साहित्यपोस्ट डट कम

मेरो मरणमा तपाईंको जीवन (नवपुस्ता/अनुभूति)

मेरो मरणमा तपाईंको जीवन (नवपुस्ता/अनुभूति)

तपाईं र म कहिल्यै एक थिएनौँ, न त कहिल्यै हुनेछौँ । तपाईं केवल आफ्ना बारेमा सोच्नुहुन्छ तर म, तपाईं र अरूका बारेमा पनि सोच्छु । तपाईं आफ्नो भोक मेट्न र मिठो खान चाहनुहुन्छ । तर म चाहन्छु तपाईंको पेट भरियोस्, तपाईं सँगै अरू भोकाहरूको पनि पेट भरियोस् । भलै त्यसको मूल्यमा म अझ तीन दिन बढी भोकै बाँच्नुपरोस् ।

तपाईं आफूलाई अब्बल साबित गर्न चाहनुहुन्छ, त्यसैले डराउनुहुन्छ, मभन्दा अगाडि कोही नबढोस् भनेर । तपाईं कहिल्यै दोस्रो हुन चाहनुहुन्न; तेस्रो त परको कुरा । तर म डराउँछु, मभन्दा पछाडि कोही नछुटोस् भनेर । छुटेकालाई मभन्दा अगाडि हिँडाउन सकूँ, दौडाउन सकूँ ।

तपाईं मौन हुनुहुन्छ किनकि तपाईं भरी हुनुहुन्छ । म पनि मौन छु, किनकि म खाली छु । तपाईं बोल्नुहुन्छ मौनता चिर्न, म बोल्छु अज्ञानता छिचोल्न ।

तपाईंको एउटै मन्त्र छ:

“मै मिठो खाउँ, मै राम्रो लाउँ,

सुख-सयलमा मै मात्र रमाउँ ।”

मेरो एउटै मन्त्र छ:

“मै मरी जाउँ, बाँडिचुँडी सबजन खाउन्,

सुख-सयलमा सब लोक रमाउन् ।”

त्यसैले हामी फरक छौँ, नितान्त अलग । तपाईं नियमको बन्धनमा बाँधिनु भएको छ तर म खुल्ला छु-स्वतन्त्र ।

तपाईं लेख्नुहुन्छ देखाउन, थपिदिनुहुन्छ श्रृंगार र रस, अनि बनिदिन्छ एउटा सुन्दर शब्दको पुञ्ज । म पनि लेख्छु, कोर्छु शब्द, पोख्दछु भाव र हुन्छु हलुका चङ्गा ।

तपाईं आफूलाई महान् ठान्नुहुन्छ, सम्झनुहुन्छ आकाशको ताराको सहारा आफैँलाई त्यसैले डर, त्रास र प्रतिस्पर्धामा बाँच्नुहुन्छ र खिइँदै हुनुहुन्छ – झन् झन् सानो हुँदै । तर म आफूलाई सानो बिरुवा ठान्छु, त्यसैले हुर्किरहेको छु, फैलिँदै झन् ठूलो हुँदैछु ।

कुनैबेला मैले तपाईंलाई फूल ठानेको थिएँ, चाहन्थेँ-फूलझैँ फुल्नुहोस्, फक्रिनुहोस्, बास्ना छरियोस्, रंगिनुहोस् । तर तपाईं फक्रन नपाउँदै; ओइलिनुभयो, गल्नुभयो र झर्नुभयो । सायद फूल र भुलको कथामा भुलसँगै कतै हराउनुभयो तपाईं ।

तपाईं चाहनुहुन्छ संसार तपाईंका लागि हाँसोस्, तपाईंका लागि बाँचोस्, तपाईंसँगै नाचोस् । म चाहन्छु संसार म बिना पनि हाँसोस्, म नभएरै बाँचोस्, आफ्नै तालमा सधैँ नाचिरहोस् ।

त्यसैले हामी एउटै जमिनमा उभिएर पनि कहिल्यै एक भएनौँ । हामी फरक बीज, फरक रुख, फरक हाँगामा फुल्यौँ, फल्यौँ, पाक्यौँ । तर दुर्भाग्य मेरो सौभाग्य तपाईंको । एउटै जमिनमा रोपियौँ । त्यसैले हामी एकसाथ हुर्कियौँ, बढ्यौँ र उभियौँ अब हामीले फुल्नैपर्छ- फुलाउने, फलाउने, बीउ बनाउने प्रक्रियालाई निरन्तरता दिएर वंशानुपतिलाई जीवन्त राख्नै पर्छ । किनकि एउटै जमिनमा उभिएका हामीमध्ये एकको अन्त्यमा नै अर्काको जीवन सम्भव छ ।

यही अर्थमा तपाईंको सौभाग्य हो यो- किनकि मेरो सोचाइ वैयक्तिक छैन । म, तपाईं र भविष्यका जीवित तत्वहरूका बारेमा सोचिरहेछु । त्यसैले तपाईं राम्ररी फुल्नुहोस्, फल्नुहोस् र वंशानु प्रक्रियालाई अघि बढाउनुहोस् । यदि कहिल्यै कुनै फूल झरे म त्यसकै सुन्दरतामा रमाउनेछु, जसरी आज म रमाइरहेको छु आफ्नै मरणमा ।

ट्याग: रणभीम
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.