मौनताको सौन्दर्य भन्नु मेरा लागि अहिलेको मौन अवधिको उपलब्धि हो । यसलाई अगति होइन उपलब्धिको रूपमा लिन सकिँदा साँच्चै सुखद परिणति प्राप्त हुन सक्छ । किनभने मौन अवधि धेरै बोल्नका निम्ति होइन । हल्लाखल्ला र भीडभाड बनाउन पनि होइन । यसो गर्नु मौन अवधिको घोर उलङ्घन हो । त्यसैले मौन अवधिमा यसको उपलब्धितिर ध्यान दिनुपर्छ । मौनताको सौन्दर्य निर्माणमा ध्यान दिनुपर्छ । किनभने मौनताको सौन्दर्यले धेरै कुराको पाना खोल्न मद्दत गर्छ ।
मौनताको सौन्दर्य, अहिलेको मौन अवधिको अनुभवमा, मलाई कुनै रोकावटको संकेतजस्तो लाग्दैन । बरु यो उपलब्धिको एउटा उज्यालो ढोकाजस्तो देखिन्छ । बाहिरका आवाजहरू थामिँदा आफूभित्रको चेतना जागृत हुन्छ । हामीले सुन्न छुटेका सत्यहरू आफ्नै स्वरमा बोल्न थाल्छन् । यस अर्थमा मौन अवधि शून्यता होइन– यो चेतनाको परिपक्व क्षण हो ।
धेरै बोल्नु, हल्लाखल्ला र भीडभाड बनाउनु, शब्दहरूको अनावश्यक वर्षा गर्नु वस्तुतः यी सबै मौन अवधिको मर्मविपरीत कर्महरू हुन् । जब आवाजको भीड बढ्छ, विवेकको आवाज हराउँछ । त्यसैले मौन अवधिको सम्मान गर्नु भनेको शान्त बस्नु मात्र होइन; विवेकलाई प्राथमिकता दिनु हो । संयमित मौनता सभ्यताको सूचक हो । अनुशासनयुक्त मौनता चेतनशील समाजको पहिचान हो ।
मौन अवधिमा उपलब्धितर्फ ध्यान मोडिनुपर्छ । हामीले के सिक्यौँ, के बुझ्यौँ, के सुधार्न सक्छौँ भन्ने दिशातर्फ लाग्नुपर्छ । यो समय आत्म–परीक्षणको मात्र होइन, आत्म–परिष्कारको पनि हो । मौनताको सौन्दर्य निर्माण गर्न सकियो भने जीवनका लुकेका पानाहरू आफैँ खुल्न थाल्छन् । विगतका गल्तीहरू ‘पाठ’ बन्छन्, अनुभवहरू ‘मार्गदर्शक’ हुन्छन् । भविष्यको बाटो स्पट देखिन थाल्छन् ।
अतः मौनता कुनै निष्क्रियता होइन; यो चेतनाको सक्रिय शान्ति हो । यसले आवेगलाई संयममा बदल्छ, भ्रमलाई स्पष्टतामा रूपान्तरण गर्छ । अस्थिर मनलाई स्थिर निर्णयतर्फ उन्मुख गराउँछ । मौनताको सौन्दर्यले मानिसलाई आफ्नै गहिराइसँग परिचित गराउँछ– जहाँ उत्तरहरू बाहिर होइन, आफैँभित्र प्रतीक्षारत् हुन्छन् ।
त्यसैले मौन अवधिलाई अवरोध होइन अवसरका रूपमा ग्रहण गर्न सकियो भने यसको परिणति सुखद हुन्छ । मौनताको सौन्दर्यले जीवनका अनेक बन्द पानाहरू खोलिदिन्छ, नयाँ दृष्टि दिन्छ र व्यक्ति तथा समाज दुवैलाई परिष्कृत बनाउने शक्ति स्वतः प्रदान गर्छ । मौनताको सोचाइ र सिर्जना वास्तवमा उत्कृष्ट हुनसक्छ । यस अवधिको सही सदुपयोगले जीवनको गति र गन्तव्य नै बद्लिन सक्छ । जसरी चुनाव पूर्व मौन अवधिको गणना प्रारम्भ हुन्छ त्यतिबेला मूलतः मतदाताले गम्भीर भएर सोच्नुपर्छ । मत पाउनेले पनि जनताप्रतिको बाचा सस्तो र व्यर्थको ठान्नु हुँदैन । चुनावमा कसलाई भोट दिँदा देशकै विकासले गति लिन सक्छ ? मतदानअघिको पूर्व तयारीका लागि पनि यो मौन अवधि आफैँमा यौटा चुनावी परीक्षा हो ।
अन्ततः मौन अवधिले शब्दहरू रोकिन सक्छन् भनी हामीलाई सिकाउँछ । तर चेतना बोलिरहन्छ । मौनता थामिन सक्छ । तर त्यसबाट जन्मिने उज्यालो निरन्तर फैलिरहन्छ ।
सधैँभरि जीवनको कोलाहलबीच कहिलेकाहीँ यस्तो क्षण आउँछ, जब फरतर–फतर कहालिने,चिच्याउने शब्दहरू थाकेर बस्छन् र मनसँगै भित्र–भित्रै मौन–संवाद गर्न थाल्छन् । त्यो क्षण नै मौन अवधि हो– बाहिरी संसारका हल्लाहरूबाट टाढा, भित्री संसारका धड्कनहरूसँग साक्षात्कार गर्ने अवधि । मौनताको सौन्दर्य आफैँमा एउटा सिर्जनात्मक सोचको शुभारम्भ हो; जस्तो कि गहिरो तालको सतह शान्त भएपछि मात्र त्यसको गहिराइमा डुबुल्की मार्न सकिन्छ ।
मलाई लाग्छ– मौन अवधिमा आफँैतिर फर्किनु भनेको आफ्नै जीवनको बाटोमा फेरि एकपटक हिँड्नु पनि हो । पदचापहरूलाई चाल मारेर छाम्नु पनि हो । हिजोका पाइलाहरूले कता मोड लिए, कहाँ ठेस लाग्यो, कहाँ फूलहरू बिछ्याइएका थिए ? कहाँ काँडाहरू पासो थापेझैँ थापिएका थिए ? यी सबै दृश्यहरू मौनताको उज्यालोमा प्रस्ट देखिन थाल्छन् । शब्दहरूले लुकाइदिएका सत्यहरू मौनताले उदाङ्ग पारिदिन्छ । सोचाइको गहिराइमा डुबेर मान्छेले मौन अवधिमा आफूलाई भेट्टाउने शान्त मौका पाउँछ ।
त्यही शान्त पाटोमा भेटिन्छ– मौनताका सौन्दर्यपूर्ण उपस्थितिहरू ! स्मृतिहरूको मधुर प्रतिध्वनि, पछुतोको हल्का कम्पन र आत्मसन्तोषको न्यानो मुस्कान ! त्यसबेला जीवनका सुखद र दुःखद तस्बिरहरू एकैपटक आँखाअघि उभिन्छन् । त्यतिबेला हामी आफैँलाई प्रश्न गर्छौं– कति संघर्ष गरियो ? कति दिनहरू सहजताले बिते ? कसलाई अञ्जानमा पीडा दियौँ ? कसले हामीलाई हृदयभरि मुस्कान दिएर स्वागत ग¥यो ? र, कति कर्कश आवाजहरूको ध्वनि–प्रदूषणले मन भत्भती पोल्यो ?
यी प्रश्नहरू मौनतामा उठ्छन्, तर तिनका उत्तर पनि मौनतामै जन्मिन्छन् । मौनता एउटा ऐना हो– यसले अनुहार मात्र होइन, अन्तरात्माको सग्लो आकृति पनि देखाउँछ । त्यहाँ हामीले लुकाएका असहज सत्यहरू, अधुरा सपनाहरू र अपूरा पश्चात्तापहरूसमेत स्पष्ट देखिन्छन् । र, यतिबेला त खासमा मौन अवधिको पालना गर्नु भनेको देशका भाग्यविधाताहरूको मूल्याङ्कन गरेर सही, योग्य, दक्ष, इमान्दार नेतृत्व छान्ने समय पनि हो ।
यद्यपि मौन अवधि भनेको चुपचाप एक्लै बस्नु होइन; यो निष्क्रिय शून्यता होइन । कोठामा थचारिएर बस्नु मौनता होइन, चेतनाको जागरण मौनता हो । मौन अवधिमा हामीले जीवनका चुँडिएका सम्बन्धका साइनाहरूलाई गाँस्नुपर्छ । उध्रिएका कपडाहरूलाई धागोहरूले जोड्नुपर्छ । हेर्दा राम्रो, देख्दा सुन्दर आँखालाई आनन्द दिन सक्नुपर्छ । कामका मेलोमेसोलाई सिलसिलाबद्ध गर्नुपर्छ । अस्तव्यस्त भावनाहरूलाई अर्थपूर्ण दिशातिर मोड्नुपर्छ ।
मौनताको सौन्दर्य तब साकार हुन्छ, जब हामी यसलाई पलायन होइन, पुनर्जन्मको क्षण बनाउँछौँ । मौनताभित्रको आवाज सुन्ने ‘कला’ हो; यो आत्मासँगको गोप्य ‘संवाद’ हो । बाहिरी शब्दहरू हराउँदा भित्री संगीत सुनिन थाल्छ– त्यो संगीतले जीवनलाई नयाँ ‘लय’ दिन्छ । समाजलाई समायानुकूल परिवर्तनको ‘गति’ दिन सक्छ ।
शायद त्यसैले मौनता ‘शून्यता’ होइन; यो पूर्णताको ‘प्रवेशद्वार’ हो । मौन अवधि अन्त्य होइन; नयाँ आरम्भको ‘शुभ–बिहानी’ हो ।
मौनताको सौन्दर्य आत्मचिन्तनको निजी क्षणमा मात्र सीमित हुँदैन; यसको सामाजिक र सामूहिक रूप पनि उत्तिकै अर्थपूर्ण हुन्छ । अहिलेको चुनाव अगाडिको मौन अवधि त्यसैको एउटा सार्वजनिक प्रतिरूप जस्तो लाग्छ– जहाँ नाराहरू थाक्छन्, भाषणहरू रोक्छन् । भीडका आवाजहरू अचानक थामिन्छन् । बाहिरी हल्ला थामिएपछि नागरिक चेतनाले आफ्नै निर्णयको आवाजसँग मन्थन गर्ने अवसर पाउँछ । कोठा–चोटामा घर सल्लाहको साउती हुनथाल्छ । कसलाई जिताएर गाउँठाउँ बनाउने भन्ने निक्र्यौल गरिन्छ ।
चुनावी ¥याली, घोषणापत्र, आरोप–प्रत्यारोप र आश्वासनका शब्दहरू जब निरन्तर गुञ्जिरहन्छन्, तब मनले आफ्नै विवेकलाई सुन्न कठिन हुन्छ । तर मौन अवधिको आगमनसँगै सार्वजनिक कोलाहल स्थिर हुन्छ । नागरिक मनभित्र एउटा सूक्ष्म संवाद सुरु हुन्छ– ‘हामी कस्तो समाज चाहन्छौँ ? कसले भरोसा दिलायो ? कसले भ्रम सिर्जना ग¥यो ? हाम्रो भविष्यको दिशा कता मोडिनुपर्छ ?’
वास्तवमा यो मौनता लोकतन्त्रको आत्मा जस्तै हो । जसरी व्यक्तिगत मौनतामा मानिसले आफ्नो जीवनका पदचापहरू छाम्छ, त्यसरी नै चुनावी मौन अवधिमा समाजले आफ्ना सामूहिक पदचापहरूलाई नाप्छ । हिजोका निर्णयहरूले कहाँ उज्यालो ल्याए, कहाँ अन्धकार बढाए । यी सबै प्रश्नहरू नागरिक चेतनाको अन्तरमनमा गहिराइका साथ उत्रिन्छन् ।
चुनावअघि मौन अवधि केवल प्रचार रोकिएको समय होइन; यो विवेक जागृत हुने समय हो । यो क्षणमा मतदाता भीडको हिस्सा होइन, स्वाधीन चेतनाको प्रतिनिधि बन्छ । उसले बाहिरी प्रभावहरूभन्दा माथि उठेर आफ्नो अनुभव, मूल्य र आशालाई तौलिन्छ । यस अर्थमा चुनावी मौनता लोकतान्त्रिक ध्यान हो– जहाँ मतपत्रमा स्वस्तिक छाप लगाउनुअघि मन र विवेकबीच अन्तिम संवाद हुन्छ ।
व्यक्तिगत मौनता र सार्वजनिक मौनताबीच अद्भुत समानता छ । व्यक्तिगत मौनताले आत्मालाई परिष्कृत गर्छ; सार्वजनिक मौनताले समाजलाई परिपक्व बनाउँछ । व्यक्तिगत मौनतामा हामी आफूलाई प्रश्न गर्छौं– मैले कस्तो जीवन बाँचेँ ?; सार्वजनिक मौनतामा हामी सोध्छौँ– हामी कस्तो भविष्य रोज्दैछौँ ? हामीले कस्तो नेतृत्व छान्दैछौँ ?
यसरी हेर्दा मौन अवधि ‘शून्यता’ होइन; यो निर्णयको ‘गर्भ’ हो । यस मौनताभित्र सम्भावनाहरू पलाइरहेका हुन्छन् । यसले आवेगलाई संयमतामा, भ्रमलाई स्पष्टतामा र भीडलाई चेतनशील समुदायमा रूपान्तरण गर्ने क्षमता राख्छ । जसरी मौन ध्यानपछि मन शुद्ध र हलुका हुन्छ, त्यसरी नै मौन अवधिपछि गरिएको निर्णय पनि जिम्मेवार र परिपक्व हुनसक्छ । मौनताको यही सौन्दर्य हो– यसले कोलाहलमय हुँकारलाई थामेर सत्यलाई बोल्न दिन्छ ।
अन्ततः, मौन अवधि चाहे मनको होस् वा लोकतन्त्रको यो अन्तिम शान्ति होइन, सचेत जागरणको प्रारम्भ हो । त्यसर्थ मौन अवधिमा मौनताको सौन्दर्यले आफूलाई सही मार्गनिर्दे गर्ने अवसर प्रदान गर्नसक्नुपर्छ ।

