अर्जुन प्रधान, अमेरिका
झापा । नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले रिदम एन्ड रियालिटी को प्रस्तुतिमा आयोजना गरिएको काव्य रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले दमकमा सम्पन्न भएको छ । प्रतियोगितामा सिक्किमका सोनाम पाल्जोर तामाङ विजेता घोषित हुनुभएकाे छ ।
विजेता तामाङले नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएकाे छ । धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ हात पार्नुभयाे भने टोली प्रसाद राजवंशी दोस्रो उपविजेता (७५ हजार) र सेसे थामसुहाङ तेस्रो उपविजेता (५० हजार रुपैयाँ) घोषित हुनुभयाे ।
समापन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्याे । उहाँले कविताले समाज र माटोको आवाज बोल्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले राजधानीकेन्द्रित साहित्यिक गतिविधिलाई विकेन्द्रीकरण गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO)का पदाधिकारी, विभिन्न स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । बेल्डाँगी र पथरी शिविरका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमप्रति भुटानी शरणार्थी समुदायको सक्रियता देखिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात दधि रहनुभएकाे थियाे भने मेन्टरका रूपमा चन्द्र गुरुङ, सुन्दर कुरुप, गगन योक्पाङदेन र सुमन लिङदेनले प्रतियोगीहरूलाई मार्गदर्शन गरेका थिए। कार्यक्रम सञ्चारकर्मी सुमन कुरुम्बाङले सञ्चालन गरेका थियाे ।
निर्देशक केवल क्षेत्रीको निर्देशनमा सम्पन्न उक्त कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन (GBLO) र माई प्ल्याटफर्मद्वारा आयोजित तथा रिदम एन्ड रियलिटी इभेन्ट प्रा.लि. र बेल्डाँगी नाट्य परिवारको सह–आयोजनामा सम्पन्न भएको हो ।
आयोजकका अनुसार ‘मेरो कविता’ ले पूर्वी नेपाल, सिक्किम तथा प्रवासमा रहेका नेपालीभाषी स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्दै नयाँ पुस्ताका कविहरूलाई आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । आगामी संस्करणप्रति दर्शकहरूको चासो बढ्दै गएको जनाइएको छ ।

