नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नुहुन्छ भन्ने पाठकका जिज्ञासा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक काठमाडौँलाई कर्म थलो बनाउनु भई क्रियाशील नेपाली साहित्यको मूलतः आख्यान विधाका दुई चम्किला सशक्त नारी नक्षत्र वरिष्ठ कथाकारद्वय माया ठकुरी (२००३) र जलेश्वरी श्रेष्ठ (२००३) लाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना सखी/साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा ! लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । तर सर्जकहरू आमप्राकृतिक मानिस मात्र नभएर विशिष्ट स्रष्टा/द्रष्टा, जो सत्यको नजिक पुग्नुपर्ने हुन्छ र त लुकाउने, छिपाउने उहाँहरूकै स्वविवेक ! प्रस्तुत छ, साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको साथमा नेपाली साहित्यमा विशिष्ट पहिचान बनाउनुभएका अन्तरङ्गद्वय माया ठकुरी र जलेश्वरी श्रेष्ठको ‘ऊ र म’ ।
...
साहित्यले मानिसलाई जोड्छ, विभाजन गर्दैनः माया ठकुरी
जलेश्वरी श्रेष्ठलाई व्यक्तिगतरूपमा कसरी चिन्नुहुन्छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा जलेश्वरी धन र मन दुबै भएकी अत्यन्त उदार, आत्मीय र निःस्वार्थ स्वभावकी साथी हुन् । मेरो जीवनमा ढिलो गरी भेटिएका केही अमूल्य मित्रहरूमध्ये उनी एक हुन् । म उनलाई प्रेम पनि गर्छु र गहिरो आदर पनि गर्छु । जीवनका सुखदुःख, उतारचढावमा साथ निभाउने मानिसहरू कम भेटिन्छन्, जलेश्वरी त्यस्तै दुर्लभ साथी हुन् ।
सर्जकका रूपमा उहाँलाई कसरी चिन्नुहुन्छ ?
जलेश्वरी नेपाली साहित्यको प्राङ्गणमा फुलेको सुगन्धित फूलमध्ये एक हुन् । नेपाली उहाँको मातृभाषा नभए पनि नेपाली साहित्यलाई उहाँले दिएको योगदान अत्यन्त महत्वपूर्ण छ । भाषा केवल जन्मले होइन, समर्पण र साधनाले आफ्नो बन्ने रहेछ भन्ने उदाहरण उहाँ हुनुहुन्छ । उहाँका सिर्जनामा संवेदना, अनुभव र समाजप्रतिको जिम्मेवारी स्पष्ट देखिन्छ ।
कथाकार जलेश्वरीको कथाकारिताको उचाइ कस्तो छ ?
उहाँको कथाकारिताको उचाइ, विषयको गहिराइ, पात्रहरूको मनोविज्ञान र समाजप्रतिको दृष्टिकोणमा देखिन्छ । उहाँ कथा लेख्ने मात्र नभएर, पात्रहरूको पीडा, सङ्घर्ष र आत्मबललाई जीवन्त बनाउनुहुन्छ । उहाँका कथामा अनुभूति हुन्छन, प्रश्न छन् र चेतना पनि छन् ।
उहाँलाई कथाकार वा उपन्यासकार कसरी चिन्नुहुन्छ ?
उहाँलाई म संवेदनशील कथाकार र गहिरो दृष्टि भएकी उपन्यासकार दुबै रूपमा चिन्छु । जीवनका सामान्य लाग्ने घटनाभित्र लुकेका असामान्य भावनालाई उजागर गर्ने क्षमता उहाँमा छ ।
जलेश्वरी श्रेष्ठको आमपहिचान कथाकार हो कि उपन्यासकार हो ?
मेरो विचारमा उहाँको आमपहिचान कथाकारकै रूपमा बढी स्थापित छ तर उहाँको उपन्यास लेखन पनि उत्तिकै सशक्त र प्रभावशाली छ ।
उहाँका कथा कस्ता छन् ?
उहाँका कथाका विषयहरू अत्यन्त विविध छन् । विशेष गरी महिलाको चेतना, आत्मसम्मान, स्वतन्त्रता र समाजमा महिलाले भोग्नुपरेका विभेद तथा सङ्घर्ष उहाँका लेखनका प्रमुख विषय हुन् । उहाँका कथा केवल ‘महिलाका दुःख’ मात्र होइनन्, ती महिलाको आवाज, अस्तित्व र प्रतिरोधका कथाहरू हुन् । समाजले देखेर पनि बेवास्ता गरेका यथार्थलाई उहाँले साहसपूर्वक शब्द दिनुभएको छ ।
शहरी परिवेशमा कथा लेख्ने जलेश्वरी र ग्रामीण परिवेशको कथा लेख्ने माया ठकुरीको साइनो कसरी गाढा भयो ?
साहित्यमा विषय फरक हुनु मित्रताको आधार हुँदैन । हामीलाई नजिक ल्याएको कुरा एक अर्काप्रतिको सम्मान, आत्मीयता र मानवीय सम्बन्ध हो । शहर वा गाउँ फरक हुन सक्छ, तर संवेदना एउटै हुन्छ । साहित्यले मानिसलाई जोड्ने काम गर्छ, विभाजन गर्ने होइन ।
कथाकार जलेश्वरीले कथामा ‘नारी–रोइलो’ मात्र लेख्नुहुन्छ हो ?
मलाई लाग्छ, महिलाका विषयलाई ‘नारी–रोइलो’ भनेर सानो बनाइनु हुँदैन । लेखकले समाजमा देखेका, भोगेका र महसूस गरेका विषय लेख्ने हो । महिलामाथि भएका विभेद, पीडा र सङ्घर्ष पनि यही समाजका यथार्थ हुन् । ती विषय उठाउनु कमजोरी होइन, बरु साहस हो । जलेश्वरीका कथामा केवल रोदन छैन, चेतना, प्रतिरोध र परिवर्तनको आवाज पनि छ ।
उहाँका कुनै कथाले आकर्षित गरेको छ ?
उहाँका धेरै कथाले मलाई छोएका छन् । विशेष गरी महिलाको मौन पीडालाई सरल तर प्रभावशाली ढङ्गले प्रस्तुत गर्ने उहाँको शैली अत्यन्त मन छुनेखालका छन् ।
उहाँको साथी शैली कस्तो लाग्छ ?
पहिले नै भनेझैँ उहाँ ठूलो मन भएकी व्यक्ति हुनुहुन्छ । उमेर, हैसियत, पृष्ठभूमि वा परिचय हेरेर व्यवहार बदल्नु हुन्न । सबैलाई समान आत्मीयता र सम्मान दिनु उहाँको विशेषता हो । उहाँसँग बसेपछि औपचारिकता हराउँछ र आफ्नै मान्छेसँग भएको अनुभूति हुन्छ ।
कथाकार जलेश्वरी श्रेष्ठको कुन बानी मन पर्छ ?
मलाई उहाँको एउटा अत्यन्त मनपर्ने बानी भनेको अरूको पछाडि कहिल्यै नराम्रो कुरा नगर्नु हो । उहाँ मानिसका खराबीभन्दा राम्रो पक्ष खोज्नुहुन्छ । सम्बन्ध जोगाइराख्न प्रयास गर्नुहुन्छ, बेलाबेलामा फोन गरेर सम्झनुहुन्छ । आजको समयमा यस्तो स्वभाव निकै दुर्लभ लाग्छ ।
उपन्यासकार जलेश्वरी श्रेष्ठको कुन बानी मन पर्दैन ?
कहिलेकाहीँ उहाँ अत्यन्तै धेरै सहयोग दिने स्वभावको हुनुहुन्छ । सबैका लागि सधैँ उपलब्ध हुन खोज्नुहुन्छ । संसारका सबै मानिस समान भावना भएका हुँदैनन्, त्यसैले कहिलेकाहीँ मानिसहरूले उहाँको राम्रोपनको गलत फाइदा उठाउन सक्छन् भन्ने डर लाग्छ । धेरै अपेक्षा राखेर पछि दुःखी हुनु नपरोस् भन्ने चाहना मात्रै हो ।
उहाँसँग झगडा वा मनमुटाव भएको छ ?
भाग्यवश कहिल्यै भएको छैन । बरु मेरा अरू साथीसँग कहिलेकाहीँ मतभेद हुँदा उहाँ राम्रो मध्यस्थकर्ताको रूपमा उभिनुभएको छ । उहाँ निष्पक्ष भएर कुरा सुन्नुहुन्छ र सम्बन्ध जोगाउने प्रयास गर्नुहुन्छ ।
कथाकार जलेश्वरी श्रेष्ठको रीसमा पर्नुभएको छ ? कडा छ नि रीस है ?
म त कहिल्यै उहाँको रीसमा परेको छैन र त्यो रूप खासै देखेको पनि छैन । हो, उहाँ स्पष्ट बोल्नुहुन्छ र सही कुरा निर्भीक भएर भन्नुहुन्छ । कतिपयलाई त्यो कठोर लाग्न सक्छ, तर उहाँ सत्यलाई सत्य भन्न डराउनु हुन्न । मलाई उहाँको यही स्पष्टता मन पर्छ ।
दुवैजनाले दारु त खानुहुन्छ नि ?
यति लामो मित्रतामा कहिलेकाहीँ वाइन लिएर ‘चियर्स’ भनेका छौँ होला तर हामी पिउनेमध्ये खासै पर्दैनौँ ।
कथाकार जलेश्वरी श्रेष्ठ छुच्ची हुनुहुन्छ ? चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?
हाहाहा ! बरु हामी साथीहरूमध्ये सबैभन्दा धेरै खर्च गर्ने त उहाँ नै हुनुहुन्छ । गुञ्जनको अध्यक्ष भएदेखि उहाँले आफ्नै घरमा धेरै साहित्यिक भेटघाट र कार्यक्रमहरू गर्नुभएको छ । उहाँका ‘कोठे बैठक’ त निकै लोकप्रिय छन् । त्यहाँ साहित्यका कुरा मात्र हुँदैनन्, हाँसो, आत्मीयता र पुराना सम्झनाले भरिएको रमाइलो समय पनि बित्छ । उहाँले मलाई धेरैपटक आफ्नो घरमा प्रेमपूर्वक खाना खान बोलाउनुभएको छ ।
कथाकार जलेश्वरी श्रेष्ठको घर परिवारसँग सम्पर्क छ ?
हामीबीच अत्यन्त आत्मीय सम्बन्ध छ । उहाँका पति द्वारिकाजी आफैँमा प्रतिष्ठित वरिष्ठ कवि व्यक्तित्व हुनुहुन्छ, निकै शान्त र कम बोल्ने स्वभावका । हामी जाँदा स्नेहपूर्वक अभिवादन गर्नुहुन्छ, अनि जलेश्वरीलाई आफ्नै संसारमा रमाउन दिनुहुन्छ । उहाँ जलेश्वरीको काममा कहिल्यै हस्तक्षेप गर्नुहुन्न, बरु पूर्ण साथ र सम्मान दिनुहुन्छ । जलेश्वरीका तीन सुन्दर छोरीहरूले पनि आफ्ना क्षेत्रमा राम्रो गरिरहनुभएको छ । भेट हुँदा सधैँ आत्मीय व्यवहार गर्नुहुन्छ ।
कथाकार श्रेष्ठसँगको रोचक घटना ?
उहाँसँग बिताएका धेरै क्षणहरू रोचक छन् । साहित्यिक भेटघाटका क्रममा कहिलेकाहीँ गम्भीर बहस भइरहँदा अचानक उहाँको हाँसोले सारा वातावरण हलुका बनाइदिन्छ । उहाँसँग समय बिताउँदा समय कसरी बित्यो भन्ने नै थाहा हुँदैन ।
उहाँको कम्तिमा पनि एउटा बदमासी भनिदिनुहोस् न, भए धेरै नै !
उहाँको ‘बदमासी’ भनेको साथीहरूलाई एक्कासी घर बोलाएर ‘सानो जमघट मात्र हो’ भन्नु अनि पुग्दा ठूलै भोजको व्यवस्था गर्नु हो । अनि ‘थोरै खाऊ’ भन्दै फेरि–फेरि थपिरहनुहुन्छ ।
मीठा संस्मरणहरू केही भए राखिदिनहुन अनुरोध छ ।
जलेश्वरीसँग बिताएका हरेक क्षण मेरा लागि संस्मरणीय छन् । जीवनको पछिल्लो चरणमा मैले केही अमूल्य साथीहरू पाएकी छु, र जलेश्वरी तीमध्ये एक विशेष साथी हुन् । बाल्यकाल र युवावस्थामा मैले साँचो मित्रताको अनुभूति खासै पाइनँ, तर भगवान्ले जीवनको उत्तरार्धमा मलाई तीन जना विशेष साथी दिनुभयो । जलेश्वरीले सधैँ मप्रति प्रेम, माया र आत्मीयता देखाउनुभएको छ ।
यो अवसरमा उहाँलाई धन्यवाद पनि भन्न चाहन्छु । जलेश्वरी, तपाईं मेरो जीवनको अत्यन्त प्रिय साथी हुनुहुन्छ । तपाईंको माया, साथ र आत्मीयता सधैँ यसरी नै रहिरहोस् । म तपाईंलाई धेरै माया गर्छु ।
...
माया ठकुरीको रीसमा परेको छु - जलेश्वरी श्रेष्ठ
माया ठकुरीलाई व्यक्तिगत रूपमा कसरी चिन्नुहन्छ ?
२०५८ सालमा नेपाल राजकीय प्रज्ञा भवनमा साहित्यिक कार्यक्रममा उहाँसँग भेट भएको हो । पहिलो भेटमा उहाँको निधारको ठूलो टीकाले, उहाँ अरूभन्दा भिन्न लाग्यो । त्यसबेला उहाँले सेतो भूइँमा रातो बुट्टा भएको सारी लगाउनु भएको थियो । उहाँको गोरो, गोलो अनुहारमा ठूलो रातो टीका, रातो बुट्टे सारीमा सलक्क परेको जिउडालमा राम्री र आकर्षक देखिनुहुन्थ्यो । उहाँको नजिक गएर परिचय मागेँ । उहाँले मेरो नाम माया ठकुरी हो भन्नुभयो । अनि मैले सोधेँ- तपाईँलाई मैले प्रायः साहित्यिक कार्यक्रममा देख्दिनँ त ? माया ठकुरीको नाम सुन्नेबित्तिकै सट्ट कथाकार माया ठकुरीलाई सम्झेँ । अनि सोधेँ- तपाईँको नाम कथाकार माया ठकुरीसँग मिल्न गयो । उहाँले हाँसेर भन्नुभयो- म नै कथाकार माया ठकुरी हुँ ।
कस्तो अचम्म ! मैले चिनेको कथाकार माया ठकुरी उहाँ नै हुनुहुँदो रहेछ । म अचम्मित भएँ, मलाई पत्याउन गाह्रो भयो । मैले १९/२० वर्षदेखि माया ठकुरीको कथा पढ्दै आएको थिएँ तर त्यसअघि उहाँलाई भेटेको थिइनँ । रेडियो नेपालमा उहाँको गीत पनि सुन्दै आएकी थिएँ । मलाई लागेको थियो, उहाँ मभन्दा धेरै जेठी हुनुहोला तर उहाँ त मेरै उमेरको हुनुहुँदो रहेछ । अनि मैले उहाँसँग सोधेँ— म १९/२० वर्ष हुँदादेखि तपाईँका कथाहरू पढ्दै आएकी हुँ र गीतहरू पनि सुन्दै आएकी हुँ । तपाईँले कति वर्ष हुँदा साहित्य सिर्जना गर्न थाल्नुभएको हो ? उहाँले १८/१९ वर्ष हुँदादेखि नै साहित्य सिर्जना गरेकी र गीत पनि गाउन थालेकी हुँ भन्नुभयो । मलाई मन पर्ने कथाकार र गायिकालाई भेट्न पाउँदा धेरै खुशी लाग्यो । अनि मैले भनेँ - म तपाईंको फ्यान हुँ ।
हामी दुईजना २०५७ सालमा गुञ्जन नारी साहित्य संस्थाको आजीवन सदस्य बनेका हौँ । त्यही वर्ष गुञ्जनका निवर्तमान अध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठकको घरको कोठे गोष्ठीमा दोस्रो पटक भेटभयो । त्यहाँ उहाँले आफ्नो बाल्यकालको सङ्घर्षका कारुणिक कथा सुनाउँदा त्यहाँ उपस्थित गुञ्जनका सबै दिदीबहिनीहरू भावुक भई कतिपयको आँशु खस्यो । तपाईंको कथा एकदम मनपर्छ, स्वर पनि मीठो लाग्छ, भन्दै अङ्गालो हाले । एकअर्कामा भलाकुसारी गर्यौँ । मैले पनि भर्खर कथा लेख्न शुरु गरेकी छुँ भनेँ । उहाँले खुशी व्यक्त गर्नुभयो ।
सर्जकका रूपमा माया ठकुरीलाई कसरी चिन्नुहुन्छ ?
माया ठकुरी नेपाली आख्यान जगत्मा एक चम्किलो तारा हुनुहुन्छ । उहाँ कथाकार तथा मीठो स्वरकी धनी गायिका पनि हुनुहुन्छ । उहाँका कथामा समकालीन नारी पीडाको यथार्थ मनोविज्ञान पाइन्छ । २० को दशकदेखि उहाँले निरन्तर कथा लेखिरहनुभएको छ । उहाँ बहुचर्चित आख्यानकार हुनुहुन्छ । नेपाली साहित्यमा कथाकारितामा आफ्नो विशिष्ट स्थान बनाउन उहाँ सफल हुनुहुन्छ । उहाँका कृति विभिन्न भाषामा अनुवाद भएका छन्, विभिन्न देशमा पढाइन्छ । उहाँको ‘तिमी फूल बनेर हाँस म नीर भएर झर्छु’ भन्ने गीत सुन्दा मलाई खुब मन परेको थियो, र ऐले पनि उत्तिकै राम्रो लाग्छ ।
कथाकार माया ठकुरीको कथाकारिताको उचाइ कस्तो छ ?
उहाँको कथाकारिता नेपाली साहित्य जगत्मा विशेष स्थान पाउन सफल छ । पारिजात, प्रेमा शाहजस्ता नारी कथाकारको पिँढीपछि माया ठकुरीलगायत भागीरथी श्रेष्ठ, पद्मावती सिंहलाई सशक्त कथाकारका रूपमा चिनिन्छ ।
माया ठकुरीले उपन्यास प्रकाशन गर्नुभएन, कथाकारका रूपमा मात्र उहाँलाई कसरी चिन्नुहुन्छ ?
उहाँको उपन्यास प्रकाशित छैन, त्यसैले उहाँलाई कथाकारको रूपमा मात्र चिन्दछु । उहाँका केही गीतहरू रेडियोमा सुनेको छु, लेखहरू पढेको छु तर उहाँको आमपहिचान कथाकार नै हो ।
उहाँका कथा कस्ता छन् ?
उहाँका धेरैजसो कथा समाजमा पुरुष र नारीको विभेद, नारी पीडा र वेदनाको यथार्थमा आधारित छन् । उहाँका कथामा मानवीय संवेदनाहरू र सामाजिक यथार्थ पाइन्छ ।
ग्रामीण परिवेशका कथा लेख्ने माया ठकुरीसँग शहरी कथाकार जलेश्वरी श्रेष्ठको साइनो कसरी गाढा भयो ?
माया ठकुरीको बालापन ग्रामीण परिवेशमा बितेकाले उहाँका धेरैजसो कथा ग्रामीण परिवेशमा लेखिएका छन् । शहरीया परिवेशमा मेरो बाल्यकाल बितेकाले त्यही वातावरणको प्रभाव परेकोले मेरा भावनाहरू धेरैजसो सहरको वातावरणतिर बहन्छ । मेरो विचारमा स्रष्टा–भावना एउटै हुन्छ । हामी गुञ्जनमा एकैचोटि आजीवन सदस्य भएर सञ्चालक समितिमा पनि सँगसँगै भएकाले हामी दुई बीच साहित्यको विविध विषयमा परिचर्चा भइरहन्छ । हामी दुबैजना समवयस्क भएकाले कतिपय पीडा, अनुभव, अनुभूति एकै खालको छ । त्यसैले हाम्रो कथाहरुको संवेदना एउटै हुन्छ । त्यहाँ कुनै परिवेषको मतलब हुँदैन ।
कथाकार माया ठकुरीले यथार्थभन्दा कल्पनामा कथा लेख्नुहुन्छ ?
कुनै पनि स्रष्टाले आफ्नो रचना सिर्जना गर्दा वास्तविकतामा उभिएर, कल्पनाले सिँचिएर रचना गरिन्छ । यो नै यथार्थ हो त्यसैले माया ठकुरीको कथामा पनि कल्पनाको आधार हुन्छ ।
उहाँको कुनै कथाले आकर्षित गरेको छ ?
उहाँका धेरै कथा मलाई मन पर्छन् । जस्तैः आमा जानुहोस्, भोक, प्रियम्बदा आदि । अझ बढी २०२१/०२२ सालतिर कुनै पत्रिकामा पेनफ्रेन्ड भन्ने कथा छापिएको थियो । त्यो कथा पढ्दाखेरि म उहाँप्रति प्रभावित भएँ । त्यसबेला पेनफ्रेन्ड भनेर कुनै अपरिचित व्यक्तिलाई उनीहरूको ठेगानामा चिठ्ठी लेखी साथी बनाउने चलन थियो, त्यस कथामा कुनै दुई अपरिचित केटाकेटी बीच चिठ्ठी आदानप्रदान गर्छन् । उनीहरू दुई बीच भेट्ने इच्छा जागृत हुन्छ । कुनै ठाउँमा भेट्ने कार्यक्रम तय हुन्छ । भेट्ने भनिएको स्थानमा एक 'कुरूप केटी' बसिरहेको देखेपछि केटा फरक्क फर्केर जान्छ ।
उहाँको साथीशैली कस्तो लाग्छ ?
उहाँको साथी शैली राम्रो मिलनसार र सहयोगी लाग्छ । सबैलाई माया गर्ने सहृदयी हुनुहुन्छ । आफूभन्दा साना भाइबहिनीलाई माया र आफूभन्दा ठूलालाई आदर तथा सम्मान गर्ने, समवयस्क साथीभाइसँग सद्भाव राख्ने गर्नुहुन्छ । उहाँले ‘आमा जानुहोस्’ कथा सङ्ग्रह (नेपाल भाषामा अनुवादमा झासः) किताब हामी तीनजना पद्मावती सिंह, भागरथी श्रेष्ठ र म जलेश्वरी श्रेष्ठलाई समर्पित गर्नुभएको छ । यहीबाट थाहा हुन्छ, उहाँ साथीप्रति कति श्रद्धाभाव राख्नुहुन्छ ।
कथाकार माया ठकुरीको कुन बानी मन पर्छ ?
कथाकार माया ठकुरीको सहयोगी बानी मलाई मन पर्छ । उहाँको सकारात्मक विचार मनपर्छ । बोलाइएको ठाउँमा जाँदा उहाँले खानेकुराहरू उपहार स्वरूप लिएर जानुहुन्छ । लुगाहरू पनि उपहार स्वरूप ल्याइदिनुहुन्छ । उहाँ कसैसँग रीस,द्वोष राख्नुहुन्न ।
कथाकार माया ठकुरीको कुन बानी मन पर्दैन ?
कथाकार माया ठकुरीको कहिलेकाहीँ एकोहोरो बोलिरहने, अरूको कुरालाई वास्ता नगर्ने बानी मलाई मन पर्दैन ।
उहाँसँग झगडा अथवा मनमुटाव भएको छ ?
उहाँसँग झगडा अथवा मनमुटाव अहिलेसम्म भएको छैन ।
माया ठकुरीको रीसमा पर्नु भएको छ ? कडा छ नि रीस, कार्यक्रम नै छाडेर हिँड्नु हुन्छ ?
माया ठकुरीको रीसमा परेको छु । एउटा कार्यक्रममा उहाँलाई के चित्त बुझेन, हामीलाई थाहा छैन, उहाँ बसेको ठाउँबाट रिसाउँदै जुरुक्क उठेर बाहिर जानुभयो ।
दुबै जनाले दारू त खानुहुन्छ नि ?
उहाँले खानु भएको थाहा छैन । म नेवारकी छोरी पास्नीदेखि नै रक्सी चखाइदिने चलन छ, त्यसैले कहिलेकाही पार्टीमा खान्छु तर ज्यादै थोरै, सगुनको रूपमा मात्र । अब त उमेर र स्वास्थ्यले पनि खान मिल्दैन ।
कथाकार माया ठकुरी चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?
उहाँले हामी साथीहरूलाई बरोबर रेष्टुराँमा लगी चिया, नास्ता खुवाउनु हुन्छ । कहिलेकाहीँ थकाली खाना खुवाउन पनि लग्नुहुन्छ । पैसा झिक्न गाह्रो मान्ने बानी छैन ।
प्राज्ञ माया ठकुरीले तपाईँहरूलाई टेर्नु भएन रे ? बालै नदिने रे ?
उहाँ प्राज्ञ भएको बेलामा हामीलाई उहाँको कक्षमा बोलाउनु भयो, र गएपछि चिया खाँदै हामीले साहित्यिक विचार आदान प्रदान गर्यौँ ।
कथाकार माया ठकुरीको घर परिवारसँग सम्पर्क छ ?
उहाँकी छोरी अनुराधासँग मेरो राम्रो स्नेह भाव छ । उहाँको श्रीमान् दामोदर शर्माले मेरो नियतिचक्र उपन्यासलाई अङ्ग्रेजीमा अनुवाद गरिदिनुभएको हो । हाम्रो पारिवारिक सम्पर्क राम्रो छ ।
उहाँसँगको कुनै रोचक घटना ?
सधैँ निधारमा ठूलो रातो टीका लगाउने उहाँ, एकचोटि उहाँको निधारमा टीका नदेखेपछि हामी सबै जनाले मुखामुख गर्दै हास्यौँ । उहाँ पनि हामी किन हाँसेको भनी छक्क पर्नुभयो । सबैले तपाईंले एउटा कुरा बिर्सेर आउनु भएछ भन्यौँ । उहाँले खै मैले त केही बिर्से जस्तो लाग्दैन भन्नुभयो । एकचोटि ऐना हेरेर आउनुहोस् त ! भनेपछि उहाँले पनि चाल पाएर हाँस्नुभयो ।
उहाँको कम्तीमा पनि एउटा बदमासी भनिदिनुहोस् न ? भए धेरै नै ?
उहाँले बदमासी गरेको सम्झना छैन ।
मीठा संस्मरणहरू केही भए राखिदिनहुन अनुरोध छ ।
हामी कोठे गोष्ठीहरूमा हाँस्दै, ख्यालठट्टा गर्छौँ । कतै जाँदा उहाँ गीत गाउनु हुन्छ । कहिलेकाहीँ नाच्नु पनि हुन्छ । हामी सबै साथीहरू गीत गाउँदै रमाइलो गर्छौं ।

