साहित्यपोस्ट डट कम

माया ठकुरी र निनु चापागाईँ योगमाया सम्मानबाट सम्मानित हुने

माया ठकुरी र निनु चापागाईँ योगमाया सम्मानबाट सम्मानित हुने

काठमाडौं । नेपाल स्रष्टा समाजले वि.सं. २०८३ सालका लागि ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ घोषणा गरेको छ ।

समाजका अनुसार यस वर्ष ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ साहित्यकार माया ठकुरीलाई तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ समालोचक निनु चापागाईँलाई प्रदान गरिने भएको छ । दुवै सम्मानको नगद राशि ५० हजार १ सय ११ रुपैयाँ रहेको छ ।

नेपाली इतिहासकी साहसी, विद्रोही तथा क्रान्तिकारी व्यक्तित्व योगमायाको स्मृतिमा स्थापित यी सम्मानहरू हरेक वर्ष अर्पण गरिँदै आएका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ वि.सं. २०६५ सालदेखि प्रदान हुँदै आएको हो । उक्त सम्मानका संस्थापक समाजका संरक्षक पवन आलोक हुनुहुन्छ ।

त्यसैगरी ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वि.सं. २०७५ सालदेखि प्रदान हुँदै आएको छ । यस सम्मानका संस्थापक राजेश न्यौपानेलगायत रहेको अध्यक्ष रोदनले जानकारी दिनुभयो ।

दुवै सम्मान आगामी असार २२ गते योगमाया स्मृति दिवसका अवसरमा राजधानीमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने जनाइएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.