनि सत्यनाश पारिहालिस् !”
“जान्छु, गइहाल्छु !” तबाकीले शान्तिसित भन्यो, “तल झ्याङहरूका बीचबाट शेर खानको आवाज सुनिँदैछ । मैले बिनसित्तिमा तपाईंहरूलाई यो खबर सुनाएछु ।” यति भनेर त्यो त्यहाँबाट हिँड्यो ।
बाबु ब्वाँसोले त्यस आवाजको दिशातर्फ कान थापेर सुन्ने कोशिश गर्यो । तल घाँटी (जो एउटा सानो नदीसम्म आएर टुङ्गिन्थ्यो) बाट शेर खानको शुष्क, कुद्ध र झर्को मानेको गर्जन सुनियो । यो एउटा यस्तो बाघको गर्जन थियो जो शिकार गर्न नसकेकोमा आफैसित झर्को मानिरहेथ्यो अनि कसैले पनि यस कुराको वास्ता गर्दैन थियो कि उसको यो क्रोध र निराशापूर्ण गर्जन सुनेर सारा जङ्गलले यो कुरा थाहा पाउनेछ ।
“मूर्ख !” बाबु ब्वाँसोले भन्यो, “यसरी गर्जिएर पनि कहीं शिकार पक्रिन सकिन्छ । के उसले हाम्रो जङ्गलका हरिणहरूलाई वेणगङ्गाको पालेर पुष्टिएको साँद सम्झेको छ ?”
“उफ् ! आज त्यसले कुनै हरिण वा साँदको होइन तर मान्छेको शिकार गर्नेवाला छ ।” आमा ब्वाँसोले भनी ।
अहिले शेर खानको गर्जन धीमा ङ्यार्रमा परिवर्तन भइसकेको थियो अनि यस्तो लाग्थ्यो त्यो आवाज जङ्गलको कुनाकुनामा फैलिएको छ । यो त्यस किसिमको ङ्यारङ्यार थियो जसले खुल्ला आकाशमुनितिर सुतिरहेका जनावर र दाउरेहरूलाई भ्रममा पारिदिन्थ्यो अनि कतिपटक त उनीहरू बाघदेखि जोगिने सुरमा बाघ भएतिर नै आइपुग्थे र त्यसको शिकार बन्न पुग्थे ।
“मान्छे अरे !” बाबु ब्वाँसोले आफ्नो सेतो र चम्किलो दाँत देखाउँदै भन्यो, “के पोखरीहरूमा भ्यागुता र कीरा-फटेङ्ग्राहरूको अभाव भएको छ र त्यसले मान्छे खान्छ, त्यो पनि हाम्रो इलाकामा ?”
जङ्गलको कानूनको प्रत्येक नियमपछि कुनै ठोस कारण हुन्छ अनि त्यसमा कुनै पनि जन्तुका निम्ति मान्छे मारी खानु निषेध छ । उसले मान्छेलाई त्यतिखेर मार्न सक्छ जतिखेर ऊ आफ्ना बच्चाहरूलाई शिकार गर्न सिकाइरहेको हुन्छ अनि यो काम पनि उसले आफ्नो शिकारभूमिको सीमाभित्र गर्न पाउनेछैन । यसको पनि एउटा ठोस कारण छ । मान्छेको शिकारको प्रतिक्रियास्वरूप ढिलो वा छिटो जहिले भए पनि हात्तीहरूमा सवार भई सैंकडौं बन्दूकधारीहरू ढोल-ढ्याङ्ग्रो ठटाउँदै राँको बालेर आई जङ्गलमा धावा बोलिदिन्छन् जसको फलस्वरूप सारा जङ्गल नै सङ्कटमा पर्न जान्छ । त्यसै पनि जङ्गली जन्तुहरू एकार्कासितको कुराकानीमा यसो भन्ने गर्छन्, संसारभरिका प्राणीहरूमध्ये मान्छे सबैभन्दा कमजोर र आत्मरक्षा गर्न नसक्ने प्राणी हो, त्यसैकारण यस्तो प्राणीको शिकार गर्नु आफ्नो बहादुरी र इज्जतको खिल्ली उडाउनु हो । उनीहरू यसो पनि भन्ने गर्छन्, जो सत्य पनि हो, मान्छे मारी खाने जन्तुहरूका शरीरको छाला बिग्रन्छ अनि दाँत पनि झर्छ ।
अहिले बाघको ङ्यारङ्यार बढेर ठूलो गर्जनमा परिणत भयो, यस्तो प्रतीत हुन्थ्यो मानो त्यो कसैमाथि झम्टिन पुग्यो । त्यसपछि शेरखानको त्यो गर्जन दबिएर बाघलाई नसुहाउने एउटा क्षीण र दुर्बल आर्तनाद बन्न पुग्यो जसलाई सुनेर आमा ब्वाँसोले भनी, “उम्कियो । कुन जन्तुको शिकार गर्दै थियो कुन्नि !”
बाबु ब्वाँसोले बाहिरतिर केही कदम बढायो अनि उसले झ्याङहरूमा पल्टिएर शेर खान गनगनाएको सुन्यो ।
“त्यस मूर्खसित किञ्चित पनि बुद्धि छैन । त्यसले एकजना दाउरेले बालेको आगोमाथि हाम फालेर आफ्नो खुट्टा पोलेछ ।” बाबु ब्वाँसोले घुँकघुँक गर्दै भन्यो ।
“तबाकी त्योसित छ ।”
त्यति नै खेर केही साराकसुरुकको आवाज सुनेर आमा ब्वाँसोको कान ठाडो भयो । उसले भनी, “कोही माथि आउँदैछ । चलो भएर बस ।”
झ्याङहरूमा केही सारकसुरुक भयो अनि बाबु ब्वाँसो झम्टिएर आक्रमण गर्नका निम्ति तयार भयो । यदि त्यतिखेर त्यहाँ कुनै दर्शक हुँदो हो त उसले एउटा अचम्मको दृश्य देख्ने थियो मानो झम्टिनलाई उफ्रिएको ब्वाँसोलाई झम्टाइबीच नै कसैले रोकिदिएको छ । बाबु ब्वाँसो आफ्नो लक्ष्य नहेरी नै उफ्रिएर झम्टिएको थियो अनि कसैलाई नदेख्दा उसले बीचमा नै आफ्नो उफ्राइमाथि रोक लाउने कोशिश गरेको थियो जसको फलस्वरूप ऊ हावामा चारपाँच फीट माथि उफ्रिएर फेरि लगभग त्यही ठाउँमा नै झस्यो जहाँबाट ऊ उफ्रिएको थियो ।
“अरे, मान्छे !” उसले भन्यो, “मान्छेको बच्चा ! हेर त !”
उसको ठीक अघिल्तिर एउटा होचो हाँगा पक्रिएर एउटा नाङ्गो र अलिक कालोकालो वर्णको मानव शिशु उभिएको थियो जसले भरखरै हिँड्न सिकेको थियो । यस्तो कोमल, डल्लो सानो मानव शिशु शायदै कहिले कुनै ब्वाँसोको गुफामा आएको होस् । ऊ बाबु ब्वाँसोको अनुहारतिर हेर्दै हाँस्न थाल्यो ।
“के यो मान्छेको बच्चा हो ?” आमा ब्वाँसोले सोधी । “मैले यसभन्दा अघि कहिल्यै पनि मान्छेको बच्चा देखेकी छुइनँ । त्यसलाई यता ल्याऊ त !”
ब्वाँसोहरूलाई पनि आफ्ना बच्चाहरूलाई सुरक्षित रूपमा यताउता लैजाने आदत हुन्छ नै । आवश्यकता परेको खण्डमा उनीहरूले एउटा अण्डालाई पनि मुखमा चेपेर नफुटाई लैजान सक्छन् । बाबु ब्वाँसोले यद्यपि त्यस मानव शिशुलाई मुखले उठाएर आमा ब्वाँसोसामु पुस्यायो, यसो गर्दा उसको ढाड़ अलिकता पनि खोसिएन ।
“कति सानो, नाङ्गो र निडर छ यो !” आमा ब्वाँसोले कमलो स्वरमा भनी । त्यो मानव शिशु ब्वाँसोका बच्चाहरूका बीचमा पसेर आमा ब्वाँसोको काखको न्यानो पाउने कोशिश गरिरहेको थियो ।
“अहो ! यसले त मेरा अरू बच्चाहरूले झैँ मेरो दूध खाँदैछ । त्यसो भए यही नै हो मान्छेको बच्चा ! के मलाईजस्तै कुनै आमा ब्वाँसोलाई पनि आफ्ना बच्चाहरूसित मान्छेको बच्चा पाल्ने अवसर प्राप्त भएको छ ?” आमा ब्वाँसोले स्नेहपूर्ण स्वरमा भनी ।
“यस्तो कुरो त सुनिएको नै हो तर हाम्रो झुण्डमा वा हाम्रो जमानामा त पहिले यस्तो कहिल्यै भएको थिएन”, बाबु ब्वाँसोले भन्यो । “यसको शरीरमा त भुत्ला छँदै छैन । यति कोमल छ कि मेरो एउटा पञ्जाले छुनेबित्तिकै यसको प्राण जान्छ, तर कति निडर भएर हेरिरहेछ ! किञ्चित पनि डर छैन ।”
त्यति नै खेर शेर खान गुफाको मुख अघिल्तिर आएर उभियो, त्यसो हुँदा गुफाभित्र जूनको उज्यालो छिर्न पाएन । त्यसको ढाड पछिल्तिर उभिएर तबाकीले भनिरहेथ्यो, “मालिक ! मालिक ! त्यो यसै गुफाभित्र पसेको थियो ।”
“शेर खानले यहाँ आएर हाम्रो मान बढाएको छ”, बाबु ब्वाँसोले बाघलाई देखेर भन्यो, तर उसका आँखाहरूमा क्रोध झल्किरहेको थियो । “शेर खानलाई यस्तो के कुरोको खाँचो पस्यो ?”
“एउटा मानव शिशु यहाँ आएको छ जो मेरो शिकार हो”, शेर खानले भन्यो, “त्यसको आमाबाबुले त्यसलाई छोडेर भागेको छ । मेरो त्यो शिकार मलाई फर्काइदेऊ ।”
बाबु ब्वाँसोले भनेजस्तै शेर खान एकजना दाउरेले जलाएको आगोमाथि झम्टन पुगेको थियो जसले गर्दा उसको खुट्टा पोलेको थियो अनि त्यो दुखेको झोंकमा रिसाइरहेको थियो । गुफाको मुख यति सानो थियो कि त्यो बाघ त्यसबाट भित्र पस्न सक्तैन थियो । अहिले पनि त्यस गुफाको सानो मुखनेर जबरजस्ती उभिनका निम्ति उसले आफ्ना काँधहरू र अघाड़िको पञ्जालाई बलजफ्ती खुम्च्याउन परेको थियो । त्यस गुफाभित्र पसी ब्वाँसोहरूसित भिड़िन उसका निम्ति त्यति नै असम्भव थियो जति एकजना मान्छेलाई कुनै पीपा ( ? ?) वा ढ्वाङभित्र पसी लडाइँ गर्नमा हुन्छ ।
“हामी ब्वाँसोहरू स्वतन्त्र जाति हौँ”, बाबु ब्वाँसोले भन्यो । “हामीहरू केवल आफ्नो झुण्ड प्रमुखको हुकुम मान्छौँ, गाईबस्तु मार्ने कुनै धर्के छाला भएको हत्याराको होइन । त्यो मानव शिशु हाम्रो हो । हामी त्यसलाई मारौं वा जेसुकै गरौं ।”
“त्यसलाई मार्ने वा नमार्ने फैसला गर्ने तँ को होस् ? म त्यस साँढको कसम खान्छु जसलाई मैले मारेको थिएँ, तेरो यो ढीटपन असह्य छ । के म मेरो आफ्नै शिकारका निम्ति तेरो यस कुकुर जस्तो गुफामा नाक घुसारेर उभिरहनु ! म शेर खान बोलिरहेछु ।” अनि त्यो ठूलो स्वरमा गर्जियो ।
बाघको गहिरो गर्जन गुफाभरि व्याप्त भयो । आमा ब्वाँसोले आफ्नो दूध खाँदै गरेका बच्चाहरूलाई एकातिर झट्काएर गुफाको मुख भएतिर झम्टेर गई अनि ऊ अँध्यारोमा चम्किरहेका आफ्ना हरिया आँखाहरूबाट आगो बर्साए झैँ गरी शेर खानको कुद्ध दृष्टिको सामना गर्नुका निम्ति अघि बढेर आई ।
“तेरो यस प्रश्नको उत्तर म राक्षसनीले दिइरहेछु । त्यो मानव शिशु मेरो हो । बुझिस् लङ्गडे ? मेरो चीज आखिर मसित नै रहनेछ । त्यसलाई मारिनेछैन । त्यो हाम्रो झुण्डसित बसेर दौडने, भाग्ने अनि शिकार गर्नेछ । अनि सुन् ससाना नानीहरूका हत्यारा ! भ्यागुता खा ! माछा मार् ! अन्त्यमा यसले तेरो शिकार गर्नेछ । अब तँ यहाँदेखि चम्पट भइहाल् नत्रभने त्यो साम्भरको कसम जसलाई मैले मारेकी थिएँ । (म तैंले जस्तो भोको गाईबस्तु खाँदिन), तँ जन्मैदेखि जस्तो लङ्गड़ा छस् त्योभन्दा पनि अधिक लङ्गडा भएर आफ्नो आमा भए ठाउँ पुग्नेछस् । एई जङ्गलको डढेको दुष्ट पशु ! जा भाग् यहाँबाट !”
बाबु ब्वाँसोले अचम्म मानेर यी सबै हेरिरहेको थियो । उसले त ती दिनहरू प्रायः भुलिसकेको थियो जब उसले पाँचवटा ब्वाँसोहरूलाई भीडन्तमा हराएर आमा ब्वाँसोको मन जितेको थियो । उसले त्यतिखेर राक्षसनीको उपाधि त्यसै पाएकी थिइन । ऊ धेरै वीर र साहसी थिई अनि झुण्डसित शिकारमा जाने गर्थी । शेर खानका निम्ति बाबु ब्वाँसोको सामना गर्नु अझै पनि सजिलै थियो तर आमा ब्वाँसोको होइन । उसलाई थाहा थियो, एक त यो ठाउँ आमा ब्वाँसोको आफ्नो हो अनि अर्को कुरा आमा ब्वाँसोहरू लड्नुमा कहिल्यै पछि पर्दैनन् । यसैकारण त्यो ङ्यार गर्दै गुफाको मुखबाट पछि सस्यो अनि कराएर भन्यो, “आफ्नो घरमा त सबै कुकुर भुक्छ । अब हेर्नुछ कि यस मान्छेको बच्चालाई पाल्ने विषयमा ब्वाँसोहरूका झुण्डको के विचार छ । सुन् एई झम्म पुच्छर भएका चोरहरू ! त्यो बच्चा मेरो हो अन्त्यमा मेरै आहार बन्नेछ ।”
आमा ब्वाँसो स्याँ… स्याँ… हुँदै आफ्ना बच्चाहरू भएका ठाउँमा आएर ढल्किई । बाबु ब्वाँसोले केही चिन्तित बन्दै भन्यो, “शेर खानको यो कुरा त ठीकै थियो । यो मानव शिशु हामीहरूले झुण्डलाई देखाउनैपर्छ । के तँ अझै पनि त्यसलाई आफूसित राख्न चाहन्छेस् ?”
“राख्न चाहन्छु ?” जब यो राति आयो त्यतिबेला यो नाङ्गो र भोको थियो । तरै पनि पटक्कै डराएन । मेरा बच्चाहरूका बीचबाट जग्गा बनाएर यो म भएतिर घुस्रियो । त्यो लङ्गडा कसाईले त यसलाई मारेर वेणगङ्गाको दिशातिर भागिसकेको हुनेथियो, अनि यहाँका गाउँलेहरूले बदला लिनका निम्ति हाम्रा गुफाहरू चहारेर हामीहरूलाई मार्नेथियो । म यसलाई किन नराखूँ ? अवश्य राख्नेछु । एई फुच्चे भ्यागुता ! चुप्प लागेर सुत् । एई मेरो मोगली – म तँलाई मोगली भ्यागुता नै भनेर डाक्नेछु – त्यो दिन अवश्य नै आउनेछ जब तैंले शेर खानको शिकार गर्नेछस्, ठीक त्यस्तै प्रकारले जसरी त्यसले आज तेरो गरिरहेको थियो ।”
“तर हाम्रो झुण्डले के भन्ला ?” बाबु ब्वाँसोले चिन्ता व्यक्त गर्यो ।
जङ्गलको कानूनअनुसार कुनै पनि ब्वाँसो विवाहपछि आफ्नो झुण्डदेखि अलग भई बस्न सक्छ । तर जब उसका बच्चाहरू आफ्नो खुट्टामा उभिने लायक बन्छन् तब उसले तिनीहरूलाई लिएर झुण्डको मासिक सभामा उपस्थित हुनपर्छ जसमा कि सबै ब्वाँसोहरूले तिनीहरूलाई चिन्न सकून् । यो सभा प्रत्येक पूर्णमा हुन्छ । त्यसपछि ती बच्चाहरू जहाँ पनि खेलकुद गर्न अनि घुम्न सक्छन् । जबसम्म कुनै बच्चाले पहिला हरिणको शिकार गर्दैन तबसम्म त्यसलाई वयस्क र सक्षम मानिँदैन अनि यदि झुण्डको कुनै ब्वाँसोले त्यस बच्चालाई मारिहाले त्यसलाई अक्षम्य अपराध मानिन्छ । यसको सजाय केवल मृत्युदण्ड हुन्छ ।
आफ्ना बच्चाहरू हिँड्डुल गर्न सक्ने नहुञ्जेलसम्म बाबु ब्वाँसोले प्रतीक्षा गरिरह्यो अनि फेरि जुन रातमा झुण्डको सभा थियो ऊ आफ्ना बच्चाहरू, मोगली र आमा ब्वाँसोलाई लिएर परिषद् शिलामा पुग्यो जहाँ ब्वाँसोहरूका झुण्डको मासिक बैठक हुनेगर्थ्यो । त्यो एउटा यस्तो पहाडको टाकुरामा स्थित थियो जो ढुङ्गा र चट्टानहरूले ढाकिएको थियो जसको पछिल्तिर सयवटा ब्वाँसोहरू लुक्न सक्थ्यो । ‘अकेला’ नाम गरेको फुस्रो रङ्गको एउटा ब्वाँसो जसले आफ्ना बल र चतुर्याइँको आधारमा यस झुण्डको नेतृत्व गर्थ्यो, आफ्नो चट्टानमाथि पूरा तन्किएर ढल्किएको थियो । त्यसको मुन्तिरको स्थानमा सानाठूला, विभिन्न रङ्गहरूका लगभग चालीसवटा ब्वाँसोहरू बसेका थिए जसले एकलै एउटा ठूलो हरिणलाई मार्न सक्थ्यो अनि केही सानो उमेरका कालो रङ्गका ब्वाँसोहरू थिए जोसित अहिले त्यस्तो कुनै अनुभव थिएन ।
अकेलाले त्यस झुण्डको नेतृत्व गरेको एक वर्ष भइसकेको थियो । आफ्नो यौवनकालमा ऊ दुईपटक शिकारीहरूका जालमा परेको थियो । एकपटक त तिनीहरूले उसलाई यति साह्रो पिटेको थियो कि ऊ अचेत बनेको थियो अनि तिनीहरूले उसलाई मरेको ठानी छाडिदिएका थिए । अहिलेसम्म त उसलाई मान्छेहरूका बानी व्यवहारको राम्रो ज्ञान भइसकेको थियो । शिलामाथि बसिरहेका ब्वाँसोहरूमाझ विशेष कुराकानी भइरहेको थिएन । ठूला ब्वाँसोहरू घेरा बनाएर बसेका थिए अनि बच्चाहरू घेराभित्र कुदाकुद गर्दै एकार्कामाथि लडीबडी गरिरहेका थिए । बीचबीचमा एउटा ठूलो ब्वाँसो चुपचापसित कुनै बच्चाको सामु पुग्थ्यो, त्यसलाई निरीक्षण गर्थ्यो अनि बिस्तारै फर्केर आई आफ्नो स्थानमा बस्थ्यो । कहिले भने कुनै आमा ब्वाँसोले आफ्नो बच्चालाई घेराको माझमा जूनको उज्यालो भएतिर धकेल्थी जसमा कि उज्यालोको अभावमा त्यो ब्वाँसोद्वारा चिन्नमा फेर नपरोस् । बीचबीचमा आफ्नो शिलामाथि ढल्किरहेको अकेला भन्ने गर्थ्यो, “तिमीहरूलाई कानूनको ज्ञान छ ? तिमीहरूलाई कानूनको ज्ञान छ ? ए ब्वाँसोहरू हो ! राम्ररी हेर अनि चिन ।” अनि त्यसपछि आमा ब्वाँसोहरूले उसको त्यस भनाइलाई दोहोर्याउँथे, ब्वाँसोहरू ! राम्ररी हेर अनि चिन !”
अन्त्यमा ‘मोगली भ्यागुता’ (आमा ब्वाँसोले मानव शिशुका नाम यही राखेको थियो’ लाई चिन्ने समय पनि आइपुग्यो । आमा ब्वाँसोको घिचोका रौंहरू ठाडो भयो । बाबु ब्वाँसोले मोगलीलाई बिस्तारै ठेलेर घेराको माझमा पुस्यायो जहाँ ऊ बसेर हाँस्दै जूनको उज्यालोमा चम्किरहेका ढुङ्गाहरूसित खेलिरहेथ्यो ।
अकेलाले आफ्नो अघिल्ला पञ्जाहरूमाथि टाउको राखेर एकछिनपछि उसरी नै गुहार लगाइरह्यो, “राम्ररी हेर अनि चिन ।” उसले एकैपटक पनि आफ्नो टाउको उठाएर हेरेन । तर चट्टानहरूका पछिल्तिरबाट शेर खानको दबिएको ड्यार आवाज सुनियो “यो बच्चा मेरो हो । यसलाई मलाई सुम्पिदेऊ । तिमीहरू झैँ स्वतन्त्र जातिलाई स्वतन्त्र यस मान्छेको बच्चासित के लिनुदिनु छ र ?”
तर अकेलाको कानमा त्यस कुराको कुनै असर परेन । उसले उही किसिमको गुहार लगाउँदै भन्यो, “राम्ररी चिन ए ब्वाँसोहरू हो ! तिमीहरू झैँझै स्वतन्त्र जातिलाई स्वतन्त्र मानिसहरूबाहेक अन्य कसैको आदेशसित के मतलब ? राम्ररी हेर !”
ब्वाँसोहरूका झुण्डमा ङ्यार्यङुर्र गरेको आवाज सुनियो अनि तीमध्ये एक ब्वाँसोले, जो चौध वर्षको उमेरमा हिँड्दैथियो, शेर खानको प्रश्नलाई पुनः अकेलातर्फ फ्याँक्दै भन्यो, “स्वतन्त्र जातिलाई एउटा मान्छेको बच्चासित के मतलब छ ?” जङ्गलको कानूनअनुसार यदि कुनै बच्चालाई झुण्डमा सामेल गरिने सम्बन्धमा कुनै विवाद उठे यो आवश्यक छ कि झुण्डको कमभन्दा कम दुईजना यस्तो सदस्यद्वारा उसलाई ग्रहण गरिने सम्मति प्रकट होस् जो उसको आमाबाबु नहोस् ।
“यहाँ स्वतन्त्र जातिमा यस बच्चाको पक्षमा मत प्रदान गर्नका निम्ति को तयार छ ?” अकेलाले प्रश्न गस्यो । झुण्डको तर्फबाट जब कुनै उत्तर आएन तब आमा ब्वाँसोले मनमनै निश्चय गरी कि यदि मोगलीका निम्ति भिडिन परे ऊ अन्तिम श्वास रहुञ्जेलसम्म भिडिनेछ ।
यस्तैमा भालु बाजे जो ब्वाँसो नभए तापनि त्यस झुण्डको परिषद्द्मा सामेल थियो अनि जसले ब्वाँसोका बच्चाहरूलाई जङ्गलको कानूनको शिक्षा दिने गर्थ्यो, झुल्नु छोडेर अचानक ब्यूँझियो । उसलाई जङ्गलमा चारैतिर हिँड्डुल गर्ने अनुमति थियो किनभने उसको आहार थियो जङ्गलका कन्दमूल, फल र गुलियो मह ।
“मान्छेको बच्चा !” उसले भन्यो, “म उसको पक्षमा मत प्रदान गर्नेछु । उसलाई स्वीकार गर्नमा कुनै आपत्ति छैन । मलाई भाषण छाँट्न आउँदैन तर म साँचो बोल्छु उसलाई झुण्डले अपनाउनुपर्छ । म स्वयम् उसलाई शिक्षा प्रदान गर्नेछु ।
“हामीहरूलाई एकजना अर्को समर्थकको पनि आवश्यकता छ”, अकेलाले भन्यो । “हाम्रा बच्चाहरूका शिक्षक भालुले आफ्नो विचार पोखिसक्यो । ऊबाहेक अरूको यस बच्चाको पक्ष लिन चाहन्छ ?”
एउटा कालोकालो छायाँ घेराको बीचमा आएर देखा पस्यो । यो बघेरा थियो – कालो चितुवा, जसको कालो रङ्गको छालामाथि चितुवाको जस्तो थोप्ला कसोकसो गरी जूनको उज्यालोमा टल्किरहेको थियो । बघेरासित उनीहरू सबै परिचित थिए किनभने ऊ तबाकीजस्तै चलाख, अर्ना भैंसीजस्तै बहादुर अनि मदमस्त घाइते हात्ती जस्तै आँटिलो थियो । तर उसको आवाज रूखबाट चुहुँदै गरेको जङ्गली महजस्तै मधुर अनि उसको छालाको भुत्ला मखमलभन्दा पनि चिल्लो र नरम थियो ।
“औ अकेला अनि अन्य सबै स्वतन्त्र मानिसहरू”, उनले आफ्नो मीठो आवाजमा भन्यो, “मलाई तिमीहरूका परिषद्को कार्यमा दखल दिने कुनै अधिकार छैन तर जङ्गलको कानून यही हो कि यदि कुनै बच्चालाई मार्ने वा नमार्ने सम्बन्धमा कुनै विवाद उठे त्यस बच्चाको प्राण कुनै मूल्य चुकाएर किन्न सकिन्छ अनि त्यो मूल्य कसले चुकाउने हो यस विषयमा कानूनले केही भन्दैन । मेरो कुरा ठीक छ, होइन ?”
“एकदम ठीक ! एकदमै सही भन्यौ !” केही युवा ब्वाँसोहरूले, जो सधैं भोकाएका हुन्छन्, भने । “बघेराको कुरा सुन । बच्चालाई मूल्य चुकाएर किन्न सकिन्छ । कानूनले यही भन्छ ।”
“मलाई परिषद्द्मा केही बोल्ने अधिकार छैन, तर तपाईंहरूका अनुमति भए केही भनूँ ।”
“भन ! भन !” लगभग बीसजना जति ब्वाँसोहरूले एकैचोटि भने । “एकजना नाङ्गो असहाय बच्चालाई मार्नु लाजको कुरो हो । त्यो ठूलो भयो भने एउटा राम्रो शिकारी हुन सक्छ । भालुले उसको पक्षमा आफ्नो विचार पोखिसकेको छ । म उसको समर्थन अनि यस बच्चाको प्राणको मूल्यस्वरूप एउटा मोटो, हृष्टपुष्ट, हालैमा मरेको साँढे जो यहाँदेखि आधा माइलभित्रमा उपलब्ध हुन्छ, प्रस्तुत गर्छु । के तपाईंहरू यस मूल्यमा कानूनी रूपले यस बच्चालाई स्वीकार गर्नका निम्ति राजी हुनुहुन्छ ? यसो गर्दा कुनै अप्ठ्यारो त पर्दैन ?”
केही ब्वाँसोहरूले एकैसाथमा चिच्याउँदै भने, “कस्तो अप्ठ्यारो ! यो नाङ्गो बच्चा त त्यसै पनि ठण्डा महिनामा जाडोले काँपेर वा गरम महिनाको चर्को घामले पिल्सिएर मर्नेछ । यो नाङ्गो भ्यागुताले हाम्रो के हानि पुर्याउन सक्छ ? यसलाई झुण्डसित नै बस्न देऊ । बघेरा, त्यो साँढ कहाँ छ ? हामीहरूलाई त्यो बच्चा झुण्डमा सामेल गर्नमा कुनै आपत्ति छैन ।” अनि फेरि अकेलाको गम्भीर आह्वान गुञ्जियो, “ए ब्वाँसोहरू हो, राम्ररी हेर अनि ठीकसित चिन !”
मोगली भने आफ्नै धुनमा ढुङ्गाका रोडाहरूसित खेल्नमा मस्त थियो । जब एकएक गर्दै ब्वाँसोहरू उसलाई हेर्न र चिन्नका निम्ति अघि आउन थाले त्यतिखेर पनि उसको ध्यान रोडाहरूतिर नै थियो । अन्त्यमा तिनीहरू सबै मरेको साँढको भोज खान गए । त्यहाँ केवल अकेला, बघेरा, भालु अनि मोगलीको परिवारका ब्वाँसोहरू रहे । शेर खान भने अझै पनि रिसले गर्जदै घुमिरहेको थियो किनभने मोगली उसलाई सुम्पिइएन ।
बघेराले आफ्नो जुँगाको मुन्तिरबाट फतफताउँदै भन्यो, “गर्जी बा ! अझै गर्जी ! यदि मलाई मान्छेहरूका विषयमा किञ्चित पनि ज्ञान छ भने म यो कुरा दाबीसित भन्न सक्छु कि एक दिन यही नाङ्गो, फुच्चे बच्चाले तँलाई तेरो सुर बदल्न बाध्य तुल्याउनेछ ।”
“यो सही निर्णय हो”, अकेलाले भन्यो । “मान्छे र उनीहरूका बच्चाहरू धेरै बुद्धिमान हुन्छन् । कालान्तरमा यो हामीहरूका निम्ति उपयोगी सिद्ध हुन सक्छ ।”
“साँच्चै प्रयोजन परेको खण्डमा काम लाग्न सक्छ । आखिरमा कसैले पनि सधैंका निम्ति झुण्डको नेता बनेर रहिरहने आशा साँच्न त सक्तैन ।” बघेराले अर्थपूर्ण ढङ्गमा भन्यो ।
अकेलाले यस कुराको कुनै उत्तर दिएन । उसले त्यस समयको कुरा सोच्दैथियो जो प्रत्येक झुण्डको नेताको जीवनमा आउने गर्छ – जब ऊ शक्तिहीन भएर दिनहुँ कमजोर हुँदै जान्छ । यहाँसम्म कि अन्त्यमा झुण्डका ब्वाँसोहरूले नै उसलाई मारिदिन्छ अनि उसको स्थान एउटा नयाँ नेताले लिन्छ । त्यस नयाँ नेताको पनि अन्त्यमा त्यही दशा हुन्छ ।
“बच्चालाई लिएर आऊ”, उसले बाबु ब्वाँसोलाई भन्यो, “यसलाई हाम्रो झुण्डका स्वतन्त्र मानिसहरूलाई झैँ नै शिक्षा दिनू ।”
यसप्रकारले भालुको वचन अनि एउटा साँढको मूल्यमा मोगलीलाई सिओनीका ब्वाँसोहरूको झुण्डमा सामेल गरियो ।
त्यसपछि दशएघाह्र वर्ष बितेर गयो । मोगली ब्वाँसोका बच्चाहरूसित नै हुर्कन थाल्यो, जब कि उसले किशोरवस्थामा पाइला टेक्न अघि नै उनीहरू जवान भइसकेका थिए ।
बाबु ब्वाँसोले उसलाई काम लाग्ने कुराहरू सिकाइरहने गर्थ्यो जङ्गलको सम्पूर्ण गतिविधि अनि रहस्यहरू उसले मोगलीलाई बताइदिइसकेको थियो । घाँसपातको स्वार्यङस्वार्यङ, राति चल्ने तातो हावाको प्रत्येक झौंका, माथि कराइरहने लाठकोसेरोको बोलीको प्रत्येक स्वर, रूखमा बास गर्ने चमेराका पञ्जाको कोराइ अनि पोखरीमा पौडिरहेका माछाको प्रत्येक छ्यापाइको अर्थ उसले राम्ररी बुझिसकेको थियो । जब सिक्ने केही पनि हुँदैनथ्यो तब ऊ आफ्नो फुर्सदको समय घाममा ढल्किएर, खाएर अनि सुतेर बिताउँथ्यो । जब उसलाई आफ्नो शरीर मैला लाग्थ्यो वा गर्मी लाग्थ्यो तब ऊ जङ्गलको पोखरीमा गई पौड्न थाल्थ्यो । मह खानु मन लाग्यो भने (भालुले उसलाई बताएको थियो कि मह र फलफूल पनि काँचो मासुभन्दा कम स्वादिष्ट हुँदैन) ऊ बघेराले सिकाएअनुसार रूखमा चढ्थ्यो । बघेराले उसलाई रूखमा चढ्ने सजिलो तरीका सिकाइदिएको थियो । ऊ रूखको कुनै हाँगामा गएर मोगलीलाई बोलाउँथ्यो, “सानो भाइ, आइज ।” अभ्यास गर्दा गर्दा मोगलीले बाँदरहरूले झैँ हाम फालेर एउटा हाँगादेखि अर्को हाँगामा जान सिकेको थियो । त्यहीँबाट उसले एउटा कुरा थाहा पायो, त्यो के थियो भने उसले कुनै ब्वाँसोसित आँखा जुझाएर धेरै बेरसम्म हेरिरहे त्यो ब्वाँसोले आफ्नो आँखा झुकाउँथ्यो । उसले कतिपटक कौतूहलवश यसो गर्ने गर्थ्यो । उसले प्रायः आफ्ना साथीहरूका पञ्जाहरूमा वा तिनीहरूका रूवाजस्तै छालामा बिझेका काँडाहरू निकालिदिने गर्थ्य ।
कतिपटक ऊ राति पहाडबाट तल ओर्लेर खेतीपाती हुने ठाउँहरूतिर पनि पुग्थ्यो अनि झोपडीहरूमा बस्ने गाउँलेहरूलाई बड़ो कौतूहलपूर्वक हेरिरहन्थ्यो । मान्छेहरूप्रति उसको मनमा अविश्वासको भावना थियो किनभने बघेराले उसलाई खट्याक्क गरी बन्द हुने एउटा धरापे पासो देखाएको थियो जसको प्रयोग मान्छेहरूले पशुहरूलाई फसाउनका निम्ति गर्ने गर्थे । ऊ आफै पनि त्यो पासोमा पर्नबाट अलिकताले बाँचेको थियो । उसलाई बघेरासित घना जङ्गलमा घुम्न खूबै मन पर्थ्यो । ऊ दिनभरि सुतिरहन्थ्यो अनि राति बघेराले शिकार गरेको हेर्ने गथ्यो । जब बघेरा भोकाउँथ्यो तब ऊ जङ्गलको चारैतिर घुम्थ्यो अनि ऊसँगसँगै मोगली पनि घुम्ने गर्थ्यो । जब ऊ केही बुझ्नयोग्य भयो, बघेराले उसलाई बताइदिएको थियो कि कहिल्यै कुनै गाईबस्तुको शिकार नगर्नू किनभने एउटा बस्तु अर्थात् (साँद) एउटा साँढ़को मूल्यमा नै उसलाई ब्वाँसोहरूका झुण्डमा सामेल गरिएको थियो । यो जङ्गलको कानून थियो, अतः मोगलीले पूरा इमानदारीसित यसको पालन गर्थ्यो ।
क्रमशः
(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

