साहित्यपोस्ट डट कम

माया ठकुरी र निनु चापागाईंलाई योगमाया राष्ट्रिय सम्मान

माया ठकुरी र निनु चापागाईंलाई योगमाया राष्ट्रिय सम्मान

योगमाया स्मृति दिवसका अवसरमा नेपाल स्रष्टा समाजले अग्रज कथाकार माया ठकुरी र समालोचक तथा अभियन्ता निनु चापागाईंलाई राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा ठकुरीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा चापागाईंलाई ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ समर्पण गरिएको हो । दुवै सम्मानमा ५० हजार एक सय एक रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, रेखा कँडेल र राजेश न्यौपानेलगायतले सम्मान समर्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरेले योगमायालाई निरंकुशताविरुद्ध संघर्ष गर्ने विलक्षण व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । उहाँले समाजका विकृति र विभेदविरुद्ध योगमायाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै सम्मानका लागि उपयुक्त व्यक्तित्व छनोट गरिएको बताउनुभयो ।

यसै अवसरमा योगमाया न्यौपानेसम्बन्धी लेख तथा रचनाहरूको सङ्गालो ‘योगमाया : इतिहासदेखि वर्तमानसम्म’ लोकार्पण गरिएको छ। कृतिको सम्पादन प्रदीप सापकोटाले गर्नुभएको हो।

सम्मान ग्रहण गर्दै कथाकार माया ठकुरीले सम्मानबाट गौरवान्वित भएको बताउनुभयो । निनु चापागाईंले योगमायाको योगदानबारे अझै गहिरो खोज तथा अध्ययन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले योगमायालाई क्रान्तिकारी कविका रूपमा स्मरण गर्दै तत्कालीन कानून र राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउने साहसिक व्यक्तित्व भएको बताउनुभयो ।

सम्मानित व्यक्तित्वहरूको परिचय तथा योगदानबारे इल्या भट्टराईले चर्चा गर्नुभएको थियो । उहाँले माया ठकुरी रेडियो खर्साङ र रेडियो नेपालमा गायिकाका रूपमा पनि सक्रिय रहनुभएको तथा उहाँका कृतिहरू भारतका विभिन्न विश्वविद्यालय र नेपालका विद्यालय तहका पाठ्यक्रममा समावेश रहेको जानकारी दिनुभयो ।

भट्टराईले निनु चापागाईंको साहित्य र राजनीतिलाई सँगसँगै अघि बढाउने क्षमता, राल्फाली आन्दोलन तथा समालोचना क्षेत्रमा रहेको योगदानबारे पनि चर्चा गर्नुभयो ।

न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले योगमायाको योगदानको प्रचारप्रसार तथा उहाँलाई राष्ट्रिय विभूति घोषणा गराउने अभियानमा संस्था सक्रिय रहेको बताउनुभयो । लोकार्पित कृतिले योगमायाको योगदानलाई व्यापक रूपमा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा गायिका लोचन भट्टराईको स्वर तथा सङ्गीतमा तयार योगमायाका वाणीमा आधारित गीति भिडियो पनि प्रस्तुत गरिएको थियो ।

नेपाल स्रष्टा समाजका सल्लाहकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पूर्वअध्यक्ष चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, रमा शर्मा, बागमती प्रदेश संयोजक शंकर भारती, कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, गण्डकी प्रदेश अध्यक्ष रीता न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

न्यौपाने बन्धु समाज नेपालको सहआयोजनामा सम्पन्न कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा भएको थियो । गोपिकृष्ण न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गर्नुभएको थियो भने प्रकाश घायलकाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक हुनुहुन्छ । यस सम्मानबाट हालसम्म १८ जना सम्मानित भइसकेका छन् । योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानबाट नौ जना सम्मानित भइसकेका छन् । नेपाल स्रष्टा समाजले न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा केही वर्षदेखि योगमाया स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.