‘मिसाम’ का कथाकार मनप्रसाद सुब्बा (सन् १९५२) द्वारा लिखित ‘मिसाम’ कथासङ्ग्रह (२०८०)मा सङ्ग्रहित कथा हो । प्रस्तुत कथामार्फत कथाकारले पर्यावरणीय समस्या र आदिवासीको सांस्कृतिक सङ्कटलाई एकैसाथ प्रस्तुत गरेका छन् । झन्नयाँ अनलाइन खबरमा यक्सोले ‘मिसाम आगोको लघुआख्यान’ शीर्षकमा लेख्छन्– ‘मिसाम’ लिम्बू भाषाबाट गृहित मुन्धुमी शब्द हो, जसको अर्थ हुन्छ ‘आगोको हंस’ (२०८२) । त्यसैगरी लिम्बू मुन्धुममा प्रस्तुत अनिष्टकारी आगोको हंसलाई कथाकारले आफ्नो कथाको मुख्य आधार बनाएर पर्यासाहित्यको रचना गर्दैै येबा–येमासँगको संवादद्वारा आउँदो समयमा यस भूखण्डमा आउन सक्ने प्राकृतिक प्रकोप र संकटलाई रूपकात्मक ढंगबाट प्रस्तुत गरेको देखिन्छ । यसरी हेर्दा आगोलाई आत्मा वा हंसका रूपमा मानी यसलाई दैविक दृष्टिले हेर्दै, यसैसँग संवाद गर्दै, मुन्धुमी स्तुति गाएर ज्याहा नाच नाचेर आगोको आत्मा वा हंसलाई मत्थर गराउने प्रसङ्ग प्रस्तुत कथामा कथाकारमार्फत अभिव्यक्त भएको छ । प्रस्तुत कथामा कथाकारले मानव र मानवेतर ब्रह्माण्ड एक–अर्काका परिपूरक हुन् भन्ने पर्यावरणीय भावलाई आध्यात्मिक कोणबाट अभिव्यक्त गरेको पाइन्छ । जहाँ उत्तरआधुनिक युगमा पर्यावरणीय समालोचनाको बहसको विषय बन्दै आएको मानव र मानवेतर ब्रह्माण्डको अन्तरसम्बन्ध र सहअस्तित्वको गहन पर्यावरणीय दर्शनलाई देख्न सकिन्छ । यसै सन्दर्भमा कथाकारले मुन्धुमले परापूर्वकालदेखि अँगाल्दै आएको विषयलाई उठान गर्दै विश्वभर अझै पनि जीवित रहेका मौखिक परम्परा, लोकज्ञान तथा त्यसमा आधारित जीवन पद्धतिलाई थप प्रोत्साहन, प्रवर्धन र संरक्षण गर्नुपर्ने कथाकारको विचार रहेको देखिन्छ । जसले कथामा थप सौन्दर्य प्रदान गरी पाठकको ध्यानकेन्द्रित गरेको देखिन्छ ।
पर्यावरणीय चेतना वर्तमान समयमा अत्यावश्यक र गहन चिन्तनको विषय बनेको छ । मानव लगायतका अन्य जीवजन्तुको जीवन यापनमा पर्यावरणीय दोहनका कारण विभिन्न समस्याहरू बढिरहेको यथार्थ विज्ञहरूका अनुसन्धानबाट देखिएको छ । त्यसैले पर्यावरणीय विनाशको रोकथामका लागि पर्यावरणीय चिन्तन महत्त्वपूर्ण अध्ययन तथा अनुसन्धानको विषय बन्न पुगेको देखिन्छ । पर्यावरणको सङ्केत वेद, पुराण र उपनिषद्हरूमा पाइए पनि ऋग्वेदमा पञ्चतत्त्व (पृथ्वी, जल, तेज, वायु र आकाश) द्वारा पर्यावरणीय चेतना अभिव्यक्त भएको देख्न सकिन्छ । आध्यात्मिक पर्यावरणलाई भारतीय महाद्वीपमा प्राचीन कालदेखि सामूहिक अचेतनमा बसेको अभ्यासका रूपमा लिन सकिन्छ र यसले प्रकृतिलाई चाडपर्व, उत्सव, अनुष्ठान, उपासना आदिका माध्यमबाट प्रस्तुत पूजनीय र सर्वाधिक शक्तिशाली सिर्जना ठान्छ (दास, २०२४, पृ.२) । पर्यावरणीय चेतना तथा पर्यासाहित्यको विकास विश्वसाहित्यमा एक नवीन धाराका रूपमा बिसौँ शताब्दीको मध्यतिरबाट स्थापना हुन थालेको पाइन्छ ।
आध्यात्मिक दृष्टिकोण
आध्यात्मिक पर्यावरण भन्नासाथ अध्यात्म र पर्यावरणीय चेतनालाई जोडेर अध्ययन गर्ने अवधारणा भन्ने बुझिन्छ । त्यसैले अध्यात्म एउटा विषय हो र प्रकृति चेतनाको स्वरूप हो । आध्यात्मिक र नैतिकताका दृष्टिले पनि विश्व ब्रह्माण्डका सबै प्राणी वा वस्तुको आ–आफ्नो अस्तित्व र विशेषता रहेको छ । मानव, मानवेतर प्राणी र वन एकअर्कासँग सम्बन्धित छन् । सुन्दर तथा हराभरा प्रकृतिका लागि मानव, मानवेतर प्राणी र वन यी तीनै पक्षको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिसले यस कुराको विचार नगर्दा पर्यावरणीय विनाश हुन गई प्रकृतिले सन्तुलन गुमाएको भाव कथामा यसरी प्रस्तुत भएको छ–
अहिले जहाँ नेर यो अनुष्ठानको थान बनाइएको छ, त्यहाँनेर सोह्र–सत्र वर्ष अघिसम्म ठूलो वरको रुख थियो । सय वर्ष पुरानो हो, भन्थे बुढापाकाहरू । त्यै वरको वरिपरि गाउँ बसेकाले नै ठाउँको नाउँ वरबोटे रहेको हो । गाउँ बढेर बजार भयो । पहिले पहिले त्यै वरको छहारीमा मान्छेहरूले वरिपरि आ-आफ्ना फराकिला खाटहरू राखेर शुक्रबारे हाटमा व्यापार गर्थे । सानो गाउँ आज ठूलै बजार बनेको छ । गम्भीर बनेको अनुहार थियो यस क्षण ती सज्जनका यतिबेला (पृ.४१) ।
उल्लिखित कथांशमा अहिले जहाँ अनुष्ठान बनाइएको छ, त्यहाँ केही वर्ष पहिला ठूलो वरको रुख भएको, उक्त रुख सय वर्ष पुरानो भएको, त्यही वरको रुख वरिपरि गाउँ बसेकाले त्यस गाउँको नाम वरबोटे रहेको, त्यसै रुखको छहारीमा मान्छेहरूले आ-आफ्ना फराकिला खाट राखेर शुक्रबारे हाटमा बेचबिखन गरेको जस्ता प्रसङ्गहरूबाट अहिले त्यो रुख नभएको भन्ने आशय स्पष्ट हुन्छ । कथा सुनाउने एक सज्जन पात्रको अनुहार मलिन भएको प्रसङ्गबाट सयौँ वर्ष अगाडिदेखि जीवित वरको रुख विनाश भएका कारण आध्यात्मिक रूपमा असर पारेको भाव झल्किन्छ । त्यसैले पनि भन्न सकिन्छ प्रकृति, पर्यावरण र मानवबिचको सम्बन्ध प्रगाढ हुन्छ र अध्यात्मसँग यसको गहिरो सम्बन्ध रहेको हुन्छ । मानवले मानवलाई मात्रै मानवता देखाएर मानिस खुशी हुन सक्दैन । मानिसले देखाउने मानवीय भाव मानव, मानवेतर प्राणी र वनप्रकृति जस्ता वस्तुहरूमा पनि देखाउन सक्यो भने प्रकृति सुन्दर अनि हराभरा हुने र सुन्दर हराभरा प्रकृतिको प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव मानव लगायत अन्य प्राणीहरूमा पनि पर्ने भाव प्रस्तुत कथांशमा अभिव्यक्त भएको देख्न सकिन्छ ।
प्रस्तुत कथामा आध्यात्मिक भाव सशक्त रूपमा प्रयोग भएको देखिन्छ । सुब्बाका कथाहरू पढ्दै जाँदा उनका कथामा गहिरो आध्यात्मिक चेत प्रस्तुत भएको पाइन्छ । जहाँ कथाकारले आगो र पानीको सम्बन्ध देखाएर प्रकृतिकै एक सूक्ष्म उपजका रूपमा मानवलाई उभ्याएका छन् –
रक्सी कति कडा भयो जाँच्नलाई गर्भको ‘नानी’ मा झरेको रक्सी सानो मगमा अलिकति लिएर आमाले चुल्हाको आगोमा फ्याँक्थिन्… आगो हुर्र नीलो बल्थ्यो अनि भन्थिन् – ‘एः भएछ !’ आगो र पानीको अभिन्न सम्बन्ध मैले त्यसरी सानै छँदा देखेको घरैमा । ‘…छाती डढ्यो भनेर पानीमा आगो पिउँछन्…।’ ‘रिमझिम गिर सावन, सुलग सुलग जाए मन, भिगी आज इस मौसम मे लगी कैसे ये अगन !’…मनभित्र आगो लिई आँखाभरि पानी !’ फेरी, पानी बोकेर बोझिलो बनेको बर्खे बादलले पनि बिजुली–आगो झिलिक्क बाल्यो मेरो विचार झ्याँगिएको आकाशमा । आगो र पानी यिन र याङ हुन् । एकअर्काका सम्पूरक, रात र दिनजस्तै, दुःख र सुखजस्तै । एक नभए अर्को अर्थ नहुने । द्वैध वैपरित्व प्रकृतिमै छ । यै प्रकृतिकै एक सूक्ष्म उपज हामी….उहिले सृष्टिको गर्भबाट जन्मेको जुम्ल्याहा हो आगो र पानी (पृ.४६–४७, ५०) ।
पूर्वीयदर्शनको सृष्टिचिन्तनको आरम्भमा पानी र त्यही पानीबाट आगोको उत्पन्न भएको, त्यसपछि मात्रै विभिन्न वनस्पतिजन्य तथा जलचर, थलचर प्राणीहरू उत्पन्न भएको प्रसङ्ग प्रष्ट रूपमा देखिएजस्तै कथाकारले पनि पानी र आगोको सम्बन्धलाई सृष्टिचिन्तनकै रूपमा लिएको देखिन्छ । प्रकृतिको शुरुवात जसरी पानी र आगोबाट भयो त्यसरी नै पर्यावरणको पनि शुरुवात भयो । यसरी हेर्दा, पर्यावरणको सबैभन्दा महत्त्वपूर्ण शुरुवात पानी र आगोबाट भएको देखिन्छ । प्रकृतिकै एक सूक्ष्म उपज हामी हौँ भन्ने भावबाट कथाकारमा प्रकृतिचिन्तनको गहिरो आध्यात्मिक चेत देखिन्छ ।
पर्यावरणमा आध्यात्मिक दृष्टिकोणबाट गरिने अध्ययनले पर्यावरण र आध्यात्मिक पक्षलाई जोडेर अध्ययन गर्दछ । यसभित्र मानव र प्रकृतिबिचको सम्बन्धको अध्ययन पर्दछ । यसका बारेमा जान्नका लागि प्रकृतिलाई बाह्य, अर्थात भौतिक रूपमा बुझेर मात्रै सम्भव छैन । यसका विविध रूप, परिवर्तनशील प्रकार्यहरू : ऊर्जा, पदार्थ, ग्यास, भावना, संवेदना आदि रूपमा व्यक्त छन् । त्यसैले प्रकृतिलाई जान्न र यसको प्रकार्य प्रणालीलाई बुझ्नका लागि सूक्ष्म मानसिकता र चेतनाको आवश्यकता पर्दछ (सुब्बा,२०८०, पृ.६१) । यसैले पर्यावरण अध्ययनका लागि प्रकृति र पर्यावरणका बारेमा गहन अध्ययन गर्न आवश्यक देखिन्छ । प्रकृति संरक्षण गर्ने वा विनाश गर्ने भन्ने कुरा मानिसको हातमा छ । यस कारण प्रकृति संरक्षणका लागि मानिसमा आध्यात्मिक र भौतिक दुवै ज्ञान हुन जरुरी हुन्छ । दार्शनिक दृष्टिकोणबाट हेर्दा पूर्वीय र पाश्चात्य दर्शनको मान्यता पनि फरकफरक रहेको पाइन्छ । पश्चिमा दर्शनले भौतिक पक्षलाई महत्त्व दिन्छ भने पूर्वीय दर्शनमा चारवाक दर्शन बाहेक अन्य दर्शनले आत्मालाई नै महत्त्व दिएको देखिन्छ ।
यसर्थ, प्रकृति संरक्षणका लागि पूर्वीय र पाश्चात्य दुवै दर्शनको ज्ञान हुन आवश्यक देखिन्छ । भौतिक पक्ष बाह्य व्यवहारसँग सम्बन्धित छ भने आत्मिक पक्ष आन्तरिक पक्षसँग सम्बन्धित छ । यसैले मानिसले आन्तरिक शान्ति र आनन्द चाहन्छ भने प्रकृतिको संरक्षण गरी हराभरा प्रकृति बनाउन आवश्यक देखिन्छ । यसका लागि लेखकहरूले साहित्यमार्फत हरित आध्यात्मिकता सिर्जना गर्दै हरित सौन्दर्यलाई बचाउनुपर्ने देखिन्छ । मनप्रसाद सुब्बाको ‘मिसाम’ कथामा मानिस र प्रकृतिबिचको भौतिक र आन्तरिक सम्बन्धको सङ्केत देख्न सकिन्छ । उनी लेख्छन्–आगोको हंस भनेको आत्मा हो । मिसाम भन्छौँ हामी मुन्धुममा । मिसाम बिच्क्यो भने…रिसायो भने सार्है बिगार गर्छ (२०८०, पृ.४०) । उपर्युक्त कथांशमा मिसाम भनेको आगोको आत्मा हो । लिम्बुहरूको ग्रन्थ मुन्धुममा आगोको आत्मालाई मिसाम भन्ने गरेको देखिन्छ । यहाँ आगो स्वयंले बिगार नगर्ने र यसलाई रिसाउन हालेको खण्डमा बिगार गर्ने सन्दर्भ प्रस्तुत गरिएको छ । त्यसैले, पर्यावरण संरक्षणका लागि पनि आगोको आत्मालाई जिस्क्याउन नहुने भाव अभिव्यक्त भएको देखिन्छ । कथाकारले लेखेका छन्–हामी भनेको मनुवा । कता हो कता स्यानो हो नि ऊभन्दा । ऊ भनेको देउता । खुशी हुँदा हाम्रै लागि राम्रो हुन्छ, सबै जीवजन्तुलाई, झारजङ्गललाई राम्रो हुन्छ । यति कुरा चाहिँ हामी मनुखेले बुझ्नु पर्यो नि (२०८०,पृ.४०) । पर्यावरणको विनाश र संरक्षणमा मानिसको भूमिका महत्त्वपूर्ण हुन्छ । यसले गर्दा मानिसमा पर्यावरण संरक्षणले बाह्य मात्रै नभएर आन्तरिक आनन्द र खुशी प्राप्त हुने, जीवजन्तु र झारजङ्गलाई पनि बचाएर राख्न सके मात्रै प्रकृति हराभरा हुने भएकाले यसको सकारात्मक प्रभाव सम्पूर्ण मानव, मानवेतर प्राणी तथा वन्यप्रकृतिलाई राम्रो हुन्छ भन्ने भाव कथाकारमार्फत कथामा अभिव्यक्त भएको छ ।
त्यसैले, पर्यावरणको संरक्षणद्वारा बाह्य आनन्द मात्रै नभएर आन्तरिक/आध्यात्मिक आनन्द पनि प्राप्त गर्नु हो भन्ने भाव उल्लिखित कथांशमा प्रकटित भएको देखिन्छ । यसकारण मानिसले सुन्दर प्रकृतिलाई संरक्षण गरेर मात्रै भौतिक तथा आध्यात्मिक आनन्द प्राप्त गर्न सक्दछ । मानिसको पाञ्चभौतिक शरीर विलिन भएर पनि प्रकृतिमै मिल्ने हुनाले प्रकृति र मानिसको सम्बन्ध निकट रहेको कुरा स्पष्ट छ । त्यसैले, मानिस र प्रकृतिको प्रकार्य समान किसिमको रहेको हुन्छ । यसको प्रमुख कारण मानिस प्रकृति प्रदत्त निर्मित जीव हो । यसैले मानिसको बाह्य तथा आन्तरिक विकासमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रकृतिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

