साहित्यपोस्ट डट कम

मौनमा बाँचेको प्रेम

मौनमा बाँचेको प्रेम

अहिलेको समय प्रेममय भएको छ । हुन त सबैले अनुभूत गर्न सक्ने भएर पनि होला यति धेरै प्रेमले विश्व बजार पाएको । जतासुकै चर्चा पाउने विषय पनि प्रेम नै हो । यहाँ हर कोही प्रेममा छन् । एकले अर्कालाई अथाह प्रेम गर्छन् । जीवन नै समर्पण गर्छु भन्छन् । सबै थोक त्याग्न पनि तयार हुन्छन् । सबै कुरा आफ्नो वशमा नराखी खुल्ला हृदयलाई छोडिदिन्छन् । हुन त मलाई वास्तवमा अहिलेको पुस्ताले गरेको प्रेमको बयान सुन्दा अनौठो लाग्छ । साँच्चै भन्नुपर्दा अजीव लाग्छ । म उनलाई प्रेम गर्छु । प्रेममा छु त भन्छन् तर एक अर्काको खास्सै परिचय राख्दैनन् । साथमा ठूलो वास्ता खोजी हुने त कुरै भएन । एक अर्कामा चिनजान गर्ने भावना साटासाट गरेर आदान प्रदान गर्ने भन्दा पनि क्षणिक आनन्दमा रमाउन चाहने बढी हुन्छन् । प्रेममा भन्दा पनि बढी आकर्षणमा तल्लीन हुन्छन् । प्रेम करुणा, दया र सद्भावको समष्टि हो तर आज प्रेमलाई केवल शरीरको निकटता र स्पर्शमा सीमित गरिँदैछ । प्रेमले आफूभित्रको प्रगाढ भावनालाई शरीरको निकटमा पुर्याएर स्पर्श गराउँछ । पात्रहरू फेरिन समय लाग्दैन । एकछिन अघि विशेष लागेको व्यक्ति, अर्को सुन्दर पात्र भेटिने बित्तिकै ओझेलमा पर्छ । अहिले क्षणिक समयमा भएको आकर्षणलाई पनि ठूलो प्रेमको पहाड मानिदिन्छन् र एक अर्कामा परिचित हुनु अगावै प्रेम प्रस्ताव राख्ने गर्छन्, अनि सबैथोक नै यही हो भनेर छोडिदिन्छन् ।

वास्तवमा, प्रेम र आकर्षणलाई फरक कोणबाट हेर्न सक्नु पर्दछ । यी नितान्त फरक मानवीय आवश्यकताका वस्तुपरक चिज हुन् । प्रेम चोखो हुन्छ जहाँ कुनै अपेक्षा हुँदैन तर आकर्षणमा हुने नै भयो । आकर्षण केही समयका लागि हुन्छ तर प्रेम अनन्त हुन्छ । प्रेम खासमा छिटो शुरु गरिन्छ तर पछि सम्म गरिन्छ, अनि बिस्तारी सिकिन्छ पनि । कसैले सधैँ देखिरहने सुन्दर स्केच र झट्ट देखिएको स्केचलाई गर्ने प्रेममा धेरै फरक हुन्छ । उसले सधैँ देखिरहेको मनमोहक स्केच आज पनि हेर्छ, भोलि पनि हेरिरहन्छ । भेट हुने बित्तिकै, एउटा मान्छे अर्कोसँग आकर्षित हुने बित्तिकै त्यहाँ प्रेम हुन्छ भन्ने हुँदैन । मान्छेले प्रेम र आकर्षणलाई छुट्याउन सक्नु पर्दछ । यस्तो विषयलाई छुट्याउन नसक्दा मेरो पुस्ताले प्रेम शब्दको गलत प्रयोग र अर्थ लगाइराखेको हो कि जस्तो लाग्छ ।

भूपू प्रेमिकासँगको प्रेम:

एक भूपू प्रेमिका छिन् जसलाई म असाध्यै प्रेम गर्छु । हुन त प्रेमिका भूपू भए पनि प्रेम कहिल्यै भूपू हुन सक्दैन । थाहा छैन चलिरहेको प्रेम सम्बन्धमा पनि कसरी ब्रेक लाग्यो भनेर तर उसलाई सधैँ प्रेम गरिरहेको छु । त्यो पनि अथाह प्रेम । विगतलाई सम्झेर समय पनि एक क्षण अडिन खोज्दैछ । कहिले कसो झल्को नआउने पनि होइन तर हालखबर मात्रै जानिराखेर पनि त अर्थ भएन । जसका कारणले उज्यालो हुने दिन थियो तर आज ऊ आफैँ छैन । चटक्कै बिर्सिन पनि त सकेको छैन । सम्झे पनि उही पुरानै अतितका नमीठा क्षणहरू मात्रै नआउने भए ।

प्रेम बसेको छ, त्यो पनि नमेटिने गाढा । कहिल्यै बिर्सन नसक्ने स्मरण योग्य, कहिल्यै नमर्ने अमर । ऊ अब मेरो जीवनमा छैन तर ऊ नहुनु भनेको प्रेमको अन्त्य हुनु होइन । प्रेम त उसको अनुपस्थितिमा झन् स्पष्ट भएर देखिँदै गएको छ । जब थकान महसुस हुन्छ, म उसको आवाज सम्झिन्छु । कुनै शब्द होइन, त्यो भाव, जसले मलाई म नै बन्न सिकाएको छ । हामी सँगै हुँदा प्रेममा प्रमाण खोज्दैनथ्यौँ । न वाचा चाहिन्थ्यो, न अधिकार । ऊ मौन हुन्थी, म बुझ्थेँ । म अलमलिन्थेँ, ऊ प्रतीक्षा गर्थी । त्यही बुझाइ नै प्रेम थियो आकर्षणजस्तो चर्को होइन, तर आत्माजस्तै गहिरो । आज म उसलाई फर्काउने चाहना राख्दिनँ । प्रेम स्वार्थी हुँदैन भन्ने पाठ उसैले सिकाएकी हो । ऊ जहाँ छे, जसरी छे, सुखी होस् भन्ने कामना गर्नु नै मेरो प्रेमको अन्तिम र सबैभन्दा पवित्र रूप हो । कहिलेकाहीँ सोच्दछु, यदि ऊ फेरि भेटिइन् भने के होला ? शायद हामी मुस्कुराउनेछौँ, पुराना यादलाई सम्झेर आदरपूर्वक टाउको निहुराउनेछौँ । फेरि प्रेमको नाम दिने हतार गर्ने छैनौँ, किनकि साँचो प्रेम त एकचोटि आत्मामा बसेपछि, नामले होइन, मौनताले चिनिन्छ । र त्यही मौनमा नै म तिमीलाई अझै पनि बोलाइरहन्छु । न फर्किने बाटो देखाउन, न पुरानो समय माग्न नै । केवल यो सम्झाउन कि प्रेम कहिल्यै हराउँदैन, उसले रूप बदल्छ तर प्रेमको स्वरुप बदल्दैन । अब मेरो प्रेम कुनै प्रतीक्षामा छैन, न कुनै सम्भावनाको ढोकामा उभिएको छ । यो त शान्त छ साँझझैँ, आफू नदेखिए पनि उज्यालो छोडेर जान्छ ।

प्रेमसहित,

तिम्रो प्रिय जूग्नु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.