पोखरा छोड्दा बिहानको करिब साढे एघार जति बजेको थियो । २०८२ को फागुन २७, हामीले लेकसाइडस्थित होटेल एलेगेन्टमा बितायौँ । होटेल सञ्चालक बबोरजंग गुरुङ पर्यटन व्यावसायी त हुन् नै संस्कृतिकर्मीको पाटो उनको अर्को परिचय हो । पछिल्लो समयमा संस्कृतिका दृष्टिले महत्त्वपूर्ण ‘गुरुङ सांस्कृतिक ट्रेल (पदयात्रा मार्ग)’ प्रवर्धनमा उनको महत्त्वपूर्ण भूमिका छ । पर्यटन यातायात व्यवस्थापनसँग पनि सम्बद्ध बबोरले यहाँसम्म आइसकेपछि समयको व्यवस्थापन गर्न सकिए भुजुङ पुगेर आउन सल्लाह दिएका थिए । उनको प्रस्ताव सुनेर मलाई खुशी लागेको थियो । मैले यसपटक भुजुङ जाने निर्णय पहिले नै जो गरिसकेको थिएँ । म नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष परमेश्वर अधिकारीसँग सम्पर्कमा थिएँ । उनी भुजुङको यात्राका लागि समन्वय गरिरहेका थिए । सहकर्मीद्वय वासुदेव पौडेल र रामबहादुर थापालाई पोखरामै छोड्दै म, नवीन पौडेल र यादव गोतामे अघि बढेका थियौँ ।
‘कुरूप’ रूपा
मेरालागि नयाँ गन्तव्य थियो भुजुङ । नाम धेरै सुनेको भए पनि त्यहाँ जाने अवसर भने अहिलेसम्म जुरेको थिएन । वेगनास भएर लमजुङ जाने निर्णय गरेको थिएँ । केही वर्ष पहिले यो बाटो प्रयोग गरेर बेँसी सहरसम्म यात्रा गरेको मलाई सम्झना छ । निकै सुन्दर–स्मृति शेष छन् । वेगनासबाट भञ्ज्याङ आइपुग्दा दिउँसोको करिब १२ः४५ भएको थियो । हामी चौर हुँदै अगाडि बढेका थियौँ । वेगनास ताल पछाडि छुटिसकेको थियो । माथि डाँडाबाट तल दायाँतर्फ रूपा ताल देखियो तर ताल नामजस्तै सुन्दर र रूपवान् लागेन । जलकुम्भी र अतिक्रमणको चपेटामा परेको तालको अनुहारमात्र होइन सर्वाङ्ग कूरूप देखिएको थियो, आकर्षणविहीन । पहिला आउँदा रूपाको रूप यस्तो लागेको थिएन ।
वेगनासबाट बेँसीशहरसम्मको दूरी झण्डै ८० किलोमिटर छ । हामी रूपा गाउँपालिका हुँदै अगााडी बढिरहेका थियौँ । हंसपुर, उल्लेरी, सग्रवास, पास्ते (च्यार्पे), खाल्टे, खगटे, छापडाँडा, स्यास्त्री हुँदै मादी खोला आइपुगेका थियौँ । मादीले कास्की र लमजुङलाई छुट्याउँछ । पुलमाथिबाट यात्रा गर्दै पारी हामीले लमजुङ टेकेका थियौँ–रामबजार करपुटार । हामी अब कास्कीको रूपा गाउँपालिकालाई पछाडि छोडेर लमजुङको मध्य नेपाल नगरपालिकामा यात्रा गरिरहेका थियौँ । केही पर भेटियो भोर्लेटार । यस क्षेत्रको प्रसिद्ध बजार । थोरै अगाडि बढेपछि आइयो रानीपानी । यहाँबाट प्रसिद्ध नेटा जान सकिन्छ । रानीपानीपछि लामासोती, रातमाटा अनि विमिरे भञ्ज्याङ आउँछ । यहाँबाट पनि नेटा जाने बाटो छ । कैजालेपछि हामीले सुन्दरबजार नगरपालिका प्रवेश गरेका थियौँ ।
ग्रामीण परिवेशमा मिडिया उद्यमशीलता
कोइरालाफाँट, घुसेनी, लामीखेत, खहरे, खत्रीठाँटी हुँदै हामी सुन्दरबजारको मिलनचौक पुगेका थियौँ । ठाँटीचौरस्थित लक्ष्मीनारायण मन्दिरनजिकै छ पत्रकार परमेश्वरको घर । हामी उनको घर पुग्यौँ । परमेश्वरले यो मन्दिर १७६५ सालमा स्थापना गरिएको जानकारी दिए । यसबाट यहाँको सभ्यताको इतिहास बुझ्न सकिन्छ । शोभाको हातबाट एक एक कप चिया खाएर परमेश्वरलाई साथमा लिई हाम्रो गाडी बेँसीशहरतर्फ हुइँकियो । अब भुजुङसम्मको नेतृत्व र यात्राको व्यवस्थापनको जिम्मा परमेश्वरकै थियो । ठाँटीचौरमा नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष सन्तोष पौडेल, राससकर्मी विराट न्यौपाने र पत्रकार समिता अधिकारीसँग भेट भएको थियो । परमेश्वरको संयोजनमा यी युवाले यहाँ लक्ष्मीनारायण सञ्चारगृह चलाएका छन् । यो गृहले पत्रिका प्रकाशनका साथै अनलाइन र युट्युब टेलिभिजन सञ्चालनमा ल्याएको छ । ग्रामिण क्षेत्रमा यो स्तरको मिडिया उद्यमशीलता निकै महत्त्वपूर्ण छ । हामी बेँसीशहर पुग्दा दिउँसोको करिब सवा तीनजति बजेको थियो । महासंघका अध्यक्ष सन्देश पौडेल त्यहाँ बाटो छेक्ने शैलीमा प्रस्तुत थिए । उनको आतिथ्य–आग्रह अस्वीकार गर्न सकिएन । हामी एकछिन खाजाका नाममा त्यहाँ अलमलिएका थियौँ ।
बाटैमा छ घलेगाउँ
म रोमाञ्चित थिएँ । अब हाम्रो यात्रा भुजुङतर्फ सोझिएको थियो । लमजुङको बेँसीशहर चलायमान थियो । मस्र्याङ्दी नदीको सुसाइ र यातायातका साधनको कोलाहलका बीच हाम्रो मन भने उचाइमा रहेको ’भुजुङ’ पुग्न हतारिएको थियो । धेरैले घलेगाउँको नाम सुनेका हुन सक्छन, तर घलेगाउँबाट गाडीमा झन्डै ४५ मिनेटजतिको थप यात्रापछि भुजुङ पुगिन्छ । यसका बारेमा धेरैलाई जानकारी नहुन सक्छ । भुजुङ एउटा यस्तो गाउँ मानिन्छ जहाँ आधुनिकताले अझै पनि मौलिकतालाई विस्थापित गर्न सकेको छैन ।
करिब पौने पाँच बजेतिर बेँसीशहरबाट हामी उकालो उक्लिँदै भुजुङतर्फ लागेका थियौँ । विम्दाबेँसी, रापसिङ, चरागाउँ हुँदै २५ किलोमीटरको दूरी तय गरेर घलेगाउँ पुग्यौँ । घलेगाउँको थप परिचय दिइरहन जरुरी छैन । २०५७ सालदेखि नै होमस्टे (घरवास) सञ्चालनमा आएको यो गाउँ ग्रामीण पर्यटनका दृष्टिले विश्वप्रसिद्ध छ । यो गाउँ पछिल्लो समयमा व्यावसायिक बन्दै गएको होमस्टेका कारण पनि चर्चामा छ । क्वहोलासोथार गाउँपालिका–३ मा पर्ने यो गाउँको बीचबाट गएको सडकको दुवैतिर विस्तारित बस्तीका प्रायः सबै घरका छाना राता जस्ता (चदरा)ले छाइएका छन् । व्यवस्थित बस र गाडी पार्क, खानेपानीको व्यवस्था, सार्वजनिक शौचालय, पार्क (उद्यान) आदिको व्यवस्था रहेको यो गाउँको आकर्षणवृद्धिमा चियाबगानले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दा गलत ठहर्दैन ।
घलेगाउँबाट थोरै अगाडि लागेपछि प्रसिद्ध घनपोखरालाई दायाँ पार्दै करिब सात किलोमिटरको दूरीमा रहेको भुजुङतर्फ लाग्यौँ । घलेगाउँसम्मको अधिकांश सडक पक्की छ तर यहाँबाट अगाडिको बाटो त्यति राम्रो छैन । साँझ छिप्पिँदै रातको आगमन भइरहेको थियो । परमेश्वर भुजुङमा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप)का प्रमोद रेग्मीसँग निरन्तर सम्पर्कमा थिए र त्यसै आधारमा गाडी चालकलाई मार्गनिर्देश गरिरहेका थिए ।
जब भुजुङ टेकियो
बेँसीशहरबाट शुरु भएको हाम्रो यात्रा कच्ची बाटो, दायाँतर्फ पहाडका भित्ताहरू र बायाँतर्फ गहिरो खोँच हुँदै अब गन्तव्यमा पुगेको थियो । बाटो चुनौतीपूर्ण भए पनि गाडीको झ्याल बाहिर देखिने हरियाली र टाढा देखिने हिमालका चुचुराले थकान मेटाएको अनुभव भएको थियो । बाटोमा पर्ने झरना र साना भन्ज्याङ पार गर्दै गर्दा हावाको स्पर्श चिसो हुँदै गएको अनुभूति भएको थियो । यहाँ पुग्दा अँध्यारो भइसकेको थियो तर बिजुलीको उज्यालोमा जब भुजुङको पहिलो दृश्य देखियो, म त मन्त्रमुग्धजस्तै भएको थिएँ । एउटै पहाडको ढिस्कोमा खाँदिएका र मिलेका ढुंगे घरहरू—लाग्थ्यो, भुजुङ कुनै कलाकारले क्यानभासमा सावधानीपूर्वक कोरेको चित्र हो । बाँकी आनन्द त भोली बिहान लिने भन्दै मैले आफ्नो उत्सुकतालाई तत्कालका लागि रोकेको थिएँ ।
प्रमोदजीको निर्देशनानुसार भुजुङ गाउँमा प्रवेश गरेर हामी टावर क्षेत्र पुग्यौँ । रातको करिब आठ बजिसकेको थियो । अँध्यारोको आकारवृद्धि भइसकेको थियो । हाम्रो गाडी त्यहीँ राख्नु थियो । त्यहाँ भेटिए नौराज गुरुङ । स्थानीय लालीगुराँस क्लबका अध्यक्ष नौराजले हामीलाई त्यहाँबाट पैदल यात्रा गराउँदै हामी बस्ने घर पुर्याएका थिए । घर नम्बर ३३ । घरधनी हुमकुमारी गुरुङ । बाटोमा नौराजले गाउँका बारेमा सामान्य जानकारी दिएका थिए । उनका अनुसार भुजुङ पहिला एक सिंगो गाउँ विकास समिति थियो । नौवटा वडा थिए । तर अहिले यो क्वहोलासोथार गाउँपालिकाको एउटा वडा (वडा–४)मा सीमित छ ।
नारेपासँगै मौलिक खानाको स्वाद
मैले माथि पनि चर्चा गरेँ, हामी यहाँ आउँदा अँध्यारो भइसकेको थियो । घर पुग्यौँ । घर धनी हुमकुमारी र उनकी छोरी कृष्णकुमारी गुरुङबाट हाम्रो स्वागत गरिएको थियो । पारम्परिक स्वागत प्रक्रिया र भावबाट म निकै प्रभावित भएको थिएँ । मौसम प्रतिकूल नै थियो, एकैछिनमा वर्षा हुन थाल्यो । हामी कोठामा ओत लाग्यौँ भने हुमकुमारी आमाछोरी भान्सामा गएको देखेँ । कुरो स्पष्ट थियो, अब हाम्रालागि खानाको तैयारी भइरहेको थियो । वर्षा हुँदा हुँदै हामी पनि भान्सा पसेका थियौँ । त्यहाँ खाजादेखि खानासम्मको यात्राको अनुभव बडो गजबको थियो । अहिले एक्यापका प्रमोद र कैलाश तिवारीले पनि हामीसँगै खाना खाएका थिए । एक्यापको स्थानीय कार्यालय हामी बसेको घरको आडैमा रहेछ । एक्यापले यहाँ कार्यालय स्थापना गरेर वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ । सुनाखरीको पहिचान र संरक्षणका दिशामा पनि एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
हुमकुमारीको भान्साको स्थानीय अर्गानिक र रैथाने खाना बडो स्वादिलो थियो –भात, मासको दाल, आलु र लसुन पोलेको, भटमास र गुन्द्रुक साँधेको, आलु र काउलीको तरकारी, हरियो साग, लोकल कुखुरा, निग्रोको सुकुटीको तरकारी, पुदिनाको चटनी अनि अनि नारेपा अर्थात् कोदोको झोल । निग्रो सागको यो परिकार भने मेरालागि पहिलो अनुभव थियो । बडो आनन्द आयो । खानाको स्वादभन्दा पनि बढी त्यसमा मिसिएको माया र सत्कारले हाम्रो मन जित्यो । भोली गाउँ डुल्ने भन्दै आजलाई हामीले विश्राममा जाने निर्णय गरेका थियौँ ।
घामको पहिलो झिल्कोसँगै सुनौलो भुजुङको भ्रमण
बिहान (२०८२ फागुन २९) सबेरै जब सूर्यको पहिलो झुल्का हिमालमा ठोक्किएर गाउँमा ओर्लियो, भुजुङ सुनौलो देखियो । गाउँको मुन्तिर रहेको चिया बगानमा टल्किरहेका शीतका थोपाले मनै लोभ्याउँथ्यो । निदिम खोलाको किनारको डाँडाको भित्तामा अडिएको सुन्दर भुजुङबारे शब्दमा व्याख्या गर्नै कठिन । सात बजेतिर प्रमोद र कैलाशजी आए ।
गाउँपालिका उपाध्यक्षसँग परमेश्वरको पुरानो परिचय रहेछ । उनीसँग भेट गर्ने कार्यक्रम वडा कार्यालयमा तय गरिएअनुसार हामी त्यतातिर लाग्यौँ । गाउँका गल्लीहरू घुम्दै गर्दा स्थानीय महिला आफ्नो मौलिक भेषभूषामा सजिएर घाँस दाउरा गर्न निस्किएका देखिन्थे । यहाँका घर यति मिलेका छन् कि एउटाको कौसी अर्कोको आँगनजस्तो देखिन्छ । यो संरचनाले गाउँलेबीचको बलियो सामाजिक एकता र सुरक्षाको भावनालाई झल्काउँछ । उपाध्यक्षसँग भेटका साथै गाउँ डुल्ने र हेर्ने उद्देश्य पनि पुरा भइरहेको थियो । चिया बगानको बीचमा रहेको यो गाउँ अहिले नेपालकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ ।
ढुंगा र जस्ताले छाएका गुजुमुज्ज परेका घरहरू, ढुंगाले छापिएका चोक र बाटो । साँच्चै सुन्दर छ यो गाउँ । घलेगाउँका प्रायः घर राता जस्ताले छाएका देखिन्छन् भने यहाँका अधिकांश घरमाथि हरिया जस्ता देख्न सकिन्छ । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, भुजुङ । एउटै वडा एउटै गाउँ । जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्र सतहदेखि करिब १ हजार ६ सय मिटरको उचाइमा अवस्थित छ । सिरानमा लमजुङ र अन्नपूर्ण हिमाल देखिने गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र खर्क छ । भुजुङको विशेषता भनेकै एकताबद्ध बस्ती र जीवन्त संस्कृति हो । यहाँका झण्डै छ सय घरहरू एउटै ठूलो झुप्पाजस्ता देखिन्छन् । घरका यही झुप्पा यहाँका मुख्य दर्शनीय स्थल हुन भनेर भनियो भने अन्यथा हुने छैन । गाउँ डुलेर फर्केपछि हामीले खाजा खायौँ–कोदोको सेल र मस्याङको तरकारी अनि त्यहीँ उत्पादित पत्तीको चिया ।
गुरुङ समुदायका परम्परागत रीतिरिवाज, भेषभूषा, भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिएको गाउँपालिकाकी उपाध्यक्ष यमिमाया गुरुङले जानकारी दिइन् । स्थानीय स्तरमा प्रचलित भद्रवासको परम्परा बडो गजबको लाग्यो । यस परम्पराअनुसार भदौ महिनामा सबै स्थानीयको जमघट हुन्छ र गाउँका लागि आवश्यक सबै खाले निर्णय गरिन्छ जो सबैका लागि बाध्यकारी हुन्छ ।
उपाध्यक्ष यमीका अनुसार प्राचीन शैलीका घुमाउने घरजस्ता संरचनाले यहाँ आउने जो कोही पनि लोभिन्छन् । एक्यापका प्रमोदका अनुसार यहाँ कूल ३६२ घरधुरी छन् । यमीले जानकारी दिइन्– पछिल्लो जनगणनाअनुसार यहाँको जनसंख्या करिब दुई हजार तीनसय छ । उनले अर्को पनि जानकारी दिइन्–जिल्लाका अन्य स्थानको तुलनामा यस गाउँमा मानिसहरू अझै पनि राम्रै संख्यामा बस्छन् । उनका अनुसार, यहाँ अहिले पनि झण्डै एक हजार छ सयजनाको नियमित बसाइँ छ ।
लुकेको गाउँ भुजुङ
स्थानीयले भुजुङलाई लुकेको गाउँसमेत भन्न रुचाउँछन् । प्रमोदका अनुसार हाल होमस्टेमा दैनिक ५० देखि ६० जनासम्म पर्यटक आउने गर्छन् । पत्रकार परमेश्वरका अनुसार गाउँमा २०६३ सालदेखि होमस्टे सञ्चालन गरिएको हो । उनका अनुसार १२ वटा घरबाट शुरु गरिएको होमस्टे हाल ३३ घरमा सञ्चालित छन् । एक्याप इलाका संरक्षण कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयको आयआर्जनका लागि होमस्टेको शुरुवात गरिएको स्थानीय स्वीकार्छन् । उक्त कार्य यहाँको पर्यटकीय विकासका लागि वरदान सावित भएको छ ।
प्रमोदका अनुसार यहाँको पर्यटन प्रवर्धन र होमस्टेको दिगोपनाका लागि एक्यापले सहयोग गरेको छ । एक्यापका कैलाशका अनुसार यहाँ समुदायमा आधारित चिया खेतीको विकासको प्रयत्न गरिएको छ । उनका अनुसार २०५७ मा एक सय तीन रोपनी जग्गामा ६५ हजार चार सय पाँचवटा चियाको बोट रोपिएको थियो । अहिले ती बोटबाट चियाको व्यावसायिक उत्पादन हुन थालेको छ ।
उपाध्यक्ष यमीले यस गाउँमा ९० प्रतिशत गुरुङ जातको बसोबास रहेको बताइन् । त्यसैले गुरुङ समुदायको संस्कार र संस्कृति नियाल्ने महत्त्वपूर्ण थलो बनेको छ भुजुङ । गाउँको सौन्दर्य, संस्कार र संस्कृतिको जगेर्ना गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य स्थानीयको छ । यहाँ पहिलोपटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो । त्यस यता विभिन्न चरणमा प्रवर्धनात्मक कार्यक्रम गरिँदै आएको छ ।
भुजुङको पर्यटकीय विकासलाई लक्षित गरी यस गाउँलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए ।
हाम्रो घरधनी हुमकुमारीका अनुसार, होमस्टेले स्थानीयको जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको छ । यहाँको आर्थिक गतिविधिबृद्धिमा होमस्टे अर्थशास्त्रको महत्त्वपूर्ण भूमिका रहेको कुरा नौराज बताउँछन् । एक्यापका तिवारीका अनुसार यहाँ नेपालीमात्र होइन, विदेशी पर्यटक पनि गुरुङ संस्कृति बुझ्न र शान्त वातावरणको आनन्द लिन आउँछन् ।
एक रातको छोटो बसाइ भए पनि घर नम्बर ३३ र हुमकुमारीको परिवारसँग एउटा गहिरो नाता गाँसिएको महसुस भएको छ । बिहान बिदा हुने बेला हुमकुमारी र कृष्णले निधारमा अक्षता र गलामा माला लगाइदिँदा आँखै रसाएको अनुभूति भएको थियो ।
‘फेरि आउनुहोला है’ भन्दै कृष्णले आँगनबाट हात हल्लाइरहँदा म मनभरि भुजुङको सम्झना र त्यहाँका सुन्दर दृश्यहरू कैद गरेर अगाडि बढिरहेको थिएँ । भुजुङको यो यात्राले सिकाएको एउटा कुरा के हो भने—सुख–सुविधामा भन्दा पनि मौलिकता र प्रकृतिसँगको सामीप्यमा बढी आनन्द छ । मलाई लाग्यो– भुजुङ गाउँ पुग्नु केवल एउटा ठाउँ घुम्नुमात्र होइन, बरु एउटा पुरानो सभ्यताको पुनरावलोकन गर्नु पनि हो ।

