साहित्यपोस्ट-नपढी सुखै छैन...

मेरो कोठा र साहित्यकार बीपीकाे फोटो

मेरो कोठा र साहित्यकार बीपीकाे फोटो

वि.सं. २०३९ साउन ६ गते, थाइल्यान्डको बैंककमा उपचारार्थ जानुभएका बीपी कोइरालालाई बैंककमा पनि उपचार सम्भव नभएपछि उहाँलाई नेपाल फर्काएर ल्याउने जहाज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुअगावै विमानस्थल बाहिर सिनामङ्गलसम्म जनलहरले छपक्कै ढाकेको थियो । साहित्यकार, क्याम्पस अध्ययनरत विद्यार्थी समूहका साथीहरूसँग म त्यहाँ उपस्थित हुन गएको थिएँ । विमानबाट गिरिजाप्रसाद कोइराला, सुशीला, शैलजा आचार्य लगायत अन्य परिवारका सदस्यहरू निस्कनुभएपछि बीपीलाई सुताइएको स्ट्रेचर बाहिर निकालियो । बाहिर उपस्थित जनसमुदायले गगनभेदी नारा लगाए "वीर बीपी जिन्दाबाद, वीर बीपी जिन्दाबाद !!" त्यसपछि उहाँलाई सवार गराइएको गाडी त्यो उर्लिएको जनसागर नारा लगाउँदै पछि-पछि जयवागेश्वरीस्थित उहाँका भाइ तारिणी कोइरालाको निवासमा पुग्यो ।

साँझ ७ बजे रेडियो नेपालबाट जननेता विश्वेश्वरप्रसाद कोइरालाको निधन भएको समाचार प्रसारण भयो । भोलिपल्ट ७ गते बिहान तारिणी कोइरालाको निवास जयवागेश्वरीमा गएर बी.पी.को पार्थिव शरीरमा पुष्पगुच्छा चढाई उहाँलाई अश्रुपूर्ण अन्तिम बिदाइ गर्दै श्रद्धाञ्जली अर्पण गरेँ । त्यस दिन काठमाडौँका मुख्य सडकहरूमा शवयात्रापछि अपराह्न पशुपति आर्यघाटमा "वीर बी.पी. अमर रहून्" भन्ने जनसागरको गगनभेदी नारासँगै उहाँको पार्थिव शरीरको दाहसंस्कार भयो ।

म त्यसबखत ने.काँ. काठमाडौँ जिल्लाका नेता तथा पार्टी सचिव श्यामलाल श्रेष्ठको घर किलागल टोलमा डेरा बस्थेँ र परोपकार मा.वि.मा शिक्षण गर्दै बिहानी सिफ्टमा शङ्करदेव क्याम्पसमा एमबीए तह अध्ययन गर्दै थिएँ । जननायक बी.पी. कोइरालाको निधनको त्यस दुःखद घटनाले मन ज्यादै उद्विग्न र उदास भइरहेको थियो ।

एक शनिबारको दिनको प्रसङ्ग अहिलेसम्म स्मरण गर्दैछु म । उसबखतको कुनै दैनिक पत्रिकामा छापिएको बी.पी.को फोटो कटिङ गरेर "युगपुरुष, जननायक बी.पी. कोइराला" क्याप्सनसहित फ्रेममा राखेर भित्तामा उक्त फोटो टाँसेँ । तत्क्षण मेरा अन्तरङ्ग सहपाठी मित्र किलेश्वर मल्ल टुप्लुक्क मेरो कोठामा आइपुगे । मैले भर्खरै भित्तामा झुन्ड्याएको तस्बिर हेरेर उनले व्यङ्ग्यात्मक हाँसो हाँस्न थाले । मैले जिज्ञासा राखेँ, "किन हाँसेको मित्र ? सान्दाजुको यो फोटो गजब छैन र ?" उनले कौतुहलता जगाउने ढङ्गमा जवाफ दिए, "यो फोटोमा ठूलो गल्ती भएको छ, त्यो के हो, तिमी आफैँले पत्ता लगाऊ त !" क्याप्सनमा छापिएका अक्षर पढेँ, `जननेता विश्वेश्वरप्रसाद कोइराला, अमर रहून्´। त्यहाँ छापिएका नाम र अक्षरहरू एकदम शुद्ध थिए, त्यसमा हाँस्नुपर्ने कुनै तुक थिएन । उनले फरक ढङ्गले पुनः व्याख्या गरे, "यो फोटोमा क्याप्सन राखेर तिमीले युगपुरुष बी.पी. कोइराला र उहाँको व्यक्तित्वमाथि एकदम अन्याय र अवमूल्यन गरेका छौ ।" उसले गम्भीर आरोप लगायो मलाई ।

"तिमीले यो फ्रेममा त्रि.वि.को दीक्षान्तमा खिचेको फोटो राखेर क्याप्सनमा आफ्नो नाम र तल शिक्षाशास्त्री/शिक्षक, परोपकार विद्यालय लेखेको भए ठीक ठान्थेँ म । तर बी.पी. कोइरालाको नाम, उहाँको सम्मान जनाउने पदावली राख्ने अभिष्ट र दुस्प्रयास किन गरेको ? बी.पी. कोइरालालाई नचिन्ने कसरी अब यो देशको नागरिक हुन सक्छ ? यो फोटो हेरेर कसैले नाम र उहाँले गरेको काम थाहा नपाउने नेपाली यो देशका नागरिक र विदेशीसमेत भविष्यमा यो कोठामा पाहुना भएर आउने सम्भावना देखेको छैनँ मैले । फोटोमा नामको क्याप्सन राखेर चिनाउनुपर्ने तिम्रो र मेरो व्यक्तित्वस्तरभन्दा उहाँ धेरै नै माथि उक्लिसक्नुभयो अब । यो फोटो हेरेर हामीले उहाँजस्तै आफूलाई स्वदेश र सके विदेशमा समेत चिनाउने के काम गर्ने होला भन्ने प्रेरणा र हौसला हामीले लिन सक्यौँ भने पो बीपी जननेता हुन् भन्ने प्रमाणित हुन्छ । अनि आफ्नो कोठाको भित्तामा महामानव, महान् व्यक्तित्वको तस्बिर सजाउनु सही मानेमा सार्थकता पनि हुन्छ, कि कसो ?"

उसको तार्किक सुझावमा पूरा सहमत हुँदै नतमस्तक भएँ म । मैले केहीछिनअगाडि बुद्धि लगाएर तयार गरिसकेको उक्त फोटो फ्रेम पुनः खोलेर उहाँको नाम प्रिन्ट भएको क्याप्सन हटाएँ । त्यसै दिनदेखि आफ्नो हृदयमा बी.पी.को उच्च आदर्श व्यक्तित्व, प्रजातान्त्रिक समाजवादी चिन्तन अध्ययन, मनन र प्रेरणा लिँदै जीवनमार्गमा निरन्तर अघि बढ्ने र सिक्ने प्रयास गरिरहेको छु आजसम्म ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.